कोही किन काठमाडौं धाउँछ ?

जनकराज सापकोटा

आफ्नो फसलको पैसा उठाइदिन माग गर्दै मध्य पुसमा मध्य मधेसबाट काठमाडौं आएका किसानहरू घर फर्किसके । शरीरमा गढेको काठमाडौंको चिसो फाल्न उनीहरू यतिबेला घुर तापेर पैसा आउने भाका गनिरहेका होलान् । 

ZenTravel

आफ्नै पैसा उठाउन राजधानी धाउनुपर्ने, मिडियाका अघि धरधरी रुनुपर्ने अनि सिंहदरबारका कोठा–कोठा चहारेर न्यायको भिख माग्नुपर्ने अवस्था लोकतन्त्रपछि सबैभन्दा धेरैपटक दोहोरिएको विद्रुप दृश्य हो । यद्यपि लोकतन्त्रको गद्दीमा आसिनहरूलाई आफ्नो पाउमा छांँद हाल्न आइरहेका अदनाहरूको शृंखलाबद्ध लस्कर देखेर आजसम्म लाज लागेको इतिहास छैन । किनकि भेनेजुयलाका पक्षमा वक्तव्य निकालेर हस्ताक्षर गर्न आतुर हातहरू सत्तामा छन् । उनीहरूको मन किसानका आँसुले पोल्दैन । बरु मेडिकल सञ्चालकका पक्षमा उनीहरू दर्जनौं भाषण गर्न तयार छन् । चिनी व्यापारीले सरकारलाई झुक्याएको बक्न तयार छन्, तर किसानका दु:खमा उनीहरूको वक फुट्दैन ।

देशका दूरदराजबाट न्यायको खोजीमा ऋण काढेर, निरीह अनुहार लगाएर, खाली खुट्टा र भोट हाल्दाहाल्दै धुमिल रेखा भएका बुढीऔंला बोकेर काठमाडौं आउनेहरूको शृंखला लोकतन्त्र स्थापनापछिका प्रत्येक वर्षहरूमा सबैभन्दा धेरै दोहोरिएको कुरूप दृश्य हो । औंला भाँचेरै वर्षहरू गन्ने हो भने २०६६ चैत २२ गते त्यति धेरै अघिको समय होइन । त्यतिबेला राजनीतिमा संक्रमण त थियो, तर राजनीति सही बाटोतिरै हिँडिरहेको थियो । सम्झिनुपर्ने धेरै कुराहरूको माझमा यो मिति परोइन । सरकारलाई त झन् इतिहासका यस्ता मितिहरू सम्झिने फुर्सदसम्म हुँदैन । त्यो दिन बाराका किसानहरू मकैको बोट नै बोकेर सिंहदरबार छिरेका थिए । उनीहरूका आँखामा सुकिसकेको आँसुको डोब थियो । रुँदारुँदै थाकेजस्तो स्वर थियो । त्यस यताका वर्षहरूमा कैयन बाली मकै लगाइयो र कैयन बाली मकै भित्र्याइयो । सरकारी लापरबाहीका कारण कमसल मकैको विउ भित्रिएको र पसिना र खुन सिञ्चिएर हुर्किएको मकैको घोकामा दाना नलागेको भन्दै ती किसानहरूले सिंहदरबारका कोठाचोटामा आँसु बगाएका थिए । अनि बदलामा एक भारी आश्वासन पाएर उनीहरू कहिल्यै काठमाडौं नफर्किने भन्दै घर फर्केका थिए ।

त्यसयता सालिन्दा किसानहरू, सुदखोरबाट अन्यायमा परेकाहरू, स्थानीय प्रहरी र प्रशासनको चेपुवामा परेकाहरू हुल बाँधेर काठमाडौं आउने क्रम रोकिएको छैन । अघिल्लो वर्षमात्रै आर्थिक सूचकांकमा सबैभन्दा पिँधमा रहेको सर्लाहीका झन्डै सय दीनहीनहरू सुदखोरलाई कारबावही गरिपाउँ भन्दै याचना बोकेर राजधानी छिरेका थिए । दुई साल लगातार काठमाडौं धाएपछि मात्रै उनीहरूले दलका ठूला नेतालाई भेट्ने मौका पाए । अनि निख्रिसकेको आँसु देखाउन भ्याए । त्यसपछि बल्ल केही नेताहरूले बडो पराक्रम गरेको शैलीमा अनेकतिर फोन घुमाए । अखबारहरूमा तिनका कान्तिहीन अनुहार छापिए । तिनका आक्रोश प्रकाशित भए । शक्ति र सत्ताको केन्द्रमा रहेकाहरूको पाउ परेपछि बल्ल सुदखोर पक्राउ परे ।

