कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

इतिहासको निर्णायक धक्का

यादव देवकोटा

अस्थिरता : काठमाडौंका राजा जगज्जय मल्ल युवराज छँदै जन्मिएका थिए, जयप्रकाश मल्ल । जगज्जय राजा भएपछि जन्मिए जयप्रकाशका भाइ राज्यप्रकाश काठमाडौं दरबारमा । अधिकतर भारदारहरू जगज्जय राजा भैसकेपछि दरबारमा जन्मेका राज्यप्रकाशलाई राजा बनाउन चाहन्थे । जगज्जयले भने आफ्नो उत्तराधिकारी जयप्रकाशलाई नै तोके ।

इतिहासको निर्णायक धक्का

पिताको मृत्युपछि गद्दीमा बसेका जयप्रकाशले भाइ राज्यप्रकाशलाई राज्यनिकाला गरे । राज्यप्रकाश पाटनमा शरणागत भए र पाटनका निःसन्तान राजा विष्णुप्रकाशको उत्तराधिकारी भएर गद्दीमा बसे ।


जयप्रकाशसँग असन्तुष्ट भारदारहरूले जयप्रकाशका अर्का भाइ नरेन्द्रप्रकाशलाई देवपाटनमा लगी काठमाडौं अधीनस्थ साँखु, गोकर्ण, नन्दीग्राम र देवपाटनको स्वतन्त्र राजा घोषणा गरे । त्यसबाट क्रुद्ध जयप्रकाशले देवपाटनमा आक्रमण गरेर पराजित गरेपछि नरेन्द्रप्रकाश भागेर भक्तपुरमा शरण लिन पुगे । दरबारमा असन्तुष्टि बढ्दै गएपछि परिणाममा असन्तुष्ट भारदारहरूले जयप्रकाशलाई गद्दीबाट निकाला गरी उनका नाबालक छोरा ज्योतिर्प्रकाशलाई राजा बनाए । त्यसको चार वर्षपछि पाटनमा राजा रहेका भाइ राज्यप्रकाशसमेतको सहयोगमा जयप्रकाश फेरि सत्तामा आए (शर्मा, बालचन्द्र– नेपालको ऐतिहासिक रूपरेखा, पृ. १७४/७५) । काठमाडौंका जनता भने कहिले कुनै भाइ, कहिले बाउ, कहिले छोरा, फेरि बाउलाई राजा थाप्ने र फेर्ने क्रमले आजित थिए । कुन बखत कसलाई राजाका रूपमा शिरको गजुर मानेर दाम चढाउनुपर्ने हो, ठेगान थिएन ।


त्यही समय पाटनका प्रधानहरूले राज्यप्रकाशका आँखा फुटाइदिएर राजाबाट हटाई भक्तपुरे राजा रणजित मल्ललाई पाटनको राजगद्दी सुम्पेका थिए । त्यसको केही समयमै तिनै प्रधानहरूले रणजित मल्ललाई हटाएर जयप्रकाशलाई पाटनको राजा थापे । त्यसको दुई वर्ष नपुग्दै फेरि प्रधानहरूले जयप्रकाशलई पनि हटाएर विष्णु मल्लकी छोरीका छोरा विश्वजित मल्ललाई पाटनको राजा बनाए । तिनको पनि हत्या गरेर प्रधानहरूले पृथ्वीनारायणका भाइ दलमर्दनलाई पृथ्वीनारायणको पहिले प्रतिनिधि र पछि स्वतन्त्र राजा थापेर पाटनको गद्दीमा बसाए । केही समयपछि दलमर्दनलाई पनि हटाएर पाटनेहरूले विश्वजितका वंशज तेजनरसिंह मल्ललाई पाटनको गद्दीमा राखे (शर्मा, उही, पृ. १५९–६१) । आज सुत्दा एउटालाई राजा थापेर सुतेको छ, उठ्दा अर्कै राजा भैसक्थ्यो । अर्को दिन अर्कै । राजा थाप्ने र फेर्ने एउटा अत्यासलाग्दो र अन्तहीन सिलसिलाले जनता आजित थिए ।


अस्थिरताको यस्तो कुचक्रले जनतालाई प्रताडित गर्ने काम काठमाडौं उपत्यकाका राज्यमा मात्रै भएको थिएन । आबादी रहेका डाँडैपिच्छे कोट र शासक थिए । थुमैपिच्छे गढी र किल्लाहरू थिए । हरेक थुम कोही न कोही सामन्त प्रशासित इलाका थियो । हरेक सामन्त आफ्नो रजाइँको भूगोल बढाउने ताक, तयारी र अभियानमा थिए । सक्नेले नसक्नेलाई दपेट्ने र आफ्नो भूगोल बढाउने प्रचलित नियमै थियो । त्यसको उत्कर्षमा आज एउटा सामन्ती इलाका अधीनस्थ भूगोल भोलि अर्कैको अधीनमा जान्थ्यो । आज शासक बनेको व्यक्ति रातारात या गिँडिन्थ्यो या पराजित हुन्थ्यो र भोलि नै अर्को सामन्त शासकका रूपमा अघि सर्थ्यो र उसले पनि पहिलोकै नियति बेहोर्थ्यो ।


