निर्णायक नेतृत्वको संघारमा कांग्रेस

कृष्ण खनाल

नेपाली कांग्रेसको १३ औं महाधिवेशन सम्पन्न भएको आउँदो फागुनमा चार वर्ष पूरा हुँदै छ । सामान्यतया कांग्रेस यति बेला १४ औं महाधिवेशनले रंगिनुपर्ने थियो, तर सभापति शेरबहादुर देउवाले २०७७ फागुनमा मात्र अधिवेशन गर्ने घोषणा गरेका छन् । पार्टीमा एकातिर गुटगत विवाद चुलिएको छ भने अर्कातर्फ भावी नेतृत्व र यसले लिनुपर्ने बाटोबारे चर्चा बढ्न थालेको छ । निर्धारित कार्यकालमा अधिवेशन नहुनु/नगर्नु कांग्रेसको नियति नै भएको छ ।

नेतृत्व कब्जा गर्नेले आफ्नो अनुकूल नभएसम्म कानुन, नियमले दिए हदैसम्म तन्काउने परम्परा बसेको छ । सके त अधिवेशनै नगर्ने प्रवृत्ति बढ्दो छ, भ्रातृ संगठन यसका दृष्टान्त हुन् । असहमत पक्ष पनि समयमै अधिवेशन गर्न खासै लागिपरेको देखिएन । सबै जना पार्टीको संस्थागत सुदृढीकरणमा भन्दा आआफ्नो अनुकूल समयको प्रतीक्षामा रहे । अन्यथा, चारवर्षे कार्यकालमा अधिवेशन गर्न नसकिने र नहुने कुनै कारणै थिएन ।


राजनीतिक दल इतिहासको एउटा कालखण्डमा निश्चित मुद्दा र उद्देश्य लिएर जन्मिन्छ । नेपाली कांग्रेस निरंकुश जहानिया राणाशासनको अन्त्य गरेर मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था स्थापनाका लागि जन्मिएको पार्टी हो । अहिले राणाशासन समाप्त भएको सात दशक पार हुँदै छ । लोकतन्त्र स्थापनाको ऐतिहासिक कीर्ति र प्रगतिशील सामाजिक–आर्थिक रूपान्तरणको ‘इमेज’ बनाएको थियो कांग्रेसले । निर्दलीय पञ्चायतको आवरणमा राजाको निरंकुशताविरुद्ध तीस वर्षसम्म लोकतन्त्रका पक्षमा निरन्तर आन्दोलनमा थियो । संघर्ष, त्याग र बलिदानका गाथाले भरिएको थियो । त्यो कांग्रेस आज कता हराएको छ, बत्ती बालेर खोज्नुपर्ने भएको छ ।


मुद्दा सधैं एउटै हुँदैन, समय र अवस्थाले निर्धारण गर्छ । प्रतिगामी ज्ञानेन्द्र राजले संवैधानिक राजतन्त्र मात्र होइन, राजसंस्थाकै सन्दर्भ समाप्त गर्‍यो र मुलुकमा गणतन्त्र अपरिहार्य भयो । माओवादी विद्रोहले संविधानसभाको मुद्दालाई ब्युँत्यायो । २०६२/६३ को आन्दोलन, शान्ति प्रक्रिया, मधेस विद्रोहले संघीयता, समावेशिता, समानुपातिकतालाई अपरिहार्य बनायो । कांग्रेस यी कुरामा फरक थिएन, सँगै थियो । लोकतन्त्र, परिवर्तन र प्रगतिका कुनै पनि मुद्दामा आवाज मुखरित गर्ने मानिसको कमी थिएन कांग्रेसमा । नरहरि आचार्य, गगन थापाहरूले ज्ञानेन्द्रले सत्ता लिँदा तत्कालै गणतन्त्रको माग अघि बढाएका थिए । नेवि संघले सडकमा गणतन्त्रको नारा घन्काइरहेको थियो । शान्ति प्रक्रिया, संविधानसभा, संघीयता, समावेशिता लगायतका मुद्दामा यसको वैचारिक वृत्त प्रतिनिधित्व गर्नेहरू अग्रपंक्तिमा थिए । गिरिजाप्रसाद कोइरालाबिनाको शान्ति वार्ताको प्रयास राजा, कम्युनिस्ट दुवैले गरेका थिए । तर माओवादीलाई शान्ति प्रक्रियामा डोर्‍याउन मात्र होइन, निर्णायक बनाउने गिरिजाप्रसाद नै थिए । गिरिजाप्रसाद अर्थात् कांग्रेसलाई झिकिदिने हो भने २०६२–७२ को इतिहास नै बन्दैन ।