एउटा सुदखोर पक्राउ परेको केही महिनापछि त्यस्तै प्रकृतिको सैतानी ब्याजको पासोमा परेका सर्लाहीका अर्को हुल पीडितहरू काठमाडौंमा आए । उनीहरूले पनि मिडियासामु ब्याजको पासोमा झुन्डिँदाको सकस सुनाए । अनि प्रहरी र प्रशासनले गम्भीरताको बर्को ओढेर ती सुदखोरहरूलाई पक्राउ गरिहाल्यो ।

यतिका समयदेखि पीडितहरू स्थानीय अड्डा–अदालतको दैलो धाउँदा–धाउँदा पनि ती सुदखोर किन पक्राउ परेनन् ? दीनहीनको आँसु स्थानीय प्रशासन, रैथाने दलका नेताका आँखामा किन परेनन् ? क–कसको के–के स्वार्थको भुमरीमा फँसेर ती दीनहीन वर्षौंसम्म अन्याय दुश्चक्रमा हेलिनुपर्‍यो ? कसैले सोधेन, कसैले खोजेन । गला रेट्न आँटिरहेका सुदखोर पक्राउ परेको खुसीमा उनीहरू मौन बसे । अनि इतिहासतिर फर्किने फुर्सद नभएको हतार यात्रीझैं राज्य आफ्नै गतिमा घिस्रिरह्यो ।

सर्लाहीका अघिल्लो सुदखोरको घटना विस्मृतिमा पुग्न नपाउँदै उखु किसानहरू निमभन्दा तितो ठगीको कथा लिएर केही साताअघि माइतीघर मण्डलामा आइपुगेका थिए । काठमाडौंको चिसो र झरीमा केही दिन आँत कपाएपछि मात्र तिनका कुरा सिंहदरबारले सुन्यो । अनि वार्ता र छलफलको अनौठो नाटकपछि किसानहरू वाग्मतीमा आफ्नो आँसु पखालेर घर फर्किए । अनि केही चोथाले सरकारी मुखहरूले स्वर उँचो पारेर भने, ‘देख्नुभयो, सरकारले कुशलतापूर्वक समस्या किनारा लगायो ।’

प्रत्येक दलभित्र किसानका नाममा खुलेका भ्रातृ संगठन छन् । तिनको नेतृत्व वर्षौं पुराना बासी अनुहारहरूले गरेका छन् । त्यस्ता संगठनमा माटोको गन्धसम्म थाहा नभएका तर असार पन्ध्रमा गमलामा धानको विउ रोपेर कृषकको पक्षमा बोलेको स्वाङ पार्नेहरूको हालीमुहाली छ । तिनीहरू उखु किसानका कान्तिहीन अनुहार देखेर न भावुक हुन्छन्, न बोल्नुपर्ने सम्मको कर्तव्य निर्वाह गर्छन् ।

जसरी मेडिकल कलेजले सरकारी सर्तभन्दा उधुम शुल्क उठाएर ढाड सेकिएका विद्यार्थी र अभिभावकहरू सडकमा उत्रिएर कुर्लिंदा पनि क्रान्तिकारी भनिएका विद्यार्थी संगठनका माउहरू बोलेका थिएनन् नि हो, त्यसैगरी उखु किसान कुर्लिंदा पनि किसान संगठनका माउहरू कतै देखा परेनन् । सायद तिनीहरू कतै समृद्धिको गीत गाउन ब्यस्त थिए वा सत्ताको कुनै उछलकुदमा समय बितिरहेको थियो ।

