स्वस्थानी कथाको विकथन

सरिता तिवारी

मुखर प्रश्नको सम्मानित ‘स्पेस’ र तिनको ठोस उत्तर खोज्ने अभ्यास लोकतन्त्रको सौन्दर्य हो । यही मानेमा, स्थापित र प्रचलित कतिपय मूल्यमान्यता जो लोकतान्त्रिक समाजका लागि असुहाउँदा मात्रै छैनन्, हानिकारक र प्रत्युत्पादकसमेत छन्, तिनका विषयमा प्रश्न उठाउने क्रम थालिएको छ ।

ZenTravel

ऐनमौका, सन्दर्भ र आवश्यकताले पनि कतिपय छलफल अनिवार्य बनाइदिएका छन् । सयौं, हजारौं वर्षदेखि कायम रहेका संरचनागत हिंसा र विभेदका जराहरू पहिल्याउन हाम्रा अवचेतनभित्रै थिग्रिएर बसेका मान्यताहरू खकाल्नु जरुरी छ । यदि हामी आफूलाई स्वस्थ मानिस ठान्छौं भने, हामीलाई यस्ता छलफलबाट आँखा लुकाएर भाग्ने या ‘डलर–खेती’ जस्ता ओठे टिप्पणी गरेर वैचारिक दयनीयता प्रदर्शन गर्ने छुट छैन ।
000
सन्दर्भ स्वस्थानी व्रत र त्यस अवधिमा सुनाइने कथा–परम्पराको हो । मध्य पुसदेखि मध्य माघसम्म स्वस्थानीदेवीका नाममा प्रार्थना र आराधनाका निर्धारित विधि–प्रक्रिया अनुसार बसिने व्रत र यस क्रममा हरेक दिन वाचन गरिने कथाको हिन्दुबहुल नेपाली समाजमा ठूलो प्रभाव छ । परम्पराका रूपमा प्रचलित र स्थापित कथा केवल निख्ला कथा मात्रै होइनन्, हाम्रा चेतन–अवचेतन सबै मनोविज्ञानका एजेन्ट (अभिकर्ता) पनि हुन् । लोकप्रचलित र संस्कारमै घालमेल भैसकेका कथा मानिसहरूका अभिव्यक्ति र जीवनशैलीका आलम्बसमेत हुन् । स्वस्थानी कथा यिनैमध्येको एउटा हो ।

तपाईं समकालीन लेखकहरूका कुनै पनि पुस्तकवार्ता पढ्नुस्, तीनमध्ये दुई लेखकको पठन स्वस्थानी कथाबाट थालिएको ब्यहोरा भेट्नुहुन्छ । उसै पनि सर्वेक्षण नै गरिहेर्ने हो भने, कुनै समयमा ‘स्त्री साक्षरता बढाएको’ भनिने स्वस्थानी व्रतकथाको किताब लगभग घरघरै भेटिन सक्छ । स्वस्थानी कथा नपढेको या नसुनेको खस–आर्य समुदायको कुनै व्यक्ति फेला पर्छ जस्तो लाग्दैन । यसको अर्थ यो कथाको प्रसार कतिसम्म छ भन्ने हो ।

धार्मिक मान्यताबाट प्रभावित वा लोकप्रचलित कथा र तिनमा वर्णित मिथकले वैयक्तिक र सामूहिक दुवै प्रकारको चेतना निर्माणमा ठूलो भूमिका खेल्छन् । ‘मिथÖमिथ्या’ पुस्तकका लेखक देवदत्त पटनायक भन्छन्, ‘हरेक मान्छे मिथकमाथि उभिएर बाँच्छ र रोचक कुरा, अधिकांश मिथक झुठा हुन्छन् ।’ उनका अनुसार, हिन्दु महर्षिहरूले त मिथकलाई मिथ्याकै रूपमा व्याख्या गरेका छन् । मिथ्या अर्थात् भ्रम । हो पनि र हैन पनि जस्तो । केही अंश सत्य र केही अंश त्यसको विकृत रूप, जसमा वस्तु र विचारको ठोस तथ्य कम र त्यसमाथि जडिएका कथ्य ज्यादा हुन्छन् । मिथकहरूले विश्वास, धारणा र अनुभूतिको समुच्च रूप बनाउँछन् । कालान्तरमा त्यही व्यक्तिको संस्कारजन्य पारिवारिक, सामाजिक र सांस्कृतिक शिक्षा बन्न पुग्छ ।

