जब ‘प्रचण्ड–प्रेत’ बौरिन्छ

सरिता तिवारी

जादुयी कथाका पात्रजस्ता अद्भुत र सम्मोहनकारी मानिस लाग्थे कुनै बेला ‘प्रचण्ड’ । रक्तिम क्रान्तिको आलम्बबाट खुला राजनीतिको संसदीय सत्ता अभ्यासमा ओर्लंदाको समय ! अनेक रोमाञ्चकारी किस्सा र प्रभावको एकमुस्ट लोमहर्षक व्यक्तित्वका रूपमा उनको नायकी र खलनायकी दुवै यद्यपि अतिरञ्जित लाग्थे, तथापि विलक्षण वाक्पटुता र निर्णयक्षमताले समकालीन राजनीतिमा उनी छिट्टै ग्राह्य मात्रै भएनन्, नेताका रूपमा ‘निर्णायक’ पनि बने । 

समयक्रममा क्रान्तिका आकांक्षा र राजनीतिक दाउपेच दुवैको सन्तुलनका घर्षणबीच उनी विचार र आचरणको भयावह कायाकल्पतिर सोझिए । श्रमजीवी जनतासँग गाँसिएको सामूहिक सपनाको यात्राबाट थालिएको उनको यात्रा क्रमागत रूपले ‘करिअर’ राजनीति धान्ने धन्दामा खुम्चिएको छ ।


अब यी देश, काल र परिस्थिति अनुसारको सुविधाजनक सम्बोधन ‘पीके’ अर्थात् पुष्पकमल दाहालमा अवतरण भैसकेका छन् । यो अवतरणलाई सुरक्षित भन्नेहरू कति होलान्, अफसोस र दुर्घटनाको विम्ब मान्नेहरू कति ? तर उनको ‘प्रचण्ड’ नामसँग गाँसिएको प्राकृतिक चमक र राप निभिसकेको चाहिँ दुनियाँले महसुस गरिसकेको यथार्थ हो ।

000

हेर्दाहेर्दै उनीभित्रको गहिरो खाल्डोमा चुपचाप ‘दफन’ भयो— प्रचण्ड । छविलालबाट पुष्पकमल हुँदै ‘प्रचण्ड’ ले तय गरेको विचारकल्प उल्टो गतिक्रमले ‘पहाडे, पुरुष, शासक बाहुन’ मा रूपान्तरण भैरहेको दृश्य देख्न खासै ठूलो अन्तराल कुर्नुपरेन । यति छिट्टै र सजिलै उनको त्यो सम्मोहनकारी कदको ढलान भत्किन्छ भन्ने अनुमान सायदै गरिएको हुँदो हो ।


‘भूतपूर्व’ प्रचण्डलाई बेलाबेला दोहोर्‍याउन मन लाग्ने एउटा रोचक पदावली छ— इतिहासको ‘डिक्टेसन’ । उनलाई लाग्छ, उनी जे–जे गर्दै छन्, त्यो इतिहासको खटन हो । त्यही सोच अनुसार केही समयका लागि, केही स्वार्थलोलुप मानिसका झुन्डहरूका लागि समय आफ्ना जुत्ताको तुनामा बाँधिएर हिँडिरहेको छ जस्तो भ्रम छर्न सफल पनि भएका छन् । उनको जिब्रोमा लगातार दशकौंसम्म उच्चारणको आदत बनिसकेका केही शब्द छन्, केही ‘जार्गन’ छन् । राजनीतिक विचारको अन्तिम क्रियाकर्मसमेत सकेर ‘मार्सीवाद’ को विशिष्ट नेपाली मौलिक भाष्यमा भास्सिइसके पनि मार्क्सवादको जपना गरिरहनुपर्ने परिस्थितिको साँघुरो चेपबाट कहिलेकाहीं उनीभित्रको मृत प्रचण्ड जुरुक्क उठ्छ । सचेत लोकलाई थाहा छ, त्यो प्रचण्ड होइन, पुष्पकमल दाहालको जीउमार्फत बौरिएको प्रचण्ड–प्रेत हो । यहाँनेर नबिर्सी भन्नुपर्ने केही टिप्पणी भने छन् ।


