कांग्रेसमा विरासतको प्रश्न

किशोर नेपाल

केही समयअघि निरञ्जन कोइरालासँग बौद्ध महांकालस्थित उनको निवासमा भेट्दा उनले सोधेको एउटा प्रश्नले मलाई झस्काएको थियो । निरञ्जनको प्रश्न सोझो थियो, ‘समकालीन नेपाली समाजमा बीपीको स्थान के छ ? के उहाँ अहिले पनि उत्तिकै लोकप्रिय हुनुहुन्छ ?’ मैले निरञ्जनलाई जवाफ दिएको थिएँ, ‘बीपी नेपाली समाजमा अहिले पनि सर्वप्रिय हुनुहुन्छ । नेपालको लोकतान्त्रिक आन्दोलनका सर्वमान्य नेता ।

ZenTravel

नेपालका गाउँघरका साधारण मानिसलाई पनि उहाँको नाउँ कण्ठ छ । कांग्रेस भनेपछि जनताले उहाँलाई नै सम्झिन्छन् र चिन्छन् । बीपी नेपाली समाजसंग जोडिनुभएको छ ।’

Meroghar

यतिबेला कोइराला परिवारका प्रमुख प्रतिनिधि सदस्य हुन्, निरञ्जन । उनी दिल्ली, गोवा र काठमाडौंमा बस्छन् । काठमाडौंमा चाहिँ कहिलेकाहीं मात्र ओर्लिन्छन् । स्वर्गीय केशवप्रसाद कोइराला र कांग्रेसकी महिला नेत्री स्वर्गीय नोना कोइरालाका जेठा सुपुत्र निरञ्जन कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य तथा पूर्वसांसद शेखर कोइरालाका दाजु हुन् ।

निरञ्जनले किन मसँग यो प्रश्न गरे ? यो मेरालागि आश्चर्यजनक विषय थिएन । उनीसँगको मेरो चिनजान लामो र घनिष्ठ छ । हामीबीच प्रेमभाव छ । उनको र मेरो पनि युवावस्थामा हामी मिलेर केही समाजवादी पाठ्य सामग्री तयार गरेका थियौं । बीपी कोइरालाको सैद्धान्तिक दृढता, समाजवादी चिन्तन र लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट प्रभावित थिए उनी । हामीबीच त्यतिबेलाको सम्बन्ध अहिले पनि यथावत थियो । निरञ्जनलाई थाहा थियो, द्वन्द्वकालमा म टेलिभिजन कार्यक्रम चलाउँथेँ । नेपालका ७५ जिल्ला र महत्त्वपूर्ण गाउँमा गएर जनतासँग प्रत्यक्ष कुरा गर्ने र देशमा स्थायी शान्तिको सम्भावना खोज्ने काममा म लागेको थिएँ । शान्तिपूर्ण ढंगबाट राज्यको रूपान्तरण कसरी हुन्छ ? यो मेरो खोज थियो । दुर्भाग्य, त्यो खोज खोज नै रह्यो । राज्यको रूपान्तरणको प्रयत्नमा देशका प्रमुख दलहरूले कुनै सरोकार राखेनन् ।

निरञ्जनको प्रश्नको गूढ आशय बुझ्न मलाई समय लागेन । नोना कोइराला र गिरिजाप्रसाद कोइरालाको निधनपछि कोइराला निवासमा एक प्रकारको राजनीतिक रिक्तता छाएको थियो । राजनीतिमा लागेको भए निरञ्जन सफल राजनीतिज्ञ हुन्थे होलान् । उनले त्यसमा मन लगाएनन् । तैपनि आफ्नो कुल र परिवारको चिन्ता त सबैलाई लागिहाल्छ । उनलाई लाग्यो होला, अब कोइरालाहरूको पारिवारिक विरासतको राजनीति कसरी चल्छ ? उनको प्रश्नको अर्थ यो पनि हुनसक्छ कि पछिल्लो समय जति पनि परिवर्तन भयो, नेपालमा त्यसको मूलकर्ता त कान्छा काका गिरिजाप्रसाद कोइराला नै हुन् । विद्रोही माओवादीसँग साहसिक सम्झौता उनैले गरे । आन्दोलनको माध्यमबाट राजालाई भंग गरेको संसद पुन:स्थापित गर्न बाध्य तुल्याए । संक्रमणकालीन समयमा राजाको कार्यभार आफैले सम्हाले । संविधानसभाको चुनाव गराए । संविधानसभाको निर्णयबाट राजालाई सधैंका लागि विदा गरे । नेपाल संसारको नवीनतम गणतान्त्रिक देशका रूपमा स्थापित भयो ।