औपचारिक शिक्षा पद्धतिको आरम्भ हुनुअघि धर्मकर्म, तन्त्र, जादुजस्ता विषयप्रेरित कथा सुन्ने–सुनाउने प्रचलन पुस्तान्तरण हुँदै आइरहेको प्रस्टै छ । विगतमा साक्षरता कम भएको र अन्य पुस्तक सहजै प्राप्त नहुने अवस्थामा यसको पठन परम्परा रहेको भए पनि ‘लैंगिक भेदभावलाई संस्थागत गर्ने एक उपकरण’ बन्न पुगेकाले यसको सान्दर्भिकतामाथि प्रश्न उठ्नु अपरिहार्य थियो र छ ।

अनुसन्धान अनुसार, स्वस्थानीको व्रत बस्ने र कथा सुन्ने परम्परा लगभग पाँच सय वर्षअघि सुरु भएको हो । यो अहिले पनि कायम छ । हरेक वर्ष काठमाडौंको शाली नदीमा लाग्ने राता पेटिकोटहरूको मेला अखबारका ‘ब्यानर न्युज’ बन्न रोकिएको छैन । अहिले पनि बकाइदा र बडो गर्वका साथ संस्कृति र सनातन धर्म रक्षाका नाममा जौ, कुश, फूल, अक्षता, नैवेद्य आदिका साथ स्वस्थानीका मुटु चिरिने कथाहरू घरघरै वाचन हुन्छन् । यसभित्रका स्त्रीद्वेषी, अत्याचारी कथाबारे सामाजिक सञ्जालमा अलिकति मात्रै बोल्नुस्, अहिले भर्खरै तपाईंलाई विधर्मी, क्रिस्चियन, संस्कृतिनाशक, डलरवादीको बिल्ला लाग्छ । तर यस्ता बिल्ला लाग्दैमा सही र जरुरी कुरा बोल्ने क्रम रोकिन्न । रोकिनै हुन्न ।
000
स्वस्थानी व्रतका व्रतालु महिला मात्रै हुन्छन् । यस्तो किन होला ? विश्लेषक राम लोहनीका अनुसार, ‘हिन्दु जीवनशैलीमा नियमित पूजाआजा र घरको आध्यात्मिक वातावरणलाई जगेर्ना गर्ने काम स्त्रीहरूकै हो भन्ने विश्वास देखिने हुँदा स्वस्थानी व्रतविधि र कथा स्त्रीहरूकै लागि तर्जुमा गरिएको देखिन्छ ।’ तर कुरा त्यति मात्रै होइन, मनुस्मृतिले चालित विधिशास्त्रबाट निर्देशित तत्कालीन चतुर बुद्धिका पुरुषले महिलामाथि निरपेक्ष पुरुषभक्ति र भाग्यवादी मनोविज्ञान लाद्न सोची–सम्झी रचेका कथा हुन् यी । स्त्रीहरूकै लागि लक्षित यी कथाले भाग्यवाद, पूर्वजन्म र परजन्म लगायतका भयकारी दीक्षाबाट स्त्री चेतनामाथि शासन गर्नुपर्ने थियो र नै स्वस्थानी व्रतका कर्ता महिला नै हुने गरेका हुन् ।

स्वस्थानी व्रत बस्ने र कथा सुन्ने प्रचलन मध्यमवर्गमा अधिक छ । मध्यमवर्ग वर्जना, अन्धविश्वास, रूढि इत्यादिको निरन्तर पृष्ठपोषक रहँदै आएको छ । मध्यमवर्गका कुण्ठित र रुग्ण चेतका, अदना महिलाको दिमागमा प्रभुत्व जमाउन रहस्य र चमत्कारको आवरण भिरेका यस्तै कथा आवश्यक पर्थे । एकचित्त मुद्रामा सुन्दा कथाका तरङ्ग मनदेखि दिमागका भित्तासम्मै पुगेर ठोक्किने भए र त्यसको प्रभाव आजीवन थरहरी हुने गरी रहने भयो । तत्कालीन समाजमा स्त्रीहरूको सम्भावित विद्रोहलाई रोक्न कथाहरूले कसरी भूमिका खेले भन्ने कुरामा स्वस्थानी एउटा ठोस उदाहरण हो । ...कुनै स्त्रीले आफ्ना पतिलाई रिसले हेरे डेरी हुन्छे, पतिको वचन काटे पापिनी हुन्छे, पतिको मुख लागे लाटी हुन्छे, लुकाएर खाए कुकुर्नी हुन्छे ... आदि भनेर नारी जातिलाई पुरुषको निष्कण्टक दासत्व बोक्न सिकाउने स्वस्थानी कथा कुनै पनि अर्थमा संस्कृति र धर्म होइन ।

