१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

नेता खोज्ने कि नीति ?

सुजित मैनाली

बौद्ध धर्मग्रन्थ ‘त्रिपिटक’ अन्तर्गतको ‘नायककथा’ ले भन्छ, ‘अनायका विनश्यन्ति, नश्यन्ति बहुनायकाः ।’ यसको सोलोडोलो अर्थ हुन्छ, ‘नेता नभएको ठाउँको विनाश हुन्छ, नेताहरू धेरै भएको ठाउँको पनि विनाश हुन्छ ।’

नेता खोज्ने कि नीति ?

अहिले नेपालमा खास गरी नेतासम्बन्धी सवाललाई लिएर दुई परस्पर विरोधी प्रश्न एकसाथ उठिरहेको सन्दर्भले त्रिपिटकको यही श्लोकको स्मरण गराएको छ । सर्वत्र भनिँदै छ, ‘देशमा नेता भन्नलायक कोही भएनन् ।’ तर आफूलाई लायकको नेता, प्रधानमन्त्रीका न्यायोचित आकांक्षी दाबी गर्नेहरूको शृंखलामा नयाँ टाउकाहरू जोडिएर त्यो अझ लम्बेतान बनिरहेको छ । नेतृत्वको खडेरी परेको छ भन्ने भाष्य र ‘लायक नेता’ हरूको अनन्त शृंखलाले एकसाथ एकअर्कालाई गिज्याइरहेको विचित्रको अवस्था अहिले उपस्थित छ ।


यस्तो चर्चाका बीच आमनागरिकको ठूलो पंक्तिले असल नेतृत्वको चर्को अभाव महसुस गरिरहेको चाहिँ साँचो हो । नागरिक तहमा व्याप्त यस्तो मनोविज्ञानको दोहन गर्न भनेर ‘वैकल्पिक शक्ति’ अथवा ‘सामाजिक अगुवा’ को आवरणमा नेतृत्वका नयाँ आकांक्षी रंगमञ्चमा उदाइरहेका छन् । टेलिभिजन कार्यक्रममार्फत नेता जन्माउने घोषणाप्रति पनि जनताले आशावादी नजर लगाउनुपरेको विचित्रको अवस्था सिर्जना भएको छ । कुशल नेतृत्वको अभावले गर्दा नेपालको उन्नति हुन नसकेको हो भन्ने चर्चा घनीभूत हुँदै गर्दा हामीले एउटा यक्षप्रश्न आफैंसामु तेर्स्याउन नितान्त आवश्यक छ । त्यो हो— अहिले हामीलाई नेता चाहिएको छ कि विधि संस्थागत गर्ने नीति ? यो प्रश्नको समुचित जवाफ खोजेर मात्र नेता खोज्ने ध्याउन्नमा लाग्नु बुद्धिमानी हुन्छ ।


आदर्श नेता

व्यक्तिलाई सर्वोपरि मान्ने समाजमा आदर्श नेताको खोजी हुने गर्छ । हामी त्यस्तै समाजबाट गुज्रिएर अहिलेको अवस्थासम्म आइपुगेका हौं । ‘म नै राज्य हुँ, राज्य नै म हो’ भन्ने फ्रान्सका लुई चौधौंको भनाइले त्यही समयको मर्म झल्काउँछ । त्यति बेला नेता र नीति, राजा र राज्य एकअर्काबाट छुट्टिइसकेका थिएनन् । व्यक्ति प्रभावी हुने त्यस युगमा जिम्मेवारी वहन गर्ने व्यक्ति गुणवान् नभए समग्र देश र समाजको पतन हुन्छ भन्ने मान्यता प्रबल थियो । त्यति बेला लेखिएका राजनीतिसम्बन्धी अधिकांश सन्दर्भमा ‘आदर्श राजा’ को अवधारणा र आवश्यकताबारे प्रकाश पारिनुको औचित्य असल नेतृत्वको खोजी नै थियो । कौटिल्यको ‘अर्थशास्त्र’, प्लेटोको ‘द रिपब्लिक’ अथवा मेकियाभेलीको ‘द प्रिन्स’ त्यस्तै आवश्यकताका उपज हुन् ।