जीवनको पछिल्लो चरणमा परिवर्तनका लागि यति धेरै काम गरेका गिरिजाप्रसादका अगाडि बीपी कोइरालाको के विरासत होला ? आखिर जे चमक हुन्छ, त्यो शक्तिमा नै हुन्छ । गिरिजाप्रसाद कोइरालाको यत्रो प्रभाव भएको बेला बीपी कोइरालालाई कसले सम्झेला र ? यो सबैको मनमा खेल्ने प्रश्न हो । तर समय निर्मम हुन्छ । ‘गणतन्त्रका पिता’का रूपमा पूजित हुनुपर्ने नेता गिरिजाप्रसादले औपचारिक सम्मान त पाएका छन् । तर त्यो सम्मानमा रौनक छैन । जनताबाट पाउने अथाह स्नेह उनको भागमा परेको छैन । त्यसका हकदार अहिले पनि बीपी कोइराला नै हुनुहुन्छ । भलै, राजा महेन्द्रले सेना लगाएर प्रधानमन्त्रीका रूपमा बन्दी बनाइँदा उहाँको समर्थनमा एउटै जुलुस निस्किएन वा प्रदर्शन भएन । यो अलग प्रश्न हो । राजाको हातमा बन्धक परेको देशलाई लोकतान्त्रिक उन्मुक्ति दिन बीपी कोइरालाले पछिल्लो समय लिनुभएको रणनीति प्रभावकारी भयो ।

कांग्रेसका साधारण कार्यकर्ताहरूले बीपी कोइरालाको विकल्पमा कोही अर्को नेता पनि हुनसक्छ भन्ने सोचेको देखिएको छैन । अहिले कांग्रेसको सत्ता ओगटेर बसेका शेरबहादुर देउवाको संस्थापन पक्ष र रामचन्द्र पौडेलको प्रतिपक्ष यो विवादमा पर्न चाहेको छैन । यो सत्य हो, माओवादीलाई पेलेरै जानुपर्थ्यो भन्ने नेताहरूको कमी छैन, कांग्रेसमा । माओवादीसँगको सहमति र सहकार्यमा ल्याइएको धर्म–निरपेक्ष राज्य, गणतान्त्रिक राष्ट्रको अवधारणाका विपक्षीहरू पनि धेरै छन् । कांग्रेसको अहिलेको समस्याको चुरो यही हो । समाज छ्यालब्याल भइसकेको छ । राजनीतिमा परिवर्तनका संवाहक भनेर चिनिने युवा वर्गको पकड बढ्दो छ । तर यसका कथित नेतागण परिवर्तनका लागि तयार छैनन् । कांग्रेस सभापति देउवालाई सभापतिको कुर्सीमा टाँसिएर बस्नु छ । देउवाका प्रखर विरोधी मानिएका रामचन्द्र पौडेललाई आफ्नो लगातारको पराजयको बदला लिनु छ । यस्तो हिसाबले राजनीतिक दल चल्न सक्दैनन् ।

कांग्रेसमा विरासतको प्रश्न अझै एक/दुई पुस्ता कायम रहने देखिन्छ । विरासतको राजनीति त्यतिबेला निरुत्साहित हुन्छ, जब सामान्य जनताले आफूले पत्याएका नेताले देखाएका सपना पूरा गर्ने ल्याकत भएका देशभक्त र इमानदार मानिसलाई नेतृत्व तहमा देख्न पाउनेछ । त्यस्ता व्यक्तिहरू नभेटिएसम्म कांग्रेसमा सुधार सम्भव हुँदैन ।