स्वस्थानी व्रत कथाको भूमिका खण्डमा उल्लेख भए अनुसार, यसका कथयिता स्कन्द अर्थात् कुमार हुन् र प्रथम श्रोता अगस्त्य मुनि । स्कन्दपुराणबाट निकालिएको कथाखण्ड भनिए पनि उक्त पुराणमा यस्तो कुनै कथा प्रसंग नरहेको कुरा पनि लोहनीकै लेखमा समेत उल्लेख छ । स्वस्थानी कथाबारे गरिएका अनुसन्धानहरूले यसलाई स्कन्दपुराणको केदारखण्ड, माघ माहात्म्यबाट उद्धृत भनी सप्रमाण भन्न सकेका छैनन् । यस आधारमा यो धार्मिक कलेवरमा उनिएको एउटा कल्पित कथा मात्रै हो भन्न सकिन्छ । यसका प्रथम वाचक, प्रथम श्रोता दुवै पुरुष हुन् र विगत पाँच सय वर्षदेखिका कथा संकलक र सम्पादक पनि पुरुष नै । यसरी पुरुषद्वारा कथित, संकलित र प्रसारित कथा कसको सेवार्थ किन प्रभावशाली हुँदै आयो भन्ने बुझ्न दिमाग खियाइरहनुपर्दैन ।

धर्मका नाममा रचित भय, आतङ्क र आश्वासनप्रेरित भाष्यको प्रभाव धेरै गहिरो र लामो हुन्छ । औपचारिक शिक्षाको समावेशी र लोकतान्त्रिक प्रसार नहुँदा धार्मिक प्रचलनका रूपमा चलेको यो कथा–परम्परा स्वतः ग्राह्य र लोकप्रिय हुनसक्नेमा दुई मत रहेन । पुण्य आर्जन गर्ने, धर्म कमाउने उद्देश्यले मात्रै होइन, जाडो यामका लामा रात कटनी गर्न मनोरञ्जन र रेचनका लागि पनि यो श्रवणीय हुन सक्थ्यो । चामत्कारिक कथाप्रसंगहरू र विशेष प्रकारको वाचनशैलीबाट बालदेखि वृद्धसम्म सबै उमेरका मानिसहरू स्वस्थानी कथा सुन्न झुम्मिनु अस्वाभाविक पनि भएन । मेरो आफ्नै अनुभव छ, बाल्यकालमा उदेक–उदेकका पात्र र प्रसंगले यो कथाप्रति आकर्षित भएको, कथावाचन गर्न लालायित हुने गरेको ।

स्वस्थानी कथाको केन्द्रमा स्वस्थानीदेवीको मूर्तिकरण गरिएको भए पनि वास्तवमा स्वस्थानीदेवी को थिइन् भन्ने नै अमूर्त छ । अधिकांश कथामा शिव–पार्वती र तिनका पारिवारिक प्रकरण छन् । प्रायः कथा घोर अन्यायी, छली र प्रपञ्चकारी पात्रहरूको सौन्दर्यकरण गरेर निर्धा र कतिपय स्वाभिमानी पात्रको तेजोवध गर्नमा केन्द्रित छन् । सबैभन्दा कारुणिक त गोमा ब्राह्मणीको कथा छ, जसलाई र्ईश्वरका पनि सुप्रिम ईश्वर भनिने महादेवका हातबाट पार्नुसम्म बिजोग पारिएको छ ।
000
मिथक र कथा–परम्पराको अध्ययन, अनुसन्धानमा स्वस्थानी कथाको पनि आफ्नै प्रकृतिको महत्त्व छ । इतिहास र संस्कृतिका खराबभन्दा खराब घटना र प्रकरण पनि अध्ययन, अनुसन्धानका क्षेत्र हुन सक्छन् । यो कुनै नयाँ र आश्चर्यको कुरा होइन । तर नेपालमा एक थरी मानिसहरू यस्ता छन्, जो कुनै विदेशीले स्वस्थानी कथामाथि गरेको अनुसन्धानको नाम लिएर यहाँ हुने बहसमा आफ्नो पल्ला माथि पार्ने हाँसउठ्दो कसरत गर्छन् । लाग्छ— तिनलाई बहसका नाममा दहल्फसेल गर्न त खुबै रुचि छ, तर फरक विचार राख्नेसँग बाझ्नैपर्छ भन्ना खातिर सामाजिक इतिहासका पत्रु र चरम विभेदकारी कथाका पक्षमा उभिँदा आफ्नै छोरी, बहिनी र स्त्रीजातिको आत्मसम्मान र प्रतिष्ठाको मात्रै होइन, मानवताको समेत विपक्षमा उभिएको भेउ पाउँदैनन् ।