लडाइँ, हारजित र शासक एवं भूगोलको अस्थिरताको सिलसिला अकण्टक जारी रहन्थ्यो । पुज्नका लागि ढुंगाकै भए पनि देउता र शासित हुनका लागि लम्पटै भए पनि शासक थाप्नु सामाजिक रीतिकै हिस्सा थियो । ईश्वरीय र शासकीय सत्ताबेगर पनि समाजको गति चलायमान हुन सक्छ भन्ने चेतना मानिसमा नहुनु अन्यथा थिएन । जस्तो कि, आजै पनि हामी नैतिकता, चिन्तन, व्यवहार र चेतनाले लम्पटहरूलाई नेता थापेर शासित भै बसेका छौं ।


तिनै टुक्रे राज्यहरूमध्ये एक थियो रूखो पहाडी भूगोलको निर्धो र तुलनात्मक हिसाबले गरिब राज्य गोर्खा । बाह्र हजार कुरिया रहेको त्यही राज्यमा अठारौं शताब्दीको आखिरी वर्ष नरभूपाल शाहको उत्तराधिकारीका रूपमा गद्दीनसीन भएका थिए पृथ्वीनारायण शाह । ससुरालीमा श्रीमती लिन जाँदा निर्धो राज्यको राजकुमार भएकै कारण मकवानपुर राज्यमा बेहोर्नुपरेको अपमानले पृथ्वीनारायणलाई बलियो राज्यको अधिपति भएर मकवानपुरमाथि बदला लिने हुटहुटीले लपेटेको थियो । त्यसमाथि मकवनापुर जाँदा–आउँदा चन्द्रागिरिबाट देखेको र पछि मितेरी साइनो लाउन भक्तपुर जाँदा उपत्यकामा बसेका गोर्खाका युवराज पृथ्वीनारायणलाई उपत्यकाको वैभवले वशीभूत पारेकै थियो । मल्लराज्यभित्रको आन्तरिक छिनाझपटी, कचिंगल, अस्थिरताको राम्रै भेउ पाएका उनमा काठमाडौं जितेर त्यहाँको वैभवको सर्वेसर्वा बन्ने लालसा सवार हुनु अन्यथा पनि थिएन ।


आफ्नै पुर्ख्यौली लमजुङले हरसमय हमला गरेर राज्य लिइदिने त्रास छँदै थियो । पिता नरभूपालकै पालामा नुवाकोटमा पराजित भएका गोर्खाली भारदारहरू नुवाकोटमाथि विजयी चढाईको मोर्चा खोल्न सलबलाएका थिए । छिमेकी राज्य र नियन्त्रित सामन्ती इलाकाहरूको विघटन, विलयन र फैलावटको चरम अस्थिरताको रापले जुनसुकै बेला गोर्खा पनि सेकिन सक्ने त्रास छँदै थियो ।


क्रमभंग

त्यही परिवेशमा विसं १७९९ मा गोर्खा दरबारमा पगरी पहिरेर गद्दीनसीन भएका पृथ्वीनारायणले राज्यभित्रका जनतालाई एकीकृत तवरले संगठित गरेर गोर्खा राज्य विस्तारको अविश्राम महाभियानको विगुल फुके । उप्रान्त त्यसले जसरी टुक्रे, भुरे–टाकुरे अस्थिर राज्यहरूलाई निल्दै अघि बढ्यो र कालान्तरमा त्यही गोर्खा राज्य विस्तारको पृथ्वीनारायणको अभियानको परिणाममा जुन भूगोल एकीकृत तवरले एउटा स्वतन्त्र र स्थिर देशका रूपमा विश्वमानचित्रमा आफ्नो सग्लो परिचयसहित उभियो, त्यो यताका दिनमा ‘नेपाल’ का रूपमा परिचित छ । जब गोर्खा राज्य विस्तारको थकानविहीन अभियानमा गोर्खाली जनताको समुच्चित शक्ति संकेन्द्रित भयो, तिनै जनताको बल, बुद्धि, वीरता र बलिदानको शासकीय नेतृत्व गरेका पृथ्वीनारायणको छापामार शैलीको रणकौशलले कमसेकम डेढ हजार वर्षअघिदेखि चलेको अस्थिरताको इतिहासमा निर्णायक धक्का दियो ।


भुरे–टाकुरे राज्य घोषणा गर्ने र एकअर्काको राज्य खोस्ने, थुत्ने, लुट्ने मुसा–बिरालोको खेलमा सिंहनाद गर्दै जब गोर्खाली फौज राज्य विस्तारको एकसूत्रीय सपनालाई साकार पार्न अघि बढ्यो, त्यसले कालान्तरमा एउटा स्थिर र बलियो राज्य निमार्ण गर्‍यो र परम्परागत इतिहासको निरन्तरतामा क्रमभंग गर्दै आक्रामक छलाङ हान्यो । पृथ्वीनारायणका उत्तराधिकारीबाट गोर्खा राज्य विस्तारको अभियानलाई निरन्तरता दिने क्रममा इस्ट इन्डिया कम्पनीसँगको बहुमोर्चाको निर्णायक सामनापछि एउटा भूगोल एकीकृत परिचयका साथ स्थिर रह्यो । त्यही भूगोल नेपालको नागरिक हुनुको संयोगले आजको नेपाल निर्माणको जग हाल्ने वीरवीरांगना जनता र तिनका नेता पृथ्वीनारायणप्रति जनमानसमा आदरभाव र सम्मान रहनु स्वाभाविक छ ।