राजाको मनोविज्ञानसँग समाज र समग्र देशको भाग्य गाँसिएकाले राजा त्रुटिरहित, गुणवान् हुनुपर्छ भन्ने भाव त्यति बेला लेखिएका शास्त्रमा यत्रतत्र पाइन्छन् । उदाहरणका लागि मनुस्मृतिको सातौं अध्यायमा उल्लेख गरिएको राजधर्मसम्बन्धी विवरणलाई लिन सकिन्छ । राजा नभएको ठाउँ बस्नलायक हुँदैन, अर्थात् राजाले राज्यलाई बस्नलायक बनाउँछ भन्ने व्यक्तिकेन्द्रित भाव मनस्मृतिलगायत ग्रन्थमा सन्निहित छन् । ‘यस समय राजा नहुनाले सर्वत्र भयले हाहाकार मच्चिन लाग्यो, यसकारण यस जगत्को रक्षा गर्न ईश्वरले राजाको रचना गरे,’ मनुस्मृति (७।३) मा प्रस्टै भनिएको छ । ‘ईश्वरले इन्द्र, वायु, यम, सूर्य, अग्नि, वरुण र कुवेर — यी आठ देवताहरूको सार खिचेर राजाको उत्पत्ति गरेका हुन्,’ नेतृत्व ‘अलौकिक’ क्षमताको हुनुपर्ने आग्रह मनुस्मृति (७।४) ले राखेको छ । राजा विष्णुका अवतार हुन् भन्ने हिन्दु मान्यता र दण्डको सम्यक् वितरण गर्ने राजा इन्द्रियजयी हुनुपर्छ भन्ने कौटिल्य (६।१–२) को भनाइ यस्तै आग्रहका उपज हुन् ।


विशेषतः औद्योगीकरण सुरु हुनुअघि राजनीतिबारे लेखिएका ग्रन्थमा नेतृत्वको महत्तालाई सर्वोपरि मानिएको हामी पाउँछौं । त्यति बेला नेतृत्वलाई बढ्ता महत्त्व किन दिइयो र नेता आदर्शवादी हुनुपर्छ भन्ने मान्यताले प्रश्रय किन पायो भन्नेबारे प्रकाश पार्न त्यति बेलाको समाज विन्यासतर्फ ध्यान दिन आवश्यक छ ।


जति बेला यस्तो आग्रह पालियो, त्यति बेला धर्मको जञ्जालबाट विज्ञान मुक्त भइसकेको थिएन । तर्क र प्रमाणलाई अन्धआस्थाले अधीन गरेको थियो । त्यति बेला विधि अथवा नीतिले नभएर अमुक व्यक्तिले समाजलाई डोर्‍याउने गर्थ्यो । ‘मत्स्य न्याय’ हावी हुने त्यस बाहुबली युगमा व्यक्तिकेन्द्रित चिन्तन प्रभावी हुनु अस्वाभाविक थिएन । त्यस्तो परिवेशमा राज्यको लगाम गलत व्यक्तिको हातमा पुगे देशवासीले दुःख र हैरानीको चाङ बेहोर्नुपर्थ्यो । एउटा व्यक्तिको मनस्थितिसँग हजारौं मानिसको नियति गाँसिएको हुन्थ्यो । त्यसैले राजाको असीमित अधिकार र स्वेच्छाचारितालाई नैतिक पाशमा बाँधेर उसमा सद्गुण आरोपित गर्न राजनीतिसम्बन्धी तत्कालीन चिन्तनले ‘राजधर्म’ र ‘आदर्श राजा’ को राग अलापेको थियो ।