स्वस्थानी कथाको किताब अध्ययन, अनुसन्धानको विषयका रूपमा निजी वा सार्वजनिक पुस्तकालयका र्‍याकभित्र सजाउन त ठीकै हो, काम लाग्छ । तर, यो जीवनशैलीकै रूपमा, सनातन धर्म–संस्कृति रक्षाको रटान दोहोर्‍याउने हेतुले घरका सिरानीमा राख्न योग्य किमार्थ छैन । यसभित्रका कथा सुन्ने–सुनाउने गरेर रक्षा हुने धर्म शतप्रतिशत स्त्रीद्वेषी धर्म हो । आजको समयका स्त्रीहरूले धर्म–संस्कृतिको संरक्षणका नाममा पेस गरिने यस्ता बकम्फुसे तर्कको पेटबोली बुझ्नु जरुरी छ ।

प्रकाशित : माघ ७, २०७६ ०८:२५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

यात्रा : ‘अब्जेक्ट’ टु ‘सब्जेक्ट’

सरिता तिवारी

द सेकेन्ड सेक्स !‘सेक्स’ शब्दको सार्वजनिक उच्चारणसम्म गर्न पनि डराउँथें । भाषाको शाब्दिक अर्थ मात्रै बुझ्ने हुस्सु तर म मात्रै रहेनछु, पछि थाहा पाएँ । त्यस्तो बेला यस्तो विस्फोटक शब्द भएको किताब लेख्ने लेखकबारे झनै उदेकको धारणा सुनेकी हुँ सुरुमै । लेखक नै थिए ती जो उनलाई— छाडा, अराजक, नारी–मुक्ति आन्दोलनविरोधी, ‘तथाकथित’ नारीवादी... मार्क्सवादविरोधी आदि भन्थे ।

तिनलाई लेखक के भन्नु ! चिन्तनको दारिद्र्य र पूर्वाग्रहको जालोले पुरिएका दुःखी मनुष्य थिए ती । तर, म तिनैको संगतमा थिएँ । धन्न त्यो संगतदेखि समयमै उछिट्टिने संजोगहरू जुरे र म ‘विचरा’ को अलिकति भए पनि उद्धार हुन सम्भव भयो ।

पोखरा बस्थें त्यतिखेर । पहिलोपल्ट यिनको नाम त्यहीँ सुनें । कविता लेख्न खुबै रौसिने ! दिनकै चार पाँचोटा कविता लेख्दिने उद्दामको ऊर्जा थियो । लेखेपछि पायक मिल्दो, आफूले जाने–चिनेको सुनाउने ठाउँ थियो मासिक ‘समता काव्य सन्ध्या’ । महिना दिनसम्ममा कविताहरू उरुङ लागेका हुन्थे । कुन सुनाऊँ ? आफूले लेखेका हरेक कविता ‘खतरा’ लाग्ने कम्ता मीठो हुन्थेन त्यो भ्रम ! बल्लतल्ल छाँटेर कविहरूको अघिल्तिर एउटा मात्रै कविता सुनाउँदा पनि ‘बाफ रे’ लाग्थ्यो । किनभने कार्यक्रमको अन्त्यमा कुनै अग्रज कविले कविताको समीक्षा गर्ने चलन थियो । स्थापित कविहरूका कविताको मोडेल हेर्दै कविता फुराउने ढंग सिकिरहेको फुच्चे मान्छे म । प्रायः प्रशंसा पाउँथें । त्यसले दिने हौसलाले ज्यान प्वाँख हुन्थ्यो ।

त्यस्तै कुनै एक साँझ एक पाका कविले मन्चबाट भने, ‘हामीलाई विश्वास छ, हाम्रै बीचबाट पारिजात जन्मिनेछन् । तसलिमा नसरिन जन्मिनेछन् । सिमोन द बुभा जन्मिने छन्... !’ मुटु ढक्क फुल्यो । कत्रा कत्रा मान्छेका नाम ! सुन्दै जीउमा काँडा उम्रिने ! डर लाग्ने !