किन पनि भने, पृथ्वीनारायण नेतृत्वमा आरम्भमा गोर्खाली जनताले र समयक्रममा गोर्खाबाट मुकाम सरेर काठमाडौंकेन्द्रित भएको विस्तारित राज्यको सरहदमा समाहित भएका जनताको समुच्च तागतले आफ्नो राज्यको सीमा फैलाउने अभियान जारी राखेकै परिणाममा निर्माण भएको हो आजको नेपाल । आजको आधुनिक नेपाल भनेर, जो हामी भोगिबसेका छौं, त्यो तिनै पृथ्वीनारायण नेतृत्वको अभियानको परिणाम होइन र ? स्वतन्त्र भनिए पनि यो अरूको अघोषित उपनिवेशको हैसियतमा छ भन्ने तर्कहरूको जवाफ पृथ्वीनारायणसँग हुने कुरै भएन, किनकि उनले त अरूले गुलाम बनाउलान् भन्ने चिन्ताबाट निस्कन बल लगाएकै थिए अंग्रेज, मुसलमान र मगधहरूसँगको छिनाझपटीपछि । हामी नै अरूबाट सीडीओ नियुक्तिका लागि किस्तीमा आदेश थाप्ने भएका छौं त यसको दोष किन पृथ्वीनारायणलाई ? कि त भन्नुपर्‍यो, पृथ्वीनारायणको त्यही अभियानको अन्तिममा खडा भएको आजको नेपालसँग वितृष्णा छ ।


पृथ्वीनारायणको त्यही अभियानयताको पौने तीन सय वर्षको समय पृथ्वीनारायणमाथिको विमर्शमा रुमल्लिएको छ । पृथ्वीनारायणकै समयमा फिरंगी पादरीहरूले थालेको विद्रूपीकरणको अभियान कहिले दमित हुँदै त कहिले जाग्दै निरन्तर जारी छ । उसै गरी पृथ्वीनारायणको एकपक्षीय भद्दा आरती र देवत्वकरणको उच्चाटलाग्दो सिलसिला पनि निरन्तर छ । पृथ्वीनारायणले संगठित र शक्ति केन्द्रित गरेको गोर्खाली शाहवंशीय सत्ता समयक्रममा जनद्रोही भएर उन्मूलन भए पनि पृथ्वीनारायणले झन्डै तीन सय वर्षअघि इतिहासको निरन्तरतामाथि जुन खाले निर्णायक धक्का दिएर नयाँ निरन्तरताको सुरुआत गरेका थिए, नेपाली समाज त्यही धक्काको परिणाममा आज उपस्थित छ ।


निर्धो गोर्खा

१. द्रव्य शाहको पालादेखि किल्ला गाडेको शाह राज्यको गोर्खास्थित मुकाम माझकोटबाट प्रस्ट देखिन्छ, टाढाको मनासलु हिमाल र तल बगिरहेको दरौंदी खोला । पानीको अत्यासलाग्दो खडेरी बेहोर्ने माझकोटका केटाकेटीहरू पौडी खेल्नकै लागि बत्तिन्थे दरौंदी ताकेर । त्यसरी दौडनेमै पर्थे पृथ्वीनारायण शाह पनि । त्यस्तै एउटा दिन पौडी खेलेर फर्कंदा बाटामा आफ्नो दरबारका द्वारे केशव खवासको उखुबारीबाट उखु चोरेर खाएका थिए पृथ्वीनारायणले (आचार्य, बाबुराम(१)– श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, पृ. ७८) ।


२. राजनीतिक लाभका साथसाथै आर्थिक लाभ पनि प्राप्त हुने अपेक्षा राखी महारानी चन्द्रप्रभावती आफ्ना युवराज पृथ्वीनरायणको विवाह मकवानपुर राज्यका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग गराउन अग्रसर भइन् (आचार्य, बाबुराम– नेपालको संक्षिप्त वृत्तान्त (२), पृ. १०४) । पर्वत, प्यूठान, सल्यान आदिका राजपुत्रीहरूसँग विवाह गर्दा उनीहरू गोर्खामा डोला पठाउन तयार हुँदैनथे (आचार्य, उही (२), पृ. ९५) ।


३. गोर्खाको गद्दीमा बस्दासम्म पृथ्वीनारायणको गोर्खा राज्यसँग स्थायी किसिमको सेना थिएन । विसं १८०५ मा शेर दलको नाममा गोर्खाली फौज संगठित गर्न सुरु गरेका थिए उनले (खत्री, टेकबहादुर– शाही नेपाली सेनाको इतिहास, पृ. ४९) । त्यसअघि लडाइँ–भिडाइको काममा राज्यले विगुल फुकेपछि सामेल हुने र अन्य समय घरगृहस्थीमा रमाउने सिपाहीहरू राखेको थियो गोर्खाले । तिनलाई निरन्तर दिने खान्की र जागिरको प्रबन्ध गर्न सक्ने अवस्थामा पनि थिएन गोर्खा । खासगरी विसं १८१९ मा मकवानपुरमा भएको मीर कासिमको फौजसँगको मुठभेडपछि गोर्खाले प्राप्त गरेको हतियारको बलमा स्थायी सैन्य संरचना संगठित गर्न थालियो (पन्त, दिनेशराज– नेपाली सेनाको इतिहास, पृ. ८) ।


