समृद्धिको बाधक भ्रष्ट आचरण

विकशित देशहरु नेताहरुका असल आचरण र व्यवहारकै कारण त्यहाँसम्म पुगेका हुन्
यज्ञराज प्रसाईं

हामी यति बेला नयाँ नेपाल निर्माणको यात्रामा छौं । माथिल्लादेखि स्थानीय तहसम्मका नेताहरूको एउटै बोली छ— समृद्ध नेपाल । झट्ट सुन्दा समृद्ध नेपालको आशय देशको आर्थिक विकाससँग मात्र जोडिएको भान हुन्छ । तर ‘समृद्धि’ ले मानिसले ग्रहण गरेको मानसिक पक्ष या असल/सभ्य संस्कार पनि बुझाउँछ ।

ZenTravel

आर्थिक विकासका लागि आर्थिक वृद्धि जरुरी छ भने, आर्थिक वृद्धिका लागि उत्पादन बढ्नुपर्छ । उत्पादन वृद्धिका लागि लगानी बढाउनुपर्छ । लगानी वृद्धि गर्न आर्थिक स्रोतको जरुरी हुन्छ । नेपाल प्राकृतिक सम्पदाहरूले भरिभराउ हुँदाहुँदै पनि दक्षिण एसियामा सबैभन्दा गरिब देश कहलिएको छ । विश्वका अति गरिब २८ देशमध्ये नेपाल चौथो गरिब देश हो । त्यस्तै, भ्रष्टाचारमा दक्षिण एसियामा बंगलादेशपछि नेपाल दोस्रोमा छ । आर्थिक स्रोतको उपलब्धता र लगानीले मात्र आर्थिक वृद्धि नहुने रहेछ भन्ने दृष्टान्त नेपाल हो ।

Meroghar

नेपालमा आर्थिक स्रोत तथा लगानी विस्तार भए पनि विकास नहुनुमा सबैभन्दा पहिलो कारक तत्त्व भ्रष्टाचार नै रहँदै आएको छ । हामीले देख्दै आइरहेकै छौं, कतिपय पुलपुलेसा र सडक निर्माण पूरा नहुँदै भत्किने गरेका छन् । निर्माण व्यवसायीहरूका चार–पाँच कम्पनी मिलेर ‘कार्टेल’ बनाउने र सत्तासीनहरूसँग कमिसनको खेल खेली देशलाई सधैं कङ्गाल बनाइराख्ने संस्कारले हामीलाई गाँजेको गाँज्यै छ । त्यस्तै, दण्डहीनता पनि उत्कर्षमा छ । न्यायका लागि अनशन बस्नुपर्ने अवस्था छ । उपल्लो तहका नेताहरू नै सुन तस्करी, यौन दुराचार, भ्रष्टाचारमा जोडिएपछि त्यसको प्रतिच्छाया प्रदेश तथा स्थानीय तहसम्म आइपुग्ने नै भयो ।

आर्थिक समृद्धिका लागि हाम्रा आचरण, व्यवहार, संस्कार, बानीबेहोरा तथा औपचारिक–अनौपचारिक संघ–संस्था बढी जिम्मेवार हुने गर्छन् । विकसित देशहरू नेताहरूका असल आचरण र व्यवहारकै कारण त्यहाँसम्म पुगेका हुन् । देशलाई विकास गर्न सार्वजनिक व्यक्तित्वहरू आदर्श संस्कार र चरित्रको हुनुपर्छ । मलेसियाका महाथिर मोहम्मद, दक्षिण अफ्रिकाका नेल्सन मन्डेला, भारतका गान्धी, सिंगापुरका ल्यु कान युले आदर्श चरित्रहरूका माध्यमले जनतालाई प्रभावित पारे र देशलाई विकासको चुलीमा पुर्‍याए । तर हामीकहाँ अँध्यारोमा छलछाम र लुटपाट गरी उज्यालोमा स्वाँगे नेता बन्ने लामो परम्परा रहेकाले हाम्रो देश निरन्तर पछाडि परेको पर्‍यै छ ।