अघिल्ला दुई मैले पहिल्यै सुनेका र अलि–अलि पढिसकेका लेखकका नाम थिए । तेस्रो नामबारे मलाई केही थाहापत्तो थिएन । थाहा पाउन अहिलेजस्तो इन्टरनेट र गुगल सर्चको सुविधा पनि थिएन । न त ठ्याक्कै त्यही सामग्री भेटिने किताब पाइन्थे कतै । वा पाइने नै भए पनि त्यस्ता ठाउँसम्म मेरो पहुँच थिएन । त्यतिबेला मैले अधिकांशतः पढ्ने ठाउँ पीएन क्याम्पस परिसरभित्रको क्षेत्रीय पुस्तकालय थियो । अब्बल र पठनीय किताबहरू वर्षौंसम्म गायब हुने नियतिले ग्रस्त अरू धेरै पुस्तकालयजस्तै थियो यो पनि । त्यसैले जब खास कुरा जान्नु र बुझ्नु छ, आफ्नै प्रयासले जुगाड गर्नुपर्ने हुन्थ्यो ।

कार्यक्रम सकिएर निस्कने बेला कुनै ‘स्वयम्घोषित’ प्रगतिशील लेखक महोदयलाई सोध्दी भएँ, सिमोन द बुभा चिन्नुहुन्छ ? – अँ ! ओहो ! लौ गज्जब । यी सज्जनबाट ज्ञानदानको कृपा बर्सिने निश्चित थियो । किनभने अरू केही विषयमा पनि यिनी मेरो ज्ञानका ‘अजस्र स्रोत’ रहिसकेका थिए ।

त्यसपछि महोदय भट्याउन थाले र म पूरै आज्ञाकारी मुद्रामा सुन्न । सिमोनबारे माथि पेस गरिएका विशेषण दिने व्यक्ति उनै थिए । तिनले अर्तीको लयमा के–के कारणले अराजकता बेठीक कुरा हो र नारीवाद एनजीओको मात्रै मुद्दा हो भनेर पनि अर्थ्याए । सिमोन कम्युनिस्टविरोधी हुन् पनि भने । यी तिनै व्यक्ति थिए, जसले पछि कुनै एक प्रसंगमा भने, ‘...हेर्नुस् बैनी जत्ति जे भने पनि विद्या भण्डारीलाई आफ्ना पतिको पाइन्ट धुँदा जुन आत्मीयता र आनन्द ‘फिल’ हुन्थ्यो त्यस्तो अनुभूति चुनाव जितेर सांसद, मन्त्री जेसुकै भए पनि हुन सक्दैन !’ फरक–फरक समयमा तिनले भनेका यी दुइटा कुराले मलाई तिरिमिरी झ्याईं बनायो ।

तैट, सोच ! त्यसपछि न यिनी मेरा ज्ञानका स्रोत रहे न मैले आफूलाई यिनको आसपास नै पुग्न दिएँ । प्रसंगवश, कुनै दिन एक युवा लेखकसँग सोधें, ‘दाइ सिमोन द बुभाको किताब छ तपाईंसँग ?’ तिनले छ भनेनन् । नभएरै होला । तर, ‘भव्य’ जानकारी भने दिए— फ्रान्सकी अस्तित्ववादी, नारीवादी विचारक । नारीवादको बाइबल भनिने प्रख्यात किताब ‘द सेकेन्ड सेक्स’ की आँटिली लेखक । विवाह, सन्तान, वैध सम्बन्ध सबै कुरालाई चुनौती दिने अद्भुत महिला । बिहे गरिनन् तर कुनै लेखकसँग आजीवन सम्बन्धमा बसिन् । आदि ।

