कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कानुन, जनता र बीपी

अभि सुवेदी

शिर ठाडो राख्नु मानिसको सबैभन्दा ठूलो कर्म हो, अनि उसको पहिचान हो । मानव जातिको इतिहास त्यत्ति एउटा सानो अभ्यासमा अडेको देखियो । हामी नाट्यमञ्चका मानिस, एउटा निर्देशकको सबै कामको सार त्यत्ति अभिनयमा देख्छौं । शिर ठाडो गरेर आँधी चलाउन सक्ने पात्रले पनि कहीं विपरीत नियति भोग्छ । तर नाटकमा मानिसको शिर उठाउनु सबै अभिनयको आत्मा हो ।

कानुन, जनता र बीपी

ग्रीस मानव चेतना जनिन नाटक अनि प्रजातन्त्रको पनि थलो हो । प्रजातन्त्रको शक्ति भनेकै त्यही मुक्त मानिस हो । जुन राजनीतिक प्रणालीले मानिसको शिर ठाडो राख्छ, त्यो लोकतान्त्रिक प्रणाली हो । यी कुरा त्रिभुवन विश्वविद्यालय, अंग्रेजी विभाग अन्तर्गत विद्यावारिधि गर्ने शोधकर्ताहरूको निम्ति ‘पर्फर्मेन्स’ कला, राजनीति र मञ्चका सन्दर्भमा प्रस्तुत मेरो सेमिनार कक्षामा मैले राखेको थिएँ । त्यसमा विश्वेश्वरप्रसाद कोइराला उर्फ बीपीका रचना र उनको अदालतको बयान, उनका संस्मरण र साहित्यिक रचनाका अन्तर्यको अनि मैले त्यसमा लेखेको नाटक ‘सान्दाजुको महाभारत (२०७३)’ लाई आधार बनाएको थिएँ । यो लेख त्यही संकथनको सार हो ।


मूलत: यसमा दुई कुरा छन् । पहिलो, हामी लोकतन्त्र र मानिसको स्वतन्त्रताको सम्बन्ध जोडिएको छ भन्ने कुराबाट अलिक टाढा हुँदै गएका छौं । विश्वका अनेकौं प्रजातान्त्रिक देशहरूमा पनि यो धार देखिँंदै गएको छ । हामी लोकतान्त्रिक गणतन्त्रको संविधानलाई प्रयोग गर्ने कर्ममा अलिक बाटो बिराउन लागेका छौं । अथवा जानी–जानी यसो गर्दैछौं कि भन्ने अहिले मुख्य छलफलको विषय हुँदै गएको छ । दोस्रो, बीपी कोइरालाको राजनीति मानिसको सम्मानले बनेको थियो भन्ने कुरासँगै उनले पछिल्लो समय लिएका निर्णयहरूमा उनको एकल पात्रको चरित्र देखिएको थियो भन्ने हो । ती एक राजनीतिज्ञ हुँदाहुँदै पनि सिर्जनशील र संवेदनशील भएको कारण एक पात्र बन्दै गए । तिनले लिएका राजनीतिक निर्णयहरूमा त्यो पात्रको कालजनिन अवस्थाको प्रभाव देखियो । त्यसरी लिएका निर्णयहरूमा तिनको ‘भिजन’ र भविताको लोकतान्त्रिक काल्पनिकी साथै थियो । तर तिनको व्याख्या गर्नेहरूले बीपीको यस्तो पात्रजनिन प्रस्तुतिलाई अर्कै किसिमले व्याख्या गरेको देखियो । अहिलेको अवस्थालाई वरिष्ठ पत्रकारहरूले गरेका केही चर्चाबाट त्यो कुरा टड्कारो गरी देखिन्छ । संगीत श्रोताको विचारमा अहिले राजा महेन्द्रलाई बढोत्तरी गर्न बीपीलाई होच्याउने क्रम बढेको छ । (नयाँ पत्रिका, १३ साउन २०७६) । अर्कातिर किशोर नेपालको विचारमा उनकै दलमा ‘स–साना बीपी कोइरालाहरू’ (कान्तिपुर, पुस २४, २०७६) जन्मिएका हुनाले आफ्नै संरचनाभित्र बीपीको इतिहास अप्ठ्यारोमा परेको देखिएको छ । किशोर भाइले देखेको उत्तर–आधुनिक कांग्रेसको बहुचित्र बुझिनसक्नु छ ।