अहिले कांग्रेसको राजनीतिमा कोइराला परिवारका तीनजना सदस्य सक्रिय छन् । बीपी कोइरालाका कान्छा छोरा शशांक कोइराला कांग्रेसको योभन्दा अघिको महाधिवेशनमा नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएका हुन् । हिजोआज उनको राजनीतिक सक्रियता बढ्दै गएको छ । उनी राजनीतिमा आफूलाई बीपीका कान्छा छोराका रूपमा मात्रै प्रस्तुत गर्न चाहँदैनन् । जे भए पनि उनको मूल कार्यसूची बीपीले व्याख्या गर्नुभएको समाजवादी कार्यक्रमहरूको कार्यान्वयन नै रहेको छ । उनले आफ्नो कार्यक्षेत्र नवलपुर जिल्लालाई बनाएका छन् । तर उनको लोकप्रियताको दायरा निर्वाचन क्षेत्रमा मात्रै सीमित छैन । उनी सकेसम्म धेरै कांग्रेस कार्यकर्ताको घर–आँगनमा पुग्न चाहन्छन् । पहिलेको नवलपरासी जिल्लामा नेपाली कांग्रेसका नामी नेता स्वर्गीय सूर्यभक्त अधिकारी परिवारको दृढ समर्थन छ, शशांकलाई । स्वर्गीय अधिकारी बीपीका कर्मठ अनुयायी थिए ।

विरासतका अर्का हकदार हुन्, डा. शेखर कोइराला । उनले देशको राजनीतिमा विद्यार्थीका रूपमा पनि र डाक्टरका रूपमा पनि प्रत्यक्ष संलग्नता राखेनन् । तर प्रजातन्त्र प्राप्तिको लडाइँमा उनको अप्रत्यक्ष संलग्नतालाई पनि गौण मान्न सकिँंदैन । उनी कालाजरका विशेषज्ञ डाक्टर हुन् । चिकित्सा सेवाको क्षेत्रमा मात्र होइन, शिक्षण संस्थानको व्यवस्थापनमा पनि उनको त्यतिकै प्रभावशाली भूमिका छ । धरानमा स्थापित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारदेखि उपकुलपतिसम्मको नेतृत्वदायी भूमिका निर्वहन गरिसकेका छन्, उनले । डा. शेखर प्रत्यक्ष राजनीतिमा हेलिएको त्यति लामो समय भएको छैन । माओवादीसँग सम्झौता वार्ताको क्रममा गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद सिटौलासँगै डा. शेखरलाई पनि खटाएका थिए । अर्धभूमिगत अवस्थामा सिकलेसमा रहेका माओवादी नेता प्रचण्ड र बाबुरामलाई बालुवाटारमा अवतरण गराउने मुख्य पात्र शेखर र सिटौला थिए । योभन्दा अघिल्लो संसदमा मोरङबाट निर्वाचित भएका शेखरले यो पटकको साम्यवादी छालको प्रतिरोध गर्न सकेनन् । अहिले सभापति शेरबहादुर देउवालाई पदबाट अपदस्थ गराएर ‘कांग्रेसलाई स्वच्छ छवि दिने’ योजनामा सक्रिय छन्,
डा. शेखर । यही सिलसिलामा उनी हरेक जिल्लामा दुई दिन बिताउने कार्यक्रम लिएर जिल्ला भ्रमणमा लागिरहेका छन् ।

बिरामी नभएकी भए सुजाता कोइरालाले आफ्नो आक्रामक शैलीले कोइराला विरासतमाथिको आफ्नो अधिकार र हकदाबी गर्ने थिइन् होला । गिरिजाप्रसादकी सुपुत्री हुन्, सुजाता । उनलाई उनका पिता गिरिजाप्रसाद कोइराला आफ्नो उत्तराधिकारीका रूपमा स्थापित गर्न चाहन्थे । तर समयले उनलाई साथ दिएन । सेना प्रमुख रुक्मांगद कटवाललाई पदबाट हटाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्णयलाई राष्ट्रपति रामवरण यादवले उल्ट्याइदिएपछि प्रचण्डले राजीनामा गरे । त्यसपछि एमाले नेता माधवकुमार नेपालको नेतृत्वमा बनेको सरकारको उपप्रधानमन्त्रीका रूपमा सुजाता कोइराला सरकारमा कांग्रेस पक्षको नेता बनिन् । पछिल्लो समय सुजाता निकै बिरामी भइन् । अहिले पनि उनको राजनीतिक तृष्णा मरेको जस्तो देखिँदैन । कांग्रेसको आगामी महाधिवेशनमा उनले आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत गरिन् भने पनि आश्चर्य हुने छैन ।