यिनको व्यक्तित्वका तिलस्मी आख्यान सुन्दा औडाहा छुट्थ्यो तर कतैबाट किताबको जुगाड भएन । यस्तो लेखकको किताब पढ्ने म कहिले हुँला भन्दाभन्दै जिन्दगीको अन्ध–कालीन एक दशक बित्यो । भनेको रहेछ, ‘सेकेन्ड सेक्स’ अर्थात् दोस्रो लिंग ! प्राथमिक होइन त्यसको परिपूरक । कर्ता (सब्जेक्ट) होइन कर्ताद्वारा चलायमान वस्तु (अब्जेक्ट) । बुभा भन्छिन्, ‘अब्जेक्ट’ ले जबजब ‘सब्जेक्ट’ बन्ने कोसिस गर्छे, उसले हिंसा र दमनको सिकार हुनुपर्छ । शारीरिक, मानसिक, बौद्धिक सबै स्तरको हिंसा ! सबै स्तरको दमन ! संघर्ष र कोलाहलको बीचबाट पनि जब नारीहरू परम्परालाई पछाडि छोड्दै, आफू जकडिएका सीमा तोड्दै निस्कन्छन्, कर्ता या सब्जेक्ट बन्ने बाटो खुल्दै जान्छ । यसरी पुरुषलाई मूल र महिलालाई अर्को (अन्य) मान्ने भाष्यमाथि प्रश्न गर्ने सिलसिलामा महिनौंका अनुसन्धान, अध्ययन र निष्कर्षको एकमुष्ठ उत्पादन थियो, ‘द सेकेन्ड सेक्स’ । संसारमै पहिलोपल्ट कुनै (महिला) लेखकले विलक्षण आँट र जोखिम उठाएर गरेको युगान्तकारी कार्य । ऐतिहासिक, भौतिक, दार्शनिक, जैविक दृष्टिले सर्वाधिक वैज्ञानिकता र विश्वसनीयताका साथ गरेको उद्घोष !

किताबमा भनिएको छ, ‘स्त्री जन्मिन्न, बनाइन्छे । इतिहासले, साहित्य–जीवविज्ञान–मनोविश्लेषण आदि जम्मैका परम्पराले स्त्रीत्वका असंगत मिथकहरू बुन्दै–बुन्दै आएका छन् । त्यसको चाबीले नै स्त्रीत्वको मापदण्ड निर्माण गर्छ ।’
स्त्रीत्वका निर्धारित सर्तअनुकूल हुनु नै स्त्री हुनु हो भन्ने निर्मित सत्यलाई फड्किएर स्त्रीको विपुल र स्वतन्त्र मानवीय अस्तित्वको खोजी बुभाको निजी र लेखकीय दुवै व्यक्तित्वको साझा गुण हो । छिरोलिएको टुक्राटुक्रा र अपरिचयको, अनस्तित्वको बिरानो वस्तुसदृश अधीनस्थ (अन्य) स्थितिबाट–एउटा पूर्ण मानवको । एकतित्र र सग्लो परिचयको । (महिला) व्यक्ति स्वयम्ले छनोट गरेको नैसर्गिक (मूल) जिन्दगीतर्फको यात्रा बुभाले तय गरेको विचारको यात्रा थियो । वरणको यात्रा पनि यही थियो ।

उनले भनिन्, शरीर वस्तु होइन स्थिति हो । उनले स्त्रीको शान्तिप्रिय, सहनशील, पराधीन र तल्लो दर्जाको परम्परित स्थितिको खण्डनमा तमाम मिथकीय र जीवशास्त्रीय झूटहरूका विरुद्ध प्रामाणिक भाषामा बोलिन् । त्यति मात्रै होइन, नारी मुक्तिको प्रश्नमा कम्युनिस्ट शासनपद्धतिका कपटविरुद्ध हाकाहाकी चुनौती दिएर भनिन्, तिमीहरू पनि झूटा हौ !
बीसौं शताब्दीको मध्यान्तरपछि संसारले धमाका सुन्ने गरी प्रकट भएकी यी दबङ् लेखकलाई कम्युनिस्ट साहित्य र समीक्षाले किन दुत्कार्थ्यो भन्ने कुराको चुरो यहीं छ । मेरा ती सज्जनले कुनै बेला मलाई सिमोन किन म्युनिस्टविरोधी हुन् भनेर सिकाए भन्ने कुराको पोयो पनि यहीँनेर खुल्छ । उनले तत्कालीन सोभियत रुसको उदाहरण दिएर किटेरै भनेकी छन्— महिलाको मुक्ति समाजवादमा पनि सम्भव रहेनछ । लेनिनकालमा बनेका महिलामैत्री कानुन उल्ट्याएर मातृत्व र परिवार रक्षाका नाममा जसरी निषेधका कानुन ल्याइए, त्यसले महिलालाई पुरुष कमरेडका कफी–सर्भरभन्दा बढी नबनाएको उनको भनाइ अहिले नेपाली कम्युनिस्ट आन्दोलनमै पनि चरितार्थ भइरहेको छ ।

