कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

निर्विकल्प इतिहासको फरक व्याख्या

नेपाल एकीकरण कुनै नश्ल वा रंग विशेषविरुद्धको अभियान थिएन । प्रविधि र शिल्पप्रति सेचत पृथ्वीनारायणकाे ध्यान आधुनिक काठमाडौंको बनावटले तानिएकाे थियाे ।
राम गुरुङ

बर्सेनि पुस २७ गतेको अघिपछि, नेपाल निर्माता पृथ्वीनारायण शाहमाथि विविध बहस हुन्छन् । राष्ट्र र राष्ट्रियतामाथि औंला सोझिन्छन् । उनको योगदानको पक्ष–विपक्षमा हुने बहसका आ–आफ्नै विशेषता छन् । कोही अति प्रशंसा त कोही निर्मम आलोचना । तर अति प्रशंसा र आलोचना दुवैले ऐतिहासिक घटनाको तथ्य र परिवेशलाई बुझ्न सघाउँदैन ।

निर्विकल्प इतिहासको फरक व्याख्या

स्वतन्त्र वस्तुगत विश्लेषण पाखा लाग्न पुग्छन् । विश्लेषण पूर्वाग्रही हुन्छ । यसर्थ इतिहाससँग हिसाब–किताब खोज्ने कठिन काम हो । जसको यथोचित उत्तर अहिले भेटिन्न । देन हुँदाहुँदै पनि मानिस इतिहासको भारीले थिचिन्छ । र, यसकै पुच्छर समातेर भविष्य सकार्ने प्रयास गलत र असफल हुन्छ । जसले भविष्यलाई अलमल्याउँछ । अर्थात् इतिहास भविष्यको सन्दर्भ वा मानक दुवैबाट चल्दैन । यसका लागि इतिहासभन्दा वर्तमानको समीक्षा र उपयोगले बढी अर्थ राख्छ ।

विश्व अर्थराजनीति नबुझी पृथ्वीनारायण र उनको एकीकरण अभियान ठम्याउन गाह्रो हुन्छ । पृथ्वीनारायण यस्तो समयमा गोरखाका राजा भए, जतिखेर एकातिर युरोपियन उद्योगीहरू इष्ट इन्डिया कम्पनीमार्फत संसारभर आफ्नो उद्योगका लागि चाहिने कच्चा पदार्थ जोहो गर्न लागिपरेका थिए । सँगै उत्पादित वस्तुको बजार खोज्दै भारतसम्म आइपुगेका थिए । अर्कातिर काठमाडौंले निर्यात व्यापारलाई तिब्बत र हिन्दुस्तानसम्म विस्तार गरेको थियो । व्यापारिक कानुन र प्रतिस्पर्धा नभएकाले व्यापार अत्यधिक नाफामा चल्दै थिए । जसलाई इष्ट इन्डिया कम्पनीसँग सन् १७९२ मा भएको सम्झौताले खारेज गर्‍यो । हिन्दुस्तानी शासक, इष्ट इन्डिया कम्पनी र गोर्खासमेत काठमाडौंले तानिएका थिए । सबै काठमाडौंसँग जोडिन चाहन्थे । पृथ्वीनारायण र काठमाडौंलाई जोडेको नै व्यापारिक आकांक्षा र स्वार्थले हो । बाँकी परिघटना परिस्थितिजन्य सिलसिलाका परिणाम थिए ।