तर यी मुद्दाको अगुवाइ गर्ने श्रेय किन कांग्रेसले पाउन सकेन ? किन पछि पर्‍यो कांग्रेस ? प्रजापरिषद्ले कांग्रेसभन्दा दशकपहिले नै राणाशासनविरुद्ध आन्दोलन छेडेको थियो । तर २००७ सालमा क्रान्ति सफल भएपछि किन पछि पर्‍यो प्रजापरिषद् ? पछि पर्‍यो मात्रै होइन, अस्तित्व नै लोप भयो किन ? गणतन्त्रलगायत २०६२/६३ आन्दोलनको ‘एजेन्डा सेटर’ मानिएको र पहिलो संविधानसभामा पहिलो शक्ति बनेको माओवादी दोस्रो संविधानसभा चुनावमा किन खुम्चियो र आज किन हरायो ? कम्युनिस्ट एकता एउटा कुरा हो, तर स्थापित पार्टीको सैद्धान्तिक र सांगठनिक विलय निकै विचारणीय कुरा हो ।


विचारको अगुवाइ परिवर्तनको सोच भएको जसले पनि गर्न सक्छ । २०६२/६३ को आन्दोलनमा नागरिक अगुवाइ यसको उदाहरण हो । तर पार्टीको नेतृत्वले त्यसको अगुवाइ स्थापित गर्न सकेन भने केही नेता वा वैचारिक वृत्तले पैरवी गर्दैमा जनतामाझ त्यो इमेज बन्दैन, बन्दो रहेनछ । कांग्रेसको वर्तमान अवस्थाले त्यसको पुष्टि गर्छ ।


राजनीतिक पार्टीको औचित्य यसको नेतृत्व, नीति र जनसमर्थनको सान्दर्भिकताले मात्र पुष्टि गर्ने हो । मुद्दा समयको माग हो, नेतृत्वले समयको पदचाप बुझेर त्यसको अगुवाइ गर्न सक्नुपर्छ । बीपी कोइरालापछि कांग्रेसमा समयको पदचाप बुझ्ने नेता कोही देखिएन । मान्छे नभएका होइनन् । कांग्रेसको केन्द्रीय समितिमै रहेर त्यसलाई नरहरि आचार्य, प्रदीप गिरीहरूले बुझेका थिए । तर के गर्ने, पार्टी हाँक्ने हैसियतमा उनीहरू थिएनन् ! जनता पार्टीको मुख्य मागको पछि लागेका हुन्छन् । जस्तो– सात सालमा राणाशासनको अन्त्य र कांग्रेस मात्र जनताले चिनेका थिए । पार्टीलाई नेताले चिनाउने हो । कांग्रेसका लागि त्यो काम बीपी कोइरालाले गरे । २०४६ सालमा गणेशमान सिंहले गरे । २०६२/६३ मा गिरिजाप्रसादले गरे, तर त्यो संस्थागत हुन सकेन । नयाँ एजेन्डा र पुरानो कांग्रेसमा गिरिजाप्रसाद र पार्टी संगठन दुवै रुमलिइरहे । अहिले पनि त्यही अवस्था छ, नयाँ संविधान र पुरानो कांग्रेसको ।


गणतन्त्र नेपालको यो राजनीतिक यात्राको श्रेय निश्चय पनि सर्वाधिक रूपमा कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालालाई नै जान्छ । तर यसमा उनको समय पदचापको नीतिगत सोचभन्दा अनुकूल समयको उपयोग बढी निर्णायक थियो । मुद्दामा कांग्रेस पछि परेको पनि होइन, तर यी विषयमा कांग्रेसको संगठन र संस्थागत रूपमा विचारविमर्श आवश्यक ठानिएन । नरहरि आचार्यलगायत हामी गणतन्त्र, संघीयता, समावेशितालगायतका विषय लिएर देशव्यापी रूपमा ‘गणराज्य अभियान’ मा लाग्दा पार्टीको संस्थापन पक्ष भने यसको विपक्षमा युवाहरूलाई प्रशिक्षण दिँदै थियो । सिद्धान्त, मूल्य र प्रणालीका जति कुरा गरे पनि पार्टी भनेको नेतृत्वको क्षमताले हाँक्ने खुला र विशाल मञ्च हो । उसको बुझाइ नै पार्टीका लागि यथार्थ हो, त्यही कुरा जनतामा सञ्चारित हुन्छ । तसर्थ नेतृत्वको विवाद भनेको क्षमताको मात्र बुझाइ होइन, नीति र गन्तव्यको पनि हो । पार्टीभित्र वैचारिक द्वन्द्व पनि हो यो ।