एक, देशमा राजनीतिक परिवर्तनको एउटा विशिष्ट कालखण्डलाई प्रचण्डले नेतृत्व गरेको विचारले जसरी नयाँ दिशाबोध गराएको थियो, त्यसलाई कदाचित् कम आँक्न सकिन्न । यद्यपि इतिहास निर्माणमा उनको नायकत्व निरपेक्ष व्यक्तिगत नरहेको पनि उत्तिकै सत्य हो, तथापि एउटा खास समयको चेतनालाई तीव्रतर प्रगतिशील रफ्तार र नयाँ फड्को दिने नेतृत्वकर्ता को थियो भन्ने कुराले विशेष अर्थ राख्छ ।


दुई, इतिहासको निर्माण शासक र ठालु वर्गले होइन, उत्पादक शक्ति अर्थात् श्रमजीवी वर्गले गर्छ र जनताको सच्चा इतिहास नउधिनिकन इतिहासको ज्ञान र वर्तमानमा हरेक वर्ग, लिङ्ग, जाति र समुदायको आत्मसम्मान स्थापित हुँदैन भन्ने कुरालाई आमरूपमै बोध गराउने श्रेय पनि प्रचण्डले नेतृत्व गरेको आन्दोलनलाई नै जान्छ ।


यस अर्थमा इतिहासको एउटा ‘डिक्टेसन’ पूरा गर्ने कार्यभारमा प्रचण्ड सफल कर्ता ठहरिएका हुन् भन्न हिचकिचाउनु पर्दैन । इतिहासमा जहाँसम्म उनी सही थिए, त्यो मितिसम्मको जस दिनुपर्छ । तर पछिल्लो समय इतिहासको ‘खटन’ अनुसार भन्दै आफ्नो आजको स्थान र उभ्याइलाई जेजस्ता तर्क र निष्कर्षका आधारमा उनी व्याख्या गर्छन्, जेजस्ता जार्गन दोहोर्‍याएर जगत हँसाउँछन्, त्यो विडम्बनापूर्ण मात्रै छैन, कम्युनिस्ट विचारको मन्डीकरण गर्ने र जार्गनहरू बेचेर राजनीतिक पेसा चलाउने घिनलाग्दो खेलसमेत हुन पुगेको छ ।


कुनै बेला बिनासोचविचार भावुकता र आवेगको शीघ्र अभिव्यक्ति दिने भावुक नेताका रूपमा उनको खुबै टिप्पणी हुन्थ्यो । कतिपय मानिस उनका अभिव्यक्तिलाई मजाकको विषय पनि बनाउँथे । तर त्यति बेलासम्म उनमा विचार र आन्दोलनप्रतिको निष्ठा जिउँदै र गतिशील छ भन्ने प्रतीत हुन छोडेको थिएन । पार्टीका वैचारिक एजेन्डालाई समग्र मुलुकको एजेन्डाका रूपमा स्थापित गर्न उनको नेतृत्वमा अरू शक्तिसँग भएका रस्साकस्सीले पनि त्यही पुष्टि गरेका हुन् । तर कुन अज्ञात भय, हताशा वा लालचले उनलाई हिजो आफैले ढुलमुले र प्रतिक्रियावादी करार गरेको पार्टीमा विलय हुने प्रस्तावको प्रेरणा दियो ? र, उनी घोषित रूपमै त्यही ढुलमुले र प्रतिक्रियावादी कित्ताको सेवक बन्न दगुरे ? यदि बलियो पार्टी बनाउने उद्देश्य नै थियो भने हिजो छोडेर, फुटेर गएका मित्रहरूलाई डाकेर पार्टी निर्माणको प्रयत्न गर्ने धैर्य किन आएन ?

000

तेस्रो जनआन्दोलनको आह्वान गर्दै काठमाडौं घेर्ने योजनामा राजधानी सहरकै मध्यम वर्गले साथ नदिएपछि जब उनी काठमाडौंका ‘सुकिला–मुकिला’ अर्थात् उनकै शब्दमा ‘बुर्जुवा रियाक्सनरी’ माथि खनिए, त्यो सहरी मध्यम वर्गबीच आलोचनाको विषय बन्यो । काठमाडौंवासी कतिपय बुद्धिजीवीले आपसमा आफूलाई ‘ओइ सुकिला–मुकिला’ भन्दै सम्बोधन गर्न थाले । त्यसो त मध्यम वर्ग हरेक राजनीतिक क्रान्ति र संघर्षको निर्णायक मानिन्छ, तर सबभन्दा कृतघ्न र अवसरवादी वर्ग पनि यही हो भनिन्छ । ऐनमौकामा यसले दिने र छोड्ने साथले आन्दोलन र क्रान्तिको भविष्य निर्क्योल गर्छन् । काठमाडौंको मध्यमवर्गीय चेतना भलै प्रचण्डसँग चिढिएको होस्, तर त्यो बेला उनी सही थिए । कारण, त्यतिन्जेल आफूले बोकेको विचार र हिँडेको बाटोप्रतिको जवाफदेहिता र दायित्वबाट उनी पलायन भइसकेका थिएनन् । अर्थात्, त्यति बेलासम्म ‘प्रचण्ड’ को कुनै अंश उनीभित्र जीवितै थियो ।


