कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

समृद्धिको बाधक भ्रष्ट आचरण

विकशित देशहरु नेताहरुका असल आचरण र व्यवहारकै कारण त्यहाँसम्म पुगेका हुन्

हामी यति बेला नयाँ नेपाल निर्माणको यात्रामा छौं । माथिल्लादेखि स्थानीय तहसम्मका नेताहरूको एउटै बोली छ— समृद्ध नेपाल । झट्ट सुन्दा समृद्ध नेपालको आशय देशको आर्थिक विकाससँग मात्र जोडिएको भान हुन्छ । तर ‘समृद्धि’ ले मानिसले ग्रहण गरेको मानसिक पक्ष या असल/सभ्य संस्कार पनि बुझाउँछ ।

समृद्धिको बाधक भ्रष्ट आचरण

आर्थिक विकासका लागि आर्थिक वृद्धि जरुरी छ भने, आर्थिक वृद्धिका लागि उत्पादन बढ्नुपर्छ । उत्पादन वृद्धिका लागि लगानी बढाउनुपर्छ । लगानी वृद्धि गर्न आर्थिक स्रोतको जरुरी हुन्छ । नेपाल प्राकृतिक सम्पदाहरूले भरिभराउ हुँदाहुँदै पनि दक्षिण एसियामा सबैभन्दा गरिब देश कहलिएको छ । विश्वका अति गरिब २८ देशमध्ये नेपाल चौथो गरिब देश हो । त्यस्तै, भ्रष्टाचारमा दक्षिण एसियामा बंगलादेशपछि नेपाल दोस्रोमा छ । आर्थिक स्रोतको उपलब्धता र लगानीले मात्र आर्थिक वृद्धि नहुने रहेछ भन्ने दृष्टान्त नेपाल हो ।


नेपालमा आर्थिक स्रोत तथा लगानी विस्तार भए पनि विकास नहुनुमा सबैभन्दा पहिलो कारक तत्त्व भ्रष्टाचार नै रहँदै आएको छ । हामीले देख्दै आइरहेकै छौं, कतिपय पुलपुलेसा र सडक निर्माण पूरा नहुँदै भत्किने गरेका छन् । निर्माण व्यवसायीहरूका चार–पाँच कम्पनी मिलेर ‘कार्टेल’ बनाउने र सत्तासीनहरूसँग कमिसनको खेल खेली देशलाई सधैं कङ्गाल बनाइराख्ने संस्कारले हामीलाई गाँजेको गाँज्यै छ । त्यस्तै, दण्डहीनता पनि उत्कर्षमा छ । न्यायका लागि अनशन बस्नुपर्ने अवस्था छ । उपल्लो तहका नेताहरू नै सुन तस्करी, यौन दुराचार, भ्रष्टाचारमा जोडिएपछि त्यसको प्रतिच्छाया प्रदेश तथा स्थानीय तहसम्म आइपुग्ने नै भयो ।


आर्थिक समृद्धिका लागि हाम्रा आचरण, व्यवहार, संस्कार, बानीबेहोरा तथा औपचारिक–अनौपचारिक संघ–संस्था बढी जिम्मेवार हुने गर्छन् । विकसित देशहरू नेताहरूका असल आचरण र व्यवहारकै कारण त्यहाँसम्म पुगेका हुन् । देशलाई विकास गर्न सार्वजनिक व्यक्तित्वहरू आदर्श संस्कार र चरित्रको हुनुपर्छ । मलेसियाका महाथिर मोहम्मद, दक्षिण अफ्रिकाका नेल्सन मन्डेला, भारतका गान्धी, सिंगापुरका ल्यु कान युले आदर्श चरित्रहरूका माध्यमले जनतालाई प्रभावित पारे र देशलाई विकासको चुलीमा पुर्‍याए । तर हामीकहाँ अँध्यारोमा छलछाम र लुटपाट गरी उज्यालोमा स्वाँगे नेता बन्ने लामो परम्परा रहेकाले हाम्रो देश निरन्तर पछाडि परेको पर्‍यै छ ।

दोस्रो, हाम्रोमा असल संविधान र नियम–कानुन भए पनि पालना हुन सकेको छैन । शहीदहरूको त्याग र बलिदानपछि आएको गणतन्त्रमा आत्मत्यागभन्दा परिवारवाद हावी छ । राजनीतिक परिवर्तन भए पनि सामाजिक–सांस्कृतिक फाँटमा जडता छ ।सत्यतथ्यलाई निमोठ्ने गणेशपूजक स्रष्टाहरूको बाहुल्य छ र भरौटेहरूको जगजगी छ । यति बेला राजनीतिक नेतृत्व आर्थिक रूपमा नोकरशाही पुँजीपति वर्गको स्तरमा पुगेको छ र दलाल पुँजीवादीसमक्ष आत्मसमर्पण गरेको छ । यो पक्षमा सुधार नगरेसम्म समृद्धि केवल दिवास्वप्न भइरहनेछ ।

प्रकाशित : माघ ६, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?