मैले यो लामो पृष्ठभूमि किन दिँदै छु भने कांग्रेस अहिले संकटापन्न अवस्थामा छ । यसले सही नेतृत्व पाउन सकेन भने यो अरू सीमान्तीकृत र असान्दर्भिक हुने सम्भावना बढ्दो छ । कांग्रेस कमजोर हुनु भनेको लोकतन्त्रलाई घाटा लाग्नु पनि हो । घाटा मात्र होइन, मुलुक एकदलीय तन्त्रतर्फ उन्मुख हुने संकेत पनि देखिन्छ । यथावस्थामा कांग्रेसले त्यो सन्तुलन जोगाउन सक्ने देखिन्न । यसको विकल्प पनि देखिन्न । लोकतन्त्रका पक्षधरहरूको आस र भरोसा अझै कांग्रेसमा छ । त्यसलाई बचाउने वा पन्छाउने परीक्षामा कांग्रेसको १४ औं अधिवेशन छ । नेतृत्वमा निर्णायक परिवर्तन हुन सके मात्र जनताको त्यो भरोसा र साख जोगिनेछ ।


नेपालमा कम्युनिस्ट पार्टी वा उसको नेतृत्वको सरकारका कारण लोकतन्त्रमाथि शंका गर्नुपर्दैन भन्ने मजस्ता धेरै व्यक्तिको बुझाइ थियो । २०४६ सालदेखि पटक–पटकका आन्दोलनमा कांग्रेस–कम्युनिस्ट सहकार्यले लोकतन्त्रका आधारभूत मूल्य (कोर भ्यालुज) र प्रक्रिया (प्रोसेस) मा चाहे हिजोका एमाले होऊन् वा माओवादी, नेपालको कम्युनिस्ट मेनस्ट्रिम र कांग्रेसबीच अब मौलिक विमति छैन, द्वन्द्व छैन भन्ने लागेको थियो । भिन्नता केही नीति र कार्यक्रम, प्राथमिकता र कार्यक्षमता मात्र हो भन्ने थियो । यो निचोड धेरै हदसम्म सही पनि हो । तर गएको चुनावपछि सरकार र सत्तारूढ नेकपाको रवैया हेर्दा यसमाथि पुनर्विचार गर्नुपर्ने भएको छ ।


अहिले राज्यको बाह्य पहिचान कम्युनिस्टमय भएको छ । सत्तारूढ नेकपा चिनियाँ कम्युनिस्ट पार्टीको छाया (सेटेलाइट) जस्तो देखिएको छ । उसको ‘प्याट्रोनेज’ मा रमाएको छ । कम्युनिस्ट पथमा सोझै नगए पनि नियन्त्रित शासनतर्फ उन्मुख हुँदै गरेका धेरै संकेत पाइन्छन् । यत्रो ठूलो बहुमत भएका बेला कम्युनिस्ट भावना, शासकीय उन्माद र अहंकार बढ्नु अस्वाभाविक होइन । तर त्यसले लोकतन्त्र नै खाने हो कि भनेर शंका गर्नुपर्ने र भय पाल्नुपर्ने अवस्थाचाहिँ निश्चय पनि राम्रो होइन । हाम्रो मात्र आशंका होइन, मानव अधिकार, नागरिक स्वतन्त्रता, स्वतन्त्र सञ्चार प्रवाहबारे अन्तर्राष्ट्रिय चासो र चिन्तासमेत बढ्दै गएको छ ।


