१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सहरका पोखरी : सहरवासीको जीवन

सम्पादकीय

काठमाडौं उपत्यकाभित्र सहरहरू जति फैलिँदै छन्, सहरवासीलाई प्राण भर्न सघाउने रुखबिरुवा, खुलास्थान र पोखरीहरू उति नै मासिँदै छन् । पछिल्ला दशकहरूमा यहाँ सहरका नाममा सिमेन्ट र कंक्रिटको ‘जंगल’ मात्रै हुर्काइएको छ ।

सहरका पोखरी : सहरवासीको जीवन

नगरलाई सिंगार्न र कलात्मक बनाउन नयाँ उपाय अपनाउनु त परको कुरा, पुर्खाहरूले आफ्नो परम्परागत ज्ञानका आधारमा जगेर्ना गर्दै आएका जीवनदायी पोखरीहरू पनि यसबीचमा मासिँदै गएका छन् । विगतका यस्ता सम्पदाजन्य वैभवहरू आज हराउँदै जानु भनेको हामीले माल पाएर पनि चाल नपाउनु हो ।


उपत्यकाका ‘तीन सहर’ मा भएका ११८ पोखरीमध्ये अहिले विरलै मात्रै सही हालतमा छन् । तीमध्ये २५ पोखरीमा विभिन्न भवन बनेका छन् । १७ पोखरी मैदान भएका छन् । ९ पोखरी सुक्खा छन् । धेरै पोखरी जीर्ण छन् । केही ढलान गरिएका छन् । दुइटामा प्रहरी भवन छन् । एउटामा मन्दिर छ, एउटामा शौचालय । कति ठूला पोखरी मासिएको त केही दशक पनि भएको छैन । जस्तो– १६ रोपनीमा फैलिएको कुमारीपाटीको त: पुखु (पोखरी) ०४६ सालसम्म पुरानै स्वरूपमा थियो तर अहिले त्यहाँ व्यक्तिगत भवन ठडिएका छन्, पोखरी चार आना पनि बाँकी छैन ।


आफ्नो क्षेत्रका सम्पदाहरू संरक्षण गर्नुपर्ने दायित्व भएका स्थानीय तहकै भवनहरू पनि पोखरीमाथि ठडिएका छन् । ललितपुर, पुल्चोकको एउटै परिसरमा ३२ रोपनीमा फैलिएका चारवटा पलेस्वाँ (कमल) पोखरीमध्ये एउटामा ललितपुर महानगरपालिकाको भवन छ । अर्कोमा महानगरपालिकाले नै साउनदेखि पार्किङ सञ्चालन गर्न ठेक्का दिएको छ । मध्यपुर थिमिको प्राचीन पोखरी ‘वंगा पुखु’ माथि ०३२ सालमै तत्कालीन गाउँ पञ्चायतले आफ्नो भवन बनाएको थियो । त्यसैलाई भत्काएर मध्यपुर थिमि नगरपलिकाले करिब तीन करोड रुपैयाँमा ६ नम्बर वडा कार्यालय भवन बनाउन लागेको छ । पोखरीहरू जगेर्ना गर्नुपर्ने सबैभन्दा ठूलो अभिभारा भएका स्थानीय तहको यो शैली उदेकलाग्दो छ । नगरपालिका र वडाले त आफ्ना भवन अरू सरकारी जग्गामा बनाएर पोखरीलाई फेरि ब्युँत्याउनु पो पर्छ । पोखरी मास्ने गल्ती नगरपालिकाको वर्तमान नेतृत्वको नहुन सक्छ । तर, सम्भव भएसम्म पोखरी पुन: ब्युँताउन पहल नगर्नु चाहिँ उनीहरूको गल्ती हो ।


