२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

खुम्चिँदै छ लोकतन्त्र

किन हुँदैछ, लोकतन्त्र बेहाल ? उदारपन्थी (लिबरल) वाणीहरू किन हुँदैछन्, निम्सरा ? यी प्रश्न विभिन्न कालखण्डमा गरिन्छन्, तर यहाँ चर्चाको विषय तात्कालिकमात्र छैन, संयुक्त राज्य अमेरिका र इरानबीच चर्किंदो द्वन्द्वले ध्यान अर्कातिर तानिएको भए पनि मूल विषय त्यो होइन । अमेरिकाको वर्चस्ववादी सोच र इरानको कट्टरपन्थी इस्लामी सत्ताबीच टकराव कुनै नौलो कुरा होइन ।

खुम्चिँदै छ लोकतन्त्र

सन् १९७९ देखि नै उनीहरूबीच तनाव छ । उनीहरूले मध्यपूर्व भन्ने तर यताबाट हेर्दा पश्चिम एसियामा विभिन्न राजनीतिक खेलाडीको संलग्नता छ । रूस, सोभियत संघ विघटन नहुँदैदेखि त्यहाँको एक उल्लेख्य खेलाडीका रूपमा रहँदै आएको छ । पछिल्लो समय चीनको उपस्थिति पनि सघन हुँदै गएको छ । विभिन्न शक्तिहरूको स्वार्थ खेलिरहेका ठाउँमा अमेरिकाले चाहँदैमा उसको एकल वर्चस्व स्थापित हुने होइन ।


मैले यहाँ उठाउन खोजेको विषय फरक छ, तापनि विषयहरू एकअर्कामा जेलिएकै हुन्छन् । खुला समाज क्रमशः संकुचित हुँदै गएको एवं लोकतन्त्रको आवरणमा फौजी राज्य (सेक्युरिटी स्टेट) को अवधारणा स्थापित भइरहेको छ । अमेरिका–इरान प्रकरण त्यस्तै एउटा अभ्यास हो । आफ्ना जनतामा सन्त्रास सिर्जना गराउने र त्यो सन्त्रासबाट उन्मुक्ति दिलाउने नाममा आफ्नो राजनीतिक अभीष्ट सिद्ध गर्ने प्रवृत्ति सामान्यझैं हुँदै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफूमाथि सम्भावित महाअभियोग पन्छाउँदै अब करिब एघार महिनापछि हुने राष्ट्रपतीय निर्वाचनमा पुनर्विजय चाहन्छन् ।

यस दृष्टिले राजनीति फोहोरीमात्र होइन, अमानवीय हुँदै गएको छ । पुराणमा वर्णित कथाहरूमा राक्षसका हातमा सत्ता पर्न जाँदा पृथ्वीमा त्राहिमाम मच्चिए जस्तै राक्षसी प्रवृत्तिका हातमा राज्यसत्ता पुगेको प्रतीत हुनथालेको छ, केही अपवाद बाहेक सर्वत्र । कुनै एक देशको प्रसंग होइन, विश्वव्यापी रूपमै यस विभीषिकाबाट मुलुकहरू आक्रान्त भइरहेका छन् । सत्ताशक्ति सर्वोपरि र यसको दुरुपयोग नै राज्यसत्ता वाहकहरूको ध्येय बनिरहेको छ । उदारपन्थी विचार संकीर्ण राष्ट्रवादको उन्माद र कम्युनिस्ट कन्फ्युजनको चेपुवामा पर्दै गएको छ । सबैभन्दा खतरनाक कुरा त के भने उदारपन्थी भनेर चिनिएका बौद्धिकहरू आफ्नो पहिचान गुमाइरहेका छन् । यसमा अन्यत्रका जस्तै नेपालका बौद्धिक पनि अपवाद छैनन् ।

उदारपन्थीहरूमध्ये एकथरी उदारपन्थकै आवरणमा ट्रम्प–बोरिस जोन्सन खेमातर्फ तानिएका छन् भने अर्काथरी सी चिनफिङ–भ्लादिमिर पुटिनका नियन्त्रित समाजका विचार बोकेर हिंँड्न थालेका छन् । स्वतन्त्रचेतका मूल्यमा आर्थिक समृद्धि साटिनु हुँदैन भन्ने उदारपन्थी विचारधारा पाखा पारिंदै गएको छ । स्वतन्त्रता र समृद्धि दुवै अनिवार्य छन् । स्वतन्त्रचेतको अभावमा अन्ततोगत्वा लोकतन्त्रमाथि नै क्षति पुग्छ भन्ने होश हराउँदै गएको छ । वास्तविक उदारपन्थको परिधि साँघुरिँंदै गएको छ ।