कांग्रेसको नीति, संगठन र जनसमर्थन त्यति खस्केको होइन । शीर्ष नेतृत्वमा यसको प्रस्तुति कमजोर भएको मात्र हो, बुझाइमा प्रस्टता नभएको हो । शीर्ष नेतृत्वको कुरा गर्दा कांग्रेस सभापतिमै ठोक्किन्छ । पार्टी हाँक्ने र जनमत बनाउने नेतृत्वदायी भूमिका उनैको हो, उनकै टिमको हो । अरूको भूमिका भनेको सहायक मात्र हो । गत स्थानीय, प्रादेशिक र संघीय तीनै तहमा नराम्रो पराजय भोगेपछि उनले नैतिक जिम्मेवारी लिँदै नयाँ नेतृत्वका लागि बाटो दिनुपर्थ्यो । उनीबाट अब कांग्रेस चल्दैन । अर्को चुनाव पनि उनकै नेतृत्वमा जानु भनेको कांग्रेसले राजनीतिक मृत्युवरण गर्नुजस्तै हो । नेतृत्व बाँचुन्जेल भोग्ने पद होइन, आवधिक जिम्मेवारी हो । यसलाई व्यक्तिगत प्रतिष्ठाको विषय नबनाई सम्मानजनक राजनीतिक विश्राम नै उनका लागि हितकर हुनेछ र कांग्रेसका लागि योगदान पनि । राजनीतिमा उनले पाउन बाँकी अब केही छैन । विश्राम लिनुपूर्व नेल्सन मन्डेलाले अफ्रिकी नेसनल कांग्रेसमा दिएको अन्तिम भाषण पढ्ने हो भने धेरै सहज र सन्तोषको बाटो खुल्नेछ ।


कांग्रेसको नेतृत्वमा यतिखेर प्रत्यक्ष दुई तर सतहमा धेरै समूह नेतृत्वका लागि प्रयत्न गर्दै छन् । देउवाको विपक्ष अहिले निकै बलियो देखिएको पनि छ । तर त्यहाँ बहुकेन्द्र र आआफ्नै महत्त्वाकांक्षा छन् । कोइरालाहरूले साथ दिए रामचन्द्र पौडेल सभापतिमा विजयी हुने सम्भावना बलियो देखिन्छ । उनी ‘राजनीतिलाई सम्मानित बनाउँछु’ भन्दै छन् । वास्तवमा यो सबैलाई खट्केको कुरा हो । अहिले राजनीतिमा त्याग, तपस्या र सेवाभाव बिलकुलै छैन । यस्तो कुरा गर्नेहरू राजनीतिमा नालायक मानिन्छन् । असल भनेर चिनिएकाहरू कांग्रेसबाट मात्र होइन, कम्युनिस्टलगायत राजनीतिबाटै बाहिरिएका छन् । झूट, लुट र भोगविलास राजनीतिको पर्याय भएको छ । यस्तो अवस्थामा पौडेलका यी कुराले धेरैलाई राहत दिन्छन् नै । तर कोइरालाहरू अब आफैं नेतृत्वमा आउन हतारमा छन् । देउवाको निरन्तरताभन्दा पौडेल वा कोइराला जो भए पनि तत्कालका लागि कांग्रेसमा केही नयाँपन सञ्चार होला, तर त्यसले कांग्रेसलाई अपेक्षित गति दिन सक्छ भनेर विश्वस्त हुन सकिन्न ।


मेरो कसैप्रति आग्रह वा दुराग्रह छैन । कसैबाट केही लिनु पनि छैन । कांग्रेस गतिलो र सक्षम पार्टी बनोस् भन्ने मात्र हो । वास्तवमा कांग्रेस आफ्नो सही नेतृत्व चुन्न पछि पर्नु हुँदैन । धेरै भावनामा बगेर पनि अहिलेको राजनीति पार लाग्दैन । नेपालका मतदातामा ‘स्विङ भोटर’ को सम्भावना पनि बढ्दै छ । कसले तान्न सक्छ मानिसको गुमेको साख ? त्यसका लागि भरोसायोग्य र सक्षम नयाँ नेतृत्व आवश्यक छ, सँगसँगै एकताको सञ्चार पनि । गगन थापा २०६२/६३ आन्दोलनले स्थापित गरेको कांग्रेसका आशालाग्दा नेता हुन् । उनका विचार, प्रस्तुति र ‘पब्लिक इमेज’ अहिले पनि उस्तै छन्, अरू परिष्कृत भएका छन् । उनलाई थोत्रिन र मैलिन नदिई नेतृत्वको मौका दिने हो भने कांग्रेसको पक्षमा नयाँ जागरण र लहर आउने सम्भावना बढी छ । उनले पनि निर्णायक रूपमा अगाडि आउन अब ढिलो गर्नु हुँदैन । प्रकाशित : माघ ५, २०७६ ०९:०३

