कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

र्‍याकमा सजाउने होइन नीतिनियम

वित्तीय संस्थाले सर्वसाधारणको निक्षेप लिएर परिचालन गरी त्यसबाट प्राप्त नाफाका माध्यमबाट संस्था सञ्चालन गर्छन् । त्यस्तो निक्षेप मागेका बखत फिर्ता दिने सर्तमा लिइएको हुन्छ । निक्षेपलाई लामो र छोटो अवधिका लागि लगानी गरी संस्थाले ब्याज, कमिसन, फीजस्ता आम्दानी गर्ने गर्छन् ।

निक्षेपकर्ताको पैसाको संरक्षण, ग्राहकको अधिकारको सुनिश्चितता, कर्जा लगानी गर्ने आधारहरूको तर्जुमा, लगानीको अनुगमन, कथंकदाचित् कर्जा बिग्रन गए असुलउपर गर्ने उपायसमेतको व्यवस्था आदि कुनै पनि वित्तीय संस्थाका मुख्य काम हुन् । वित्तीय संस्थाहरूले पालना गर्नुपर्ने नीतिनियम यति राम्रा देखिए पनि कार्यान्वयन पक्ष प्राय: फितलो हुने गरेको पाइन्छ ।


आफ्नो संस्थाको अवस्था कस्तो छ, आफू कस्तो वातावरणमा चलिएको छ, कर्मचारीहरूमा नीतिनियमको ज्ञान छ कि छैन, आफूले प्रयोग गरेको प्रविधि समयानुकूल छ कि छैन, बजार र आफ्ना प्रतिस्पर्धीको अवस्था कस्तो छ, तिनले जोखिम घटाउन कस्तो प्रयास गरिरहेका छन् जस्ता विषयमा वित्तीय संस्था जहिल्यै सजग भइरहनुपर्छ । नत्र कतिखेर कस्तो जोखिम झेल्नुपर्ने हो, तयार भएर बस्नुको विकल्प रहँदैन ।


वित्तीय संस्थाहरूले नीतिनियम, प्रक्रिया, प्रविधि, साधनस्रोत, प्रोडक्ट आदि तय गर्दा आफ्नो वातावरणअनुकूल छ कि छैन भनी हेक्का राख्नुपर्छ ।


आफ्नो संस्थामा कहीँकतैबाट रेडिमेड प्याकेज भित्र्याए राम्ररी काम गर्न नसकिने हुन्छ । संस्थाअनुकूल नियम, कर्मचारीअनुकूल आचारसंहिता, ग्राहकको माग वा रुचिअनुकूल सेवासुविधा, समयअनुकूल संगठन संरचनामा सबै वित्तीय संस्थाले ध्यान दिनुपर्छ । यसो हुन सके जोखिमको सम्भावना न्यून रहन्छ ।


वित्तीय संस्थामा तल्लो तह तथा तहविहीन कर्मचारीदेखि सञ्चालक समिति र प्रमुख कार्यकारीसम्मका लागि आचारसंहिता बनाइएको हुन्छ, वार्षिक रूपमा बजेट अनि क्यापिटल प्लानदेखि रणनीति योजनासम्म तर्जुमा गरिएको हुन्छ । कर्जा सम्बन्धी निर्देशिका, जोखिम व्यवस्थापन नीति, कम्प्लायन्स नीति, ग्राहक संरक्षण नीति, कर्मचारी विनियमावली सूचना प्रविधि सम्बन्धी म्यानुवलसँगै अन्य धेरै खालका नीति हुन्छन् । यीमध्ये कुनै नियमनकारी निकायको निर्देशन पालन गर्न बनाइएका हुन्छन् भने कुनै कार्य सञ्चालन र जोखिम व्यवस्थापनका लागि । तर, यस्ता नीतिनियमलाई दराजमा थन्क्याएर मनपरी ढङ्गबाट, व्यक्तिविशेषको स्वार्थलाई प्राथमिकतामा राखेर काम गर्ने परिपाटी र यस्ता परिपाटीलाई प्रश्रय दिने संस्कार संगठनमा विकास हुन थालेपछि दिन–प्रतिदिन समस्या बढ्न थाल्छन् । नियमनकारी निकायले समय–समयमा वित्तीय संस्था र सञ्चालकहरूका साथै अन्य विविध पक्षमाथि गरेको कारबाहीलाई यसको ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ ।


वित्तीय संस्थामा जोखिम व्यवस्थापनका लागि पिपल, प्रोसेस र सिस्टमको आवश्यकता पर्छ । यस्तो हुन नसक्दा नै वित्तीय संस्थाहरू संकटमा पर्ने गर्छन् । चार–पाँच वर्षयता बैंकिङ व्यवसायले ऐतिहासिक फड्को मारेको छ । आठ दशकको बैंकिङ इतिहासमा यो चार–पाँच वर्षमा पुँजी, व्यापार, शाखा, ग्राहक, नाफा सबै इन्डिकेटर सुखद छन् । बैंकिङ यस्तो व्यवसाय हो, जहाँ जोखिम तत्त्व सँगसँगै रहने हुनाले त्यसको मात्रा पनि ती शीर्षकभन्दा कम दरमा वृद्धि भएको मान्न सकिँदैन । तर विडम्बना, यस्ता खतरनाक इन्डिकेटरलाई देखाइँदैन । त्यस्ता खराब इन्डिकेटर लुकाउनै नसक्ने अवस्थामा पुगेपछि मात्र वित्तीय संस्थाको कमजोरी छताछुल्ल हुने हो ।


बैंक तथा वित्तीय संस्थाका सबै खाले घटनाक्रम बाहिर ल्याउने प्रवृत्तिको विकास भइनसकेकाले पनि त्यस्ता जोखिमको पुनरावृत्ति भइरहने गरेको हो । कुनै वित्तीय संस्थाको जोखिम सुरुआती चरणमै सार्वजनिक हुनसके अन्य संस्था पनि बेलैमा चनाखो बन्न सक्ने थिए । नियमनकारी निकायले निर्देशन गरेभन्दा पनि माथि उठेर जोखिम व्यवस्थापनका विधि तथा प्रक्रिया अवलम्बन गर्न सकिएन भने वित्तीय व्यवसायमा जालसाजी अझै बढ्ने, सम्पत्तिको गुणस्तर घट्दै जाने हुन सक्छ, जसका कारण ग्राहक तथा सेयरधनीको लगानी डुब्न सक्छ । यो समय प्रतिस्पर्धाको हो र ग्राहकहरूलाई टिकाइराख्नु चानचुने काम होइन ।


यसका लागि वित्तीय संस्था पारदर्शिता, इमानदारी, जवाफदेहिता, निष्पक्षता प्रदर्शित गर्दै आफ्नो उद्देश्यतर्फ निरन्तर लागिरहनुपर्ने हुन्छ । संस्थागत सुशासनको साङ्लो बलियो बनाउन सके जोखिम छेउ पर्ने सम्भावना निकै कम हुन्छ ।

प्रकाशित : माघ ३, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?