कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कार्यकारी कुर्सी र सामन्ती मानस

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सत्ताधारी पार्टीको मुख्यालय होइन, त्यहीं पार्टी बैठक हुँदा पनि अब अनौठो हुन छाडेको छ । यो हप्ता सत्ताधारी नेकपा डबलको सचिवालय बैठकमा देखिएको भिन्न दृश्य समाचारका लागि राम्रै खुराक बन्यो ।

कार्यकारी कुर्सी र सामन्ती मानस

बालुवाटारको नयाँ भवनमा दुई अध्यक्ष एउटै लहरमा आसन ग्रहण गर्नु स्वाभाविकै हो । बैठकमा अध्यक्षद्वयका लागि एकै आकार, एकै रंग र एकै पंक्तिमा कुर्सीको व्यवस्थापन गरिएको थियो ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र ‘कार्यकारी अध्यक्ष’ का रूपमा प्रचारित भूपू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘सँगै बसेर दुवै अध्यक्ष एकै हो भन्ने सन्देश’ प्रसारित गर्न खोजिएको देखिन्छ । पार्टी एकीकरणको डेढ वर्षपछि समान बसाइले अध्यक्षद्वयको बराबरी हैसियतलाई प्रमाणित नै गरेको मान्दा पनि पद, मर्यादा र हैसियतका लागि विगत र आगतको शक्ति–संघर्षलाई बेवास्ता गर्न सकिँदैन ।

एकै लहरमा एकै आकार र रंगका कुर्सीको बसाइमा हर्ष मनाउँदा पनि ‘कसले बराबरीको हैसियत दियो र कसले लियो’ भन्ने सन्देह बाँकी छ । सैद्धान्तिक रूपमै सही, न्याय र समानतामाथि विश्वास गर्ने भनी प्रचारित कम्युनिस्ट पार्टीमा कोही ‘दिने’ र कोही ‘लिने’ को शक्ति–सम्बन्ध कायम हुनु सही आचरण हुन सक्दैन । आफूलाई ‘कम्युनिस्ट’ दाबी गर्ने पार्टीमा भएको शक्ति–संघर्ष कुर्सी र हैसियतका लागि मात्रै हुनु, तर दाता र प्राप्तकर्ता कायम राख्ने संरचना, सम्बन्ध र संस्कृतिमा फेरबदलका लागि पटक्कै नहुनु विडम्बना हो । आआफ्नो पदको सुरक्षा र पदोन्नतिका लागि भएको संघर्ष पार्टीभित्र र बाहिरको सत्ताका लागि लडिने कुर्सीको लडाइँभन्दा बेसी उन्नत हुने सम्भावना पनि छैन ।


बढी समान’ को शक्ति–सम्बन्ध

अध्यक्षद्वयका कुर्सी लहरमा राख्ने कि नराख्ने, एउटै रंग र आकारको राख्ने कि नराख्ने, सचिवालय सदस्य रहेका नेताहरूको कुर्सीभन्दा कति दूरीमा राख्ने भन्ने कुरा आफैमा गैरराजनीतिक काम होइन, यसमा पनि शक्ति–सम्बन्ध र संघर्ष छर्लंगै देखिन्छ । अध्यक्षद्वयलाई समान हैसियतको देखाउन एउटै लहरमा राख्नुमा जसरी राजनीतिक सन्देश छ, त्यसरी नै पदीय हिसाबले प्रधानमन्त्री, अध्यक्ष–उपाध्यक्ष भइसकेका सचिवालय सदस्यहरूलाई निश्चित दूरी र भिन्न कुर्सीमा राख्नुमा पनि शक्ति–सम्बन्धको संकेत छ । र, एमालेका भूपू उपाध्यक्ष एवं वर्तमान महिला राष्ट्रपति भण्डारीको तस्बिरमुनिको बैठक कोठामा महिला नेताहरूको टिठलाग्दो खडेरीमा पनि पार्टी–सत्तामाथि बाहुन पुरुष प्रभुत्वको झलक देखिन्छ ।