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आयुको आँखीझ्याल

मानिस कसरी पुरातन, अन्धविश्वासी र धर्मभीरु हुन्छ ? धर्म र पाप, स्वर्ग, नर्क देखाएर कर्मकाण्डको धन्दा र गलत आश्रमका नौटंकीले यसलाई विरूप बनाएका छन् ।
कृष्ण खनाल

मानिस दीर्घायु चाहन्छ  । जन्मिएपछि प्राणीको मृत्यु अपरिहार्य छ, कहिले र कसरी भन्ने मात्र फरक हो  ।

बाल, युवा, वृद्धत्व र मृत्यु मानव जीवनको स्वाभाविक चक्र हो । मृत्युको त कुरै छाडौं, बूढो हुन र भनिन पनि कसैलाई मन पर्दैन । बुढ्यौली लागेपछि मानिसका छाला चाउरी पर्न थाल्छन्, हड्डी मक्किन थाल्छ । शरीर शिथिल हुन्छ, कम्मर झुल्छ, छाती खुम्चिन्छ, डँडाल्नो कुप्रिन्छ । कान कम सुनिन्छ र दृष्टि पनि कमजोर हुन्छन् । आफ्नो अवस्था यस्तो हुनु कसैलाई मन पर्ने कुरा होइन । तर, मृत्युजस्तै वृद्धत्व पनि अपरिहार्य छ । अल्पायुमा हुने मृत्युबाहेक कोही पनि यसबाट मुक्त हुन पाउँदैन । शरीर स्वस्थ रहे पनि बुढ्यौली छिप्दैन, महिला हुन् वा पुरुष यो यथार्थ हो । अस्वस्थ शरीर त बुढ्यौलीमा अभिशाप नै हो ।

६५ वर्षदेखि माथिलाई वृद्धत्व मान्ने हो भने सन् २०१९ को तथ्यांकअनुसार, अहिले विश्वमा वृद्धत्वमा प्रवेश गरेका मानिसको संख्या ९ प्रतिशत छ । नेपालमा २०११ को जनगणनाअनुसार, यो संख्या ५.२७ प्रतिशत छ, हरेक वर्ष बढ्दै छ । नेपालीको सरदर उमेर अहिले ७१.७४ पुगेको अनुमान गरिन्छ । पुरुषभन्दा महिलाको जीवन दर २ प्रतिशतले माथि छ अर्थात् वृद्धत्वमा पुगेका महिला पुरुषभन्दा बढी छन् । शिक्षित र सम्पन्न परिवारमा ८० नाघेका मानिस धेरै देखिन्छन् । आयु वृद्धि राम्रो कुरा हो, मानव विकासको एउटा सूचक पनि । तर, विचारणीय कुरा के हो भने पाको उमेरका मानिस अर्थात् ज्येष्ठ नागरिक स्वस्थ्य र सुखी पनि रहुन् । वृद्धत्व आफू, परिवार, राज्यलगायत कसैका लागि पनि बोझिलो नहोस् । यो कसरी हासिल गर्न सकिन्छ ?

जैविक वृद्धत्व अपरिहार्य छ । तर, मानसिक वा बौद्धिक वृद्धत्वमाथि विजय प्राप्त गर्न सकिन्छ । यो विषयमा पूर्वीय र पश्चिमा चिन्तन एवं तदनुरूप लेखनको कमी छैन । तर, यी दुवैका सारको एकीकृत लेखन भने कमै छन् । रवीन्द्रप्रसाद प्रधानले भौतिक तथा अध्यात्म ज्ञान र विज्ञान दुवैको सन्दर्भसहित आफ्नो पुस्तक ‘वृद्धत्वविज्ञान’ मा सविस्तार विवेचना गरेका छन् । खप्तडबाबाको सत्संग र सान्निध्य पाएका प्रधानको यो पुस्तकमाथि विमर्श गर्न अध्यात्म चिन्तनको सन्दर्भ पनि आवश्यक हुन्छ ।