कोइराला विरासतको विवरण यही हो । कांग्रेस पार्टी अहिले जुन अवस्थामा देखिएको छ, त्यसलाई हेर्दा अहिलेका नेताहरूले अहिलेकै गतिविधिले यसलाई अगाडि बढाउन सक्ने देखिँदैन । कांग्रेस केन्द्रीय समितिका सदस्यहरूको उमेर, राजनीतिक अडान, प्रतिबद्धता केही छैन । नेताहरूको नजर मात्र ‘पावर’ मा केन्द्रित रहेको छ । पार्टीभित्र र पार्टीबाहिर र अन्तरपार्टी भागबन्डाले पार्टीहरूलाई मात्र होइन, पद्धतिलाई नै ध्वस्त पारेको छ । यो त सबैले अनुभूति गरेकै विषय हो ।

प्रकाशित : माघ ९, २०७६ ०८:२७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

आचारसंहिताको वैधता

सम्पादकीय

नेकपा संगठन विभागले पार्टी नेता, कार्यकर्ता र सदस्यहरूका लागि जारी गरेको आचारसंहितामाथि प्रश्नहरू उठ्न थालेका छन् । मननयोग्य के छ भने— यी प्रश्न आचारसंहिताको अन्तर्वस्तुमाथि होइन, यसलाई जारी गर्ने नेतृत्व स्वयंको आचारलाई लिएर उठेका हुन् । कुनै पनि संगठनले आफ्ना सदस्यहरूका लागि आचारसंहिता लागू गर्नु अन्यथा होइन । तर यसको वैधता र पालनाको विषय बढी महत्त्वपूर्ण हुन्छ, नत्र संहिता हुनु र नहुनु उस्तै हो ।

पहिलो, जब आचारसंहिता जारी गर्ने तथा यसलाई कार्यान्वयन गराउने दायित्व भएको नेतृत्व पंक्तिकै आम छवि अनुत्तरित प्रश्नहरूले घेरिएको हुन्छ, तब यस्तो संहिता स्वयंले जन्मँदै वैधता गुमाउन पुग्छ । दोस्रो, संहिता कसका लागि भन्ने प्रश्न पनि स्वाभाविक रूपमा उठ्छ— भोलि यो सम्पूर्ण पार्टी पंक्तिमा लागू हुन्छ कि, पहुँचविहीन तल्लो तहका कार्यकर्ताका हकमा मात्र ? तेस्रो, आचारसंहिता कोरा आदर्शले भरिएको छ कि व्यावहारिक भन्ने विषयले पनि यसको पालनामा फरक पार्छ ।

आचारसंहिताको अन्तर्वस्तु र यसलाई जारी गर्ने नेकपाका शीर्ष नेताहरूले टेकेको धरातलबीचको अन्तर नै धेरैलाई हास्यास्पद लागेको छ । आचारसंहितामा ऋण, सापटी वा आर्थिक लेनदेनमा विचार पुर्‍याएर काम गर्नुपर्ने भनिएको छ । भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, करछली, अनियमितताजस्ता अपराध नगर्ने र त्यस्ता केही सूचना भए सरकारलाई जानकारी गराउनुपर्ने उल्लेख छ । संहिताका यी प्रावधानलाई लिएर नेकपाभित्रै प्रश्न उठ्न थालिसकेको छ— यसप्रति पहिलो जवाफदेही नेतृत्व पंक्ति नै हुनुपर्छ, जसको आडमा या नाम भजाएर व्यापारी, उद्योगी, ठेकेदार, बिचौलिया आदिले अनियमितता गरिरहेका छन् । यस्तो अवस्थामा, आफ्नो नाम भजाएर देशको कानुन हातमा लिनेहरूलाई राज्यको नियमनभित्र ल्याउन दलका शीर्ष नेताहरूले अग्रसरता देखाउन नसकेमा यो संहिता केवल एक ढोंग हुनेछ ।