अहिले समय बदलिएको छ । व्यक्तिमाथि नीति र विधि प्रभावी भएको युगमा हामी बाँचिरहेका छौं । यति हुँदाहुँदै पनि हामी विगतको धङधङीबाट मुक्त हुन सकिरहेका छैनौं । आदर्श नेताले हामीलाई डोर्‍याओस् र हामीले भोगिरहेका यावत् समस्या निर्मूल गरोस् भन्ने चाहना राखिरहेका छौं ।


नेताको सीमा

समय फड्केर अगाडि पुगिसक्दा पनि नेता खोज्ने आम मनोवृत्ति कायम रहनुले नेपाली समाज स्वस्थ छैन भन्ने देखाएको छ । बेथिति, अविकास, अन्योल, असुरक्षा र निराशामा डुबेको समाजले मात्रै असल नेतृत्वको चाहना राख्ने गर्छ । नेताको अभाव खड्किनु भनेकै सामाजिक रोगको लक्षण हो । त्यसैले रोगको लक्षणप्रति सम्मोहित हुँदै नेताको खोजीमा भौंतारिनुभन्दा रोग निर्मूल गर्ने दिशा पहिल्याउनु सर्वथा उपयुक्त हुन्छ ।


लोकतन्त्र भनेकै व्यक्तिमाथि विधि, नेतामाथि नीति हावी हुने व्यवस्था हो । विधि र नीतिको सर्वोपरितालाई स्विकार्ने संस्कार नै वस्तुतः लोकतान्त्रिक संस्कार हो । लोकतन्त्रमा राज्य र समाजका अवयवहरूले गर्ने उत्कृष्ट काम भनेकै विधि र नीतिको सुदृढीकरण हो । विधि कमजोर हुँदै गयो भने अमुक व्यक्तिको अधीनता स्विकार्ने मनोवृत्ति प्रभावी हुँदै जान्छ । आदर्श नेताको सपना देख्दै गर्दा हामीले लोकतान्त्रिक विधिको चिहानमाथि मात्रै त्यस्तो नेतृत्व अंकुरित हुन सक्छ भन्ने हेक्का राख्नुपर्छ ।


नेपालकै इतिहासको एउटा प्रसंग झिकौं । राजाको निधनपछि उसको जेठो छोरोले राजगद्दी सम्हाल्नु राजतन्त्रात्मक व्यवस्थाको प्रचलित विधि हो । राजा प्रतापसिंह शाहको मृत्यु हुँदा उनका जेठा छोरा रणबहादुर नाबालक थिए । दिवंगत राजाका जेठा छोरालाई राज्याभिभार ग्रहण गराउने विधि कार्यान्वयन गराउन नाबालक राजाको नाममा नायवी चलाउने आकांक्षीहरू दरबारभित्र बर्खे च्याउसरिी फुत्त–फुत्त उम्रिन थाले । नायवीको सवाल निरूपण गर्ने सर्वस्वीकार्य विधि थिएन । विधि कमजोर भएको ठाउँमा व्यक्ति हावी हुनु अवश्यंभावी थियो । त्यस्तै किचलो र छिनाझप्टीका बीच भीमसेन थापा र जंगबहादुर कुँवरको उदय भएको थियो ।


विधि कमजोर भएको अथवा त्यसले जनआकांक्षा सम्बोधन गर्न नसकेको ठाउँमा कुशल नेताको चाहना प्रखर हुन पुग्छ । त्यस्तै ठाउँमा चामत्कारिक नेतृत्व (केरिज्म्याटिक लिडर) को उदय हुनु संयोग होइन । यस्तै खालको सामाजिक परिवेशले रूसमा लेनिन, जर्मनीमा हिटलर, अमेरिकामा रुजवेल्ट, चीनमा माओ, भारतमा नेहरू र पाकिस्तानमा जिन्नाको उदय गराएको तथ्य स्मरणीय छ ।