यिनै काला बादलबीच पनि चाँदीको घेरा देखिएको छ– पछिल्लो समय मासिएका कतिपय पोखरी पुन: स्थापित गर्न स्थानीय बासिन्दा जुर्मुराएका छन् । थिमिको ‘वंगा पुखु’ पुन: स्थापना गर्न त्यहाँका नागरिक अघि सरेका छन् । भवन बनाइछाड्ने वडा नेतृत्वको हठका विरुद्धमा उभिएका छन् उनीहरू । ललितपुर, लगनखेलको सप्तपाताल पोखरी पुरानै अवस्थामा फर्काउन सर्वोच्च अदालतले गत असार २३ गते आदेश दिएपछि पोखरी पुन:स्थापना अभियानमा लागेकाहरू उत्साहित भएका छन् । काठमाडौं, ठमेलस्थित सिंहसार्थबाहु गुठीको पोखरीमा ठडिएको छाया सेन्टरविरुद्ध पनि स्थानीय बासिन्दाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । उनीहरू भवन भत्काएर पोखरी कायम गर्ने आन्दोलनमा छन् भने पोखरी निजी भएको दाबी सेन्टरको छ– सत्यतथ्य सर्वोच्चले खुट्ट्याउला ।


सम्पदाका, सहरी सभ्यता र सौन्दर्यका दृष्टिकोणले मात्र होइन, प्रकृति, पर्यावरण र मानव जीवनका हिसाबले पनि उपत्यकाको पोखरीहरूको सम्भार र संरक्षण गरिनुपर्छ । अनि मात्र सहरवासीको ज्यानमा साँच्चिकै प्राण भरिन्छ । पोखरीले सहरलाई शोभा मात्र दिँदैन, भूमिगत पानीको स्रोत बचाइराख्छ । जमिनमा पानी पुनर्भरण भई बस्तीका धारा र इनारहरू सुक्न दिँदैन । बढ्दो जलवायु परिवर्तनसित जुध्नका लागि त यस्ता पोखरी अझ धेरै चाहिन्छन् । कृत्रिम रूपमै पनि बनाउनुपर्ने हुन्छ तर यहाँ त भएकै पनि नासिएका छन् । सम्भव भएजति अवस्थामा तिनीहरूको पुन:स्थापना आवश्यक छ । यसका लागि केही स्थानमा देखिएको नागरिक जागरुकता उत्साहवर्धक छ जसको अनुकरण अन्यत्र पनि हुनुपर्छ । स्थानीयवासीलाई हैंसे गर्न लगाएर होस्टे गर्ने आफ्नो भूमिका नगरपालिकाहरूले भुल्नु हुँदैन । सबै नगरपालिकाले कहाँ, कति पोखरी, कुन हिसाबले मिचिएको र मासिएको छ अनि तिनलाई पुन:स्थापना गराउन के गर्नुपर्छ भनेर विस्तृत अध्ययन गर्न आवश्यक छ । सार्वजनिक पोखरी मिचेर अन्य संरचना बनाइएका छन् भने तिनलाई भत्काएर पुन: पोखरी स्थापना गरिनुपर्छ ।


विधिले चल्ने मुलुकमा नियम मिचेर बनेका संरचना जति नै ठूलो भए पनि भत्काइन्छन् । भारतको केरलामा हालैमात्र वातावरणीय संहिता मिचेर बनाइएको सयौं मानिस बस्ने बहुतले आवास सर्वोच्च अदालतको आदेशमा भत्काइएको थियो । यहाँ पनि ऐतिहासिक पोखरीहरू जगेर्ना गर्ने सवालमा कुनै सम्झौता गर्नु हुँदैन । विज्ञका अनुसार उपत्यकाका पोखरी रणनीतिक दृष्टिले बस्तीको सिरानमा, बीचमा र पुछारमा तीन किसिमले बनाइएका हुन् । सिरानका पोखरी वर्षात्को भेल बस्तीमा नपसोस् भनेर, बीचका पोखरी आकाशबाट बर्सिएको र नालीबाट आएको पानी जम्मा होस् भनेर । यसरी पुर्खाले सिर्जेर छाडिगएको सहरी ज्ञानको प्रयोगलाई आजको पुस्ताले नामेट पार्न खोज्नु आधुनिक चेतनामाथिकै धब्बा हो । पोखरीहरू मासिएपछि सहर केबल कंक्रिटको अस्थिपञ्जर मात्रै बाँकी रहन्छ । हामीले चाहेको सहर निर्जीव अस्थिपञ्जरहरूको थुप्रो होइन, खुला स्थान, हरियाली क्षेत्र र पोखरीहरूसहितको आधुनिक बस्ती हो । त्यसलै सहरी सभ्यताका अंग मानिने पोखरीहरू नमासौं, सबै लागेर जगेर्ना गरौं ।

प्रकाशित : माघ ५, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?