कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

यस्तो बनोस् पशुपति विश्वविद्यालय

दिवाकर आचार्य

केही दिनअघि एक लेखमार्फत पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालले पशुपति हिन्दु विश्वविद्यालयको अवधारणा अघि सारेका छन् । यस प्रस्तावको स्वागत गरिनुपर्छ र सरोकारवाला निकायहरूले तुरुन्तै यस विषयमा सैद्धान्तिक सहमति गरी आवश्यक कदम चाल्नुपर्छ ।

यस्तो बनोस् पशुपति विश्वविद्यालय

विचार पुर्‍याई अघि बढेका खण्डमा यो निर्णय धर्मका नाममा हुनसक्ने राजनीतिबाट देशलाई जोगाउन र त्यस्तो राजनीतिमा लाग्नसक्ने जनशक्तिलाई बौद्धिक क्रियाकलापतर्फ मोड्नसमेत उपयोगी हुनसक्छ । तर यस्तो विश्वविद्यालयको स्थापना गर्नुअघि यसको स्वरूप, कार्यक्षेत्र, निर्देशक प्राज्ञिक दृष्टिकोण अनि साधनस्रोतको प्राप्ति र विकास जस्ता विषयमा थप चिन्तन एवं रणनीतिक स्पष्टताका लागि आवश्यक गृहकार्य भने गर्नैपर्छ ।


कुनै पनि स्तरीय विश्वविद्यालय वा अनुसन्धान केन्द्र स्थापनाका लागि नयाँ नेपालमा भौतिक साधनस्रोतको भन्दा पनि सुयोग्य जनशक्तिको अभाव छ । त्यसैले संस्थाको प्रकृतिअनुरूप पशुपति क्षेत्र विकास कोषले सर्वप्रथम धर्म–दर्शन, इतिहास–संस्कृति, पुरातत्त्व र अध्यात्मको शास्त्रीय परम्परागत एवं आधुनिक समालोचनात्मक यी दुवै धाराको अध्ययन–अनुसन्धान अघि बढाउन प्रस्तावित पशुपति अध्ययन केन्द्र तुरुन्तै स्थापना गरी काम थालिहाल्नु राम्रो हुन्छ । प्रस्तावित केन्द्रले पहिले संस्कृत विद्यालय वा गुरुकुल हुँदै उत्कृष्ट नतिजा ल्याई आचार्य गरेका विद्यार्थीहरूलाई आधुनिक शोधविधिको प्रशिक्षण दिई तिनलाई विज्ञहरूका साथमा राखी दुर्लभ शैव–शाक्त र अन्य आगम ग्रन्थहरूको सम्पादन र अनुवादको काममा लगाउनु ठीक हुन्छ । यिनै विद्यार्थीहरू र मानविकीका सम्बन्धित विषयमा स्नातकोत्तर वा विद्यावारिधि नै गरेका आफ्ना विषयमा केही दखल राख्ने विद्यार्थीहरूलाई लक्षित गरी धर्म–दर्शन, इतिहास–संस्कृति, पुरातत्त्व र अध्यात्म विषयमा छोटो र सघन तालिम सञ्चालन गर्नु पनि उत्तिकै आवश्यक छ । यसरी तयार भएका अनुसन्धाता र प्रशिक्षकले कोषलाई क्रमैसँग पाइला चाल्दै सांस्कृतिक अध्ययनलाई प्राथमिकता दिने एक स्तरीय विश्वविद्यालय स्थापना गर्ने पुनीत लक्ष्यसम्म पुग्न सघाउनेछन् ।


अहिले तत्कालै पशुपति क्षेत्रमै प्रचलन र प्रयोगमा रहेका आगम र निगम (तान्त्रिक र वैदिक) दुवै परम्पराको शास्त्रीय अध्ययन–अध्यापन र अनुसन्धान एकातिर गर्नुपर्नेछ भने, अर्कातिर यहाँका जात्रामात्रा, पर्व–उत्सव आदिले कालान्तरसम्म निरन्तरता पाऊन् भनी दक्ष जनशक्तिको उत्पादन र जात्रामात्रामा तिनको सहभागिता सुनिश्चित गर्नुपर्नेछ । पशुपति क्षेत्रका परम्पराहरू बुझ्न संस्कृत वाङ्मयको मात्र नभई नेवार र मैथिल भाषा–साहित्य र संस्कृतिको समेत अध्ययन–अनुसन्धान गर्न आवश्यक छ । यहाँको जीवन्त संस्कृतिको जगेर्ना र विकासका लागि पारम्परिक संगीत–नृत्य, पूजापद्धति आदिको अध्ययन–अनुसन्धान गरी तिनमा संलग्न मानिसहरूलाई प्रशिक्षण दिनुपर्ने आवश्यकता जति छ, त्यत्ति नै यहाँका परम्परागत क्रियाकलाप गर्ने–गराउने पुजारी, भण्डारी, नाइके, बिसेट, महन्त, पाले–पौवाली, बगैंचे, जात्रामात्रामा नाच्ने–गाउने, बाजा बजाउने र परेका बेला मठमन्दिरको मरम्मत–सम्भार गर्ने–गराउने कामदार–शिल्पी सबैलाई आवश्यक प्रशिक्षणको व्यवस्था गर्नुपर्नेछ ।