त्यति निर्धो थियो गोर्खा, त्यति अभावग्रस्त थिए स्वयं राजपरिवार पनि, जसले राज्य विस्तारका लागि हतियार लिन काशी जाने खर्च नपाएर बिसे दमाईको अर्ती थामेर घरगिन्ती चन्दा थाप्नुपरेको थियो । त्यही राज्य गोर्खा जनता र राजनीतिक नेतृत्वकर्ताको अदम्य साहस र दीर्घचेतको उत्कर्षमा नेपाल निमार्णको चिरकालिक अभियन्ताका रूपमा रूपान्तरित भयो ।


नहडपेको जातीय राज्य

पृथ्वीनारायणले गोर्खा राज्यको विस्तार न कुनै अमुक जातिको राज्य खोस्ने पूर्वनिर्धारित योजनामा गरेका थिए, न त त्यस समयको कमसेकम एक हजार वर्षभन्दा अघिदेखि नै अस्तित्वमा नरहेको ‘एकीकृत नेपाल’ को विभाजनको पीडाबाट आक्रान्त भएर सिंगो ‘नेपाल’ बनाउने उद्देश्यले । उनलाई त केवल त्यस बखतको तुलनात्मक तवरले निर्धो राज्य गोर्खाको विस्तार गर्नु थियो । ठूलो भूगोलको राजा हुनु थियो । किन पनि भने, त्यसब खतका हरेक राजा/राज्यको उद्देश्य नै त्यही थियो । गोर्खाको भूगोल विस्तार गर्ने क्रममा जहाँजहाँ उनले अवरोधको सामना गरे, त्यहाँ उनले भीषण फौजी तागत र रणनीतिक चलाखी संकेन्द्रित गरे । त्यस्तो लडाइँ उनले कहीँ कुनै जातसँग गर्नुपर्‍यो त कहीँ कुनै । उनले यो त मेरो जातको राज्य भनेर छाडेनन् । यो त मेरो नातेदार, मावली, ससुराली राज्य भनेर त्यसलाई छाडेर कुनै अमुक जातिको मात्रै राज्य हडपेको देखिँदैन ।


आफ्नै ससुराली मकवानपुरमाथिको निर्मम हमला, मावली सेनवंशीहरूको विजयपुर, चौदण्डीमाथिको हमला र विजय कुनै अर्को भिन्न जातीय कबिला सामन्ती इलाकामाथिको विजयको शृंखलाभन्दा भिन्न दृश्यमा सम्पन्न भएको देखिन्न । लड्ने र जित्नेले राज्य लिने प्रक्रिया नै संसारभरका राज्यहरूको विघटन, विलयन, विस्तार र निर्माणको साधारण अभ्यास नै थियो । जति पनि देश संसारमा अस्तित्वमा छन्, ती सबै यस्तै युद्ध, लडाइँ, खोसाखोस, तानातान, अतिक्रमण, अधिग्रहण, विलयन, विघटन, विस्तार र कब्जाको क्रममै निर्माण भएका हुन्, सवाल कहिले र कसले भन्ने मात्रै हो । पृथ्वीनारायण मात्रै संसारका कुनै अपवाद पात्र होइनन्, जसले आफ्नो राज्य विस्तार र निर्माणका लागि लडाइँको बाटो रोजे । त्यसविरुद्ध आक्रमण र प्रतिरोधमा आउनेमाथि आफ्नो भएभरको तागत लगाए । संसारको कुनै देश छ या त्यसको निकट या विकट इतिहास छ, जो शान्तिको मन्त्र जपेर निर्माण भएको या अस्तित्व जोगाउन सफल भएको होओस्, कमसेकम विक्रमको उन्नाइसौं शताब्दीभन्दा पहिले ?


जहाँसम्म जनजातिहरूको राज्य पृथ्वीनारायणले खोसेको भन्ने छ, नुवाकोटदेखि दोलखा भेगसम्मका रैथाने तामाङहरूको राज्य मासेर त्यसमाथि अधीन जमाएर बसिसकेको थियो, काठमाडौंको मल्लराज्य । पृथ्वीनारायणले नुवाकोटदेखि पाल्चोकसम्म हराएको काठमाडौंको मल्लराज्यका स्थानीय प्रमानहरूलाई हो । तिनै काठमाडौं अन्तर्गतका सामन्ती इलाकालाई राज्य र सामन्तहरूलाई राजा भनिएको हो भने त्यो बेग्लै कुरा । मकवानपुर, चौदण्डी, विजयपुरका सेनहरूको मातहतमा गइसकेको थियो मकवानपुरदेखि सुखिमसम्मको किराती भूगोल, पृथ्वीनारायणले त्यता मोर्चा खोल्नु निकै अघिदेखि नै । त्यहाँ कुनै स्वतन्त्र तामाङ, राई, लिम्बूहरूको राज्य/राजा थिएन, पृथ्वीनारायणले गोर्खा राज्य विस्तारको अभियान चलाउँदाका दिनमा । थिए नै, रैथाने सामन्ती इलाका र सामन्तहरू । तर, विजयपुर, चौदण्डीका सेन राजाका रैथाने तालुकवालको हैसियतमा मात्रै ।