पुस्तकको मुख्य सार कसरी पूर्ण आयु जिउने, आयु वृद्धिसँगै कसरी स्वस्थ र उपयोगी हुने भन्ने छ । लेखक भन्छन्, जब उमेर ढल्किन थाल्छ, मानिसलाई बुढेसकाल लाग्छ । शारीरिक र मानिसक सामर्थ्यमा कमी हुन्छ । यो स्वाभाविक प्रक्रिया हो । जन्म–उमेर अर्थात् जैविक उमेर परिवर्तन गर्न सकिन्न । तर, बुढेसकालमा पनि स्वस्थ र आरोग्य जीवन जिउन सकिन्छ । शरीर अणुहरूको झुन्ड हो । आहारविहारले शरीरका अंगमा प्रत्यक्ष प्रभाव पार्छ । मनबाट प्रवाहित हुने विचारचाहिँ तरंगहरूको समूह हो । यसले सोझै इन्द्रियलाई प्रभाव पार्छ र सोअनुसार गर्न गराउन निर्देशित गर्छ । संयमित र सन्तुलित आहारविहार र व्यायामले शरीरलाई ठीक राख्छ भने इन्द्रिय निग्रहले मनलाई स्थिर राख्छ । यी दुवैको सन्तुलनले शरीरमा तारुण्यता र आरोग्यता प्रदान गर्छ ।

बुढ्यौलीतर्फ लागेकाका लागि मात्र होइन, यो पुस्तक युवाका लागि पनि उत्तिकै उपयोगी छ । स्वास्थ्यका कुरा बुढ्यौलीमा मात्र सोचेर पुग्दैन, बाल्य र युवावस्थादेखि नै सचेत रहनुपर्छ । बुढ्यौली चाँडै आउन नदिन सन्तुलित आहारविहार, मर्यादित जीवनशैली, नियमित प्राणायाम, ध्यान, योगाभ्यास, स्वास्थ्यप्रतिको सावधानी मुख्य कुरा हुन् । यसको नियमित पालना गर्न सके युवा, प्रौढ वा वृद्धावस्थाले खासै प्रतिकूल प्रभाव पार्दैन । आरोग्य, दीर्घायु र पूर्ण जीवन जिउन सकिन्छ ।
पुस्तकमा लेखकले मानव शरीरको महत्त्व, आरोग्यता र आयुका विविध पक्षमा पूर्वीय र पश्चिमा ज्ञानको तुलनात्मक विवेचना गरेका छन् र निचोडमा कसरी उमेरको वृद्धिसँगै मानिसले आफ्नो शरीर र मन दुवैलाई सन्तुलनमा राखेर आरोग्य र तारुण्यता कायम गर्न सक्छ भन्ने विचार प्रस्तुत गरेका छन् । ६ सयभन्दा बढी पृष्ठको यो पुस्तक निश्चय पनि निकै ठूलो छ । पूरै पढ्न ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ, समय पनि लाग्छ । पहिलो खण्डमा वृद्धत्वको स्वरूपलाई ज्ञान र विज्ञानको पक्षबाट विवेचना गरिएको छ । ५३ पृष्ठ लामो यो खण्ड एक प्रकारले पुस्तकको सारांश भने पनि हुन्छ । यति मात्र पढे पनि पुग्छ । बाँकी अर्थात् दोस्रो खण्ड विस्तारित ज्ञान र सन्दर्भका लागि उपयोगी छ ।

लेखक भन्छन्— शारीरिक काम गर्न सक्ने मानिस चाँडो बूढो हुँदैन । त्यस्तै बढी उमेर भएर मानिस बूढो हुने होइन । काम गर्ने शक्तिमा आएको ह्रासका कारण मानिस बूढो हुने हो । शरीरको स्वस्थता अर्थात् आरोग्यताले मानिसको बललाई सुरक्षित राख्छ । तर, विचारणीय पक्ष के हो भने मानसिक स्वस्थताको अभावमा आरोग्यता सम्भव हुँदैन । त्यसका लागि आध्यात्मिक चिन्तन र साधना पनि चाहिन्छ । अध्यात्म चिन्तनले विचारको शुद्धीकरण गर्छ । जब विचार उत्तम हुन्छन् र सद्मार्गमा चल्न थाल्छन् शरीरमा तेज, बल, आरोग्य र ऐश्वर्य आफैं बढ्न थाल्छ । २०६७ सालमा प्रकाशित यो पुस्तक अहिले बजारमा उपलब्ध छैन । मैले पनि एक मित्रको सौजन्यमा पढ्न पाएको हुँ । छोटो र छरितो खालको पुनर्प्रकाशन अपेक्षित छ ।