पशुपतिनाथको मात्र नभई कम से कम वागमती प्रदेशभरिका साना–ठूला सबै मठ–मन्दिरसँग सरोकार भएका परम्परागत कामदार–शिल्पी पुजारीहरूलाई सांस्कृतिक प्रशिक्षण दिने काममा प्रस्तावित केन्द्रले नेतृत्व लिनसक्छ । परम्परागत भवन, मठ–मन्दिर निर्माणको प्रविधि, कालिगडी, कला, शैली र निर्माण सामग्रीको अध्ययन–अनुसन्धान र विकासमा योगदान गर्नसक्ने गरी प्रस्तावित पशुपति अध्ययन केन्द्रले कालिगडहरूलाई नियमित तालिम र कार्यशाला पनि सञ्चालन गर्नु राम्रो हुन्छ । प्रस्तावित केन्द्रका यिनै कार्यक्रमको सफलताका आधारमा क्रमशः विद्यापीठ, मानित विश्वविद्यालय र त्यसपछि मात्र पूर्ण र सर्वाङ्गीण विश्वविद्यालय बनाउँदा राम्रो हुन्छ । स्थापना भएको धेरै पछिसम्म पनि लुम्बिनी बौद्ध विश्वविद्यालयले विभिन्न समस्या बेहोर्नुपरेको कुरा बिर्सनु हुँदैन । पशुपति विश्वविद्यालय राजधानीमै हुँदा सामान्यतया शिक्षक र विद्यार्थी पाउने समस्या त्यति नहोला, तर योजना स्पष्ट नभए यसले स्तरीय र सबैलाई उपयोगी हुने कार्यक्रम दिन भने सक्नेछैन ।


हाल अघि सारिएको अवधारणा अनुसारको विश्वविद्यालय बने त्यो नेपाल संस्कृत विश्वविद्यालयभन्दा धेरै फरक हुनेछैन र यस्तो अर्को छुट्टै विश्वविद्यालयको आवश्यकता र सम्भाव्यता राजधानीमा म देख्दिनँ । हो, केही नयाँ सोच र योजनासहित अगाडि बढे देवघाटमा संस्कृत विश्वविद्यालय बन्न र चल्न सक्छ, त्यहाँका उम्दा गुरुकुलीय विद्यापीठहरू र तिनका प्रभावमा दुई सय हाराहारीमा देशभरि खुलेका सानाठूला सबै गुरुकुललाई समेटेर । यसबारे छुट्टै चर्चा गरौंला ।


नेपालमा हिन्दु विश्वविद्यालय स्थापनाको कुरा सर्वथा नौलो भने होइन । दुईचार दशकअघि नै स्व. शंकर केडियाले वीरगन्जमा हिन्दु विश्वविद्यालय स्थापना गर्न केही पहल गरेका थिए, अहिले पनि बनारस हिन्दु विश्वविद्यालयका संस्थापक मदनमोहन मालवीयका नाममा खुलेको प्रतिष्ठानले बनारसको अनुकरणमा नेपाल हिन्दु विश्वविद्यालय स्थापनाका लागि पहल गरिरहेको कुरा मैले सुनेको छु । यसका अतिरिक्त पशुपतिको आयले विश्वविद्यालय चलाउनुपर्ने माग स्थानीय प्रदेश सांसद नरोत्तम वैद्य, सांस्कृतिक अभियन्ता ब्रह्मलीन गुरु डा. स्वामी रामानन्द गिरि, काठमाडौं विश्वविद्यालयका मुकुन्द उपाध्याय आदिले उठाउनुभएकै हो । यस्ता सबै पहल–प्रयास र तिनका पृष्ठभूमिमा भएका साधनस्रोतलाई एकै ठाउँमा समेट्दा सफलता, सम्भावना र मान्यतासमेत ठूलो हुनेछ ।


