३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

छोरी, दान र दासत्व

आजका सबल, सक्षम छोरीहरू ‘पुरेत बाजे’ ले जेजे भन्छन्, त्यहीत्यही गर्दै आफ्‍नो स्वाधीनतालाई बन्धकी राखेर ‘दान गरिएको वस्तु’ बन्न तयार हुन्छन् ।
रामेश्वरी पन्त

दृश्य एकः बेहुला र बेहुली यज्ञवेदीको परिक्रमा गर्दै छन् । हातमा सानो रुमाल लिएकी बेहुलीकी बहिनी प्रत्येक चोटि जबर्जस्ती बेहुलाको खुट्टाको बूढीऔंला समात्न पुग्छे । बेहुला बल गरेर औंला छुटाउँछ र फेरि अगाडि बढ्छ ।

छोरी, दान र दासत्व

दृश्य दुई : वरणीका लागि तयार भएको बेहुलाले जब आफ्ना जुत्ता फुकाल्छ, बेहुलीका बहिनीहरू टिपेर टाप कस्छन् ।


दृश्य तीन : समान हैसियत र योग्यता भएका वरवधू । वरले सिउँदोमा सिन्दूर राखिसकेपछि वधू पण्डितको आज्ञाले वरका पाउमा शिर राखेर घोप्टिन्छे । वर संसार जितेझैं प्रसन्न मुद्रामा फुलिरहन्छ ।

...

गत मंसिरमा देखिएका उपर्युक्त दृश्यहरूले हिन्दू विवाह परम्पराबारे मनमा अनेक तरंग पैदा गराए । झट्ट हेर्दा रमाइलोका लागि खेलिने खेलजस्तो लाग्ने विवाह आखिर हो चाहिँ के त ? जिज्ञासा मेट्न पुस्तक खोज्दा भेटेँ— पण्डित कुलचन्द्र गौतमले संस्कृतमा लेखेको र प्रा.डा. वेणीमाधव ढकालले नेपालीमा अनुवाद गरेको ‘विवाह पद्धति’, जसले मेरा आँखा खोलिदियो ।


समाजशास्त्रले भन्छ— विवाहको सुरुआत सामन्तवादसँगै भएको हो । तर यसले मानव समाजको विकासक्रममा विवाह परम्परा ठ्याक्कै कुन कालखण्डदेखि सुरु भएको हो भनेर प्रमाण दिन सकेको छैन । धर्मशास्त्रले भने वैदिक विधिपूर्वक गरिएको विवाहलाई ऋग्वेदसँग जोडेको छ । विवाह परम्पराबारे मदनमणि दीक्षितले आफ्नो पुस्तक ‘ऋग्वैदिक नारी चरित्र’ मा ‘सूर्या विवाह’ शीर्षकमा लेख्नुभएको छ— “विवाह पद्धतिले ऋग्वैदिक समयमा नै संस्थागत रूप लियो भन्नेबारे ऋग्वेदको १० औं मण्डलको ८५ औं सूक्तले बलियो संकेत दिन्छ । यो सूक्तलाई सूर्या विवाहको सूक्त भनिएको छ । सूर्यले आफ्नी छोरी सूर्या (तपती) को विवाह गर्दा पढिएका मन्त्र नै पछि अथर्व वेदमा ‘आदित्य दुहिता’ भनेर भनिएको छ ।” गौतमको ‘विवाह पद्धति’ मा उल्लेख भए अनुसार, विवाहक्रममा वर–वधू आमनेसामने गरेर एकअर्कालाई हेरिरहँदा पण्डितले यिनै ‘आदित्य दुहिता’ अर्थात् सूर्यकी छोरी तपती र संवरण अनि ‘शैलराज दुहिता’ अर्थात् हिमालयकी छोरी पार्वती र शिवको विवाहमा पढिएका मन्त्र उच्चारण गर्ने चलन छ । यसबाट वैदिक विवाह पद्धतिको सुरुआत यिनै विवाहबाट भएको संकेत पाइन्छ ।

विवाहलाई समाजशास्त्रले सामाजिक सम्झौता मान्छ भने, धर्मशास्त्रले धार्मिक अनुष्ठान र सांस्कृतिक उत्सव । विवाहबारे समाजशास्त्रीहरूका पनि अलग–अलग धारणा पाइन्छन् । प्रगतिशील समाजशास्त्रीहरू भन्छन्— विवाह सामन्तवादले महिलामाथि लादेको दासत्वको जन्जिर हो, जसले महिलाको स्वतन्त्रता र यौनिकतालाई नियन्त्रण गर्छ । धर्मशास्त्रले विवाहलाई धार्मिक र मांगलिक अनुष्ठान भने पनि आशय लगभग उस्तै लाग्छ । विवाहका क्रममा वरले वधूको हृदय स्पर्श गर्दै भन्छ, “हे कन्या ! म तिम्रो हृदयलाई ‘पति नै सर्वस्व हो, उनैको सतमा बस्नुपर्छ’ भनी तदनुकूल आचरण गर्ने पातिव्रत्य व्रतमा लगाउँछु... । तिमीले मेरो वचनलाई निर्विकल्प आज्ञाका रूपमा स्वीकार गर... ।” आखिर यो अभिव्यक्ति पनि महिलाको स्वतन्त्र अस्तित्वमाथिको नियन्त्रण नै त हो !