सिद्धान्त, नीति र भाषणमा आफूलाई साम्यवादी, समाजवादी, जनवादी र लोकतन्त्रवादी जे–जे शब्दजालले विभूषित गरे पनि पद, आसन र बसाइका आधारमा मर्यादा र हैसियत तोक्ने काम आफैमा सामन्तवादी राजनीति, संस्कृति र मानसिकताको द्योतक हो । एकले अर्कोलाई ‘कमरेड/कामरेड’ (स्पेनिस भाषामा समकक्षी, साथी–मित्र र सहयोद्धा) भन्दै हात मिलाउने ‘कम्युनिस्ट’ नेताहरूसमेत एकै लहरमा गोलोमा बस्न सकेनन् । उनीहरूका आचरणमा पनि पदमा श्रेणी, आसनमा भिन्नता, बसाइमा दूरी, मर्यादा (प्रेसिडेन्स–प्रोटोकल) मा सोपान–क्रम, हैसियत (स्टाटस) मा श्रेष्ठताप्रति अत्यधिक मायामोह देखिएको छ । उनीहरूको जीवन र राजनीतिमा त्यसकै व्यापक अभ्यास छ भने उनीहरू कसरी, कुन आधारमा कम्युनिस्ट, समाजवादी, जनवादी र लोकतन्त्रवादी हुनसक्छन् ?

हुन त मुजफ्फरपुरमा जन्मिएका प्रजातान्त्रिक समाजवादी साहित्यकार जर्ज अर्वेलको ‘एनिमल फार्म’ का जनावरहरू पनि एकअर्कालाई कमरेड नै सम्बोधन गर्छन्, तर त्यहाँ सात कमान्डर भने ‘सबै समान’ जनावरमध्ये केही ‘बढी समान’ थिए । पार्टी–सत्तालाई पनि बढी समानहरूको अखडा बनाउने क्रममा नौ सदस्यीय सचिवालयभित्र समेत विशेष समान बनाउने, वरिष्ठताको मर्यादाक्रम तोक्ने र विशेष आसन बनाउने काम सामन्तवाददेखि विकसित असमान संरचना, सम्बन्ध र संस्कृतिकै निरन्तरता हुन् ।


सामन्ती संरचना, सम्बन्ध र संस्कृति

सामन्तवादले, त्यससँग जोडिएका हिन्दु धर्मको वर्ण–जात व्यवस्था र पितृसत्ताले मानिसको त के कुरा, देवीदेवतालाई समेत समान मान्दैनन् । तिनले मानिसमा मात्रै होइन, देवीदेवतामा समेत पदमा श्रेणी, आसनमा भिन्नता, बसाइमा दूरी, मर्यादामा सोपान–क्रम, हैसियतमा श्रेष्ठताको रोलक्रम निर्माण गरेका हुन्छन् । ‘इन्डियन फ्युडलिजम’ का लेखक इतिहासकार रामशरण शर्माका अनुसार सीमित प्रभुत्वशाली भूस्वामी वर्ग र पराधीन विशाल कृषक वर्गबीचको बन्धनको शृंखला र असमानताको रोलक्रमको नाम हो— सामन्तवाद ।

भूमि र त्यसको उपजको वितरणमा घोर असमानतालाई व्यवस्थापन गर्ने सामन्ती संरचनाको शीर्ष स्थानमा राजा हुन्छ, जो राज्यसत्ताको प्रतीक हुन्छ । त्यसको पीँधमा खनीखोस्री खाने वर्ग हुन्छ, जसले भूमिको काम गरी आफूभन्दा माथिका चार–पाँच तहका भूपतिलाई पाल्ने–पोस्ने गर्छ । राजा–महाराजाहरूले बक्सिस दिने जागिर (जमिन) र त्यससँग जोडिएको उप–सामन्तीकरणको प्रक्रियाले समाज र राज्यमा नियमित रूपमा श्रेणी–विन्यासलाई जन्म दिइरहेको हुन्छ । त्यसको सबैभन्दा माथि राजा भएजस्तै सबैभन्दा तल राजालाई कर तिर्ने प्रजा, बीचमा युरोप र एसियामा भिन्नाभिन्नै श्रेणी वा तह हुन्छन् ।