विभिन्न अध्ययन अनुसन्धानको सन्दर्भ दिंदै लेखक भन्छन्— जन्मसँगै २० वर्षसम्म मानिसको शारीरिक विकास तीव्र गतिमा हुन्छ । ३० वर्षसम्म यो क्रम चलिरहन्छ । ४० वर्ष पुग्दा शरीरका सबै धातु उपधातु पूरा हुन्छन् । यो बेलामा इन्द्रियहरू सबल हुने, शारीरिक बल पर्याप्त हुने भएकाले यसलाई यौवनावस्था भनिन्छ । शरीर स्वस्थ रहे यो अवस्था ५५–६० वर्षसम्म पनि कायम रहन्छ । त्यसपछि शरीरका गुणहरू क्रमशः क्षीण हुन थाल्छन् । मांसपेशी, स्नायुहरू खुम्चिन थाल्छन्, लचकतामा कमी आउँछ । ७० पुगेपछि वीर्य कम हुन थाल्छ । ८० पछि शरीरको बल ह्रास हुन्छ । १०० वर्ष पुग्दा हात–गोडा, कर्मेन्द्रीय शिथिल हुन्छन् । शतायु मानिसको परम आयु हो । तथापि १२० वर्ष पुग्दा शरीर टिक्न सक्तैन । अपवादमा एकाध जन यसभन्दा बढी बाँचेका पनि छन् ।

लामो समय हवाई उडानमा जीवन बिताएका लेखकलाई भोग विलासको जीवन पक्कै कमी थिएन होला । खप्तड बाबाको सत्संग पाएका उनको जीवन दर्शनमा अध्यात्मको प्रभाव पनि उत्तिकै गहिरो देखिन्छ । त्यसैले पुस्तक अध्यात्म ज्ञान र भौतिक विज्ञानका स्थापित मान्यताले भरिएको छ । कतिपय मानिसलाई लाग्न सक्छ, धार्मिक निष्ठा र अध्यात्म चिन्तन भनेको भौतिक सुख त्याग्नु हो जुन छाड्न मानिस हत्तपत्त तयार हुँदैन । त्यसैले ऊ यस्ता कुराबाट पर भाग्न खोज्छ । तर, लेखक खप्तडबाबाको धर्मविज्ञानलाई उद्धृत गर्दै लेख्छन्— हिन्दु संस्कृतिमा भोगको बहिष्कार छैन । अर्थ र कामको तिरष्कार पनि छैन । तर, यो नै जीवनको लक्ष होइन । विचार विज्ञानमा खप्तडबाबा भन्छन्— जिज्ञासुले आफ्ना इन्द्रियहरूलाई वशमा राख्छ, विषयी इन्द्रियहरूका वशमा हुन्छ ।

जीवनको लक्ष्य के हो त ? धर्म र अध्यात्मका दृष्टिले मोक्ष हो भने संसारी मानिसका लागि आफूले चाहेको वा गरेको काममा उच्चतम सफलता नै उसको लक्ष्य हो । लक्ष्य हासिल गर्न ऊ बाँच्नुपर्छ अर्थात् उसले पूर्ण आयु पाउनुपर्छ । चरकसंहितालाई उद्धृत गर्दै लेखक भन्छन्— आयु भनेको शरीर, मन र आत्माको संयोग हो । शरीर यसका अंग–प्रत्यंगका साथै वातावरणीय क्रिया, प्रतिक्रिया र त्यसबाट उत्पन्न प्रभावसँग सम्बन्धित हुन्छ । मन र आत्माचाहिँ मानिसले पालन गर्ने सदाचार र अन्तःकरण अर्थात् चित्तशुद्धिसँग सम्बन्धित छ । यसका लागि भने पूर्वीय चिन्तनमा पाइने योग साधना, वेदान्त एवं अध्यात्म ज्ञानलाई पछ्याउनुपर्छ ।