लोकतान्क्रिक संस्कारले अमुक व्यत्तिलाई सर्वोपरि अथवा सर्वगुणसम्पन्न मान्दैन । देश र समाजले भोगिरहेका समस्याहरूको ओखती सामूहिक रूपमा खोज्नुपर्छ भन्ने मान्यताको पक्षमा यसले पैरवी गर्छ । यति जान्दाजान्दै पनि हामी ‘चामत्कारिक नेता’ को पर्खाइमा पुर्पुरोमा हात राख्दै बस्यौं भने भोलि गएर यो लोकतन्त्रको विनाशको कारक पनि बन्न सक्छ ।


यस्तै खालको जोखिमबारे बीआर अम्बेडकरले बेलायती उपनिवेशबाट भर्खरै स्वतन्त्र भएको भारतका बासिन्दालाई सचेत गराएका थिए । भारत स्वतन्त्र भएपछि गठन भएको संविधान मस्यौदा समितिको अध्यक्षका हैसियतले भारतीय संसद्समक्ष संविधानको मस्यौदा पेस गर्ने क्रममा उनले आगामी दिनमा भारतीय लोकतन्त्रलाई तीन वटा जोखिमबाट जोगाउनुपर्ने विचार राखेका थिए । तीमध्येको एउटा जोखिम थियो— चामत्कारिक नेतृत्वको चाह । अमुक व्यक्तिलाई संकटमोचक ठहर गरेर उसको अन्धसमर्थन गर्ने, उसका हातमा आफ्ना अधिकार र स्वविवेकलाई निःसर्त अर्पण गर्ने शैली अप्रजातान्त्रिक हो र यसले भारतलाई अधिनायकवादतर्फ डोर्‍याउन सक्छ भनी उनले सतर्क गराएका थिए । नेताको परिधि सीमित हुनुपर्छ, उसलाई स्वच्छन्द छोड्नु हुँदैन, लोकतान्त्रिक विधिले उसलाई नियमन गर्नुपर्छ भन्ने भाव उनको अभिव्यक्तिमा सन्निहित थियो ।


नेतालाई सर्वेसर्वा मान्दा उसको चिन्तनभित्र देश र जनताले खुम्चिनुपर्ने विडम्बनापूर्ण अवस्था उत्पन्न हुन्छ । नेतृत्व गलत भएमा उसलाई सच्याउने विधि बाँकी रहँदैन, जसका कारण नेताको पतनसँगै अमुक आन्दोलन, समाज र राष्ट्रको पनि पतन हुन पुग्छ । यस्ता सम्भावनालाई कम आँक्दै जर्मन दार्शनिक नित्सेले ईश्वरको मृत्युको घोषणा गर्दै गर्दा अबउप्रान्त मानवलाई अलौकिक मानव (सुपरम्यान) ले डोर्‍याउने उद्घोष गरेका थिए । नित्सेको दर्शनकै पदचिह्न पछ्याउँदै हिटलरले आफूलाई नित्सेले संकेत गरेको अलौकिक मानव अर्थात् महामानवका रूपमा प्रस्तुत गरे ।


इन्द्रियजयी बनेर आदर्शवान् देखिने होडमा उनी मांसाहार, मदिरालगायत अम्मलबाट टाढा रहे । यौनबाट निवृत्त हुन अथवा भएको देखाउन बिहे गरेनन् । प्रेमिका इभा ब्राउनलाई राजधानी बर्लिनबाहिरै राखेर उनीसँगको सम्बन्धलाई सार्वजनिक हुन दिएनन् । हिटलरको ‘चामत्कारिक नेतृत्व’ प्रति उनका समर्थक मात्र होइन, उनी स्वयं पनि विश्वस्त थिए । दोस्रो विश्वयुद्धअघि जर्मनीले चेकोस्लोभाकियामाथि हमला गर्नुअघि बेलायतले गर्नसक्ने प्रतिरोधबारे सहयोगीहरूले सतर्क गराउँदा हिटलरले अभिमान देखाएका थिए, ‘युद्ध हतियारले होइन, नेताले जित्ने हो । जर्मनीको (अर्थात् मेरो) जोडा हुने गरी बेलायतसँग अहिले नेता छैन ।’ त्यति बेला बेलायतका प्रधानमन्त्री चेम्बरलिन थिए, जो नीति र नेतृत्वक्षमता दुवैमा हिटलरभन्दा असाध्यै निम्छरा थिए । तर जर्मनीसँग नभएको एउटा कुरा बेलायतसँग थियो । त्यो हो— अनुपयुक्त पात्रलाई उपयुक्त पात्रद्वारा प्रतिस्थापन गराउन सकिने लोकतान्त्रिक विधि । जर्मनीसँग विधिलाई प्रधान मान्ने पद्धति नभएकाले हिटलरसँगै जर्मनीको पनि पतन भयो ।


