राजस्व छलीको स्थायी समाधान 

सम्पादकीय

सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केटलगायतका आधा दर्जन कम्पनीमा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोगबाट राजस्व छलेको ठहर गर्दै राजस्व न्यायाधिकरणबाट भएको अधिकांश फैसला सदर गरेको विषय मुलुकका लागि महत्त्वपूर्ण छ ।

राजस्व छलीको स्थायी समाधान 

नक्कली भ्याट बिलका आधारमा कर छलेको भनी राजस्व प्रशासनले एक दशकअघि ६ अर्ब ५९ करोड रुपैयाँ कर निर्धारण गरेको थियो । त्यसविरुद्ध पहिलो चरणमा सर्वोच्च पुगेका आधा दर्जन कम्पनीमाथिको अनुसन्धान र कर निर्धारणलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले सदर गरेको हो ।


यो फैसलाबाट मुख्यगरी चारवटा फाइदा पुग्नेछन्– पहिलो, यही फैसलाकै आधारमा राज्यलाई कर र जरिवाना गरी अर्ब रुपैयाँभन्दा बढी राजस्व प्राप्त हुनेछ । दोस्रो, सर्वोच्चमा विचाराधीन नक्कली भ्याट बिल प्रकरणमा मुछिएका झन्डै डेढ सय मुद्दालाई यो फैसलाले दिशानिर्देश गर्नेछ । तेस्रो, नक्कली बिल बनाई राजस्व छली गर्ने क्रम पुनः बढेका बेला आएको यो फैसलाले त्यस्ता कम्पनीमाथि छानबिन अगाडि बढाउन राजस्व प्रशासनको मनोबल बढाउनेछ । र चौथो, नक्कली बिल बनाउने र त्यसका आधारमा वा अन्य तरिकाले कर छल्नेहरूलाई निरुत्साहित गर्न टेवा पुर्‍याउनेछ ।


मुख्य रूपमा भ्याट र आयकरको विवादमा मुछिएका कम्पनीमध्ये भाटभटेनी डिपार्टमेन्ट स्टोर, एआईटी इन्टरनेसनल, महेश बानियाँ, शंकर अक्सिजन ग्यास र अरुण इन्टरकन्टिनेन्टलका मुद्दा टुंगिएका हुन् । नक्कली भ्याट बिलको प्रयोग मौलाएको सूचना सार्वजनिक भएपछि २०६७ पुस ८ गते आन्तरिक राजस्व विभागद्वारा गठित छानबिन समितिले ३ अर्ब २५ करोड रुपैयाँको कर छली भएको प्रारम्भिक नतिजा निकालेको थियो । उसले ५ सय १८ वटा व्यापारिक फर्मले नक्कली भ्याट बिल बनाई कर छलेको घटनामा ३ अर्ब ७ करोड रुपैयाँ भ्याट, ३ अर्ब ३३ करोड रुपैयाँ आयकर र २० करोड ५० लाख रुपैयाँ अन्तःशुल्क निर्धारण गरेको थियो । यसबाट कुल ६ अर्ब ५९ करोड रुपैयाँ कर निर्धारण भएको थियो । विभागको अनुसन्धानअनुसार यी व्यापारिक कम्पनीले नक्कली भ्याट बिलका आधारमा खर्च बढाएर भ्याट र आयकर छलेका थिए । खरिद नगरेकै सामानको पनि नक्कली बिल बनाएका थिए । दर्ता नै नभएको संस्थाबाट समेत कारोबार गरेको नक्कली विवरण पेस गरेर भ्याट फिर्ता दाबी गरेका थिए । आवधिक रूपमा विवरण नबुझाएका, दर्ता नभएका, सम्पर्कविहीन भएका कम्पनीसँगको कारोबार गरेका थिए ।