महत्त्वपूर्ण सवाल त, शीर्ष नेतृत्व पंक्तिको आम्दानीको स्रोत र खर्चको एक–एक हिसाब पारदर्शी हुनुपर्छ । यसो भएमात्रै विवादास्पद व्यक्तिहरूसँगको संगत–संसर्गको अर्थ–अनर्थ खुल्न जान्छ । कि त दलका शीर्ष पदाधिकारीहरूलाई जोसित पनि बस–उठमा छुट छ भन्नुपर्‍यो कि अहिलेसम्मका क्रियाकलापप्रति आत्मालोचना गरेर आगामी दिनमा आफूलाई सच्याउने प्रतिबद्धता व्यक्त गर्नुपर्‍यो । अनि मात्रै आचारसंहिताको अर्थ रहन्छ, नत्र यो जग हँसाउने काम मात्रै हुन्छ ।

आचारसंहिताले आफ्ना सदस्यले सादा जीवन र उच्च विचारलाई प्राथमिकतामा राख्नुपर्ने भनेको छ । विचार त सबैको उच्च नै होला, जीवन कति सादा छ भन्नेचाहिँ अधिकांश नेताको विगत र वर्तमानले बताइहाल्छ । तत्कालीन भूमिगत माले र युद्धरत माओवादी नेताहरूको आचार र जीवनशैली कस्तो थियो, अहिले कस्तो छ ? आचारसंहिताले कल्पना गर्न खोजेको जस्तो कि अरू नै भन्ने खुला किताबजस्तै छ । फेरि, यदि आफ्नै पसिनाले कमाएको, स्रोत खुलेको र लाग्दो कर तिरेको सम्पत्तिको प्रयोग छ भने त त्यसलाई अन्यथा मान्न नमिल्ला, नेकपाले बरु यी पक्षहरू खुलाउन जोड दिने कि !

अचेल दलकै केन्द्रीय सदस्यहरूले नै नेतृत्वलाई भेट्न पाइरहेका छैनन् । नेताहरूले नियुक्ति, सरुवा, बढुवा र व्यापारिक प्रयोजनका भेट मात्रै गरेको उनीहरूको गुनासो छ । संस्कार माथिजस्तो छ, तल पनि त्यही सञ्चार हुँदै जाने हो, विरासत सर्दै जाने हो । शुद्धीकरण तलबाट सम्भव हुँदैन, त्यसैले पहिले नेतृत्व नै सुध्रिनुपर्छ । विरोधाभास कतिसम्म छ भने, आचारसंहिताले सामूहिकताको विकास गर्ने भने पनि यही संहिता नै केन्द्रीय कमिटीमा छलफल नगराई पारित गरिएको छ । सार्वजनिक कार्यक्रममा पद विशेषका लागि कुर्सी नै फरक राख्नेदेखि राज्यको नीतिनियम मिचेर सुरक्षाकर्मी अघिपछि लगाउने पनि आचरणजन्य समस्या तल होइन, माथि नै देखिएका छन् ।

आचारसंहितामा ‘कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्ण रूपले बन्द गर्नुपर्ने’ उल्लेख छ । छोरी, छोराको विवाहलाई सरल, मितव्ययी बनाउनुपर्ने भनिएको छ । रूपमा राम्रा भए पनि यी प्रावधान कति व्यावहारिक हुन्छन्, नेताहरूले नै यसलाई कसरी पछ्याउँछन् ? अव्यावहारिक भएकैले भोलि यो जन्तीको संख्या तोक्ने पञ्चायतकालीन सामाजिक व्यवहार सुधार कानुनजस्तो बन्नु हुँदैन ।

आचारसंहिताका ११ वटै बुँदा ‘आदर्शवादी’ छन् । संहिता मूलत: नैतिक बन्धन हो, यो कोरा आदर्शभन्दा पनि कार्यान्वयनमा आउन सक्ने ढंगको बनाइनुपर्छ । र, यो संगठनको माथिल्लो पंक्तिबाटै लागू हुनुपर्छ । मुहान धमिलै रहिरहने हो भने, सुनकै टुटी हाले पनि धाराबाट सङ्लो पानी बग्दैन । माथिल्लो पंक्तिको आचारमा प्रश्न उठुन्जेल तल्लो पंक्ति अनुशासित बन्दैमा दलमा शुद्धीकरण आउँदैन । नेकपामात्र होइन, सबै राजनीतिक दलका हकमा यही नियम लागू हुन्छ ।

प्रकाशित : माघ ९, २०७६ ०८:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×