जर्ज अर्वेलको प्रसिद्ध उपन्यास ‘एनिमल फार्म’ मा स्किवलर भन्ने पात्र छ, जो ठूलो क्रान्तिपछि निर्मित आदर्श कम्युनको हर्ताकर्ता हो । र, यसैकारण ऊ अधीनस्थ पशुहरूलाई बारम्बार भनिरहन्छ, ‘पशु हो, हामीले भने–भनेको मान । हामीले भने–भनेको गर । नत्र पुरानो मालिक जोन्स फर्केर आउँछ ।’ पुष्पकमल दाहाल पनि बेलाबेला नागार्जुनबासी ज्ञानेन्द्र शाह र उनका अनुचरका नाम लिएर स्किवलरकै लयमा भयको खेती गरिरहन्छन् । जबकि आनुवंशिक सत्ता राजनीतिमा हिजोका राजालाई माथ गर्ने परिवारमोहले उनको निजत्वको आयाम कति संकुचित हुँदै छ, त्यसलाई इमानपूर्वक आत्मसात् गर्ने उदारताको लेश मात्र पनि उनमा छ झैं लाग्दैन ।


पुष्पकमल दाहालको जीउमा प्रचण्ड–प्रेत जुरुक्क बौरिँदो हो र आज पनि उनी बेलाबेला आफ्ना आलोचकलाई ‘बुर्जुवा प्रतिक्रियावादी’ को तीर फ्याँकिरहन्छन् । उनको जिब्रो र ‘सब–कन्सस माइन्ड’ लाई हिजो अभ्यस्त जार्गन र कटाक्षको आदत हटिसकेको छैन । त्यो वाणीमा फुत्तफुत्त निस्कन्छ र निस्केर लोकले सुन्ने बेलासम्म आफैतिर सोझिएर कुरीकुरी गरिदिन्छ । पछिल्लोपल्ट उनले भने— मिडिया बुर्जुवाको हातमा छ, सतर्क हुनुपर्छ । यस्तो भन्ने बेलामा उनी बिर्सन्छन् या बुझ पचाउँछन्, सर्पहरूलाई खेद्दाखेद्दै स्वयम् एउटा सर्प बनेको मानिसको किस्साजस्तो आफ्नै सत्य । हिजोको माओवादी केन्द्रको टिठलाग्दो नेकपा–विलोप प्रकरणपछि यो आसेपासे पोषक आर्थिक गुट मात्रै बनेर नवबुर्जुवा वर्गको निर्माण गरिरहेको तथ्य ।


वर्गीय क्रान्तिले उत्पादन गरेका शब्दको उपयोगिता र महत्त्व उत्तर–क्रान्तिकालमा हुँदैन भन्ने होइन, झनै हुन्छ । क्रान्तिपछिको समय प्रतिक्रान्तिको सम्भावित दुर्घटनाबाट जोगिने संवेदनशील काल हो । यो क्रान्तिभन्दा झनै पेचिलो हुन्छ । यति बेला पनि क्रान्ति सतत गति र प्रक्रियामा हुन्छ । त्यो जीवन व्यवहारमा, संस्कृतिमा, आचरणमा लगातार व्यक्त हुन्छ, उत्तिकै इमान र प्रतिबद्धताका साथ । यस्तो चरणमा पनि ‘क्लासिकल कम्युनिस्ट जार्गन’ उत्तिकै सुन्दर र वस्तुसंगत सुनिन्छन्, जति क्रान्तिकालमा सुनिन्थे । तर हिजोको क्रान्तिको मूलकर्ता नै जब विकृत पुँजीवादको पुच्छर समातेर माफिया र दलालतन्त्रको वैतरणी तर्न उद्यत हुन्छ, त्यस बेला यी शब्द अर्थहीन र हाँसोलाग्दा सुनिन्छन् ।