नेपालमा नक्कली बिल बिजक बनाएर कर छल्दा हुने प्रतिफल केबल व्यापारिक तहमा सीमित रहँदैन । नक्कली नोटसरह मानिने नक्कली बिलको प्रयोगबाट हुने लाभ कुनै न कुनै रूपमा कतिपय राजनीतिक नेतृत्वसम्म पुग्ने गरेको टिप्पणी सुनिन्छ । राजनीतिक नेतृत्वसँगको मिलेमतोमा राजस्व प्रशासन र अनुसन्धानको नेतृत्व परिवर्तन गर्न व्यापारीहरूले के कस्ता गतिविधिसम्म गर्छन् भन्ने विवरण समय–समयमा सार्वजनिक हुने गरेका पनि छन् । नक्कली भ्याट बिल पनि त्यसैको उदाहरण थियो । तत्कालीन राजनीतिक तथा राजस्वका अधिकारीहरूको बफादारिताका कारण अनुसन्धान सम्भव भएको थियो ।


फेरि पछिल्लो समय यस्तै प्रवृत्ति देखियो । राजस्व अनुसन्धान विभागले पछिल्लो पटक गरिरहेको अनुसन्धानले झन्डै १५ अर्ब रुपैयाँ बराबरको कर छली भएको निष्कर्ष निकालिसकेको छ । १० वर्षअघिको र अहिलेको घटनाले व्यापारीहरूले निरन्तर कर छलीका काम गरिरहेका छन् भने स्पष्ट पार्छ । यसो हुनुको पछाडि राजनीति वा प्रशासनिक प्रणालीगत समस्या जिम्मेवार छन् । विशेष अनुसन्धान गर्दा अर्बौं कर छली गरेको भेटिने तर नियमित काम गर्दा यस्ता घटना नदेखिनाले राजस्व प्रशासनको क्षमतामा समेत प्रश्न उठाएको छ ।


नक्कली भ्याट बिलमा संलग्न व्यवसायीहरूले नेपालको राजस्व प्रशासनलाई यो एक दशकको अवधिमा ठूलो पाठ पढाएका छन् । गतवर्ष कतिपय व्यवसायीले यसैगरी नक्कली भ्याट बिल प्रयोग गरेको भेटिँदा उनीहरूले राजस्व प्रशासनलाई झुक्याउन कारोबारसमेत गरेको पाइयो । पछि छानबिन हुँदा मात्रै अन्य बाटोबाट नक्कली भ्याट बिल प्रयोग भएको खुल्यो । प्रशासनले एक तहअघि बढेर अनुसन्धान गर्दा कर छल्नेहरू दुई कदम अघि बढेर बदमासी गर्छन् भन्ने तथ्यलाई यो घटनाले प्रमाणित गरेको छ । त्यसैले सरकारी संयन्त्रको चुस्तता पनि यहीअनुसार हुनुपर्छ ।


बैंकिङ च्यानलबाट कारोबार नगर्ने, दर्ता भएका कम्पनीका कारोबार नहेर्ने र अनुगमन नगर्ने, राजस्व प्रशासनलाई बलियो नबनाउनेलगायत कारणले यस्ता प्रवृत्ति मौलाएका हुन् । बेलाबेलामा विशेष अनुसन्धान गरेर मात्रै कर छलीको स्थायी समाधान निस्कँदैन भन्ने यथार्थ फेरि पनि नक्कली भ्याट बिलको प्रयोग भइरहेको घटनाले पुष्टि गरेको छ । तसर्थ, यी पक्षमा ध्यान दिनुका साथै जथाभावी रूपमा भएका कारोबारलाई लेखापरीक्षणबाट वैधता दिने प्रवृत्ति पनि निरुत्साहित गर्न आवश्यक छ । समस्याको गाँठो व्यापारी/उद्योगीमा मात्र सीमित नभएकाले भ्रष्टाचारप्रति शून्य सहनशीलता सरकारी व्यवहारमै हुनुपर्छ, नारामा मात्र होइन ।

प्रकाशित : माघ १, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?