किरात क्षेत्रमा भएको गोर्खाली फौजसँगको किरातीहरूको भिडन्त कुनै स्वतन्त्र किरात राज्य जोगाउनका लागि भएको थिएन । सेन राज्य अधीनस्थ रैथाने सामन्ती इलाका जोगाउने प्रयास अन्तर्गत ती टुक्रे भिडन्तहरूमा किरातीहरू सामेल थिए । यसर्थ पनि कि, पाल्पा राज्यको पूर्वतिर विस्तार हुनुअघि नै नौ लाख किरातका दस राज्य विजयपुरमा समाहित भएका थिए (सुवेदी, राजाराम– नेपालको तथ्य इतिहास, पृ. १३८) र लेप्चाहरूको अधीनमा गएको थियो । आन्तरिक खिचातानी र धोखाधडीपछि विजयपुरमा लेप्चा राजा हटेर सेनवंशी लोहाङ सेन राजा थापिएका थिए । विजयपुरको पूर्वी सिमाना सिक्किम, पश्चिम कोशी/अरुण, उत्तर भोट तथा दक्षिण कमरूप (असम) सम्म थियो । पृथ्वीनारायणले त्यही सीमाभित्र अधीनस्थ सेनशासित उदयपुर राज्य गोर्खामा समाहित गरेका थिए, कुनै स्वतन्त्र किरात राज्य होइन, जो त्यस बखत अस्तित्वमै थिएन ।


बरु, गोर्खा राज्य पूर्वतिर बढ्दै जाने क्रममा गोर्खाली फौज त्यतै संकेन्द्रित भएको अवसर छोपी गोर्खामाथि सबैभन्दा धेरै आक्रमण गर्ने राज्यहरूमा पर्थे लमजुङ, कास्की, तनहुँ, ढोर, सतहुँ, पाल्पा लगायत राज्य, जहाँ पृथ्वीनारायणकै पुर्ख्यौली आफन्तहरू र धेरैमा त आफ्नै खलकका शाहहरू नै शासक थिए । उनले गोर्खा राज्य विस्तारका क्रममा सबैभन्दा बढी सास्ती नै शाह र सेनहरूबाट बेहोरेका थिए । अझ खासमा उनकै पुर्ख्यौली खलक शासित आठटीका खान/शाही राजा/राज्यबाट । त्यसैले पूर्वमा सुखिमसम्म विस्तारित हुन सकेको गोर्खा पश्चिममा भने चेपे तरेर तनहुँमा सम्म ठाना हाल्न जान सकेको थिएन । पछि त गोर्खा राज्य पृथ्वीनारायणका उत्तराधिकारीको समयमा जब विस्तारित हुँदै काँगडासम्म पुग्यो, त्यसले निलेका राज्यहरूको संख्यामा स्वतन्त्र जनजातीय राज्यको संख्या जम्मा एक (बलिहाङ–मगर) देखिन्छ भने खान/शाही, सेन, मल्ल, चन्द, सिंह, समाल, बर्मा, विष्ट, पालजस्ता ठकुरी शासित राज्य उनान्साठीवटा देखिन्छन् । काशी यात्राका क्रममा पृथ्वीनारायणले आफ्नो गोर्खा राज्यको शाही परिवारको गोत्र आठटीका खान/साहीको परम्परागत भारद्वाज गोत्रबाट कश्यप गोत्रमा परिवर्तन गराएका थिए (भण्डारी, ढुण्डीराज– नेपालको उद्भव तथा विकासको विश्लेषणात्मक इतिहास, पृ. ३१७), उप्रान्तका दिनमा गोर्खा विस्तारको अभियानमा आठटीका खान/शाही राज्यमाथिको आक्रमणमा त्यहाँका आफ्ना खलकका कोही मारिएमा स्वगोत्र हत्याको धार्मिक लाञ्छना र अपराधको दोषबाट उम्किन । पृथ्वीनारायण र पछि उनका उत्तराधिकारीले पराजित गरेका सेन, खान/शाही, मल्ल, समाल, चन्द, सिंहजस्ता ठकुरीहरूले पहिल्यै खोसिसकेका तामाङ, राई, लिम्बू, मगर, गुरुङजस्ता जनजातीय राज्य पनि पृथ्वीनारायणले नै खोसेको भन्दै गरिने आलोचनाले टेकेको तथ्यको जमिन टीठलाग्दो देखिन्छ ।