धेरैजसो त जसलाई बजारमा उदारपन्थी भन्छन्, तिनमा पाँचतारे–कम्युनिस्ट गन्ध बेस्सरी मिसिएको छ, युरोप, भारत हुँदै नेपालसम्मै । पाँचतारे–कम्युनिस्ट अर्थात् बोल्न सबै मार्क्सीय शास्त्र बोल्छन्, तर भ्रष्टाचार आर्जित सम्पत्तिको भारीले थिचिएका छन् र आचरण छ, पूरै मतिभ्रष्ट–पुँजीवादीको । को हुन्, पाँचतारे–कम्युनिस्ट, कस्ता हुन्छन् ? जेजस्ता लोकरिझ्याइँका मुद्दा भेटिन्छन्, राष्ट्रवाद भेटे त्यही, नभए जातीयताका मुद्दा पाए पनि बोक्ने र ती मुद्दामा मार्क्सवादी जलप लगाइदिने, आफ्नो केही खर्च नगर्ने, बिना पूर्वाधार समृद्धिका गफ हाँक्ने, कमिसन खाने र प्राप्त रकममध्ये अधिकांश आफ्नै बैंक ब्यालेन्समा जोड्नेहरू पाँचतारे–कम्युनिस्ट हुन् ।

नेपालतिरका आजका पाँचतारे–कम्युनिस्ट कुनै बेला देशको मुहार फेर्न हिँडेका क्रान्तिकारी–अगुवा थिए । कतिपय कथित पुरानो सत्ताका थुनुवामा परेका थिए र आज पुरानो सत्ता फालेर बनेको नयाँ सत्तामा तिनै क्रान्तिकारीहरूको वर्चस्व स्थापित भएको छ । किनभने हो, तिनीहरू त्यागी छन्, केही गर्छन् भनेर जनताले पत्याए हुन्, थिए । पत्याउनु गलत थिएन । तिनीहरूका अभियानमा उदारपन्थीहरूको साथ, सहयोग र समर्थन थियो । उदारपन्थको साथ र सहयोग लोकप्रियता हासिल गर्न निकै प्रभावकारी हुन्छ । अब गजब त के भने तिनीहरू जब सत्ता अथवा निर्णायक स्थानमा पुगे तिनका उदार र खुला समाज सम्बन्धी वाचाहरू विस्मृतिमा गए । किनभने तिनका वाचा नक्कली थिए । वाचालाई तिनले सत्तामा पुग्ने भर्‍याङका रूपमा प्रयोग गरेका थिए ।

नयाँ सत्तामा तिनीहरू पुरानो सत्ताका नयाँ अवतार र कतिपय त पुरानोभन्दा क्रूर भएर प्रस्तुत हुनथाले, ल्याटिन अमेरिकादेखि दक्षिण एसियासम्मै । नेपालमा त झल्झली नै छ । परिवर्तनको एजेन्डामा उदारपन्थीहरूसँग सहकार्य र सहचार्य गरेर सत्तासिन हुनपुगेका कम्युनिस्ट आफ्ना हातमा राजदण्ड प्राप्त हुनासाथ उदारपन्थकै शत्रु बन्न पुग्छन् (पुग्दा रहेछन्) र नागरिक अधिकार निलम्बन गर्दै निष्कण्टक राज्य गर्ने ध्येय लिन्छन् भन्ने देखिएको छ । दक्षिणपन्थी पनि यसमा अपवाद होइनन् र हुँदैनन् । यिनीहरूलाई पनि सत्ता बाहिर हुँदा उदारपन्थी प्रिय लाग्छन् । उदारपन्थी अघि–अघि यिनीहरू पछि–पछि दगुर्छन् । तर जब सत्ताको भर्‍याङ भेट्छन्, यिनीहरू गोलबद्ध हुन्छन् र उदारपन्थीलाई पाखा फाल्छन् ।

आज नेपालमा जननिर्वाचित तर कम्युनिस्ट सरकार नागरिक अधिकार संकुचित तुल्याउँदै, विगतको निर्दलीयताकै ‘नक्से कदम’, नियन्त्रित समाज निर्माण गर्नतर्फर् लागिपरेको छ । सत्ताधारी त्यसै पनि निर्वाध राज्यभोग गर्न चाहन्छन्, त्यसमाथि कम्युनिस्टको मन नियन्त्रित समाजतर्फ ढल्किनु कुनै आश्चर्य होइन र यस्तो हुनजानु यथार्थमा सत्तामा बस्नेहरूको शिक्षण, प्रशिक्षण नै नियन्त्रित समाजमा विश्वास गर्ने हुनु त हो नै, उदारपन्थ आफैं साँघुरिँदै र अलमलिँदै गएकाले कम्युनिस्ट सत्ता बिना अंकुश शासन गर्न अरु प्रोत्साहित भएको हो । दल विशेषका एजेन्डा बोकेर हिँंडने नागरिक समाज, राजनीतिक दलका भागबन्डामा चल्ने विश्वविद्यालय, दलीय झण्डामुनि सुरक्षित ठान्ने शिक्षक समुदाय एवं कोही कम्युनिस्टतर्फी वाम ढल्केका र कोही भने दक्षिण ढल्को भएका स्वामीभक्त बौद्धिकहरू यो रिसाउला, त्यो रिसाउला भनेर एकजुट हुन सक्दैनन् ।