माओवादी केन्द्रलाई एमालेमा गाभेपछि एउटै (छाता) कम्युनिस्ट पार्टीको भाष्य बाँड्न खुब रुचि लिन थालेका उनले भनेको ‘ग्रेटर कज’ श्रमजीवी जनताको भविष्यका लागि हो वा आसेपासे, भ्रष्ट, दलाल पुँजीवादको सुरक्षा र संवर्द्धनका लागि, त्यो घामजत्तिकै छर्लङ्ग छ । मेलम्ची परियोजना होस् या मेडिकल शिक्षा सुधार आन्दोलन, उत्पीडित उखु किसानको आन्दोलन या आफ्नै पार्टीभित्र निर्णायक तहमा महिला नेता स्थापित गर्ने विषय होस् या सभामुख चयनमा देखाइएको वर्तमान उपसभामुखप्रतिको उपेक्षा, पछिल्ला सबै प्रकरणमा उनीभित्रको ‘प्रचण्ड’ मृतवत् भैसकेको देखिन्छ । यतिखेर उनीसँग श्रमजीवी निर्धा–निमुखा, उत्पीडित, उपेक्षितका पक्षमा जुरुक्क ब्युँतिने चमत्कारको कल्पना र आशा कसैले नगरे हुन्छ ।


तैपनि पुष्पकमल दाहालभित्र ‘दफन’ भएको प्रचण्डको प्रेत भने बेलाबेला बौरिन्छ । त्यो प्रेत–बौराइले एकैसाथ निष्पादन गर्ने हास्य, रौद्र र करुण रसले दुनियाँ विरक्त हुँदो छ । प्रकाशित : पुस २२, २०७६ ०८:३५

प्रतिक्रिया
पठाउनुहोस्

हामी पपेट, हामी डमी !

समवेत
सरिता तिवारी

काठमाडौँ — नेपाली राजनीतिमा यतिखेर दुई ‘विद्या’ को चर्चा खुबै खपतमा छ । एउटी विद्या देशको वर्तमान राष्ट्रपति पदमा आरूढ भएर सत्ता–शक्तिको ‘राजसी’ अभ्यास गर्दै छिन् भने, अर्की भर्खरै सम्पन्न उपनिर्वाचनमा भारी मतान्तरले विजयी हुन् । दोस्री विद्याका अभ्यास कस्ता हुनेछन्, प्रतीक्षित नै छ । 

यी दुवैको ‘राजनीतिक जीवन’ अत्यन्तै निजी सन्दर्भमा त सफल मान्न सकिएला, तर यसलाई कदाचित् समग्र उत्पीडित समुदायको जित र उनीहरू स्वयम् आबद्ध महिलामुक्ति आन्दोलनको उपलब्धि स्वीकार गर्ने स्थिति छैन । मूलतः चुनावी राजनीतिको मोहराका रूपमा उपयोग भई सत्तारोहण गरेका यी पात्रलाई आन्दोलनको उपलब्धि मानेर प्रसन्न हुनसक्ने अवस्था पनि छैन ।

अठारौं शताब्दीमा स्वतन्त्र भएको विकसित देश अमेरिकालाई त अझैसम्म महिला राष्ट्रपति पाउन हम्मे परिरहेको छ ! हामीले पाएका छौं भनेर दङ्ग हुनुपर्ने हो; मक्ख पर्नुपर्ने हो; तर इतिहासले दिएको दुर्लभ अवसरमा गौरवान्वित हुने सुख हामीलाई प्राप्त छैन । दासत्वविरुद्धको क्रान्तिकै उत्पादन भनेर त्यो सर्वोच्च पदमा आसीन व्यक्तिको विचार र व्यवहारको सुन्दरतामाथि प्रफुल्ल हुने मौका पनि हामीलाई प्राप्त छैन ।

किनभने सारमा हामी महिला अर्थात् प्लास्टिकका पुतली ! परम्परामा पनि, दैनिक जीवनमा पनि । घरमा पनि, सार्वजनिक स्पेस र संसदमा पनि । अनि त्योभन्दा माथिल्ला स्थानमा पनि । हामी पपेट, हामी डमी ।