धेरैजसो ‘कम्युनिस्ट’ लेखकहरूलाई सिमोन किन बिझाउँछिन् भन्ने कुरा हिजो–आज आएर म थाहा पाउँदै छु । दुराग्रहको वमन गर्न कोष्ठकभित्र जे–जे शब्द राखेर चिनाइए पनि सिमोन नारी–मुक्ति आन्दोलनकी सानदार नाम हुन्, जो जीवनका पछिल्ला दशकमा फ्रान्सेली महिला मुक्ति संगठनकी अध्यक्षसमेत थिइन् । आजीवन ‘लेफ्ट’ धारामा प्रवाहित यिनी संसारभरका ‘लेफ्ट–विङ्’ बाटै लखेटिइन् । उनको जन्मथलो फ्रान्स र उनका वैचारिक मित्रगण समाजवादी देशमा भन्दा पुँजीवादी अमेरिकामा उनी ज्यादा पढिइन् । यसलाई विडम्बना भन्ने कि संयोग ?

संसारका एक से एक दार्शनिकहरू जन्मेको देशमा जन्मिइन् सिमोन द बुभा । प्रबोधन र प्रयोगको उद्गमभूमिमा जन्मिइन् । फ्रान्सेली क्रान्ति, पेरिस कम्युनदेखि अनेक वाद र संवादले विश्वलाई वैचारिक नेतृत्व गरिरहेको देशमा जन्मिइन् । स्वतन्त्रता र समानताको जाग्रत सपना वायुझैं स्वस्फूर्त उनीभित्र सास भएर पस्यो । विचार र धारणाहरूको निर्बन्ध ‘डाइलेक्टिक्स’ उनी उभिएको माटोमै उपलब्ध थियो । त्यसैको सुगन्धमा मुक्त पन्छीझैं विभोर भएर बाँचिन् उनी सम्झौताहीन आफ्नै सर्तको जिन्दगी ।

सन् १९०८ जनवरी ९ को जन्म । धनाढ्य परिवारमा जन्मिए पनि दिनानुदिन खस्कँदो आर्थिक अवस्थाले पुर्ख्यौली ध्वाँस व्यवस्थापन गरिरहनुपर्ने उनको परिवार विस्तारै टाट हुँदै थियो । बा र आमा पटक्कै नमिल्ने । बाआमाबीचको अन्तहीन घर्षणमय सम्बन्धले दिएको एक्लोपन र कल्पनाशीलताले आफूलाई ‘बौद्धिक’ बन्ने मार्गतिर सोझ्याएको बयान उनले ‘मेमायर्स अफ ड्युटिफुल डटर’ मा गरेकी छन् ।

व्यक्ति आफू आफैं बन्दैन । व्यक्ति स्वयम्भू होइन । उसका विचार र बाटो भौतिक परिस्थितिले निर्माण गर्छन् । तर, त्यसको गतिशीलता र रूपान्तरणको सर्त भने ब्यक्तिको हातमा हुन्छ । उनको किशोरकालको भयावह एकान्त र विचलनका साथी किताब मात्रै थिए । उनले यति पढिन्, यति पढिन् कि त्यो देखेर परिवारका मान्छेहरू आत्तिन्थे । उनको निरन्तर मुखर गतिशीलताका सारथि तिनै किताबहरूले निर्माण गरेका विचार थिए । किताबमाथिको उनको लगनले हेगेल, लाइबनित्जजस्ता दार्शनिकको गहिरो प्रभाव मात्रै दिएन, जिन ज्याक मर्ली, सार्त्र, क्लाउड लेवी स्ट्रसजस्ता उम्दा विचारकको मित्र पनि बनायो ।

सिमोन पितृसत्ताका तमाम यान्त्रिकीलाई हाकाहाकी चुनौती दिएर उन्मुक्त बाँचेकी साहसी व्यक्ति हुन् विवाह, प्रेम, यौनसम्बन्ध, गर्भपतनजस्ता मान्यतामाथि प्रहार गरेर उनले अन्य वा अब्जेक्ट हुनुको नियतिबाट आफूलाई अलग्गै राखिन् । आफ्नै मर्जीले प्रेम गरिन् र छुट्टिइन् तर हरेक प्रेम र शारीरिक सम्बन्धमाथि बकाइदा गौरव मात्रै गरिनन् आफ्ना उपन्यास र संस्मरणमा पनि तिनको जीवन्त अभिलेख पनि राखिदिइन् ।

