रजस्वलाप्रति कहिलेसम्म अनुदार ?

लीला लुइटेल

पूर्वीय संस्कार एवं जीवनशैली शारीरिक–मानसिक स्वास्थ्यका लागि अति विशिष्ट हुनाका साथै जीवनोपयोगी छन् । यस्तो जीवनशैलीमा अभ्यस्त भइसकेका हामीले समयको कुनै क्षणमा आइपुग्दा मानवीयताका दृष्टिले ठूलै कलङ्क पनि सिर्जना गरेका छौँ । त्यो हो— नारीलाई हेर्ने दृष्टिकोण र दैनिक जीवनमा गरिने व्यवहार ।

रजस्वलाप्रति कहिलेसम्म अनुदार ?

रजस्वला भएकी महिलालाई बहिष्कार गर्ने प्रचलन त्यस्तै एउटा कलङ्क हो । एक्काइसौँ शताब्दीको विद्युतीय सञ्चारको युगमा आइपुगिसक्दा पनि हाम्रा चेलीहरू रजस्वला भएका बेला बहिष्करणकै स्थितिमा ज्यान गुमाउन बाध्य हुनु समय एवं मानवीय विवेकका दृष्टिले ठूलो कलङ्क हो । यसलाई कहिलेसम्म आत्मसात् गरिरहने ? यसलाई परम्परागत जीवनशैलीकै रूपमा व्याख्या गर्ने हाम्रा लागि परम्परागत कतिपय चालचलनमै देखिएका विचलन सर्वस्वीकार्य हुने तर यसप्रति अनुदार कहिलेसम्म भइरहने ?


पहिलो कुरा, तागाधारीहरूले बिहानै उठेर नुवाइ–धुवाइ गरी गायत्री मन्त्र जप्नुका साथै शालिग्रामको पूजा गर्नुपर्ने अनि भोजन गर्दा सफा सेतो धोती पहिरिनुपर्ने, बोल्न नहुने प्रचलन हामीले नै देखेभोगेको हो । अहिले हामीमध्ये कतिपयका छोराछोरीले गायत्री, शालिग्राम, जनै, धोती भन्ने शब्द नै सुनेका छैनन् । यो स्थितिको सिर्जना कतिपयका लागि बाध्यात्मक हुनसक्छ भने कतिपयका लागि आधुनिक र प्रगतिशील हुने रहरले पनि भूमिका खेलेको देखिन्छ । अझ यसमा वर्तमान पुस्तामा देखा परेको आलस्यपन नै बढी शक्तिशाली भएको पाइन्छ । जुनसुकै बहानामा भए पनि यस्ता स्थितिलाई स्वीकार गर्नसक्ने हामी रजस्वला भएकी चेलीलाई चाहिँ बहिष्करणै गर्नुपर्ने मनस्थितिमा किन छौँ ?


अहिले हुने व्रतबन्ध पार्टीलाई नै हेरौं । व्रतबन्ध गरिएको बटुकले भोजन गर्दा बोल्न नहुने, ६ महिनासम्म माछामासु र लसुन–प्याजजस्ता गरिष्ठ एवं तामसी भोजन गर्न नहुने भन्ने व्यावहारिक अभ्यास हाम्रै समाजमा थियो । यसबारे शास्त्रीय मर्यादा त अझ कडा हुनुपर्छ । तर अहिले व्रतबन्धका पार्टीमा बार्बिक्यु गर्नु अनि बिजुलीपानीको खोलो बगाउनु अनिवार्यजस्तै भइसकेको छ । एउटा बटुकको कर्म चलाउने कुरामा हाम्रो व्यवहार संस्कृृति एवं परम्पराविरोधी भएको स्थितिले हाम्रो संस्कृतिको संरक्षण गर्‍यो कि विकृति बढायो ? यस्ता परम्पराविरोधी प्रचलनलाई सहजतापूर्वक स्वीकार गर्ने समाज रजस्वला भएकी चेलीप्रति किन यति कठोर हुन्छ ?


