कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

दलीय कार्यकर्ता : राष्ट्रिय लज्जा

अब समाजमा कसैले आफूलाई राजनीतिक कार्यकर्ता भन्छ भने उसलाई प्रश्न गर्नुपर्ने भएको छ- तिमी केका लागि राजनीतिमा छाै ?
विष्णु सापकोटा

विषयको सुरुआत गर्दा नै उदेक लाग्ने स्थिति छ । यसो सोचौं न— अहिले कम्युनिस्ट पार्टीका नाममा ‘दलाल पुँजीवादी’ सत्ता चलाउने एमाले र माओवादी इतिहासमा कत्रो ठूलो आदर्श बोकेर स्थापित भएका राजनीतिक आन्दोलन थिए !

दलीय कार्यकर्ता : राष्ट्रिय लज्जा

नेपाली कांग्रेस पार्टीको जन्म त नेपालमा पहिलो पटक प्रजातन्त्र स्थापना गर्न मात्र होइन, नेपाली समाजलाई नै आधुनिकतातर्फ डोर्‍याउने हदसम्मको उद्देश्यद्वारा निःसृत थियो । र अहिले आएर हेरौं, यी दुवै (वा तीनै, जसरी गने पनि) दलको नेतृत्व के भएको छ, कस्ताको भएको छ र त्यस्तो किन भएको छ ?

तर यस लेखले अहिलेका ‘प्रमुख’, ‘उपप्रमुख’ वा ‘सहायक’ राजनीतिक दलको नेतृत्वबारे चर्चा गर्न खोजेको होइन । तिनका बारे यति धेरै लेखिएको र बोलिएको छ, यस्ता प्रयासबाट उनीहरूको नसुन्ने क्षमता बढ्नेबाहेक अरू केही हुन सके जस्तो लाग्दैन । केही समययता पंक्तिकारको मनमा २०४० को दशकदेखिका तमाम राजनीतिक कार्यकर्ता घुमिरहेका छन् । कांग्रेस, माले, एमाले, माओवादी र पछि आएर ‘मधेसवादी’ पार्टीका आदर्शमा विश्वास गरेर, तिनमा आबद्ध भएकामा गर्व गर्ने लाखौं जागरुक नेपाली राजनीतिक समाजका सदस्यहरू अहिले के सोच्दै बसिरहेका होलान् ? तिनीहरू अझै पनि आफ्नो दलीय आबद्धताप्रति गर्व गरिरहेका छन् कि पश्चात्ताप ? यस लेखको प्रस्तावना चाहिं के छ भने, आजका दिनमा आम रूपमा कुनै पनि नेपालीलाई दलको कार्यकर्ता हुँ भन्दा लाज लाग्ने स्थिति छ । जब देशका लाखौं राजनीतिक सदस्य लज्जाको स्थितिमा हुन्छन् र बाँकी लाखौं तिनै राजनीतिकर्मीलाई सराप्दै बस्छन्, यस स्थितिले हामीलाई अन्ततः कता पुर्‍याउला ? ‘नयाँ नेपाल’ को सपनाले डेलिभरी गर्ने नेपाल यही थियो त ?


सबैले सहजै बुझ्ने विषय के हो भने, राजनीतिक दलको स्थापना नै देशका समस्यालाई समाधान गर्न र जनताका मुद्दालाई सम्बोधन गर्न भएको हुन्छ । तर धेरै वर्षदेखि सुरु भएर अहिले उत्कर्षमा पुगेको यथार्थ के हो भने, हाम्रा लागि दलहरू स्वयं नै समस्याका स्रोत भएका छन् । उदाहरणका लागि, देशमा भ्रष्टाचार बढ्नु समस्या हो, जसलाई सम्बोधन गर्ने अभियान चलाउनु र त्यही अनुसारका विधि तय गर्नु राजनीतिक दलको कर्तव्य हुनुपर्ने हो । तर हाम्रो परिस्थितिमा भ्रष्टाचार कसले बढाएको छ ? उत्तर सहज छ । देशमा सुशासन नभएको मुद्दालाई सम्बोधन गर्न राजनीतिक दल तम्सिनुपर्ने थियो । हाम्रो वास्तविकता के छ भने, सुशासनका प्रमुख दुस्मन नै राजनीतिक दल छन् 

देशका राष्ट्रिय संस्था, विश्वविद्यालय आदि सबै आफ्नो मानक र कर्तव्यबाट हरेक महिना च्युत हुॅदै गइरहेका छन् । हाम्रा राजनीतिक दलहरू यस्ता समस्याको समाधानका लागि अहिले राजनीति गरिरहेका छन् कि यी समस्याका स्रोत तिनै हुन् ? उपर्युक्त तमाम बेथितिको स्रोत को हो, सर्वविदितै छ । नेपाल ट्रस्टसम्बन्धी काण्डदेखि खराब ठेकेदारको अभिभावकत्व आदिसम्मका उदाहरणबाट औसत कार्यकर्तालाई पनि प्रस्ट भएको हुनुपर्छ, उनीहरूको नेतृत्वले कसका लागि र कस्तो राजनीति गरिरहेको छ । यस्तो देख्दादेख्दै तमाम कार्यकर्ता किन तिनै दलमा त्यही नेतृत्व स्विकारेर बसेका छन् त ?