गोर्खाको भौगोलिक परिवेश, सामाजिक सम्बन्ध र आर्थिक यथार्थ जसले गोर्खाली राजा पृथ्वीनारायणको आर्थिक र सैन्य विस्तारको अभिष्टलाई ब्युँतायो । यसबाट सैन्य संगठनमा चुस्त र राजनीतिक दाउपेचमा परिपक्व पनि भए । छिमेकी राज्यसँगको आर्थिक रणनीति र वरपरका भौगोलिक बनावटले काठमाडौंलाई इष्ट इन्डिया कम्पनीसँग जोगाइराखेको भए पनि गोर्खा वरपरका राज्यहरूको आपसी साँठगाँठ, धन–सम्पत्तिको चुरिफुरी, गोर्खाको शासकीय क्षमता र आर्थिक हैसियतमाथि प्रश्न उठ्ने खालका थिए । लमजुङ, भिरकोट, पाल्पा, मालेवन र पिउठान आदि छिमेकी राज्यले आपसी सुरक्षाका लागि गठबन्धन गर्दासमेत गोर्खालाई सोधेन । जसले पृथ्वीनारायणलाई काठमाडौं पस्न थप उत्प्रेरित गर्‍यो ।

भारतमा दिन–प्रतिदिन बलियो हुँदै गरेको इष्ट इन्डिया कम्पनी, गोर्खा राज्य वरपरका सम्पन्न रजौटा र तिनको राजनीतिक गठबन्धन, काठमाडौं उपत्यकाको आर्थिक एवं सांस्कृतिक वैभवता र राजनीतिक असन्तुलन तथा काठमाडौं–तिब्बत व्यापार र यसले पृथ्वीनारायणमा पारेको आर्थिक र राजनीतिक प्रभावलाई नजोडी पृथ्वीनारायणको नेपाल एकीकरण अभियानको वस्तुगत बुझाइ आउँदैन । जुन नेपाल निर्माणलाई पुष्ट्याउने महत्त्वपूर्ण ऐतिहासिक आर्थिक एवं राजनीतिक पक्ष हुन् । जसले अति प्रशंसा वा आलोचनालाई अस्वीकार गर्छ ।

तत्कालीन क्षेत्रीय अर्थराजनीतिले पृथ्वीनारायण शाहको जन्म गराएको हो । उनीभन्दा अघिका धेरै शाह राजा, राजामात्र भएर अस्ताए । तर उनी बडामहाराजा भएर उदाए । यदि पृथ्वीनारायण जन्मिएका थिएनन् भने अर्को पृथ्वीनारायणले तत्कालीन अवस्थाको फाइदा उठाउने पक्का थियो । अर्को पृथ्वीनारायण सायद नेपाल बाहिरका पनि हुन सक्थ्यो । उनीभन्दा झन्डै पाँच सय वर्षअघि अर्थात् बाह्रौं शताब्दीतिरै हिन्दुस्तानी नजर काठमाडौंमा परिसकेको थियो । दिल्लीका राजा मुहम्मादेनको आक्रमणले काठमाडौंमात्र होइन, यस वरपरलाई समेत पिरोलेकाले उदयपुरको राजपुत वंश पाल्पा पुगे । नरभूपाल शाहको (नृभुपाल: कर्कप्याट्रिक) पहिलो रानी, पाल्पाली राजाकी छोरीले गोर्खा र पाल्पाको नातेदारी गाँसियो । पाल्पाली शासकले आफ्ना नातेदार पृथ्वीनारायणलाई तत्कालीन अर्थराजनीतिक उथल–पुथलबारे बताएनन् भन्न सकिन्न । जसले एकातर्फ सदैव पृथ्वीनारायणलाई इष्ट इन्डिया कम्पनीसँग सजग गरायो भने अर्कोतर्फ काठमाडौंको आर्थिक र राजनीतिक महत्त्वबारे बुझायो ।