यही बन्न स्वीकार गरेकाले हामीसँग दुर्लभ शक्ति छ, तर कृत्रिम ! हामीसँग सत्ता नामको चुम्बक छ, तर त्यसको चालक अर्को कोही छ । भर्खरै हप्ताभर लामो समय लिएर सत्तारूढ पार्टीको स्थायी समिति बैठक बस्यो । यो बैठकको चर्चा यसकारण पनि आवश्यक छ, यसमा पार्टीको महिलाविहीन सचिवालय र अत्यन्तै न्यून उपस्थितिको स्थायी समितिमाथि समेत प्रश्न उठ्यो । स्थायी समितिमा परेका दुर्लभ ‘प्रजाति’ का दुई (महिला) सदस्यले पार्टीका माथिल्ला कमिटीमा कम्तीमा तेत्तीस प्रतिशत महिलाको उपस्थिति नभएकामा आक्रोश मात्रै पोखेनन्, यो विषयलाई छलफलका लागि प्रस्ताव गर्दै ठाडो प्रश्न पनि तेर्स्याए, ‘महिला पदमा पुग्नका लागि तिनका श्रीमान्को निधन हुनुपर्ने हो ?’

मरुभूमिमा पानी भेटिए जस्तो भयो । चट्टानी ढलान फाटेर मूल फुटेजस्तो भयो । हिमरेखाभन्दा माथि फूल फुलेजस्तो भयो । अचम्म भयो । पछिल्ला वर्षहरूमा ‘अप्रश्नेय’ (पुरुष) नेतृत्वका लाचार छाया बनिरहेका महिला नेताका मुखबाट लामो समयदेखिको वाणीको संकट चिर्दै बक् फुट्यो । तर यो बक्–फुटाइमाथि बैठकले ध्यानाकर्षण गर्न जरुरी ठानेन । बैठकलाई कतिपय विषय र प्रसंगमा शीतल निवासको समेत ‘गम्भीर सरोकार र चासो’ निवारण गर्नुपर्ने भयो । प्रभावशाली मन्त्रीहरू र दोस्रो वरीयताका नेताहरूलाई धुम्बाराही र शीतल निवास दौडाहाको भ्याई–नभ्याई पर्‍यो ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग गरिने भनिएको सरकारी सम्झौताबारे बैठक कति संवेदनशील छ भन्ने ‘गम्भीर’ प्रदर्शनी पनि गर्नुपरेकै छ । नेपाल ट्रस्टमार्फत यती समूहलाई दिइएको जग्गाको स्पष्टीकरण पनि पेस गर्नुपरेको छ । वर्षदिनपछि बल्लतल्ल बसेको बैठकले यति धेरै महत्त्वपूर्ण मुद्दाहरूलाई छोडेर ‘महिला नेताका मात्रै’ सरोकारका प्रस्तावमाथि छलफल गर्ने समय कसरी मिलाओस् !

त्यसैले बैठक समापनसम्म आइपुग्दा सचिवालय र स्थायी कमिटीमा महिला नेतृत्व थप्नुपर्ने विषय ‘हिट’ हिन्दी सिनेमाको ‘आइटम सङ’ जस्तो बनिदियो । स्थायी कमिटीको बैठक सकिएपछि सञ्चारकर्मीहरूकै समक्ष नेकपा नेता अष्टलक्ष्मी शाक्यसँग अर्का नेता सुवास नेम्वाङले गरेको परिहास जति रोचक लाग्छ, त्यसको अन्तर्य त्यति नै खेदजनक छ ।

समाचार अनुसार, बैठकपछि अष्टलक्ष्मी शाक्य बाहिर आएर मिडियासमक्ष कुरा राख्दै थिइन्, पछिबाट सुवास नेम्वाङ आइपुगे । शाक्यले नेम्वाङतिर देखाउँदै भनिन्, ‘उहाँसँग सोध्नुहोस् न ! उहाँले के भन्नुहुन्छ ।’ नेम्वाङले जवाफ दिए, ‘म तपाईंहरूको मागमा सहमतै छु । मैले त अध्यक्षलाई भनेको पनि छु ।’ शाक्यले चासोपूर्वक सोधिन्, ‘के भन्नुभयो ?’ नेम्वाङले मुसुक्क हाँस्दै भने, ‘अब एक जना थपेर तीन जना अध्यक्ष बनाऔं । एउटा अध्यक्ष महिलालाई दिऔं !’