शरीर मोक्ष प्राप्तिको साधन हो, ब्रह्मको निवास्थान पनि । ब्रह्म र मोक्ष प्राप्तिका कुरालाई कुनै धर्मसँग जोडेर हेर्नु आवश्यक छैन । ब्रह्म भनेको सरल अर्थमा कहिल्यै नमासिने अस्तित्व हो, जुनबिना जीवन र जगत् सम्भव छैन । मोक्ष जीवन जिउनुको सार्थकता हो, उपलब्धिको उच्चतम विन्दु हो । यो यथार्थ धार्मिक आस्था भएका वा धर्म नमान्ने दुवैका लागि बराबर बुझाइ हो । लेखक भन्छन्— ईश्वरमा आस्था राख्ने अध्यात्मवादी साधक होस् वा सांसारिक सुख भोगमा रमाउने भौतिकवादी विषयानन्दी दुवैले स्वस्थ, निरोगी, बलिष्ठ, चेतनशील र दीर्घायु शरीर चाहन्छन् । तसर्थ अध्यात्म र भौतिक चेतना एकआर्कामा प्रतिकूल कुरा होइन । गहिराइमा पुग्ने हो भने दुवैमा एकत्व पाइन्छ । यो एकत्व बोध गर्नसके र आफ्नो जीवनलाई थोरै भए पनि तदनुकूल अभ्यास र आचरणमा ढाल्न सके मानिस सुखी, शान्त र दीर्घजीवी हुन्छ ।

धर्मबारे हाम्रो बुझाइ गलत र आंशिक छ । अझ पढे–लेखेका वौद्धिक र राजनीतिमा लागेका मानिस यसबाट बढी ग्रस्त छन् । बुझ्नुपर्ने कुरा के हो भने, कर्मकाण्डका विधि र पालना नै धर्म होइन । यो मानिसको आचरण, व्यवहार र जीवन दर्शनसँग जोडिएको छ । सत्य, अहिंसा, ब्रह्मचर्य, दया, क्षमा, दान, परोपकार, स्वाध्याय, स्वच्छ चिन्तन, पवित्रता, सन्तोष, समभाव, सद्भाव मानिसले आफनो जीवनमा नित्य पालन गर्नुपर्ने कर्म हुन् । यसको पालना नै धर्म हो । यी कुरा एउटा असल जीवनका लागि अनिवार्य मान्यता पनि ह्न् ु। यसको पालना गर्दा मानिस कसरी पुरातन, अन्धविश्वासी र धर्मभीरु हुन्छ ? धर्म र पाप, स्वर्ग र नर्क देखाएर कर्मकाण्डको धन्दा र गलत आश्रमका नौटंकीले यसलाई विरूप बनाएका छन् । धर्मलाई निहित स्वार्थसिद्धिको माध्यम बनाउनेले यसको बद्नाम गरेका छन् ।

संसारी मानिस लक्षित काम, पेसा वा व्यवसायबाट उमेरका कारण स्वभावतः निवृत्त पनि हुन्छ । उच्च पदमा पुगेका मानिसमा पदान्तर वा अवकाशपछि जैविक वृद्धत्व चाँडै आउँछ । त्यसैले उनीहरू पद छाड्न चाहँदैनन् । छाड्नैपरे पनि उनीहरू अर्को पद र सुविधाका बढी लालची हुन्छन् । वास्तवमा राजनीतिलगायत सार्वजनिक सेवामा रहेकाले आफूले वाचा गरेका सिद्धान्त, नीति र आफ्ना यथार्थ कर्मबारे सके हरेक दिन, नसके कम्तीमा साता वा महिनामा एकपटक एकान्तमा आत्मसमीक्षा गर्नु जरुरी छ । संसारलाई जति ढाँटे पनि आफूलाई कसैले ढाँट्न सक्तैन । आफ्नो कामको सबैभन्दा ठूलो साक्षी आफैं हो । यो नै अध्यात्म चिन्तनको प्रवेशद्वार हो । पदबाट निवृत्त भएपछि आफ्ना कर्म र व्यवहारको समीक्षात्मक स्मरण लेख्न वा लेखाउन सके नयाँ पुस्ताका लागि गतिलो शिक्षाको स्रोत मिल्छ, इतिहासप्रति इमानदारी स्थापित हुन्छ ।

प्रकाशित : पुस २६, २०७६ ११:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×