यताका दिनमा पृथ्वीनारायणले एकलजातीय राज्य चलाएका थिए भन्ने आरोपहरूको विपरीत उनको गोर्खाली सेना समावेशी स्वरूपमा थियो, तुलनात्मक रूपले । बरु अरू राज्य एकलजातीय संरचनामा आधारित थिए । नेवारहरूको राज्यमा एकाधबाहेक नेवारको मात्रै एकलौटी थियो । लिम्बूहरू प्रशासित इलाकामा एकल लिम्बू आधिपत्य । तामाङहरूको सामन्ती इलाकामा उस्तै । किरातहरूको उस्तै । द्रव्य शाहसँगै लमजुङबाट गुरुङहरू पनि आएका थिए गोर्खामा । पछि सिरानचोक, अजिरकोट, भच्चेक, बारपाक, अठार सय खोला, मान्वु, सुलिकोट आदि राज्यहरू गोर्खाको पकडमा आएपछि गोर्खाली राज्यमा गुरुङहरूको संख्या बढ्न गएको थियो (गुरुङ, जगमान– नेपालको एकीकरणमा गुरुङहरूको भूमिका, पृ. ११) ।


मगर त उसै पनि गोर्खा राज्यमा पहिलेदेखि नै थिए, द्रव्य शाहकै पालादेखि राजकीय उच्च ओहदामै । पृथ्वीनारायण आफूलाई मगरातको राजा भन्न रुचाउँथे । बारपाकीहरूले उनलाई मगर राजा भनी आफ्नो राजा मान्न अस्वीकार नै गरेका थिए । खस, मगर, गुरुङ, ठकुरी पृथ्वीनारायणको फौजी भरोसाका आधारभूत जातीय समुदाय थिए । उनले दिएको भनिएको ‘उपदेश’ मा भनिएकै पनि छ— ‘इनै चार जात तरवार पर्दा साह्रो हुन्छ र बैरी त क्या इन्द्रको आसन पनि डगाईन्छ ।’ त्यसविपरीत काठमाडौंका मल्ल राज्य र मकवानपुर, चौदण्डी, विजयपुर मातहतका रैथाने सामन्ती इलाकाहरू पूर्णतया एकलजातीय संरचनामा आधारित थिए । एकांगी जातीय फौजले नथामेर जयप्रकाश कहिले नगरकोटी फौजलाई भाडामा ल्याउने त कहिले अंग्रेजसँग गुहार लगाएर आफ्नो राज्य जोगाउने हालतमा विघटित थिए । त्यस्तो राज्यले कमसेकम दलित, मुसलमानसमेत सामेल गराई संगठित खस, मगर, गुरुङ, ठकुरीहरूको समुच्च फौजको सामना गर्न सक्ने कुरै थिएन ।


नक्कली श्रीपेच

आलोचनाको स्तरलाई माथ गर्ने गरी अर्काथरीले चलाएको पृथ्वीनारायणको देवत्वकरणको प्रयास उस्तै आधारहीन छ । पृथ्वीनारायणले नेपाल एकीकरण गरे भन्ने तर्क सबैभन्दा आधारहीन किन पनि छ भने, पृथ्वीनारायणको राज्य गोर्खा कहिल्यै नेपालका नामले प्रचलित थिएन । गोर्खाबाहेकका राज्यहरू कहिल्यै गोर्खाबाट फुटेर गएका पनि थिएनन् । उनले गरेको काम नै गोर्खा राज्यको विस्तार हो । नेपाल धुजाधुजा भयो, यसलाई फेरि एकजुट पार्नुपर्‍यो भनेर उनी गोर्खाको गद्दी छाडेर त्यस बखत नेपालका नामले चिनिने काठमाडौंमा सामेल भएर त्यसलाई विस्तार गर्ने अभियानमा लागेका थिएनन् । त्यस बखत एकीकरण भन्ने चेतना नै शासकहरूमा थिएन । थियो त आफ्नो राज्य विस्तार गर्ने, जतिसक्दो ठूलो राज्यको बलियो शासक बन्ने, शासन चलाउने । पृथ्वीनारायणले गरेकै त्यही हो । उनको भनिएको ‘दिव्योपदेश’ मा कहीँ पनि नेपाल एकीकरणको मनसुबा उल्लेख भएको पाइन्न ।


एकीकरणको भाष्य दिवंगत पृथ्वीनारायणमाथि थोपरिएको उनका दरसन्तान महेन्द्रको पालामा हो, मुख्य गरी । पृथ्वीनारायणले नेपाल एकीकरण नै गरेको मान्ने हो भने पनि कि त भन्नुपर्‍यो, उनको समयमा जोडिएको चेपेदेखि मेचीसम्मको भेग मात्रै हो एकीकृत नेपाल । होइन भने, जम्माजम्मी बलियो गोर्खा राज्य बनाउने चेतले विस्तार गरिएको गोर्खा राज्यको कर्मलाई नेपाल एकीकरणको खास्टो ओढाइराख्न जरुरी छैन । सवाल त, त्यही गोर्खा राज्य विस्तारको परिणाममा जुन मुलुक बन्यो, त्यसका खातिर आरम्भकर्ता, अभियानकर्ता, सामेल वीरवीरांगना, तमाम जनसमुदाय र तिनका उच्चतम नेतृत्वकर्ताप्रतिको कृतज्ञता र सम्मानमा कमी हुनु हुँदैन भन्ने पो होला ।


