पीआर प्रपञ्च

अस्ट्रेलियामा नेपालको पहिचान नै 'नक्कली बिहे गरेर भए पनि पीआर प्राप्त गर्न चाहने युवाहरुको देश' का रुपमा स्थापित हुन बेर छैन ।
उष्मा रिबेल

मेरी एक विद्यार्थीलाई अर्कै राज्यमा बसेको उनको प्रेमीले उनीहरूको नक्कली विवाहको प्रमाणपत्र बनाएर उनैको डिपेन्डेन्ट भिसामा बस्न निकै दबाब दिएको रहेछ । आफू यता मानसिक तनावमा रहेका बेला प्रेमीले जुवामा व्यस्त थिएँ भन्दै सन्ताप थपिदिएको पनि उनले मलाई सुनाएकी थिइन् । अचेल अस्ट्रेलियामा देखिएको एउटा प्रवृत्तिको उदाहरण हो यो । मान्छे र सम्बन्धको औचित्यै नभएजसरी गरिने पीआरको लोभ ।

पीआर प्रपञ्च

अर्को सन्दर्भमा, केटीको डिपेन्डेन्ट भिसामार्फत पीआर लिएको पाँच–छ महिनापछि केटाले पाँच वर्ष पुरानो सम्बन्ध धरापमा रहेको कुरा आमाबाबुलाई सुनाउँछ । त्यसको प्रत्युत्तरमा आमाबाबुले भन्छन्, ‘के भो त ! एउटा गए दस वटा आउँछन् त्यस्ता अवसर । बच्चा पनि सय जना जन्मिन्छन्, पछि ।’

यति लामो सम्बन्ध कसरी टुट्यो वा बालबच्चाको भविष्य के हुन्छ भन्ने सोध्दै नसोधी ‘दस वटा अवसर आउँछन्’ भन्न कसरी सक्छन् नेपाली बाबुआमाले ? पीआरधारी महिला उनीहरूका लागि घरकी सदस्य नभई छोराका लागि पीआरको चिट्ठा मात्रै हुन् ? बच्चा जन्माउने योजना पनि पीआर प्राप्त गर्ने उद्देश्य अन्तर्गत नै थियो ? कुनै स्त्रीको प्रजनन अधिकारमाथिको खेलबाड होइन यो ? वरपरका मित्र, विद्यार्थी आफन्त र म स्वयंको पनि भोगाइ यस्तै छ । लामो समयदेखि विदेशमा बसिरहेकाले यस्ता घटना बारम्बार देख्दा र भोग्दा लाग्छ— विदेशमोहले नेपालीहरूलाई संवेदनहीन बनाइसकेको हो ? किन यसरी भिसा र पीआरका निम्ति नेपाली आमाबाबु, युवायुवती, कन्सल्टेन्सी र लमीहरू अनेक तिकडममा लागिरहेका हुन्छन् ?

फेसबुकमा ‘कन्फेसन अफ नेपाली इन अस्ट्रेलिया’ पेज सरसर्ती हेर्ने हो भने कहालीलाग्दा सत्यसँग साक्षात्कार हुन्छ । प्रायः गुनासा केटीहरूका हुन्छन्— पार्टनरले आफ्नो प्रजनन अधिकारको बेवास्ता गर्दै असुरक्षित यौनसम्पर्क गर्न राजी बनाएको, गर्भवती भएपछि फरार भएको, गर्भ रहेको खण्डमा बाबुका रूपमा बच्चाको जिम्मेवारी लिन सक्ने आँट नहुने गरेको, गर्भपातको खर्च नबेहोर्ने मात्रै होइन मानसिक, भावनात्मक र नैतिक आधार दिने संवेदनासम्म नदेखाउने गरेको ... ।

अचेल अस्ट्रेलियामा मानौं नक्कली विवाहको लहर चलेको छ । विदेश आएका र पीआरप्राप्त केटा वा केटीलाई पढ्नका लागि पैसा चाहिने, त्यसका लागि नेपालमा बिहे गरेका केटा वा केटीका परिवारले पैसा हालिदिने, पढाइ सकिएपछि केटा वा केटीले त्यही विवाहका आधारमा पीआर पाउने । भावनात्मक सम्बन्धबाट कोसौं पर हुन्छन् यस्ता विवाह । दुई–तीन वर्षको पढाइ सकेर भाषा परीक्षा आदि प्रक्रिया गर्दा पीआर आउन एक वर्षजति लाग्छ । पीआर लिएको दुई वर्षसम्म केटाकेटीले सम्बन्धमै रहिरहेको प्रमाण पेस नगरे, थोरै मात्र पनि शंका लागे सरकारले रद्द गरिदिन्छ । यसरी नक्कली विवाह गरेकाहरूका सक्कली पार्टनर पनि छन् भने पढाइ, नक्कली विवाह र पीआर प्राप्ति, त्यसपछि पनि दुई वर्ष कुरुन्जेल उनीहरूका सक्कली पार्टनरसँगको सम्बन्ध पनि धरापमा परिसकेको हुन्छ । कैयौं दाजु–बहिनी, मामा–भान्जी, अनेक आफन्त र नातागोताले समेत पीआरको लोभमा नक्कली विवाह गरेका किस्सा सुनिन थालेका छन् । कति त अझ चिनजानसम्म नभएका व्यक्तिलाई कन्सल्टेन्सीले पतिपत्नीका नाममा भिसा मिलाइदिएका हुन्छन् ।

