कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बालबालिकालाई बुझौं

रश्मिला कासुला

बाल्यकालमा सुखको मात्रै होइन, दुःख र संकटको पनि अनुभूति हुन्छ । माया, ममता, सुरक्षा र 
सद्‌भावको बदला हस्तक्षेप तथा दबाब मात्र पाए बालबालिका दुःखी र असन्तोषी हुन्छन् । यस्तोमा कोही प्रतिकारमा उत्रिन्छन् र चिच्याउँछन् ।

बालबालिकालाई बुझौं

कोही भने घरबाट भाग्ने गर्छन् । कसैलाई चाहिँ चिन्ता र उदासीले छोप्छ । कोही–कोही त असामान्य रूपले रोइरहने, खान मन नगर्ने, तर्सिने, बेहोस हुने र ओछ्यानमा पिसाब गर्ने हुन्छन् । यस्तो व्यवहार महिनौंसम्म देखिइरहे बालबालिका मानसिक रोगी भएको बुझ्नुपर्छ ।


मनोविज्ञान अनुसार, दुई वर्षको उमेरदेखि किशोरावस्थासम्म एन्जाइटी डिसअर्डर, डिप्रेसन, कन्डक्ट डिसअर्डर र एटेन्सन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डर जस्ता मानसिक रोगले आक्रान्त पार्न सक्छन्, जसलाई हाम्रोजस्तो अन्धविश्वासप्रिय समाजमा रुन्चे लागेको, भूतप्रेत या बोक्सी लागेको भन्ने गरिन्छ, अनि त्यस्ता बालबालिकालाई अस्पतालको साटो झारफुकका लागि धामीझाँक्री, वैद्य र माताकहाँ लैजाने गरिन्छ । कुनै–कुनै अभिभावकले त यस्तो समस्यामा परेका बालबलिकालाई गाली र कुटपिट गर्ने पनि गर्छन् । यसबाट तिनलाई झन् बढी मानसिक आघात पर्दै जान्छ ।


मनोवैज्ञानिक सिग्मन्ड फ्रायडका अनुसार, ३–७ वर्ष उमेरका बालकमा ‘बोडिपस’ र बालिकामा ‘इलेक्ट्रा’ नामक ग्रन्थिको विकास हुन्छ । यस्तै ग्रन्थिका कारण छोरा आमाप्रति र छोरी बाबुप्रति बढी नजिक हुने गर्छन् । बुबाआमासँग बस्न पाउँदा पाइने भावनात्मक सामीप्यले छोराछोरीलाई खुसी बनाउने गर्छ । बाबुआमासँग बस्न नपाएका बालबालिकामा कुनै न कुनै मानसिक समस्याको सम्भावना हुनुको कारण यही हो ।


मनोवैज्ञानिक इरिक एच. इरिक्सनका अनुसार, १३–१४ वर्षका बालबालिका आफ्नो पहिचानबारे, जीवनबारे केही चिन्तन–मनन गर्न थाल्छन् । परिवार वा स्कुलमा आफ्नो अस्तित्व रहोस् भनी अलि बढी सचेत रहने, अलि बढी मिहेनत गर्ने हुन्छन् । यो नबुझी बुबाआमाले खालि दबाब दिने गरिरहे उनीहरू मनोवैज्ञानिक संकटमा पर्दै जान्छन्, हीनभावना र आत्मग्लानिका कारण अन्योलमा पर्दै जान्छन् । त्यो उमेरमा संयम कम हुने भएकाले अनि मानसिक विचलन सुरु हुन्छ ।


बालबालिकाको मनोभावना र अभिभावक घरपरिवारमा यथोचित माया–ममता नपाउँदा डिप्रेसनमा गएका बालबालिकाले आत्महत्या गरेका घटना समय–समयमा सार्वजनिक भइरहेका छन् । मानसिक रूपमा विचलित भएकाहरूले जघन्य अपराध पनि गरेका छन् । २०७२ सालमा सिन्धुपाल्चोक जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा दोषी ठहर्‍याई हाल सानोठिमीको बाल सुधार गृहमा रहेका १४ वर्षे किशोरको कथा यस्तै छ । उनको घरमा बुबाआमाबीच कलह भइरहन्थ्यो । अपेक्षित लालनपालन हुन नसकेपछि उनमा मानसिक विचलन बढ्न थाल्यो । यस्तै बेला उनले बुबाको ज्यानै लिए ।