यसैगरी मीमांसाले विवाहलाई कन्याको उपनयन संस्कार हो भन्दै यो पुरुषको संस्कार होइन भनेको छ । तर विवाहको कर्मकाण्डमा पुरुष अर्थात् वर नै हावी हुन्छ । उसले वधूलाई भन्छ, ‘आजबाट तँ मेरी भइस्, मेरो अधीनमा रहनुपर्छ ।’ हुन त शास्त्रहरूमा पत्नीलाई सहधर्मिणी र सहचारिणी पनि भनिएको पाइन्छ, तर व्यवहारमा पत्नी पतिको सम्पत्ति मात्र बन्न पुग्छे ।


धर्मशास्त्रले कन्यादानलाई मोक्षप्राप्तिको मार्ग मान्छ । कन्यादान गर्दैगर्दा पिताले भन्छ, ‘हे कन्या ! तिमीलाई दान गर्ने यस कर्मबाट मैले संसार सागर तरेर मोक्ष प्राप्त गर्न सकूँ ।’ कन्यादान संकल्पमा भन्ने गरिन्छ— ‘...यी कन्यामा उत्पन्न हुने सन्तानले पछिका १२ पुस्ता, पहिलेका १२ पुस्ता र आफूसमेत २५ पुस्ताका पुरुषहरूलाई पवित्र तुल्याउने उद्देश्यले देवता, ब्राह्मण र अग्निलाई साक्षी राखेर ... प्रदान गर्छु ।’ जबकि कन्यादानको समयमा कन्याका पिता मात्र होइन, उसकी माता पनि उत्तिकै सहभागी हुन्छे, तर मोक्ष चाहिँ पुरुषलाई मात्र ! यति मात्र होइन, होम गर्दा पिता, पितामह, प्रपितामह र वृद्धपितामहलाई आहुति दिइन्छ, तर माता, मातामह, प्रमातामह र वृद्ध्रमातामहहरूलाई दिइँदैन । नारीलाई मोक्ष पनि नचाहिने ! तर जसको मोक्षको कामना गरिन्छ त्यो पूरा गर्नका लागि नारी नै चाहिने !

कुनै समय थियो, कन्यादान नै महादान हो भन्दै आमाको काख नछोडेकी आठ वर्षकी कन्या (गौरी) लाई मोक्ष तथा पुत्रप्राप्तिका निम्ति दान गरिन्थ्यो, तर दान लिनेको उमेर हेरिंदैनथ्यो । ‘मारे पाप, पाले पुण्य’ भन्दै बाबुको गोत्र र किरियाकर्म नै टुटाएर पराईको हातमा सुम्पिइन्थ्यो । आज छोरा र छोरीको कानुनी हैसियत बराबर भैसक्यो, तैपनि बाबुआमाहरू छोरी दान गर्नमा गर्व गर्छन् र हातमा जौ, तिल, कुश लिएर ‘२५ पुस्ताका पुरुषहरूको’ मुक्तिको कामना गर्दै आफ्नो मुटुको टुक्रालाई आफ्नो गोत्रबाट अलग गर्छन् । अनि आजका सबल, सक्षम छोरीहरू ‘पुरेत बाजे’ ले जेजे भन्छन्, त्यहीत्यही गर्दै आफ्नो स्वाधीनतालाई बन्धकी राखेर ‘दान गरिएको वस्तु’ बन्न तयार हुन्छन् ।


अब माथि उल्लिखित दृश्य तीनको कुरा गरौं । वरले वधूलाई सिन्दूर लगाइदिएपछि आजका पण्डितले उनीहरूलाई भन्न सक्दैनन्, ‘ल, अब तिमीहरू एकअर्काका परिपूरक भयौ, दुवैले एकअर्कालाई अँगालो मारेर कृतज्ञता प्रकट गर ।’ बरु भन्छन्, ‘ल, अब दुलहीले दुलहाका पाउमा शिर राखेर ढोग देऊ ।’ अनि बराबरी हैसियतमा पुगेका हाम्रा छोरीहरू पनि पति भनेको सहयात्रीभन्दा माथि ‘मालिक नै हो’ भन्दै उसका पाउमा घोप्टिएर दासत्वको प्रथम नमुना प्रस्तुत गर्छन् । अनि फेरि बेहुलाले ‘म मेरो प्राण, हाड, मासु र छालालाई तिमीमा एकाकार गराउँछु’ भन्दै चार पटकसम्म बेहुलीलाई जुठो खुवाउँछ, तर ‘आऊ, हामी एकअर्काको जुठो खाएर हाम्रो प्राण, हाड, मासु र छालालाई एकअर्कामा समाहित गराऔं’ भन्ने हिम्मत गर्दैन ।

अब दृश्य एकको सन्दर्भ निकालौं । गौतमको ‘विवाह पद्धति’ मा वरपूजन विधिको पादटिप्पणीमा लेखिएको छ— ‘वरको पाउ धोइसकेपछि पारितोषिक पाउन चाहने दास जातिका महिलाले वरको खुट्टाको बूढीऔंला समातिरहन्छन् । यो कहीँ निर्दिष्ट नभएर कर्मकाण्डीहरूले कुनैकुनै सम्प्रदायमा भन्ने गर्दछन् ।’ कुनै युगका दासीहरूले गर्ने गरेको यस्तो कर्म गर्न आजका बेहुलीका बहिनीहरू प्रेरित हुनु लज्जाको विषय हो । त्यस्तै, दृश्य दुईमा उल्लिखित बेहुलीका बैनीहरूले बेहुलाका जुत्ता लुकाएर ‘पैसाको बार्गेनिङ गर्ने’ आयातित चलन पनि दासत्वकै स्वीकारोक्तिबाहेक केही होइन । यस्ता विषयमा आजका छोरीहरू सचेत हुने कि ?

प्रकाशित : माघ ६, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?