पृथ्वीनारायण शाहमात्र होइन, उनीभन्दा पहिल्यै, इसाको सत्रौं शताब्दीको सुरुतिरै इष्ट इन्डिया कम्पनी, काठमाडौंको आर्थिक वैभवताबारे जानकार थिए । त्यतिबेलासम्म पृथ्वीनारायणले गोर्खाको शासन सम्हालेको २० वर्षभन्दा बढी भइसकेको थियो । चरम आर्थिक संकट झेलिरहेका र लामो शासकीय अनुभवले निखारिएका निडर र एकोहोरो स्वभावका उनले तत्कालीन भूराजनीतिलाई नबुझ्ने कुरै भएन । काठमाडौं एउटा राज्यमात्र नभई महत्त्वपूर्ण व्यापारिक नाका हो भन्ने उनलाई थाहा थियो । तर हिन्दुस्तानीलाई भने काठमाडौं, व्यापारिक नाकाभन्दा पनि ठूलो सुनखानी भएको उपत्यका हो भन्ने भ्रम थियो । काठमाडौंले विहार र कलकत्तालाई सुन, तामा र फलामजस्ता धातुमात्र बेचेर वर्षको १५–१८ लाखसम्म आम्दानी गरिरहेको कारण खोतल्ने चेष्टा इष्ट इन्डिया कम्पनीले नगरेको होइन । तर काठमाडौंको निषेधित व्यवहारले त्यो सम्भव भएन । यतिबेलासम्म नेपाल–तिब्बत व्यापारको यकिन हिसाब र फाइदाबारे कम्पनीलाई कमै जानकारी थियो । यससँग पृथ्वीनारायण भने पुरै जानकार थिए । (कर्कप्याट्रिक, २००७ । पृ. १७४–१७६)

नेपाल एकीकरण कुनै नश्ल वा रंग विशेष वा विरुद्धको अभियान थिएन । प्रविधि र शील्पप्रति सचेत पृथ्वीनारायणको ध्यान आधुनिक काठमाडौंको बनावटले तानिएको थियो । काठमाडौंको घर, मन्दिर र खानेपानीको व्यवस्थापन आदिमा उपयोग भएका उन्नत स्थपित ‘इन्जिनियरिङ’ तिब्बतसँग भइरहेको अत्यधिक नाफाको व्यापार, समथर तथा उब्जाउशील भौगोलिक बनावट नै काठमाडौंको पराजयको कारण हो । नेमुनि ऋषिको नामबाट नेपाल बनेको काठमाडौंको वैभवता नै युद्ध र पराजयको गर्भ थियो । सुनखानीबारे भ्रम पालेका हिन्दुस्तानी कस्सिम खानले त काठमाडौं हडप्ने असफल प्रयास नै गरेका थिए । जब उनले काठमाडौंबाट विहार र कलकत्तातिर गइरहेको सुन तिब्बतबाट आइरहेको कुरा थाहा पाए, तबमात्र उनी पछि हटेका थिए । जसले हिन्दुस्तानी हुँदै इष्ट इन्डिया कम्पनीको ध्यान त खिचियो नै । यो वैभवताले उपत्यकाका शासकलाई आपसमा मिल्नसमेत दिएन ।


गोर्खा राज्यको भौगोलिक अर्थतन्त्र अन्य राज्यको भन्दा कमसल र व्यापारसँग अमिल्दा थिए । क्षत्री तथा मगर लडाका र ब्राह्मणको खेतीले गोर्खाको अर्थतन्त्र धान्न मुस्किल थियो । यसभित्र न कुनै फलाम, तामा र सुनजस्ता धातुका खानी नै थिए । न त बेच्न मिल्ने कुनै उत्पादन नै हुन्थे । यसले गोर्खा राज्यलाई गरिब बनाएको थियो । पृथ्वीनारायणले गुज्रँदो परिस्थिति र व्यापारको महत्त्वलाई राम्ररी बुझेका थिए । बेच्ने कुरा नभएकाले गोरखा राज्य गरिब भयो भन्ने ज्ञान उनलाई भयो । यसैले युवावस्थामा नै उनी व्यापार जमाउन, पाल्पाली राजा मुकुन्द सेनको मद्दतमा बनारस पुगे । तर वाणिज्य कार्यालयका चौकीसँग (कारिन्दा) भएको झगडामा उनको कुटाइबाट चौकीवालाको मृत्यु भयो । वैरागीको मद्दतले गोर्खा फर्केका उनी त्यतिखेरै गोर्खाको वैभवता ल्याउन दत्तचित्त लागे । जुन नेपाल एकीकरणको परियोजना बनेर देखापर्‍यो । हतियार बन्दोबस्तदेखि व्यापारको चाँजोपाँजोमा निर्भर बन्ने कोसिस गरे । बनारसबाट बारुद आदि ल्याएर आफैंले फायरलक बनाए । यसबाट युरोपियनसमेत इर्ष्यालु बनेका थिए । इर्ष्यालु युरोपियनलाई राम्ररी बुझेका उनले आफ्ना भाइभारदारलाई युरोपियनसँग सजक रहन प्रेरित गरे । (बुकानन, २००७ । पृ. १७५–१८०)