सम्झाउन परोइन, देशले केन्द्रीकृत राज्य प्रणालीको बर्को फ्याँकेर संघीयताको नेमप्लेट राखेको कति वर्ष भइसक्यो । अनि कति शृंखला भइसके, न्यायको खोजीमा हुल बाँधेर काठमाडौं धाउनुपर्ने घटनाको पटाक्षेप भएको । उखु किसानहरूभन्दा पहिले मेडिकल माफियाको ठगी पासोमा फँसेका विद्यार्थीहरू न्याय माग्न काठमाडौं आएका थिए । माइतीघर मण्डलामा आफ्नो स्वर उँचो पारेका थिए । सिंहदरबारतिर फर्केर न्याय खै ? भनेका थिए । केही दिन कराएपछि, अखबारमा तिनका निरीह अनुहार छापिएपछि मात्रै सरकारले हत्त न पत्त छलफल सुरु गरेको थियो । अनि तोकेभन्दा बढी शुल्क लिएका मेडिकल सञ्चालकहरूलाई तातो चिया टक्र्याउँदै सरकारी निवासमा वार्ताका अनेकन भागहरू मञ्चन भएका थिए । त्यसपछि त्यही भयो, जुन उखु किसानहरूका हकमा भएको थियो । बिग्रेको नगदी कारोबार मिलाउन उधारो सहमति ।

धन्न गरिमा धानको विउबाट पीडित भएका चितवनका किसानहरू काठमाडौं धाउन भ्याएनन् । विउ बिक्रेताको चंगुलमा परेर बाली भित्र्याउने बेला आँसु र ऋण भित्र्याएका किसानहरू खेतका डिलबाट पर्तिर पाइला सार्नै नसक्नेगरी थला परे । ती किसानहरूको आँसुको स्वाद नुनिलो थियो कि कस्तो थियो, सिंहदरबारले थाहै पाएन् । तिनीहरू पनि आएको भए सिंहदरबारले उही पुरानो उधारो सहमतिको एक शृंखला नाटक मञ्चन गर्ने थियो । अनि सत्तासिनहरू मुख मिठ्याउँदै भन्ने थिए, ‘जनताको पीरमर्का सम्बोधन गर्न कति आतुर छौं ।’

आफ्नै अभिमानको हुस्सुले पुरिएको काठमाडौंमा न्याय खोज्दै कोमात्रै धाएनन् । कञ्चनपुर निम्बुखेडाकी निर्मला पन्तकी आमा आइनन् कि सीमापारि बेचिएर पनि न्याय नपाएकी नेपालगन्जकी किशोरी आइनन् । न्याय माग्ने हो कि पाउने हो ? न्याय खोज्ने हो कि न्याय प्रदान गरिने हो ? समृद्धिको चर्को बहसमा यो प्रश्न कसले सुन्ने ? किन सुन्ने ?

एक समय सुस्तावासीहरू आफ्नो भूमि खोसियो भन्दै सालिन्दा काठमाडौं धाउँथे । अनि गाँसबासमा भएभरको खर्च सकिएपछि निराश भएर फर्किन्थे । अब त तिनीहरू काठमाडौं नधाएको पनि धेरै भइसक्यो । काठमाडौंले कतिलाई थकाएर पठाइदियो, गलाएर पठाइदियो त्यसको हिसाब कसैले राखेको छैन । तर यत्ति हो, शक्तिको केन्द्रले धेरैलाई भुलाएर पठाइदिएको इतिहास पढ्न धेरै समयको पुरानो पात्रो पल्टाउनु परोइन ।

लोकतन्त्र स्थापनापछि संविधान नलेखिँदाका वर्षहरूमा सिंहदबारको ढोकामा बादीहरू आए । सिमान्तकृतहरू आए । जनजातिहरू आए । दलितहरू आए । सत्ता र शक्तिले पिँधमा धकेलेकाहरू पनि आए । अनेकन यत्नपछि संविधान जारी भयो । सबैको संविधान भनियो । गाउँ–गाउँमा सिंहदरबार पनि भनियो । तर गाउँका सिंहदरबारहरू किन कसैका न्याय नपाएहरूका निम्ति कामयावी भएनन् ? के प्रदेशको न्वारन गर्नेसम्मको अधिकार बालुवाटारले खोसेर काठमाडौंले आफ्नो शक्ति देखाएको हो ? के यो कदम जानीबुझीकन काठमाडौंको पाउमा आएर ललाट नठोकेसम्म न्याय मुस्किल छ भन्ने सन्देशको भरणपोषण हो । इतिहासको पुनर्संकथनको लस्करमा राम शाहको पालामा न्याय नपाए गोर्खा जानु भनेजस्तै न्याय नपाए काठमाडौं धाउनु भनेर स्थापित गर्न खोजिएको हो ।