बीपीले लिएका राजनीतिक निर्णयहरू बुझ्न हामी साहित्यलाई पनि प्रयोग गर्नु एक अर्थपूर्ण तरिका ठान्छौं । बीपीले २०३३ सालमा भारतबाट नेपाल फर्कनलाई अंगिकार गरेका राजनीति र सम्झौताका सिद्धान्तलाई बुझ्न उनको संकटमा परेको उपन्यासको पात्रजस्तो अवस्थालाई ध्यानमा राख्नुपर्छ । त्यसैले हतियार संकलन गरेर ती सबै बंगलादेशका मुक्तिवाहिनीलाई दिएर रित्तो भएको अवस्था अनि इन्दिरा गान्धीका वचन र धम्कीले एकैपटक झड्का लागेका बेलाको एक राजनीतिक व्यक्तिका मनस्थितिको परिप्रेक्ष्यमा तिनलाई हेर्नु बढी सान्दर्भिक हुन्छ । उनको त्यस्तो अवस्थालाई चित्रण गर्न बीपीको आत्मवृत्तान्त को आफूले गरेको समीक्षा सिनास जर्नल (जुलाई १९८८) बाट उल्था गरेर तलको अनुच्छेद राख्न चाहन्छु ।


‘बीपीको अनवरत हतियार भेला गर्ने अभियान, नेपालको प्रधानमन्त्रीसम्म पुगेको अवस्था फेरि जेलजीवन, स्वतन्त्रता र फेरि त्यत्तिकै व्यग्रताले हतियार भेला गर्ने कर्म सबैले भन्छन्, बीपी एक सक्रिय र निर्णायक अवस्थामा पुगेका नेता थिए । उनको व्यक्तित्व बहुआयामिक थियो । ती एक मसिहा थिए, एक प्रजातन्त्रका योद्धा थिए र थिए ग्रीक मिथकको एउटा ढुङ्गो तलतिर लडाउनु र फेरि चढाउनुले दण्डित सिसिफस पात्र जो जीवनमा तिनै लयहरू स्क्वायर एकबाट दोहोर्‍याइरहनुपर्ने कर्मले दण्डित थिए । बीपीको राजनीतिक क्षमता अनि भिजन र व्यक्तित्वले गर्दा यिनको रिस गर्ने नेपाली र भारतीय विरोधीहरूबारे बुझ्ने नजिकैका मित्रहरू थोरै थिए । यिनका मित्रहरू र प्रशंसक पनि थिए’ (२९४) । विडम्बनाको कुरा के छ भने राजा महेन्द्र एक एक्ला र अन्तर्मुखी मानिस थिए, जसले बीपीलाई पछि गएर बन्दी बनाए र एकतन्त्री पञ्चायत शासन चलाए । त्यसो त अमूक व्यक्ति ‘कुनै दलमा सम्बद्ध होस् वा नहोस्, जसले उनको संस्मरण पढ्छ, ऊ एउटा भ्रममुक्त, किञ्चित बढी कर्म गर्ने र एक साहसी मुक्तियोद्धाको संसारमा पस्छ, जो खासै पूरा हुन नसकेका सपनाहरूको एउटा भारी बोकेर हिँंड्थ्यो । अनि त्योसँगै पाठक नेपाली इतिहासको एक उत्ताल र महत्त्वपूर्ण खण्डमा पस्छ, जुन इतिहास आज बीपीले भोगको भन्दा फरक तर उनले कल्पना गरेका चरित्र र झन् धेरै चुनौतीहरू लिएर हाम्रो ढोकामा आइपुगेको छ’ (२९८) । जर्मन दार्शनिक वाल्टर बेन्जामिनले इतिहास वर्तमानमा एक मसिहा शक्तिले फर्केर आउँछ, त्यसैले वर्तमान एक महत्त्वपूर्ण क्षण हो भनेजस्तै यो कुरालाई बुझ्नु उपयुक्त ठान्छु यहाँ । म यहाँ बीपीको यो स्वभावलाई बुझेका एकजना विदेशी विद्वान र कूटनीतिमा काम गरेका व्यक्तिको सन्दर्भ ल्याउन चाहन्छु ।


जापानमा मैले राजदूत केदारभक्त माथेमाको निवासमा १८ मार्च १९९८ मा पहिले नेपालमा राजदूत भएर काम गरेका एकजना डा. निसिजावालाई भेटेंँ । ती बीपीका मित्र थिए । बीपी दिवंगत भएका बेला उनी यहाँ जापानका राजदूत थिए । उनले त्यो दिन राजदूतावासमा काम गर्ने सबैलाई विदा दिएर उनको महायात्रामा सामेल हुन प्रेरित गरेको कुरा सुनाए । त्यो दिन केदारभक्त माथेमाका मुख्य अतिथि जापान भ्रमणमा गएका शेरबहादुर देउवा थिए । त्यही प्रसङ्गमा निसिजावाले बीपी र कांग्रेसको प्रसङ्ग निकाले अनि भने, बीपी भविष्यमा उनको दलमा अर्को पुस्ताका कस्ता नेता हुनेहुन् भन्ने कुरामा बढी चिन्तित थिए । तिनले बीपीको एक मानवीय ‘हिरो’को ‘ओडिसी’ देखेको कुराले मलाई धेरै उद्वेलित बनायो । मैले उनलाई बीपीको साहित्यबारे भनेँ । तिनलाई त्यो पक्ष थाहा रहेनछ । त्यसपछि उनले बीपी एक पात्र, भिजनरी भएको कुरा आफूले बढी बुझेको कुरा भने । निसिजावाले नेपारु नो रेक्सी अथवा नेपालको इतिहास भन्ने किताब लेखेका रहेछन् ।