यो माग्ने र दिने लुकामारी खेल धेरै पुरानो भैसकेको छ । अब त हाकाहाकी छाती ठोकेर दाबी गर्ने अथवा आइपरे खोसेर पनि लिने बेला आएको छ । संविधान, कानुन र पार्टीका घोषणापत्रमै गरिएका व्यवस्थालाई धज्जी उडाउने नेतृत्वसँग आँखा जुधाएर, आवश्यक परे सार्वजनिक आह्वानसमेत गरेर लड्नुको विकल्प नै छैन ।

पेरिस कम्युन, बोल्सेभिक क्रान्ति, चिनियाँ जनवादी क्रान्तिका गाथा पढेरै मुक्तिको बाटामा हिँडेको दाबा गर्ने पुरुष सहकर्मी आफैले गरेका घोषणा र वैधानिक व्यवस्था मुताबिक हुनुपर्ने नेतृत्व वितरणको प्रश्नमा यति ‘दकियानुस’ र लुच्चा छन् भन्ने थाहा हुँदाहुँदै पनि महिला नेताहरू ती आलङ्कारिक पदलाई लात मारेर बाहिर निस्कने आँट किन गर्दैनन् ? अचम्म लाग्छ । यति गर्नसके पुरुष नेताहरूले व्यापक रूपमा प्रकट हुने सार्वजनिक लज्जाको सामना गर्न सक्लान् कि नसक्लान् ? त्यसको पनि परीक्षण नै हुँदो हो ।

अभ्यासमा देखिएकै पनि त छ, पद या अवसर पाउन कि त सुप्रिम नेतृत्वका छोरी–बुहारी हुनुपर्छ कि प्रेमिका कि कुनै लोकप्रिय नेताकी विधवा ! यस्तो भएको अवस्थामा पार्टीको मूल नेतृत्वदेखि कार्यकर्ता पंक्तिसम्मले घुँडोमुन्टो जोतेरै चुनाव जिताइदिने भए । नभए महिला उम्मेदवार उठाए चुनाव जितिँदैन भन्ने सनातन भ्रमले महिला स्वयम्लाई हीनताको सिकार बनाएर ‘आधा आकाश’ को खिया परिसकेका भाषणको पुरानो टेप रिवाइन्ड गर्दै राजनीति गर्ने सुविधा त छँदै छ ।

आफ्नो स्वतन्त्र विवेकले सोच्ने, शालीन र कठोर स्वभावका मेहनती महिला नेताहरूलाई कुन हदसम्म गिरेर पाखा लगाइन्छ, त्यसको उदाहरण कम्युनिस्ट नामधारी पार्टीभित्रै देख्नुपर्ने अवस्था पक्कै पनि कम सरमलाग्दो छैन । यस्ता विषयलाई सामूहिक आत्मसम्मानको विषय बनाउन र मिलेर पार्टीभित्र आन्तरिक संघर्ष गर्न महिला नेताहरू किन प्रतिबद्ध हुँदैनन् ? एउटी सक्षम महिला नेता पार्टीभित्रै किनारीकृत हुँदा त्यो सबैको सामूहिक लडाइँको मुद्दा किन बन्दैन ?

अधिकांश महिला नेता पुरुष नेता र तिनको हैकमवादी नेतृत्वका मौन छाया बनेका छन् र नै ती आफ्ना पदमा टाँसिइरहन पाएका छन् । आफ्नै अधिकार र सम्मानजनक स्पेसका लागि लड्न नसक्ने प्लास्टिकका पुतलीजस्ता महिला नेताहरू आम महिलाको सुरक्षा र सहभागिताका लागि लडिदिन्छन् भनेर कसले पत्याउँछ ?

पछिल्ला वर्षहरूमा मात्रै होइन, पछिल्लो दशकभरमै राजनीतिकर्मी महिलाहरू तिनका पार्टीभित्र प्रायः निरीह ‘शोपिस’ भैरहेको दृश्य कसैबाट लुकेको छैन । राज्यका विभिन्न तहभित्र महिलाको सहभागिता सुनिश्चित गर्ने बाध्यकारी व्यवस्थाका लागि संसदभित्र संघर्ष गर्ने महिलाहरू आआफ्ना पार्टीभित्रै नेतृत्वकारी भूमिका लिन भने हस्तक्षेपकारी र आक्रामक हुन पटक्कै सकेनन् । त्यति मात्रै होइन, पार्टीको गिर्दो दलीय नैतिकता र साख ढाकछोप गर्ने प्रयासमा कतिपय संवेदनशील मुद्दामा उनीहरूका गैरजिम्मेवार अभिव्यक्तिसमेत आए । यस्तो प्रसंगमा पुराना नेत्रीहरूमा मात्रै होइन, सामाजिक सञ्जालमा निरन्तर अद्यावधिक हुने फ्रेस र नयाँ नेत्रीहरूका अभिव्यक्तिसमेत आशाजनक छैनन् । सत्ताको ‘भूत’ ले उत्पीडित समुदायकै प्रतिनिधित्व गर्ने मानिसलाई पनि कसरी अन्धचेत बनाइदिन्छ भन्ने उदाहरणका लागि महिला नेताहरूका ‘सत्तारक्षक’ अभिव्यक्तितर्फ ध्यान जानु मुनासिब ठहर्छ ।