यसको ‘एम्पिरिकल’ जवाफका लागि बृहत् अनुसन्धान नै हुनुपर्ला, तर केही उत्तर सजिलै अनुमान गर्न सकिन्छ । पहिलो र सबैभन्दा महत्त्वपूर्ण जवाफ के होला भने, जसरी तिनका नेताहरू राजनीतिक आन्दोलनमा होमिँदा असल उद्देश्यबाट प्रेरित थिए र पछि शासक भएपछि ‘डिजनरेट’ भए, त्यसरी नै प्रायः कार्यकर्ता आफ्ना आदर्शबाट च्युत भइसकेका छन् । तिनीहरू आफै यसरी नैतिक रूपमा पतन भइसकेका छन्, अब तिनले असल र खराबको भेद छुट्याउनै सक्दैनन् । तिनका नेताको राजनीतिमा लाग्नुको उद्देश्यमा परिवर्तन आएजसरी नै ती पनि बदलिइसके । त्यसैले ती कार्यकर्ता निमुखा र निरीह होइनन् । (यहाँ सजिलोका लागि ‘कार्यकर्ता’ भनिएको हो । यसभित्र पार्टीका विभिन्न तहका सदस्य र स्थानीय संरचनाका पदाधिकारी पनि पर्छन् ।)

कुनै पनि ‘बिग्रेको’ व्यक्ति वा संस्थालाई बिनाकुनै हस्तक्षेप सुधार्न गाह्रो हुन्छ । त्यो हस्तक्षेप बाह्य वा आन्तरिक जे पनि हुन सक्छ । तर नेपालमा कुनै पनि हस्तक्षेपको तत्काल सम्भावना देखिँदैन । कार्यकर्ता आम रूपमा आफै उही ‘सिस्टम’ को अंग भइसके । एउटा बाह्य हस्तक्षेप भनेको चुनाव हो, जसले खराबलाई पाखा लगाउन सक्थ्यो । नेपालमा त्यो पनि हुनेवाला छैन । त्यसैले सबैजसो बेथितिको निकासका लागि मूल चिन्ता यो दुश्चक्रबाट कसरी निस्कने भन्ने नै हो । र, त्यस्ता दलहरू प्रभावशाली हुने वातावरण बनाउने, जो समस्याका स्रोत होइनन् । नत्र भने, तपाईं शिक्षामा सुधार कसरी अपेक्षा गर्नुहुन्छ, जब निजी विद्यालयको विसंगतिले फाइदा दलीय कार्यकर्तालाई गरिरहेको छ ? स्वास्थ्य क्षेत्रको बेथितिको स्रोत पनि सबैसामु छर्लंग छ नै ।

चाहे नेकपा होस् कि कांग्रेस, हरेक पार्टी कमिटीका बैठकका अजेन्डा कहिल्यै देशका, समाजका भएको सुन्नुभएको छ ? ती सबैको मूल ध्याउन्न आफ्नो गुट, आफ्नो पार्टीमा प्रभाव कसरी बढाउने भन्ने नै छ । पार्टीमा प्रभाव किन भने त्यसपछि राज्यको स्रोतमा आफ्नो पहुँच पुग्छ । यस्तो देख्दादेख्दै, आफू पनि त्यसैको अंग बनेर देशभरि छिरलिइरहेका दलीय कार्यकर्ता जति छन्, ती सबैले लज्जाबोध गर्नुपर्ने हो, आफू किन राजनीतिमा लागें भनेर । ती कार्यकर्ता वा पार्टी सदस्यलाई आफू यो भ्रष्ट प्रणालीको अंग भएको छैन भन्ने लाग्छ भने, तिनले अब आफैलाई प्रश्न गरून्— उनीहरू व्यक्तिगत रूपमा अर्थोक केही गर्न सक्ने क्षमता नभएर राजनीतिमा लागेका त होइनन् ? आफ्नो जीविकोपार्जन नै राजनीति भएका कारण त राजनीतिमै टाँसिइरहेका होइनन् ? नेपालको अहिलेको दुर्भाग्य नै यिनै लाखौं राजनीतिक कार्यकर्ता त होइनन्, जसले राजनीतिलाई शुद्धीकरण गर्नमा भन्दा भ्रष्टीकरण गर्नमा बढी योगदान दिएका छन् ?