२०७४ सालमा प्युठान जिल्ला अदालतले गौवध तथा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर्‍याएका १३ वर्षे बालक सानै हुँदा आमा बितेकी थिइन् । सौतेनी आमा र बुबाबाट पर्याप्त माया नपाउँदा उनको मनस्थिति विकृत हुँदै गयो । गाउँमा झगडा गर्ने, चोर्ने, आगो लगाउने, कुकुर तथा अन्य जनावरलाई झम्टिने गर्न थाले । एकदिन गोठमा बाँधेको गाईलाई चक्कुले घोपेर मारे । त्यतिबेला गोठमै पुगेकी पाँच वर्षकी सौतेनी बहिनीको पनि ज्यान लिए । सानोठिमीमै राखिएका ती किशोरलाई पाटनको मानसिक अस्पतालमा जँचाउँदा ‘कन्डक्ट डिसअर्डर’ रहेको पत्तो लाग्यो । औषधि–उपचार र मनोवैज्ञानिक काउन्सिलिङ, साइको थेरापीपछि तिनको अवस्था सुध्रिँदै गएको छ । उनलाई अहिले परिवारमै पठाइसकिएको छ । उनी पूर्णतः समस्यामुक्त भने भइसकेका छैनन् । पर्याप्त मात्रामा सकारात्मक वातावरण र संरक्षण नपाए उनको पुनः मानसिक असन्तुलन हुने सम्भावना रहन्छ ।

२०५८ जेठ १९ मा भएको राजदरबार हत्याकाण्डमा युवराज दीपेन्द्र दोषी रहेको स्पष्टजस्तै छ । यद्यपि अधिकांश नेपालीले यसमा विश्वास गर्नसकेका छैनन् । राजा वीरेन्द्रका प्रमुख शाही पार्श्ववर्ती (अंगरक्षक) रहेका सुन्दरप्रताप रानाको किताब ‘दरबारको दुःखान्त’ मा दीपेन्द्रबारे एउटा अध्याय नै छ । ‘हार्न नजान्ने राजकुमार’ शीर्षक त्यो अध्यायमा राजपरिवारमा बालबच्चाको लालन–पालनबारे केही उल्लेख छ । बालापनका स्वाभाविक जिज्ञासा, उत्सुकता, चकचकले दरबारमा ठाउँ नपाउने रहेछन् ।


किताबमा लेखिएको छ— ‘द्वारे नानी सुसारे त खासमा दरबारका कर्मचारी मात्र थिए । उनीहरूले राजपरिवारका स–साना सदस्यहरूलाई रेखदेख त गर्न सक्थे, तर नियन्त्रण र नियमन गर्न सक्दैनथे । आमाले शिशुलाई काखमा राख्नु र परिचारिकाले बोक्नुमा जति अन्तर हुन्छ, त्यत्ति नै अन्तर युवराजलाई महारानीले हुर्काउनु र जमुना द्वारे आमाले हुर्काउनुमा पर्नगएको थियो । प्राकृतिक रूपमै बच्चाले आमाबाट जति ममता र पोषण पाउन सक्छ, अरूबाट त्यसको पूर्ति सम्भव छैन । सानैदेखि ममता नपाएका दीपेन्द्रमा चकचकेपन र जिद्दीपना विकसित हुनगयो । उपद्रवी बालकलाई आमाको स्नेहपूर्ण एक घुर्की वा हल्का लपेटाले जसरी सुधार्ने खुबी राख्छ, त्यस्तो काम अरू कसैको हप्काइ वा फकाइले गर्न सक्दैन ।’


बालापनको बुझाइ

‘म खेलूँ कहाँ ? म उफ्रूँ कहाँ ? म गाऊँ कहाँ ? म बोलूँ कहाँ ? कुरा गर्छु, आमालाई झर्को लाग्छ । खेल्न थाल्छु त बुबालाई झ्वाँक चल्छ । उफ्रन्छु त बस् भन्छन्, गाउँछु त चुपलाग् भन्छन् । अब तपाईं नै भन्नुस्, म कहाँ जाऊँ ? के गरूँ ?’ गिजुभाइ लिखित ‘दिवास्वप्न’मा रहेका यी बालप्रश्नले बाल्यकालको असह्य पीडा र मनोभावनात्मक संकट बुझाउँछन् । बालबच्चा हुर्काउनु जटिल तथा निकै चुनौतीपूर्ण हुन्छ ।


बालबालिकाको मनोभावना बुझेर त्यही अनुरूप व्यवहार गर्न सकियो भने तिनमा सकारात्मक भावनाको विकास हुँदै जान्छ । बालबच्चालाई तिनको विचार र भावना व्यक्त गर्ने अवसर दिनुपर्छ । तिनका पीडा र असन्तोष सुनिदिनुपर्छ, अनि सही र गलत छुट्याइदिनुपर्छ । गलत गरेमा गल्ती महसुस गराउनुपर्छ ।

प्रकाशित : पुस १८, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?