मतभेद, पैसा र पीआरको कुरालाई लिएर पाएको धम्की, ब्ल्याकमेल वा आर्थिक–मानसिक दबाबका कारण भोग्नुपरेका स्वास्थ्य समस्या जस्ता कुरा पीआरको प्रपञ्चमा परेका युवायुवतीले उक्त पेजमा उल्लेख गर्ने गरेका छन् । त्यसमा कतिपय नेपाली युवाले निर्लज्जतापूर्वक ‘मलाई पीआर भएकी केटीको पर्खाइ छ, कृपया मेरो उद्धार गरिदेऊ’ सम्म लेखेको देखिन्छ । पढेलेखेका र अस्ट्रेलियन नागरिकको ट्याग झुन्ड्याएका महिलासँग जसरी पनि बिहे गर्ने, बच्चा जन्माउने, पीआर पाएपछि तुरुन्तै वैवाहिक सम्बन्ध तोड्ने, बच्चाको जिम्मेवारी नलिने, सम्बन्धलाई ‘अवसर’ का रूपमा लिने पुरुषका कारण घरबाहिरको काम र घरभित्र एकल अभिभावकको दोहोरो जिम्मेवारीमा परेका महिलाहरूको संख्या पनि ठूलो छ ।

यतिबेला मेरै वैवाहिक सम्बन्ध समाप्त भएको पनि धेरै भएको छैन । मेरो दोस्रो बच्चा निकै सानो छ । पहिलो बच्चा, १६ वर्षको छोराले त्यही उमेरका आम केटाले भन्दा निकै बढी जिम्मेवारी वहन गरिरहनुपरेको छ । आमाको अनुपस्थितिमा बहिनीको रेखदेखसहित घरको सम्पूर्ण काम उसैले गर्ने गरेको छ ।

फर्जी बिहा गरेर विदेश जान खोज्ने १८–२० उमेरका छोराछोरीलाई नरोक्ने, एउटा वैवाहिक सम्बन्ध टुटेर दोस्रो सम्बन्धका लागि राजी नहुँदा–नहुँदै उक्त महिलालाई पीआरका लागि बिहे गर्ने, छोराबुहारीको टुट्दो वैवाहिक सम्बन्धबारे ‘त्यस्ता सम्बन्ध हजार वटा आउँछन्’ आदि भन्ने स्थितिमा नेपाली समाज कसरी पुगिरहेको छ भन्ने कुरा सम्झिँदा कहिलेकाहीँ अत्यास लाग्छ मलाई । जसरी पनि विदेसिएर उतै अडिनुपर्छ भन्ने सोचमा हामी किन पुगिरहेका छौं ? यस्तै विवाहका कारण कतिपय व्यक्ति पक्राउ परेर स्वदेश फिर्ता पनि भइरहेका छन् । यो स्थिति बढ्दै गए, नेपालको पहिचान नै ‘नक्कली बिहे गरेर भए पनि पीआर प्राप्त गर्न चाहने युवाहरू भएको देश’ का रूपमा स्थापित हुन बेर छैन ।

आखिर कहाँ चुक्यौं हामी ? कसरी हाम्रा युवा यस्ता भए ? स्कुले पाठ्यक्रममा प्रजनन अधिकार शिक्षा भएको भए, आत्मनिर्भरता र जिम्मेवारीबोधबारे १२–१३ वर्षका विद्यार्थीलाई सिकाउन सकेको भए नेपाली सायद यति साह्रो गैरजिम्मेवार हुँदैनथे । कम्तीमा युवाहरूलाई अरूको अधिकार खोस्न हुन्न भन्ने चेत त आउने थियो ! कम्तीमा आफ्नो कर्मको फलको दायित्व आफैले बोक्नुपर्छ, अरू निर्दोषलाई आफूले लत्याएको दायित्वको भारी बोकाउन हुन्न भन्ने ज्ञान त आउने थियो !

धन्न, मैले चाहिँ आफ्नो छोरोलाई बेलैमा सबै जिम्मेवारी सिकाइछु ।

-उष्मा सिड्नीस्थित अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटीमा नर्सिङ विषय पढाउँछिन् ।

प्रकाशित : पुस २८, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?