कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नवीन भाष्य निर्माणार्थ

आहुति

नेपालका दलित, महिला, जनजाति, मधेशी र मुस्लिम उत्पीडित समुदायको मुक्तिको राजनीतिक आन्दोलन आज अवरुद्ध छ । उनीहरूका आजसम्मका आन्दोलनहरूले समुदायका निम्ति झिनामसिना सुधारका नीति एवं संरचना प्राप्त गरे पनि आधारभूत मुक्तिको राजमार्ग प्राप्त गर्न सकेका छैनन् ।

नवीन भाष्य निर्माणार्थ

‘नेपालको संविधान, २०७२’ लागू भएपछि उत्पीडितहरूमध्ये मुक्ति खोज्ने दुइटा प्रवृत्ति देखा परेका छन् । एक, यही व्यवस्थाभित्र संविधान संशोधन गर्न चाहने । दुई, यस व्यवस्थाबाट मुक्ति सम्भव नदेखेर व्यवस्था नै परिवर्तन गर्न चाहने । नयाँ संविधान बन्नुभन्दा पहिले उत्पीडितहरूको मुक्तिका निम्ति भाष्य थियो— हामीमाथि अत्याचार हुँदै आयो, न्याय देऊ !


यो भाष्यबाट कति पाउन सम्भव हुन्छ, त्यो त व्यवहारमा देखिएकै छ । त्यसैले अब उत्पीडितहरूले समाजको निर्माण र अग्रगतिका निम्ति विगतदेखि कति योगदान गर्दै आए भन्ने आधारमा न्याय मात्र हैन, बरु अंश दाबीको भाष्यसहित मुक्तिको अभियान सुरु गर्नु जरुरी देखिन्छ । समाज निर्माण र प्रगतिका निम्ति निरन्तर योगदानको दाबीका निम्ति नवीन भाष्यको निर्माण दलित समुदायको सन्दर्भबाट सुरु गर्नु सबैभन्दा सही हुन सक्छ । किनभने दलित हिन्दु समाजमा कुनै विषयमा पनि निर्णायक योगदानकर्ता नठानिएको परम्परागत भाष्यभित्रको समूह हो । नेपालको परम्परागत सत्ताको भाष्य हेर्दा त यस्तो लाग्छ, दलित समुदायको योगदान भनेको फगत बिसे नगर्चीले पृथ्वीनारायण शाहलाई दिएको सल्लाह मात्र हो ! निश्चितै रूपमा दलित सबै हिन्दु शासित समाजमा सबैभन्दा बढी अमानवीय उत्पीडनमा पारिएको समुदाय हो, तर यो एउटा पाटो मात्रै हो । सबैभन्दा बढी अमानवीय उत्पीडनमा तीन हजार वर्षभन्दा बढी समयदेखि पर्दै आएर पनि दलित हिन्दु शासित समाजको अग्रगतिका निम्ति सबैभन्दा बढी योगदान गर्ने मानव जमात हो । दलित यथार्थमा हिन्दु शासित समाजको वास्तविक चालक समुदाय हो । त्यो कसरी हो ?


समाज निर्माण ठूला मानिएका महाराजा, सेनापति वा पण्डितहरूले आफ्नो बर्गतले गरेको जसरी पढाइन्छ । नेपालमा यो भाष्य प्रयोग गर्न छाडिएको छैन । यथार्थमा कुनै पनि समाज व्यवस्थाको निर्माण, सञ्चालन र परिवर्तन गर्न मुख्य उत्प्रेरक भूमिका त्यस समाजको उत्पादक शक्ति औजार र प्रविधिले नै खेलिरहेको हुन्छ । त्यसपछि निर्णायक भूमिकाचाहिँ समाजका श्रमजीवी मानिसहरूले खेलिरहेका हुन्छन् । राजनीतिक परिवर्तनकारी प्रतिनिधि व्यक्तिहरू तबसम्म प्रकट नै हुँदैनन्, जबसम्म तिनको आवश्यकता जन्माउने औजार र प्रविधि अनि त्यसलाई चलाएर उत्पादन गर्ने श्रमजीवी मानिस हुँदैनन् ।


राजनीतिक अर्थशास्त्रले निकालेको निष्कर्ष यही हो । आरनको आविष्कार हुँदैनथ्यो भने सामन्तवादी समाज हुँदैनथ्यो, त्यसले प्रगति गर्न सक्दैनथ्यो । इन्जिनको आविष्कार हुँदैनथ्यो भने सामन्तवाद ढलेर पुँजीवादी समाज हुँदैनथ्यो । त्यसताकाका सबै प्रविधि र औजार प्रयोग गरेर उत्पादन गर्ने श्रमजीवी हुँदैनथे भने सामन्तवादी समाज वा पुँजीवादको प्रगति पनि सम्भव थिएन । त्यसकारण सबै समाजको जन्म र अग्रगतिमा औजार एवं श्रमजीवी मानिसको भूमिका नै केन्द्रीय महत्त्वको विषय हो भन्ने प्रस्ट हुन्छ । त्यसैले इतिहासका निर्माता श्रमजीवी जनता हुन् भनी आम रूपमा स्वीकार गरिएको हो । यस वैज्ञानिक दृष्टिबाट नहेरी हिन्दुशासित समाजमा दलित समुदायको योगदानको ऐतिहासिक सत्यलाई बाहिर ल्याउन सकिँदैन, दलित समुदाय भनेको निरीह, तल परेको, कुनै योगदान नभएको भन्ने परम्परागत सत्ताको भाष्यलाई बदल्नै सकिँदैन ।