नेकपा कार्यकर्ताका लागि त संघदेखि स्थानीय तहसम्म सत्ता हातमा छ, स्रोतमाथि पहुँच र पकड छ, जब राजनीति गर्ने उद्देश्य नै आजीविकामा (त्यो पनि अनैतिक ढंगबाट) परिणत हुन्छ, उनीहरूले अर्को चुनावसम्म आफ्नो नेतृत्वमाथि प्रश्न त्यसै पनि कम गर्ने होलान्; तर त्यो प्रतिपक्षी नामको कांग्रेस छ नि, त्यसका सभापति शेरबहादुर देउवाले चौबीस वर्षअघि पहिलो पटक प्रधानमन्त्री हुँदा नै यो जुनीका लागि ‘प्रतिपक्षी’ नेता हुने सबै नैतिक क्षमता गुमाएका हुन् । उनको बाँकी जीवन सत्ताका लागि भन्ने प्रस्ट भएकै वर्षौं भइसक्यो । नेपालको संसदीय राजनीतिको इतिहासमा प्रतिपक्षी दलका लागि राजनीति गर्न र अर्को चुनाव जित्न अहिलेजति अनुकूल परिस्थिति कहिल्यै थिएन ।

काण्डैकाण्डले भरिएका दुई वर्षमा देउवा स्वयंको विगत यसरी मिसिएर आयो, कांग्रेसले आफ्नो प्रतिपक्षी ‘स्पेस’ मा नैतिक दाबी गर्नै पाएन । तैपनि कांग्रेसमा देउवा नै अरूभन्दा बलिया किन देखिन्छन् भन्ने पनि प्रस्ट छ । उक्त दलका प्रायः कार्यकर्ता देउवाले प्रतिनिधित्व गर्ने ‘सिस्टम’ को हिस्सा बनिसके । उनीहरू राजनीतिमा रहनुको कारण नै अब बदलिइसक्यो । जब राजनीतिमा लाग्नुको कारण नै जीविकोपार्जन — त्यो पनि अनैतिक आयस्रोतमार्फत — हुन जान्छ, तब किन नभन्ने यो देशको दुर्भाग्य राजनीतिक दलका कार्यकर्ता हुन् भनेर ?

लेखकीय न्याय गर्न मात्रै भए पनि मधेसवादी दलबारे दुई पंक्ति लेखिहालूँ । सुशासन र आर्थिक मामिलामा उनीहरू कहिल्यै अरूभन्दा गतिला त्यसै पनि थिएनन् । त्यसमाथि, आफ्नो बाँकी रहेको संविधान संशोधनको एक मात्र राजनीतिक मुद्दामा उक्त मुद्दाकै प्रमुख विरोधी केपी ओलीसँग काँध मिलाउन गइसकेपछि उनीहरूले राजनीति किन गरिरहेका रहेछन् भन्ने प्रश्नै रहेन । मधेसका जनतासँग मुद्दा अझै होलान्, तर त्यसको प्रतिनिधित्व अब उपेन्ı यादवदेखि राजेन्ı महतोसम्मले गर्दैनन् । ठीकै भो, संविधान संशोधनलाई मागिखाने भाँडो बनाएर उनीहरूले पालैपालो पुनः सत्तास्वाद लिन पाउने भए । संशोधन सुन्नै नचाहनेलाई पनि खोजे जस्तो भयो— एकदुई मन्त्री पद दिएर त्यो सम्पूर्ण मुद्दा नै ‘डाइल्युट’ गर्न सक्नु अति सजिलो उपाय जो ठहर्‍यो ।


सभ्यताको विकासक्रममा — र आधुनिक राष्ट्र राज्य बनेपछिको केही शताब्दीको अनुभवमा — सधैं प्रमाणित विषय के हो भने, मान्छेको जात बिग्रेपछि आफै सुध्रिँदैन । किनकि उसलाई आफू बिग्रे जस्तै लाग्दैन । आफू बिग्रेको छु भनेर आत्ममूल्याङ्कन गर्न नसक्नु मान्छेको नैसर्गिक चरित्रमै पर्छ । त्यसैले नेतृत्व बिग्रियो भने त्यसलाई कार्यकर्ताले फेर्ने हो । जब कार्यकर्ता र नेताको नैतिक पतनको रफ्तार एउटै हुन्छ, तब उक्त देशको हालत अहिलेको नेपालको जस्तो हुन्छ । व्यक्तिगत कुराकानीमा प्रायः कार्यकर्ताले वर्षौंदेखि भन्दै आएका छन्, ‘के गर्ने, हाम्रा नेताहरू बिग्रे ! हाम्रो कोसिस तिनलाई सुधार्नेतर्फ छ ।’ तर सायद यथार्थ अर्कै छ । कार्यकर्ता पनि नेताजत्तिकै बिग्रिसकेका छन् । तसर्थ अब समाजमा कसैले आफूलाई राजनीतिक कार्यकर्ता भन्छ भने उसलाई प्रश्न गर्नुपर्ने भएको छ— तिमी केका लागि राजनीतिमा छौ ?

प्रकाशित : पुस २१, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?