प्रख्यात अस्तित्ववादी लेखक जाँ पल सार्त्र १९२९ देखि मृत्युपर्यन्त (१९८१ सम्म) उनका अनन्य ‘पार्टनर’ रहे । उनीहरू एकअर्काका मेन्टर, एकअर्काका पूरक रहे तर दुवैले निजी छनोटको स्वतन्त्रतालाई सम्मान पनि गरिरहे । यसबीचमा सार्त्र र सिमोन दुवै आआफ्ना प्रेमीसँग ‘लिभ इन रिलेसन’ मा पनि बसे । सार्त्रबाहेक सिमोनका दुई प्रेमी थिए— अमेरिकी लेखक नेल्सन एल्ग्रिन र फ्रान्सेली फिल्ममेकर क्लाउज लन्जम्यान । कतिपय आलोचक अहिले पनि एल्ग्रिनसँगको सम्बन्धको खुला बयान र उनलाई सिमोनले लेखेको विवादास्पद चिठीका आधारमा उनको नारीवादी अडानको धज्जी उडाउँछन् । तर, मूल कुरा कुन क्षणमा उनीभित्र परम्परित स्त्रीत्व सग्बगाएर उनलाई सम्हालिन हम्मे पर्‍यो भन्ने होइन, उनको अथक साधनाका कारण संसारले के पायो भन्ने हो ।

‘द सेकेन्ड सेक्स’ उनको खास परिचायक हो । तर, उनलाई प्रसिद्धि दिलाउने अन्य किताब र कामहरू पनि छन् । उनले अढाई दर्जन जति किताब लेखिन्, प्रायः उपन्यास र निबन्ध । तीमध्ये ‘द ब्लड अफ अदर्स’, ‘द मेन्डरिज’, ‘एथिक्स अफ एम्बिग्युटी’ लगायतको चर्चा बढी सुनिन्छ । उनका संस्मरणात्मक कृतिहरू धेरै नै विवादग्रस्त हुन पुगे । चारवटा संस्मरण कृतिमध्ये ‘द प्राइम अफ लाइफ’ सर्वाधिक आलोचित र विवादग्रस्त किताब हो । आफ्ना निजी र यौन जीवनबारे निर्धक्कसँग खुलेर बयान गर्ने उनको हक्की शैली जीवनकालका पछिल्ला किताबमा पनि कायम देखिन्छ । त्यसको उदाहरण १९७० मा लिखित वृद्धावस्थामाथिको गहिरो विश्लेषण ‘ओल्ड एज’ र फ्रान्समा गर्भपतन कानुन ल्याउन दबाबस्वरूप १९७१ मा लेखिएको ‘मेनिफेस्टो अफ थ्री फोर थ्री’ मा भेटिन्छ । सार्त्रलगायत उनका प्रियजनहरू एक–एक गर्दै उनलाई छोडेर गए । जीवनका अन्तिम वर्षहरूमा पनि लेखन पठनमा निमग्न सिमोन संसारभरका स्त्री बौद्धिकहरूका लागि गतिशील चेतना, निडर लेखन र घर्षणमय ‘बोल्ड’ जिन्दगीकी साझा गुरु हुन् । अँध्यारो समयमा, स्त्री लेखक हुनुका समस्त असुविधा र दुःखमा, स्त्री भएकैले खप्नुपर्ने छुद्र आलोचना, प्रहार र ‘बुलिइङ’ का क्षणमा सिमोन निरन्तर उज्यालो फ्याँकिरहने लाइट हाउस हुन् ।


जनवरी सिमोनको जन्ममास हो । अठहत्तर वर्षको आयु बाँचेर १९८६ अप्रिल १४ का दिन बितेकी उनी सच्चा क्रान्तिकारी, सच्चा साम्यवादी हुन् । उनले हिँडेको बाटो सजिलो त छैन तर अस्तित्वको चोटले, नाम अनाम हिंसाको डहनले, परिचयको कठोर प्रश्नले लखेटिएका संसारभरिका स्त्रीहरूले हिँड्नुपर्नेछ—वस्तु (अब्जेक्ट) देखि कर्ता (सब्जेक्ट) सम्मको त्यस्तै कठोर बाटो । सिमोन द बुभालाई विनम्र नमन !

प्रकाशित : माघ ४, २०७६ १०:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×