यसरी भूमिदानद्वारा उप–सामन्तीकरण, विभिन्न खाले सामन्तको श्रेणीकरण, उनीहरूप्रति किसानहरूको बन्धन र पराधीनता नै राजनीतिक रूपमा सामन्तवादी राजतन्त्रका रूपमा अभिव्यक्त हुन्छ । यसको सांस्कृतिक अभिव्यक्ति भने धर्म, कला, साहित्य, संस्कृति, जातप्रथा र पितृसत्तामार्फत हुन्छ, जसले सामन्तवादी मानसिकता बनाउँछ ।

हामीले सयौं वर्ष पुरानो सामन्तवादी राजतन्त्र त फ्याँक्यौं, तर हामी परिवारदेखि पार्टीसम्म, स्कुलदेखि समाज र राज्यसम्ममा एकसेएक राजाकै रूपमा क्रियाशील छौं । किनभने समाजमा पुँजीवादीकरणका कारण जातभन्दा भिन्न जीविकोपार्जनको क्रममा सामन्तवाद खुकुलिँदै गए पनि हाम्रा पुराना संरचना, सम्बन्ध र संस्कृतिमा साह्रै कमजोर भएको छैन । सामन्तवादले विकास गरेका परिवारदेखि राज्यसम्ममा जुन खालको पद, आसन, बसाइ, मर्यादा, हैसियतको श्रेणीक्रम छ, वर्ण/जात र लिंगको श्रेष्ठता–नीचता छ, त्यसमा आधुनिकतावादी, लोकतन्त्रवादी र पुँजीवादी–साम्यवादीहरू पनि लट्ठिएकै छन् । उदाहरणका लागि, सामन्ती विचार र संस्कृतिका पोषकहरूले सामाजिक भेदभाव दर्साउन भाषा र सम्बोधनलाई कसरी प्रयोग गर्ने गर्छन्, हेर्नलायक छ ।

भारतीय समाजमा कुनै बेला स्त्री र शूद्रहरूको भाषा प्राकृत थियो भने उच्च वर्ण/जात र ठूला पद–प्रतिष्ठाधारी पुरुषको भाषाचाहिँ संस्कृत । पहिले राजा र देवताहरूलाई मध्यम पुरुषमा ‘त्वम्’ ले सम्बोधन गरिन्थ्यो भने मध्यकालीन संस्कृतमा ‘भवान्’ । नेपालमा शासकहरूको भाषाले राष्ट्रभाषा, सरकारी र प्रशासनिक माध्यम र शिक्षाको भाषाको उच्च दर्जा पाउनु र यसमा पनि ‘उच्च’ वर्ग/वर्ण/जातमा ‘खाइस्योस्, लाइस्योस्’ प्रयोग हुनु तथा प्रधानमन्त्री ओलीद्वारा पत्रकारितामा ‘तिमी’ को सट्टा ‘तपाईं’ को सम्बोधनको माग हुनु भाषा र सम्बोधनमा रहेका रोलक्रमकै दृष्टान्त हुन् । त्यसैले राष्ट्रका पतिले आफूलाई आफ्नै पूर्वपार्टीका नेता र वर्तमान सरकारका मन्त्रीहरूकी ‘हजुरआमा’ सरह ठान्नु तथा पार्टीजस्तो स्वैच्छिक राजनीतिक संस्थाका निर्वाचित अध्यक्ष र प्रधानमन्त्रीलाई ‘बा’ (ओली बा) भनी सम्बोधन गर्नुमा कुनै आश्चर्य देखिँदैन ।पार्टी, सरकार, राष्ट्र/राज्यलाई ‘प्याट्रोनाइज’ गर्ने सम्बोधन र सम्बन्ध अरू जे भए पनि लोकतान्त्रिकचाहिँ हुन सक्दैन ।