आफ्नो मनले खाएका विराज बखेतीलाई काजी नदिई लोकमत अनुसार कालु पाँडेलाई काजी दिएको भन्ने कथनमाथि गरिने पृथ्वीनारायणको महिमागान उस्तै भ्रमपूर्ण छ । त्यसलाई विश्वसनीय र लोकसम्मतिपूर्ण देखाउन भारदारी सभाले कालुलाई रोजेको तर्क अघि सार्ने गरिएको छ । सारा भारदारी सभामा भरिएका ब्राह्मण–क्षत्रीहरूले मगरलाई कि क्षत्रीलाई सेनापति बनाउने भनेर क्षत्री/ठकुरी राजाले प्रश्न गरेपछि स्वाभाविक रूपमा क्षत्री छान्ने नै भए, चरम जातीय उचनीचको हरहिसाब गरिने सामाजिक रीति रहेको त्यो समयमा ।


मगरको दापभित्र बसेर आदेश तामेली गर्नु त्यस बखतको जातीय अहमताले भरिएको समाजमा क्षत्री, ब्राह्मणहरूका लागि सकेसम्म पन्छाउन योग्य विषय हुन्थ्यो । निःसन्देह त्यसको विकल्पमा क्षत्री रोज्ने अवसर पाएको भारदारी सभाको निर्णय पूर्वघोषित नै हुन्थ्यो— बखेतीको अस्वीकृति र क्षत्री कालु पाँडेको स्वीकृति । पृथ्वीनारायणकै भारदारी सभामा राज्य जोड्ने हातहतियार किन्न घरगिन्ती चन्दा उठाउन सल्लाह दिई गोर्खा राज्यलाई पहिलो दान दिने बिसे नगर्ची र तिनका सन्तानलाई होइन, चिनाटपरा गर्ने जैसीहरूलाई स्थान थियो । त्यस बखतको राज्य सञ्चालनको आधार नै धार्मिक रीति थियो । र, त्यो रीति जान्ने धर्माधिकारीहरूलाई कर्मवीर योद्धाहरूभन्दा माथिको स्थान थियो दरबारमा । पृथ्वीनारायण त्यही चिन्तन र परम्पराको दासताले बाँधिएका सनातनी शासकको स्तरबाट माथि उठ्न सकेका थिएनन् ।


त्यस्तै, दिव्योपदेश जसलाई भनिएको छ, त्यो पहिले पृथ्वीनारायणको भाषण भन्ने गरिन्थ्यो । सूर्यविक्रम ज्ञवालीले छाप्दा त्यसलाई ‘पृथ्वीनारायणको व्याख्यान’ (पृथ्वीनारायण शाह, पृ. २०६), इतिहासज्ञ नयराज पन्तले संस्कृत सन्देशमा ‘राजा पृथ्वीनारायणले आफ्ना भारदारलाई दिएको अर्ती’, ललितजंग सिंजापतिले ‘पृथ्वीनारायणको भाषण’ भनी लेखेको र पछि मात्रै बाबुराम आचार्य र योगी नरहरिनाथले ‘बडामहाराजा पृथ्वीनारायण शाहको दिव्य उपदेश’ भनेर छपाएका थिए (पन्त, नयराज र अरू– श्री ५ पृथ्वीनारायण शाहको उपदेश, पृ. ७) ।


महेन्द्रीय शासनकालमा मात्रै उक्त भाषण ‘स्वर्णमय, सुवर्णमय दिव्य उपदेश’ का नाममा प्रचलित हुन थालेको देखिन्छ (अभिलेख, अंक ३, पृ. १०२) । त्यही उपदेश पनि साँच्चै पृथ्वीनारायणले नै भनेका हुन् भन्नेमै सन्देह पैदा हुने अवस्था देखिन्छ । त्यसमा सुरुमै उल्लिखित ‘श्री श्री श्री ५ बुढा महाराजाले... हुकुम भयाको कुरा’ उल्लेख हुनुले त्यो पृथ्वीनारायणको समयभन्दा निकै पछि लेखिएको प्रमाणित हुन्छ । किन पनि भने, रणबहादुर शाहको समयदेखि मात्रै पृथ्वीनारायणलाई बूढा महाराज भन्ने चलन चलेको देखिन्छ (योगी र आचार्य– राष्ट्रपिता श्री ५ बडामहाराजा पृथ्वीनारायण शाहदेवको दिव्य उपदेश, पृ. १) । चार वर्षको अन्तरालमा गोर्खाली सत्तामा तीन राजा भएपछि पहिले बितेका पृथ्वीनारायण अर्थात् बाजेलाई ‘बूढा महाराज,’ भर्खरै दिवंगत प्रतापसिंह शाहलाई ‘स्वर्गवासी महाराज’ र बहालवाला रणबहादुरलाई ‘महाराज’ भन्न थालिएको देखिन्छ । तिनै ‘बूढा महाराज’ लाई कालान्तरमा अपभ्रंसित, दैवीकरण गरेर ‘बडामहाराज’ का रूपमा सम्बोधन गर्न थालिएको देखिन्छ । उनै योगी र आचार्यले लेखेका छन् भूमिकामा— ‘यो विसं १८६३ को आसपास लेखिएको अनुमान छ ।’ त्यसरी पृथ्वीनारायणको निधनको ३२ वर्षपछि लेखिएको उपदेशका कुरा कति पृथ्वीनारायणको, कति लेख्नेले थपथाप पारेको भन्ने निर्क्योल गर्नु सम्भव छैन ।