हाम्रो समाजमा केक संस्कृतिले पनि व्यापकता पाएको छ । अरू त अरू, गुरुपूर्णिमा जस्ता नितान्त वैदिक प्रचलनमा समेत केक अनिवार्य गर्न थालिएको छ । अझ जिन्दगीभर माछामासु, अन्डा, लसुन–प्याजको संसर्गै नगरेका हजुरआमा–हजुरबा समेतलाई अन्डायुक्त केक कोच्याउँदा हामी आधुनिक भएर रमिता हेरिरहेका छौँ । यस्ता क्रियाकलापले हामी कस्तो संस्कृति भित्र्याउँदै छौँ ? यिनमा रमाई–रमाई भाग लिने सामाजिक ठेकेदारहरूले प्राकृतिक वरदानस्वरूप चेलीहरूलाई प्राप्त शारीरिक अवस्थालाई सहज ढङ्गले व्यवस्थापन गर्न खोज्दा किन विकृतिको पहाडै खसेको देख्छन् ?


अहिले बाबुआमाको किरिया बस्ने दिन घटाउनुपर्ने सन्दर्भमा बेलाबेला विवाद र विचार–विमर्श भइरहेको पाइन्छ । सृष्टिकर्ता एवं हाम्रा लागि निःस्वार्थ जीवन समर्पित गर्ने बाबुआमालाई तेह्र दिन समर्पण गर्न कठिन भएको भनी यसलाई रूढिसँग गाँसेर अनेक कारण देखाउँदै यसको अवधि घटाउने कसरत गरिँदै छ । शास्त्रीय मर्यादाविरोधी विचार उरालेर किरियाकर्म घटाउनका लागि नयाँ शास्त्र एवं विधिसमेत सिर्जना गर्न पछि नपर्ने समाजसुधारकको दृष्टि एउटी महिलाको प्राकृतिक अवस्थाप्रति किन यति अनुदार देखिएको ? बाबुआमाको किरिया बस्दा कोही–कोही बिरामी भएको निहुँमा यत्रो हल्ला मच्चाएर किरियाकर्मको दिन घटाउन बबन्डर गर्ने बहादुरहरूले छाउगोठमा लगातार चेलीहरूको अवसान हुँदा किन आवाज नउठाएको ?


कतिपय बुज्रुकले रजस्वलाका बेला महिलाको शरीर कमजोर हुन्छ भनेर आरामका लागि बार्ने व्यवस्था गरिएको तर्क गर्छन् । यसो भन्नेकै घरमा रजस्वला भएकी महिलालाई चुलाचौकाबाट वञ्चित गरेर घाँस, दाउरा, खनजोत, मेलापात जस्ता झन् शारीरिक दृष्टिले थेग्नै नसक्ने काम गर्न बाध्य पारिएको हुन्छ । मानवताहीन, विवेकहीन यस्ता क्रियाकलापलाई कहिलेसम्म मूकदर्शक भएर हेरिरहने ? अझ कतिपय परिवारमा त त्यस्ती महिलाले काटेर ल्याएको घाँस गाईवस्तुलाई खुवाउन हुने, भकारो सोहोर्न हुने, तर उसलाई दही–दूध दिइयो भने गाईवस्तु बिग्रिन्छन् भन्ने अमानवीय व्यवहारको कहिलेसम्म साक्षी बसिरहने ?


आधुनिकता एवं प्रगतिशीलताका नाममा हामीले मौन स्वीकृतिका साथ पाखा लगाएका अति उन्नत, सभ्य, प्रगतिशील, परिष्कृत एवं जीवनोपयोगी परम्पराका केही उदाहरण मात्र हुन् यी । यस्ता अनेक चलनलाई स्थान, समय, परिस्थितिका नाममा पाखा लगाउनुलाई सहज रूपमा लिने हाम्रो समाज महिलाको प्राकृतिक विशिष्टतामा यति क्रूर हुनुपर्ने के कारण छ ?