मूर्ति र मन्दिरमा समाज–विन्यास

रामशरण शर्माका अनुसार, सामाजिक असमानता र भूसम्पत्तिको असमान वितरणमाथि आश्रित श्रेणी–विन्यासको समर्थन धार्मिक कला र वास्तुशिल्पको माध्यमबाट हुन्छ । सबै मानिस शारीरिक आकारमा खासै भिन्न नभए पनि राजा–महाराजादेखि देवी–देवता र तिनका परिचरको प्रतिमामा किन व्यापक भिन्नता छ, समाजशास्त्रीय विश्लेषण जरुरी छ । भारतमा गुप्तकालअघिका मूर्तिकलामा विभिन्न देवी–देवता र मानिसको आकारमा विशेष अन्तर थिएन, तर गुप्तकाल र त्यसपछि भने ठूलो अन्तर आयो ।

परिवारको पुरुष मूली वा मुखिया नै सर्वोपरि हुने र अरूले उसको आज्ञापालन गर्नुपर्ने अधीनस्थ भूमिका हुने पितृसत्तात्मक पारिवारिक, आर्थिक र राजनीतिक संरचना अनुसार मुख्य देवताको आकार ठूलो र उसका परिवारजनको आकार ससानो बनाउने चलन तीव्र भयो । शिव, विष्णु र दुर्गाका अलग–अलग परिवार बनाउने, ती परिवारका देवी–देवता र परिचरका पाँच–छ प्रकारका आकार कुँद्ने क्रमले पिरामिडजस्तो सामन्ती समाज–विन्यासलाई नै बोध गराउँछ । ठूला आकारका देव प्रतिमा कम हुने, साना आकारका प्रतिमा बेसी हुने मूर्तिकलाले सामन्ती समाजमा स्थापित सत्ता–शक्तिको संरचना र सम्बन्धलाई उजागर गर्छ ।

कीर्तिपुरको बाघभैरवको मन्दिरजस्ता हजारौं मठमन्दिरमा देखिने वास्तुकलामा पनि कुनै विशाल संरचना, त्यसका चारै कुनामा ससाना मन्दिर, सेरोफेरोमा अझ साना मन्दिरले सामाजिक असमानता र श्रेणी–विन्यासलाई नै अभिव्यक्त गरिरहेका छन् । आफूलाई महान् आधुनिक र विशिष्ट प्रजातन्त्रवादी भन्न रुचाउने राजा महेन्द्रले बनाउन लगाएको काठमाडौंको शहीद गेटमा प्रजातन्त्रका लागि आहुति दिने चार योद्धाभन्दा माथि राजा त्रिभुवनको सालिक राखेर वास्तुकलामा शाही श्रेष्ठता थोपरिएको छ, जो स्वयम्ले ती योद्धाहरूलाई दिइएको सजायको फैसलामा सही ठोकेका थिए ।

यसको अर्थ धर्म, साहित्य, कलाले बनाएको सामन्ती मानस हाम्रा नसा–नसामा रगतजस्तै बगिरहेको छ, जसले कुर्सी वा पद, आसन, बसाइ, भाषा, लवाइ–खवाइ, मर्यादा, हैसियतको श्रेणीक्रमलाई पूज्य ठान्छ, वर्ण/जात र लिंगको श्रेष्ठता–नीचतालाई लागू गरिरहन्छ । र, पुँजीवादीकरण एवं जीविकोपार्जनका कारण ‘र्‍याडिकल’ भएको जनमानसलाई लोभ्याउन र रिझाऊन न्याय, समता र स्वतन्त्रताको गीतमा ‘आइटम डान्स’ जारी राख्छ ।

ट्वीटर : @rmaharjan72

प्रकाशित : पुस १५, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?