त्यही आराधनाको सिलसिलालाई बढाउँदै आजका दिनमा पृथ्वीनारायणका सालिक र तस्बिरमा उनको शिरमाथि श्रीपेचको भारी बोकाउने व्यर्थको दुःखसमेत थोपरिन थालेको छ । पगडी गुथ्ने र श्रीपेचको भेउबिनै जिन्दगी निखारेका पृथ्वीनाराणको सालिकमा श्रीपेच ओढाउने काम जंगबहादुरका पिताको श्री ३ को श्रीपेचमा सजिएको चित्र बनाएर वितरण गर्ने राणाहरूको दुःखभन्दा फरक शैलीको छैन ।


टीठलाग्दो सुगारटान

(क) पृथ्वीनारायणका सेनाहरूले ‘सरसल्लाह गरौं, मीत लगाऔं’ भनी बोलाएपछि आफ्ना दुई–चार जना सेनासहित र्‍योमलीहाङ दूधकोसी र सिखुखोलाको दोभानमा झरे । त्यस बेला र्‍योमलीसँग गतिलो पल्टन पनि थिएन । तर, पृथ्वीनारायणका सेनाहरूले अगाडि नै षड्यन्त्रपूर्वक बालुवामा तरबार लुकाएर राखेका थिए । र्‍योमलीहाङ र उनका सेनाहरू त्यहाँ पुग्नासाथ तरबार निकालेर पृथ्वीनारायणका सेनाहरूले आक्रमण गर्न थाले र र्‍योमलीहाङको हत्या गरे (राई, गणेशकुमार– ओगानेम गढी (किरातक्षेत्रका गढी), पृ. १७९) ।


(ख) पृथ्वीनारायणले नुवाकोटको बाह्र लच्याङमा गोले थरी राजालाई मितेरी लाउने बहानामा बिनाहातहतियार चौघडको सिमलामा बोलाएका थिए । त्यसपछि भोजभतेर गरी गोर्खाली सेनाले एक दिनअघि नै बगरमा लुकाएका हातहतियारद्वारा आक्रमण गरे (तामाङ, रवीन्द्र– प्राचीन तामाङ राज्य, पृ. ६७) ।


(ग) गोर्खाली राजाले सन्धि गर्ने बहानामा सल्यानटार नजिकको ह्यापिङ खोलामा निःशस्त्र रूपमा बोलाई षड्यन्त्रपूर्वक सेमजोङका तामाङ राजालाई मारेका थिए । सेमजोङका तागुर वाइवालाई गोर्खाली सेनाले विसं १८१७ मा आक्रमण गरी मारेका थिए (रवीन्द्र, उही, पृ. ८३/८४) ।


(घ) गोर्खालीहरूले बारपाकी चांग्या र सुर्तानलाई बालुवाबेसीमा मितेरी लाउन निम्तो दिए । मितेरी लाउने अघिल्लो दिन बालुवामुनि हतियार लुकाई राखे । मितेरी लाउने प्रक्रिया सुरु भएपछि गोर्खाली सेनाले लुकाएका हातहतियार झिकेर बारपाकी राजा चांग्या, सुर्तान र उनका सेनामाथि आक्रमण गरे (रवीन्द्र, उही, पृ. ८५) ।

(ङ) रूपाकोट/सुलिकोटका घलेराजासँग मितेरी लाउने भनी घ्याम्पेसालमा बोलाई मितेरीको बहानामा पहिल्यै लुकाएको हतियार झिकी शाह राजहरूले मारिदिए (घले, धनप्रसाद– घले जातिको लुकाएको इतिहास, पृ. ८५) ।

(च) लमजुङे राजा नरहरि शाहले भाइ एवं गोर्खाली राजा द्रव्य शाहलाई आमाको वार्षिकी गर्ने बहानामा बोलाई चेपेपारि वार्षिकी गर्न लागेका बखत पहिल्यै लुकाएका हतियार झिकेर आक्रमण गर्ने सुइँको पाएपछि द्रव्य शाह भागेर चेपे तरेर गोर्खा लागेको मूलधारको कथात्मक इतिहास हामीले कति घोक्यौं, के हिसाब ?


(छ) खासमा त्यसरी मितेरीको बहानामा बोलाएर पहिल्यै लुकाएर बालुवामुनि राखिएका हतियार झिकेर काटिएका थिए गण्डकी क्षेत्रमा मुख्यतः मगर, गुरुङ समुदायमा प्रचलित घाटु नृत्यका नायक प्रश्रामु शाही राजाहरूबाट । प्रश्रामुको नियति भने खुदीखोलाको बगरबाट सर्दै चेपे तरेर निवेल खोला, ह्यापिङ खोला, चौघडा, तिमाल तर्दै सिखुखोलासम्म सुगा रटानका रूपमा विघटित हुन पुगेको छ । कहीँकतै सुनेको घटनाले दन्त्यकथाको रूप धारण गरी हरेक समुदायमा पृथ्वीनारायणको विद्रूपीकरणको चेत कसरी स्थापित गरिएको छ भन्ने यी माथिका असंगत सुगारटानहरूबाट प्रस्टिन्छ ।

प्रकाशित : पुस २७, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?