यताउता कतै नभएका उदारपन्थी लोकतन्त्रप्रेमी मेलोमेसो नपाएर अलमलिइरहेका छन् ।


नअलमलिउन् पनि किन, किनभने आजको उदारपन्थ कहिले कम्युनिस्टका प्रगतिशील वाक्य संरचनामा अलमलिन्छ भने कहिले राष्ट्रवादका चर्का नारामा आफूलाई खोज्न थाल्छ । अर्कातिर सत्तास्वार्थ मिल्दा कम्युनिस्ट र राष्ट्रवादी भनिएका एकाकार भइदिन पुग्छन् । जस्तै– २०७२ सालको भारतीय नाकाबन्दीका बेला कम्युनिस्ट पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मन्त्री दरबार वफादार कमल थापा बनाइएका थिए । त्यस्तो देखेर उदारपन्थीहरू विचरा आफ्नै टाउको समाउन पुगेकै हुन् । फेरि उदारपन्थ होचाहिँ के भन्नेमै धेरै उदारपन्थी भनिनेहरू आफै झुक्किन्छन् । यिनीहरूलाई कम्युनिस्टका प्रगतिशील कार्यसूची मनपर्छ । देश कल्याणका कुरा गर्ने दक्षिणपन्थीलाई पनि यिनीहरू चटक्कै माया मारिहाल्न सक्दैनन् ।

आफ्नो राजनीतिक परिधि विस्तार गर्न कम्युनिस्ट–वाम र भारदारिया–दक्षिणपन्थ दुबैले उदारपन्थीका दौराको फेरो समाउँछन् । उनीहरूलाई चाहिउन्जेल प्रिय पनि हुन्छन् । तर जब राजनीतिक प्रयोजनसिद्ध हुन्छ, उनीहरूको गालीको तारो फेरि उदारपन्थी नै हुन्छन् । एक प्रकारले यी वास्तवमा सधैंका प्रतिपक्षी हुन् । नेपालको संसदमा जस्तै यो प्रतिपक्ष अर्थात् उदारपन्थ नागरिक जीवनमा पनि निम्सरो हुँदै गएको छ ।

नेपालमा कम्युनिस्ट एकालाप चलिरहे जस्तै अन्यत्र पनि धेरैजसो देशमा आआफ्नै संस्करणका एकालाप चलिरहेका छन् । ब्राजिल, टर्की, भारत, बेलायत, अमेरिका, हंगेरीमा कहीं भने नश्लीय, कहीं धार्मिक त कहीं भने कल्पित राष्ट्रवादको एकालाप छ । लोकतन्त्रको माला जप्दै वैयक्तिक स्वतन्त्रताको परिधि खुम्च्याउने दुष्कर्म भइरहेको छ । सुरक्षा खतारा देखाउँदै फौजी–राज्यको अवधारणा अघि सारिँदैछ । कतै बाह्य आक्रमणको खतरा देखाएर त कतै आन्तरिक विग्रहको बहानामा शासनमा बस्नेहरूको सुविधाका लागि मानिसका नैसर्गिक अधिकारहरू खोसिँदैछन् ।

फलस्वरुप, कतै कम्युनिस्ट त कतै दक्षिणपन्थीद्वारा नागरिक स्वतन्त्रता खोसिँदै गएको देखेर उदारपन्थ धेरै ठूलो छटपटीमा छ । राष्ट्रवाद र कम्युनिस्ट कन्फ्युजनको चेपुवामा परेको उदारपन्थ यदि यसै क्रमले साँघुरिँदै गयो भने लोकतन्त्र आफू पनि खुम्चिँदै आलंकारिकमात्र रहन सक्छ । अमेरिका, बेलायत, भारतका लागि उदारपन्थको खुम्च्याइ अल्पकालिक हुनसक्छ । किनभने यी देशमा लोकतान्त्रिक संस्थाहरू आफैमा बलिया छन् । तर नेपालको लोकतन्त्र यसरी नै स्वतन्त्रता अतिक्रमित हुँदै खुम्चिँदै गयो भने लोकतान्त्रिक मान्यतामा आधारित हाम्रो गणतन्त्रसमेत खतरामा पर्न सक्छ । पर्न सक्छ, किनभने चिनियाँ र उत्तर कोरियायी जनवादी गणतन्त्रलाई आदर्श मान्नेहरू सिंहदरबारका कौसी–कौसी पुगिसकेका छन् ।

प्रकाशित : पुस २५, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?