दोस्रो, हाम्रोमा असल संविधान र नियम–कानुन भए पनि पालना हुन सकेको छैन । शहीदहरूको त्याग र बलिदानपछि आएको गणतन्त्रमा आत्मत्यागभन्दा परिवारवाद हावी छ । राजनीतिक परिवर्तन भए पनि सामाजिक–सांस्कृतिक फाँटमा जडता छ ।सत्यतथ्यलाई निमोठ्ने गणेशपूजक स्रष्टाहरूको बाहुल्य छ र भरौटेहरूको जगजगी छ । यति बेला राजनीतिक नेतृत्व आर्थिक रूपमा नोकरशाही पुँजीपति वर्गको स्तरमा पुगेको छ र दलाल पुँजीवादीसमक्ष आत्मसमर्पण गरेको छ । यो पक्षमा सुधार नगरेसम्म समृद्धि केवल दिवास्वप्न भइरहनेछ ।

प्रकाशित : माघ ६, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

छोरी, दान र दासत्व

आजका सबल, सक्षम छोरीहरू ‘पुरेत बाजे’ ले जेजे भन्छन्, त्यहीत्यही गर्दै आफ्‍नो स्वाधीनतालाई बन्धकी राखेर ‘दान गरिएको वस्तु’ बन्न तयार हुन्छन् ।
रामेश्वरी पन्त

दृश्य एकः बेहुला र बेहुली यज्ञवेदीको परिक्रमा गर्दै छन् । हातमा सानो रुमाल लिएकी बेहुलीकी बहिनी प्रत्येक चोटि जबर्जस्ती बेहुलाको खुट्टाको बूढीऔंला समात्न पुग्छे । बेहुला बल गरेर औंला छुटाउँछ र फेरि अगाडि बढ्छ ।

दृश्य दुई : वरणीका लागि तयार भएको बेहुलाले जब आफ्ना जुत्ता फुकाल्छ, बेहुलीका बहिनीहरू टिपेर टाप कस्छन् ।

दृश्य तीन : समान हैसियत र योग्यता भएका वरवधू । वरले सिउँदोमा सिन्दूर राखिसकेपछि वधू पण्डितको आज्ञाले वरका पाउमा शिर राखेर घोप्टिन्छे । वर संसार जितेझैं प्रसन्न मुद्रामा फुलिरहन्छ ।
...
गत मंसिरमा देखिएका उपर्युक्त दृश्यहरूले हिन्दू विवाह परम्पराबारे मनमा अनेक तरंग पैदा गराए । झट्ट हेर्दा रमाइलोका लागि खेलिने खेलजस्तो लाग्ने विवाह आखिर हो चाहिँ के त ? जिज्ञासा मेट्न पुस्तक खोज्दा भेटेँ— पण्डित कुलचन्द्र गौतमले संस्कृतमा लेखेको र प्रा.डा. वेणीमाधव ढकालले नेपालीमा अनुवाद गरेको ‘विवाह पद्धति’, जसले मेरा आँखा खोलिदियो ।

समाजशास्त्रले भन्छ— विवाहको सुरुआत सामन्तवादसँगै भएको हो । तर यसले मानव समाजको विकासक्रममा विवाह परम्परा ठ्याक्कै कुन कालखण्डदेखि सुरु भएको हो भनेर प्रमाण दिन सकेको छैन ।धर्मशास्त्रले भने वैदिक विधिपूर्वक गरिएको विवाहलाई ऋग्वेदसँग जोडेको छ । विवाह परम्पराबारे मदनमणि दीक्षितले आफ्नो पुस्तक ‘ऋग्वैदिक नारी चरित्र’ मा ‘सूर्या विवाह’ शीर्षकमा लेख्नुभएको छ— “विवाह पद्धतिले ऋग्वैदिक समयमा नै संस्थागत रूप लियो भन्नेबारे ऋग्वेदको १० औं मण्डलको ८५ औं सूक्तले बलियो संकेत दिन्छ । यो सूक्तलाई सूर्या विवाहको सूक्त भनिएको छ । सूर्यले आफ्नी छोरी सूर्या (तपती) को विवाह गर्दा पढिएका मन्त्र नै पछि अथर्व वेदमा ‘आदित्य दुहिता’ भनेर भनिएको छ ।” गौतमको ‘विवाह पद्धति’ मा उल्लेख भए अनुसार, विवाहक्रममा वर–वधू आमनेसामने गरेर एकअर्कालाई हेरिरहँदा पण्डितले यिनै ‘आदित्य दुहिता’ अर्थात् सूर्यकी छोरी तपती र संवरण अनि ‘शैलराज दुहिता’ अर्थात् हिमालयकी छोरी पार्वती र शिवको विवाहमा पढिएका मन्त्र उच्चारण गर्ने चलन छ । यसबाट वैदिक विवाह पद्धतिको सुरुआत यिनै विवाहबाट भएको संकेत पाइन्छ ।