बिहानै उठेर नुवाइ–धुवाइ गरी ध्यान गर्ने, बासी र फोहोर नखाने, भान्छामा परचक्री एवं फोहोर गर्ने बालबच्चालाई जान नदिने जस्ता जीवनोपयोगी संस्कारलाई चाहिँ प्रगतिशील हुने मोहमा त्यागिदिने अनि महिलालाई मात्र छुवाछूत गरी हेय दृष्टि लगाउने मानसिक सङ्कीर्णता किन ? हामी आफूलाई संस्कृति र परम्पराको रक्षक ठान्छौँ भने माथि उल्लेख गरिए लगायतका सम्पूर्ण विधि–व्यवहारलाई आत्मसात् गरौँ । हैन भने महिलाको विशिष्ट अवस्थालाई वर्जित गरेर ऊमाथि मात्र अन्याय नथोपरौँ ।


सामाजिक एवं पारम्परिक संस्कारकै कुरा गर्ने हो भने पनि, महिलाकै लागि व्यवस्था भएका ‘अष्ट वर्षा भवेत् गौरी नववर्षा च रोहिणी’ भन्ने भनाइ र सती प्रथालाई कानुनी रूपमै पाखा लगाइसकेका छौँ । अझ रजस्वला हुनुपूर्व नै कन्यादान गर्ने प्रचलन मेरै पुस्ताले देखेभोगेकै हो । देशका विभिन्न भागमा बडो उत्साहसाथ विधवालाई रातो रङ्गको प्रयोगमा स्वीकृति दिएको पनि हाम्रै पालामा हो । यसबाट थोत्रा सामाजिक मूल्य–मान्यता तथा कुसंस्कारहरू धराशायी हुँदै छन् भन्ने शुभसङ्केत चाहिँ देखा पर्न थालेको छ । विधवाले रातो रङ्ग स्वीकृत पाउनु मात्र महिलाविरुद्ध हुने अन्यायको अन्त्य होइन, तर महिला उत्पीडनविरुद्ध उठेका पाइलाहरू अग्रगमनतर्फ बढेको चाहिँ अवश्य हो । हाल प्रशासनिक क्षेत्रमा पोसाकको विकल्पलाई पनि महिला अग्रगमनका लागि सकारात्मक पाइला मान्नुपर्छ ।


संस्कृति भनेकै कुनै वस्तुलाई परिमार्जन गरेर वा सुसंस्कृत रूप दिएर चम्किलो तुल्याउने काम हो । कुनै स्थान वा जातिविशेषको संस्कृति अर्को स्थान वा जातिविशेषका लागि अनौठो र अग्राह्य हुनसक्ने स्थिति पनि यस संसारमा नभएको होइन । यति हुँदाहुँदै पनि सत्य, अहिंसा, परोपकार, त्याग, बलिदान, मानवतावादी भावनाजस्ता पक्षहरू वहन गर्नसक्ने संस्कृतिचाहिँ सर्वपक्षीय, सर्वजातीय, सर्वराष्ट्रिय, सार्वभौम र सार्वकालिक हुन्छ । मानवतावादी आदर्श बोकेको संस्कृति सबैभन्दा महत्त्वपूर्ण, दीर्घजीवी र शाश्वत हुन्छ । समाजमा देखा परेका यस्ता बिब्ल्याँटा र विवेकहीन क्रियाकलापको अन्त्य गर्दै अघि बढ्ने जिम्मेवारी समयले अबका चेलीको मात्र नभई समकक्षी युवक पुस्ताको काँधमा पनि राखिदिएको छ ।


हाम्रो समाजको विकासक्रम हेर्दा, पुरुष वर्गका लागि कुनै कठिनाइ नबेहोरी सहजतापूर्वक सम्पन्न गर्न सकिने प्रचलन पनि क्रमशः त्यागिँदै लगियो र उसलाई फुक्काफाल भएर हिँड्न समाजले सहज वातावरणको सिर्जना गरिदियो । तर महिलाप्रति भएका कठोर एवं विवेकहीन अन्यायलाई सच्याउन कसैले आवश्यक देखेनन् । परम्परा र संस्कृतिका नाममा महिलामाथि थोपरिने अन्याय कायमै राख्नचाहिँ समाजले अहिले पनि सक्दो बल लगाइरहेको छ । अब पनि यथास्थितिमै रहेर रजस्वला भएकी महिलालाई अछूतको व्यवहार गर्न खोज्नु ठूलो भूल हुनेछ ।

प्रकाशित : पुस २९, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?