अहिले नागरिकका अधिकारमाथि अनावश्यक चिन्ता राख्ने र बन्देजका कानुन बनाउन लागिपरेको सरकार र राजनीतिक दल कस्तो काल्पनिकीले काम गर्दैछन् भन्ने अनुत्तरित मोडमा पुगेको अवस्थामा हामी बीपीको सान्दर्भिकता बुझ्न सक्छौं । अदालतको बयानमा बीपीले लोकतन्त्रको आत्मा यो हो भनी आफ्नो प्रतिरक्षा गरेको कुरा आज अत्यन्त महत्त्वपूर्ण छ । उनले राजा महेन्द्रले २०१७ साल पुस १ गते ‘कू’ गरेको दिनलाई लिएर भने, ‘तर बडो व्यथित हृदयले उल्लेख गर्नुपर्छ कि त्यसदिन हजारौं निर्दोष नेपाली नागरिकहरू न केवल बन्दी बनाइए, तिनीहरूलाई आतङ्कको वातावरणमा कागज गराइयो । त्यसरी तिनीहरूलाई आत्महीन तुल्याइयो ।


नेपालको इतिहासमा जनताको सम्मानलाई समाप्त पार्ने या नागरिकहरूको तेजोवध गर्ने त्यत्रो ठूलो पैमानामा यस्तो कार्य पहिले कहिल्यै भएको थिएन ।’ (बीपी कोइरालाको अदालतको बयान, २०६९, पृष्ठ ७) । जनतालाई ‘आत्महीन तुल्याइयो’, ‘नागरिकहरूको तेजोवध’ गरियो भन्नेजस्ता अभिव्यक्ति आज अत्यन्त संवेदनशील भएर बुझ्नुपर्ने अवस्था छ । बीपीले कल्पना गरेको लोकतन्त्र नागरिकको शिर ठाडो राख्ने सिद्धान्तसँग गाँसिएको थियो । हामीले पनि ‘बडो व्यथित हृदयले उल्लेख गर्नुपर्छ’, त्यसपछि नेपालको इतिहासमा नागरिकको त्यही तेजोवध, त्यही आत्महीन तुल्याउने कर्म धेरै भए । अहिले लोकतान्त्रिक, गणतान्त्रिक संविधानले दिएका अधिकारको व्याख्या र प्रयोग गर्नेहरूले यो कुरा बुझेनन् भने जनता फेरि अर्को संकटमा पर्ने निश्चित छ । बीपीले आफ्नो अभियानबारे यसो भने :


‘यो देशका जनताले लामो एकतन्त्री जहानियाँ शासनको अत्याचार भोगेको एक शताब्दी नाघेपछि, जनताका दमित विद्रोह, तिनका पीडा र हुकुमी शासनले तिनीहरूमाथि गरेका खेलवाड र उपहासको युग समाप्त गर्ने पुनित भावनाले प्रेरित भएर नै म २००७ सालको क्रान्तिमा लागेको हुँ ।’


अदालतको बयानमा उनले थपे, ‘सात सालको क्रान्तिबाट स्वतन्त्र भएका यो देशका नरनारीहरूलाई फेरि बन्धनमा पार्नेहरूले पनि साल सालको क्रान्तिकै हवाला दिएर झुक्याइरहेका छन् । म त्यो कुरा प्रस्ट पार्न चाहन्छु । अनि मेरो क्रान्तिको अर्थ बुझिनेछ ।’ बीपीले राजनीतिको सबभन्दा महत्त्वपूर्ण विषय जनता र तिनको प्रतिष्ठालाई माने । कार्ल मार्क्सले पनि त्यही भने । मार्क्सले उन्नाइसौं शताब्दीको मध्यतिर लेखेका दार्शनिक र आर्थिक लेखहरूमा एउटा नएक्लिएको श्रमिकको कल्पना गरे, जो एउटा सौन्दर्य चेतनाका नियमको आधारमा एक सामाजिक सिर्जनामा रमाउँछ र उन्नति गर्छ । मार्क्सले साधारण मानिसको शिर उच्च राख्ने र उसको परिश्रमलाई सौन्दर्यमूलक बनाउने कुरा मूलरूपमा लेखिबसे ।


त्यसदिन मेरो प्रस्तुतिको सार थियो, जनताको सम्मान गर्न चुकेको इतिहासलाई सच्याउनु तर भुल नदोहोर्‍याउनु आजका हाम्रा राजनीतिकर्मीको मन्त्र हुनुपर्छ ।

प्रकाशित : पुस २६, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?