प्रकाशित : माघ ४, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्

भारतले अस्ट्रेलियालाई ३६ रनले हरायो, शृंखला १–१ को बराबरीमा

एएफपी

राजकोट, गुजरात — भारतले शुक्रबार दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियालाई ३६ रनले पराजित गरी शृंखला १–१ को बराबरीमा ल्याएको छ । उत्कृष्ट फर्ममा रहेका अस्ट्रेलियाका ब्याटिङ स्टार स्टिभ स्मिथको सानदार इनिङ्स पन्छाउँदै भारतले जित पाएको हो । 

स्मिथले ९८ रन बनाए पनि ३ सय ४१ रनको विशाल लक्ष्य लिएर आएको अस्ट्रेलिया ४९.१ ओभरमा ३ सय ४ रनमा अलआउट भयो । स्मिथले १ सय २ बल खेल्दै ९ चौका र १ छक्का प्रहार गरे । उनले मार्नस लाबुसच्यानसँग तेस्रो विकेटमा ९६ रनको साझेदारी गर्दा अस्ट्रेलियाले जितको सम्भावना देखाएको थियो ।

लाबुसच्यानलाई रवीन्द्र जडेजाले आउट गरेपछि यो साझेदारी टुटेको थियो । ४७ बल खेलेका उनले ४ चौका प्रहार गरे । यसअघि ओपनरद्वय डेविड वार्नर १५ र कप्तान आरोन फिन्च ३३ रन बनाई आउट भए । एलेक्स केरी १८, एस्टन टर्नर १३, एस्टन एगर २५ रनमा आउट भए ।

रिचर्डसन ११ बलमा ४ चौका र १ छक्का प्रहार गरी २४ रनमा अविजित रहे । भारतका मोहम्मद सामीले १० ओभरमा ७७ रन खर्चेर ३ विकेट लिए । नवदीप सैनी, जडेजा र कुलदीप यादवले २–२ तथा जसप्रित बुमराहले १ विकेट लिए ।

यसअघि अस्ट्रेलियाले टस जितेपछि ब्याटिङमा आएको भारतले ३४०–६ को स्कोर बनाएको थियो । ओपनर शिखर धवनले ९६, केएल राहुलले ८० र कप्तान विराट कोहलीले ७८ रन बनाएपछि भारतले उत्कृष्ट पुनरागमन गरेको थियो । मुम्बईमा मंगलबारको पहिलो खेल भारत १० विकेटले हारेको थियो ।

रोहित शर्मासँग पहिलो विकेटमा ८१ रनको साझेदारी गरेका धवन १८ औं एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाउन थोरैले चुकेका थिए । कोहलीसँग पनि दोस्रो विकेटमा १ सय ३ रन जोडेका धवनले ९० बलको इनिङ्समा १३ चौका प्रहार गरे । तीव्र गतिका बलर केन रिचर्डसनको बलमा उनले मिचेल स्टार्कलाई क्याच दिन पुगे । ‘हामीले उत्कृष्ट पुनरागमन गर्न सक्यौं, त्यो नै प्रमुख हो । एकपटक जमेपछि हामीले उनीहरूमाथि दबाब बनाउन सफल भयौं,’ धवनले भने ।

रोहितले ४२ रन बनाए । ४४ बल खेलेका उनले ६ चौका प्रहार गरे । कोहलीले पनि आक्रामक खेल्दै ७६ बलको इनिङ्समा ६ चौका प्रहार गरे । एडम जाम्पाको बलमा स्टार्कले कोहलीको क्याच पनि लिए । तर बलिङमा स्टार्क जम्न सकेनन् । उनले १० ओभरमा ७८ रन खर्चेर कुनै विकेट लिन सकेनन् । रिचर्डसनले पनि २ विकेट लिन ७३ रन खर्चे । शृंखलाको तेस्रो तथा अन्तिम खेल आइतबार बेंग्लोरमा हुनेछ ।

प्रकाशित : माघ ४, २०७६ ०८:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×