नेपालको पुरानो परम्पराले अहिले ‘हिन्दु’ शब्दले समेट्ने शैव, शाक्त, वैष्णव आदि र बौद्ध मतको सहअस्तित्व र समन्वयमा जोड दिन्छ । त्यसैले पशुपति विश्वविद्यालयका नाममा कुनै विशेषण थप्नुपर्दा ‘हिन्दु’ को साटो ‘सनातन’ थपे राम्रो होला । अर्को कुरा, राष्ट्रदेव मानिएका पशुपतिनाथको आयले उनका नाममा बन्ने विश्वविद्यालयलाई धर्म–दर्शन, अध्यात्म र संस्कृत वाङ्मयमा मात्र सीमित गर्नु ठीक होइन । अनुकरण गर्न खोजिएको बनारस हिन्दु विश्वविद्यालय पनि यसरी सीमित छैन । फराकिलो सोच लिई एकपछि अर्को गर्दै प्रस्तावित विश्वविद्यालयमा सबै विधामा अध्ययन–अनुसन्धानमूलक कार्यक्रम चलाइनुपर्छ र सबै शैक्षिक कार्यक्रममा हरेक तहमा एक वा दुई पत्र नेपालको सनातन संस्कृति र नीतिशास्त्र पढाउने व्यवस्था गर्नुपर्छ । पशुपतिनाथको आयले विश्वविद्यालयमा गरिब जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्छ, अनि सनातन संस्कृति र नीतिशास्त्रमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत पनि गर्नुपर्छ ।


पशुपति क्षेत्रको इतिहास र पुरातत्त्वको अन्वेषण तथा संरक्षणमा विकास कोष विगतमा पछि परेको छ । जीवन्त संस्कृति बोकेको देवपत्तनलाई भक्तपुरको शैलीमा व्यवस्थित र विकसित गर्नबाट पनि चुकेको छ कोष । विगतमा बस्तीसँगै पुस्तकालय पनि मासिएका छन् । यी सबै कुरामा विचार पुर्‍याएर संग्रहालय र पुस्तकालयको विकास गर्ने र त्यसैसँग परम्परागत संगीत र नाट्यकला, चित्रकला र मूर्तिकलाको अध्ययन र विकासलाई जोडेर लैजान आवश्यक छ ।


पशुपतिनाथको सम्पत्ति मानवसेवा र सामाजिक रूपान्तरणमा पनि लाग्नुपर्छ । जस्तै— विगतमा यसको उपयोग करियामोचन गर्न भएको थियो भन्ने सुनिन्छ । स्वास्थ्य क्षेत्रको अध्ययन–अनुसन्धानमा विकास कोषले चासो लिनु राम्रो हुनेछ । तीर्थयात्री र स्थानीय बासिन्दाका लागि समेत एक सुलभ अस्पतालको तुरुन्त व्यवस्था गर्नु सान्दर्भिक हुनेछ । यसबाट रामनाथ अघोरीले स्थापना गरेको होमियोप्याथिक अस्पताल र रामघाटको स्वास्थ्यचौकी हटाएको अपजसबाट कोषले मुक्ति पनि पाउनेछ ।


अब स्थापित हुने कुनै पनि विश्वविद्यालय बढीभन्दा बढी स्वायत्त र सक्षम हुनुपर्छ, विशेष गरी पशुपतिनाथको गरिमा, सम्पत्ति र नाम बोकेर आउने विश्वविद्यालय । यो वास्तवमै उदात्त र अन्तर्राष्ट्रिय पनि हुनुपर्छ, जसका लागि यसबाट भएको आय यसैमा लगाउने गरी यसलाई नाफारहित ढाँचामा विकास गर्नुपर्छ । यस्तो हुन सके राष्ट्रिय वा अन्तर्राष्ट्रिय सबै क्षेत्रबाट सहयोग जुटाउन सकिन्छ । विश्वविद्यालयको गठन र सञ्चालनमै भारत, चीन, जापान, थाइल्यान्ड, बर्मा, इन्डोनेसिया, कम्बोडिया, मरिसस आदि भारतवर्षको सनातन संस्कृतिसँग सरोकार राख्ने देशहरूलाई संलग्न गराउने सोच राख्दा राम्रो हुन्छ । तीती देशका प्राचीन संस्कृतिको अध्ययन–अनुसन्धानमा पनि प्रस्तावित विश्वविद्यालयले योगदान गर्नसक्छ । स्मरण रहोस्, कुनै पनि राजनेताका नाममा बन्ने विश्वविद्यालयका तुलनामा पशुपतिनाथका नाममा बन्ने नाफारहित विश्वविद्यालयलाई सहयोग जुटाउन सजिलो हुनेछ ।

अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक आचार्य पशुपति क्षेत्रका बासिन्दा हुन् ।

[email protected]


प्रकाशित : माघ ८, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?