नीतिमा जोड

असल चरित्र र नियत भएका व्यक्तिलाई नेता मान्ने चाहना राख्नु अस्वाभाविक होइन । तर यस्तो चाहना राख्दै गर्दा यसलाई दोहन गरेर अमुक व्यक्ति हाम्रो ‘शासक’ बन्न आइनलागोस् भन्नेबारे चाहिँ हामीले हेक्का राख्नुपर्छ । लोकतान्त्रिक विधिबाटै त्यस्तो चाहना पूरा गराउनेतर्फ उन्मुख हुनु बढी बुद्धिमानी हुन्छ ।


यसका लागि हामीले असल व्यक्ति मात्र नेतृत्वमा आउन सक्ने र खराब आचरण भएका व्यक्तिलाई नेतृत्वबाट हटाउन सक्ने नीतिलाई विधिको रूप दिन सक्नुपर्छ । फौजदारी कसुर गरेको, लैंगिक हिंसामा प्रवृत्त भएको, भ्रष्टाचार गरेको व्यक्तिलाई चुनावमा उम्मेदवार बन्न अथवा सार्वजनिक पद धारण गर्न अयोग्य ठहर गर्ने विधिलाई संस्थागत गरिनुपर्छ । सुशासनका लागि सामूहिक पहल गरेर हामीले त्यस्तो विधिलाई अझ सबल बनाउँदै लैजानुपर्छ ।


विधिलाई सर्वोपरि मान्दै गर्दा व्यक्तिको महत्त्व ठ्याम्मै हुँदैन भनेको चाहिँ होइन । लोकतन्क्रमा व्यत्तिको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसैले नेतृत्वका आकांक्षीमध्ये सबल पात्रहरू नेतृत्व तहमा उक्लिन सक्ने विधि संस्थागत गर्ने गरी अग्रसरता लिनु अहिलेको टड्कारो आवश्यकता हो । नेताको जन्म कोठेविमर्श अथवा टेलिभिजन कार्यक्रमबाट हुन सक्दैन । आन्दोलनको रापबाट गुज्रिनु नेताका लागि अनिवार्य हुन्छ । राजनीतिक अधिकार संस्थागत भइसकेकाले नेपालमा राजनीतिक आन्दोलनको चरण समाप्त भइसकेको छ, तर योग्य मानिस नेतृत्वमा आउने प्रक्रियाको अन्त्य भइसकेको छैन । कुशासन, भ्रष्टाचार, सामाजिक–सांस्कृतिक विभेद, अविकास, धनी र गरिबबीचको बढ्दो खाडललगायत समस्याले नेपाली समाजमा अझै जरा गाडिरहेका छन् । त्यस्ता समस्याविरुद्ध सामाजिक आन्दोलनलाई घनीभूत बनाउन सकियो भने आन्दोलनको रापबाट खारिएर कुशल नेतृत्व पंक्ति उदाउने सम्भावना प्रबल छ । दलहरूभित्र नेतृत्व चयन गर्ने विधिलाई अझ लोकतान्त्रिक, पारदर्शी र समावेशी तुल्याउँदै गयौं भने यसले पनि असल नेताको अभावलाई शनैःशनैः सम्बोधन गर्दै जानेछ ।

twitter : @sujitmainali

प्रकाशित : पुस २०, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?