अतीतमा महिलामाथिका हिंसा, बलात्कार र हत्याका घटनामाथि आगोझैं उग्र भएर खनिने र त्यस्ता घटनाको सार्वजनिक प्रतिरोध गर्ने महिला नेताहरू अहिले आएर दण्डहीनता र सरकारी अकर्मण्यताकै किनाराको साक्षी भएका प्रशस्त उदाहरण छन् । बोल्सेभिक क्रान्ति र समाजवादी आन्दोलनका आदर्शहरू रोजा लग्जेम्बर्ग, क्रुप्सकाया, अलेक्जेन्डर कोलोन्ताई, क्लारा जेट्किन आदिका इतिहास पढेर दीक्षित भएका ‘कमरेड’ हरूको यो ऐतिहासिक मौन महिला मुक्तिको आन्दोलनलाई बेवारिस बनाउनमा मुख्य सहकारी बनिरहेको छ ।

आजका मितिमा पनि पार्टी होओस् या सरकार, आवश्यक ठाउँमा र ऐनमौकामा सही र सत्यका लागि लड्न असमर्थ महिला नेतृत्वले यति कुरा दिमागभित्र घुसाएर राखोस्— पुरुष र महिलाबीच दिने र मागेर लिने असमान सम्बन्ध स्वीकार गरुन्जेल महिलाहरू दासत्वको सिकार भई नै रहनेछन् । पार्टीभित्र होओस् या अन्यत्र जहीँकहीँ, पुरुष मालिक नै रहिरहनेछ । यो असमान सम्बन्धको व्याकरण नभत्काएसम्म जहाँसुकै पुरुष प्रभुत्वको छाया हुने नियति दोहोरिइहन्छ । भनाइ नै छ— जो मुक्त हुन चाहन्छ, मुक्का हान्ने उसैले हो ।

अन्ततः कुरा पपेट बन्ने या मुक्त मानिस बन्ने भन्ने नै हो । लाचार छाया बन्ने कि परम्परा भत्काएर नयाँ उथलपुथल ल्याउने भन्ने हो । कुरा त्यो मुक्का ककसले हान्ने भन्ने हो । मुक्का हान्ने ‘दम’ कोकोसँग छ भन्ने हो ।

यति बेला दिने र लिने परम्परागत सम्बन्धको परिदृश्य सत्तारूढ पार्टीकै तर्फबाट निर्वाचित उपसभामुख शिवमाया तुम्बाहाम्फेका हकमा पनि लागू हुन्छ । सुनिन्छ, सभामुख पद रिक्त भएपछि उपसभामुख पदबाट राजीनामा गर्न र नयाँ सभामुख पदका लागि निर्वाचनको मार्गप्रशस्त गरिदिन उनीसमक्ष अनेक प्रस्तावका ललिपप पुर्‍याइएका छन् । त्यसो गर्न उनले छँदाखाँदाको पद ‘कुर्बान’ गर्नुपर्ने स्थिति पनि नआउला भन्न सकिन्न । तर उनको जायज हठका अगाडि सबै प्रयत्न निष्फल हुने सम्भावना बढ्दो छ । महिला हो, जता फर्कायो, उतै फर्किहाल्छे भन्ने काइते पूर्वानुमानलाई उल्ट्याएर तुम्बाहाम्फेले सभामुखसरह नै अभ्यास गर्न थालेपछि दृश्य अझै रोमाञ्चक हुने देखिन्छ । यसलाई एउटी महिलाले पपेट वा डमी हुन अस्वीकार गरेको आत्मसम्मानको संघर्षसँग जोडेर किन नहेर्ने ?

प्रकाशित : पुस ८, २०७६ ०८:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×