काठमाडौंले आर्थिक समृद्धिको बलमा अन्य राज्यसँग सम्बन्ध गाँस्ने जाँगर देखाएन । व्यापार र सत्तामा अल्मलिएका यसका शासक नै काठमाडौंको सत्ता भत्किनुका कारण भए । बाहिरसँगको अन्तरराज्य व्यापार तथा सुरक्षा नीति सत्ता जोगाउन अपुग थियो । काठमाडौं हिन्दुस्तानसँग व्यापारले ज्यादा जोडिएको थियो । अन्य सम्बन्ध कमजोर थियो । यसले पृथ्वीनारायणलाई पटक–पटक हारेर पनि जित्ने ऐतिहासिक मौका दियो । काठमाडौं वा कीर्तिपुर, उपत्यकाका सबै राज्य एकै पटकको प्रयासमा हात लागेका राज्य होइनन् । आर्थिक वैभवता बाहेक सुरक्षाको मामलामा कमजोर, आपसी राजनीतिक गठबन्धनको विभाजन नै पृथ्वीनारायणका लागि जितको आधार बने ।

काठमाडौं उपत्यकाले पाल्पा, लमजुङ, मकवानपुर तथा विजयपुर जस्ता महत्त्वपूर्ण राज्यसँग राम्रो सम्बन्ध बनाउन नसक्दाको मूल्य पृथ्वीनारायणको जितमार्फत चुकायो । काठमाडौंसम्मको भूगोल र बाटोबारे राम्रो जानकारीसमेत नभएका इष्ट इन्डिया कम्पनी कमाण्डर किन्लकको भरोसा गर्नु नै कीर्तिपुर लगायत काठमाडौंमा तेह्र पुस्तासम्म चलेको ४४४ वर्ष लामो मल्ल शासन सकिने कारण बन्यो । किन्लकले पाटन काउन्सिलको अनुरोधमा काठमाडौं आउन, क्रमशः सन् १७६७, १७६९ र १७८१ मा गरेको प्रयास वाग्मती नदी र मकवानपुरको औलोले तुहाइदियो । यसले गोर्खाली अभियानलाई बल पुग्यो भने काठमाडौंलाई

निरीह बनाइदियो ।

काठमाडौंबासी, खासगरी कीर्तिपुरबासीको कमजोर संगठनात्मक बल, पृथ्वीनारायणले शासकीय वैधानिकता हत्याउने अर्को कारण बन्यो । बोल्ट डेभिड र वल्ड फिल्डका अनुसार २०० जना ब्राह्मण प्रयोग गरी फैलाइएको धार्मिक अफवाहलाई पर्गेल्नेतर्फ कीर्तिपुरबासीले सोच्न पनि भ्याएनन् । नुवाकोट दरबारमा बसेर दिएको निर्देशनले कीर्तिपुरमा शासन स्थापित गर्न सफल भए । निरन्तर सात वर्षसम्म पृथ्वीनारायणको सत्तालाई प्रतिरोध गरे पनि आपसी राजनीतिक खिचातानी र वैमनश्यताको परिणाम काठमाडौं उपत्यकाका नेवारले भोग्नुपर्‍यो ।

प्रकाशित : पुस २८, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?