विवाहलाई समाजशास्त्रले सामाजिक सम्झौता मान्छ भने, धर्मशास्त्रले धार्मिक अनुष्ठान र सांस्कृतिक उत्सव । विवाहबारे समाजशास्त्रीहरूका पनि अलग–अलग धारणा पाइन्छन् । प्रगतिशील समाजशास्त्रीहरू भन्छन्— विवाह सामन्तवादले महिलामाथि लादेको दासत्वको जन्जिर हो, जसले महिलाको स्वतन्त्रता र यौनिकतालाई नियन्त्रण गर्छ । धर्मशास्त्रले विवाहलाई धार्मिक र मांगलिक अनुष्ठान भने पनि आशय लगभग उस्तै लाग्छ । विवाहका क्रममा वरले वधूको हृदय स्पर्श गर्दै भन्छ, “हे कन्या ! म तिम्रो हृदयलाई ‘पति नै सर्वस्व हो, उनैको सतमा बस्नुपर्छ’ भनी तदनुकूल आचरण गर्ने पातिव्रत्य व्रतमा लगाउँछु... । तिमीले मेरो वचनलाई निर्विकल्प आज्ञाका रूपमा स्वीकार गर... ।” आखिर यो अभिव्यक्ति पनि महिलाको स्वतन्त्र अस्तित्वमाथिको नियन्त्रण नै त हो !

यसैगरी मीमांसाले विवाहलाई कन्याको उपनयन संस्कार हो भन्दै यो पुरुषको संस्कार होइन भनेको छ । तर विवाहको कर्मकाण्डमा पुरुष अर्थात् वर नै हावी हुन्छ । उसले वधूलाई भन्छ, ‘आजबाट तँ मेरी भइस्, मेरो अधीनमा रहनुपर्छ ।’ हुन त शास्त्रहरूमा पत्नीलाई सहधर्मिणी र सहचारिणी पनि भनिएको पाइन्छ, तर व्यवहारमा पत्नी पतिको सम्पत्ति मात्र बन्न पुग्छे ।

धर्मशास्त्रले कन्यादानलाई मोक्षप्राप्तिको मार्ग मान्छ । कन्यादान गर्दैगर्दा पिताले भन्छ, ‘हे कन्या ! तिमीलाई दान गर्ने यस कर्मबाट मैले संसार सागर तरेर मोक्ष प्राप्त गर्न सकूँ ।’ कन्यादान संकल्पमा भन्ने गरिन्छ— ‘...यी कन्यामा उत्पन्न हुने सन्तानले पछिका १२ पुस्ता, पहिलेका १२ पुस्ता र आफूसमेत २५ पुस्ताका पुरुषहरूलाई पवित्र तुल्याउने उद्देश्यले देवता, ब्राह्मण र अग्निलाई साक्षी राखेर ... प्रदान गर्छु ।’ जबकि कन्यादानको समयमा कन्याका पिता मात्र होइन, उसकी माता पनि उत्तिकै सहभागी हुन्छे, तर मोक्ष चाहिँ पुरुषलाई मात्र ! यति मात्र होइन, होम गर्दा पिता, पितामह, प्रपितामह र वृद्धपितामहलाई आहुति दिइन्छ, तर माता, मातामह, प्रमातामह र वृद्ध्रमातामहहरूलाई दिइँदैन । नारीलाई मोक्ष पनि नचाहिने ! तर जसको मोक्षको कामना गरिन्छ त्यो पूरा गर्नका लागि नारी नै चाहिने !

कुनै समय थियो, कन्यादान नै महादान हो भन्दै आमाको काख नछोडेकी आठ वर्षकी कन्या (गौरी) लाई मोक्ष तथा पुत्रप्राप्तिका निम्ति दान गरिन्थ्यो, तर दान लिनेको उमेर हेरिंदैनथ्यो । ‘मारे पाप, पाले पुण्य’ भन्दै बाबुको गोत्र र किरियाकर्म नै टुटाएर पराईको हातमा सुम्पिइन्थ्यो । आज छोरा र छोरीको कानुनी हैसियत बराबर भैसक्यो, तैपनि बाबुआमाहरू छोरी दान गर्नमा गर्व गर्छन् र हातमा जौ, तिल, कुश लिएर ‘२५ पुस्ताका पुरुषहरूको’ मुक्तिको कामना गर्दै आफ्नो मुटुको टुक्रालाई आफ्नो गोत्रबाट अलग गर्छन् । अनि आजका सबल, सक्षम छोरीहरू ‘पुरेत बाजे’ ले जेजे भन्छन्, त्यहीत्यही गर्दै आफ्नो स्वाधीनतालाई बन्धकी राखेर ‘दान गरिएको वस्तु’ बन्न तयार हुन्छन् ।

अब माथि उल्लिखित दृश्य तीनको कुरा गरौं । वरले वधूलाई सिन्दूर लगाइदिएपछि आजका पण्डितले उनीहरूलाई भन्न सक्दैनन्, ‘ल, अब तिमीहरू एकअर्काका परिपूरक भयौ, दुवैले एकअर्कालाई अँगालो मारेर कृतज्ञता प्रकट गर ।’ बरु भन्छन्, ‘ल, अब दुलहीले दुलहाका पाउमा शिर राखेर ढोग देऊ ।’ अनि बराबरी हैसियतमा पुगेका हाम्रा छोरीहरू पनि पति भनेको सहयात्रीभन्दा माथि ‘मालिक नै हो’ भन्दै उसका पाउमा घोप्टिएर दासत्वको प्रथम नमुना प्रस्तुत गर्छन् । अनि फेरि बेहुलाले ‘म मेरो प्राण, हाड, मासु र छालालाई तिमीमा एकाकार गराउँछु’ भन्दै चार पटकसम्म बेहुलीलाई जुठो खुवाउँछ, तर ‘आऊ, हामी एकअर्काको जुठो खाएर हाम्रो प्राण, हाड, मासु र छालालाई एकअर्कामा समाहित गराऔं’ भन्ने हिम्मत गर्दैन ।

अब दृश्य एकको सन्दर्भ निकालौं । गौतमको ‘विवाह पद्धति’ मा वरपूजन विधिको पादटिप्पणीमा लेखिएको छ— ‘वरको पाउ धोइसकेपछि पारितोषिक पाउन चाहने दास जातिका महिलाले वरको खुट्टाको बूढीऔंला समातिरहन्छन् । यो कहीँ निर्दिष्ट नभएर कर्मकाण्डीहरूले कुनैकुनै सम्प्रदायमा भन्ने गर्दछन् ।’ कुनै युगका दासीहरूले गर्ने गरेको यस्तो कर्म गर्न आजका बेहुलीका बहिनीहरू प्रेरित हुनु लज्जाको विषय हो । त्यस्तै, दृश्य दुईमा उल्लिखित बेहुलीका बैनीहरूले बेहुलाका जुत्ता लुकाएर ‘पैसाको बार्गेनिङ गर्ने’ आयातित चलन पनि दासत्वकै स्वीकारोक्तिबाहेक केही होइन । यस्ता विषयमा आजका छोरीहरू सचेत हुने कि?

प्रकाशित : माघ ६, २०७६ ०९:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×