सिन्धु घाटी हुँदै गंगा मैदानसम्म आइपुगेर पूर्ण रूपमा विकसित जातव्यवस्थामा आधारित हिन्दु समाजलाई अध्ययन ग‍र्‍यो भने पनि यो यथार्थ छर्लङ्ग हुन्छ । दास युग हुँदै सामन्तवादको पूर्ण विकाससम्म अर्थात् भनौं भारतमा ब्रिटिसहरू इन्जिन लिएर नपस्दासम्म तत्कालीन हिन्दुस्थान र तत्कालीन नेपालको हिन्दु समाजमा मुख्य औजार एवं प्रविधि के थिए र श्रमजीवी को थिए ? आरन, तेल पेल्ने कोल, गोरु गाडा, घोडे रथ, चर्खा, हाते तान, डुंगा, कपडा रंगाउने खाडी, काँचो छाला प्रशोधन प्रविधि आदि । यी सबै औजार र प्रविधिको केन्द्रविन्दुमा थियो आरन, जुनबिना धेरैजसो औजार र हतियारको निर्माण सम्भवै थिएन । र, त्यो आरन अनि सबैसबै औजार प्रयोग गरेर कृषि उत्पादन बढाउने, ललितकलाका विविध रूपको विकास गर्ने, सेवा गर्ने कामको केन्द्रमा शूद्र थियो ।


यसरी दक्षिण एसियाको हिन्दु सभ्यताको मुख्य चालक वर्ण भनेकै शूद्र हो । त्यही शूद्रभित्रबाट अछूत बनाइएको हिस्सा, जो आज दलितका नामले चर्चित छ, यो दलित समुदाय स्वत: त्यस चालक हिस्साको अंग रहँदै आयो भन्ने कुरा बुझ्न कठिन छैन । तीन हजार वर्षभन्दा बढी समयदेखि लगातार श्रमजीवी मात्रै रहँदै आएको संसारकै एक मात्र समुदाय आजको दलित हो, जसले इतिहासमा कसैलाई शोषण गरेन, कसैलाई अत्याचार गरेन । यदि श्रमिक हुनु, काम गरी खानु गर्वको विषय हो भने विगत तीन हजार वर्षमा सबैभन्दा बढी गौरवमय जीवन दलितकै रह्यो । सबैभन्दा बढी मानवतावादी इतिहास वस्तुत: दलितकै रह्यो । जातव्यवस्थामा उच्च जातमा रहेकाले के गरे ? राजा भए, महाराजा भए, सेनापति भए, सामन्त भए । उनीहरूले मोजमस्ती गरे, दमन गरे, अत्याचार गरे, उत्पीडनका नयाँनयाँ नियम बनाए, तर आरन चलाएनन्, हलो जोतेनन्, वस्त्र सिलाएनन्, कपडा बुनेनन्, धागो कातेनन्, काँचो छालालाई पाको बनाएनन्, तेल पेलेनन् । वास्तवमा समाजलाई अग्रगतितिर लैजान उनीहरूले आधारभूत रूपमा श्रम नै गरेनन् । सत्य यही हो । दक्षिण एसियाको इतिहासमा श्रमको गौरव हिन्दु समाजको कथित उच्च जातको भागमा कदापि पर्न सक्दैन । त्यो गौरव मुख्य रूपमा दलितको अंशमा मात्र छ भन्ने सही भाष्यको निर्माण अब जरुरी छ ।


प्रथम वैज्ञानिक र प्राविधिक : दलित

अन्य सामन्तवादी समाजमा जे थिए, नेपालको हिन्दु शासित सामन्तवादी समाजको विकसित औजार र प्रविधि मूलत: तिनै थिए । आरन, हलो, गोरु गाडा, चर्खा एवं हाते तान, छाला प्रशोधनको प्रविधि, कपडा रंगाउने विधि आदि । त्यसको केन्द्रमा थियो आरन र त्यो आरनको निर्माता एवं सञ्चालक दुवै नै पहाडमा छुवाछूतसमेत गरिने शूद्र कामी र तराईमा छुवाछूत नगरिने परम्परागत शूद्रभित्रको लोहार । राणा प्रधानमन्त्री चन्द्र शमशेरक‍ो पालादेखि नेपालका फलाम र तामा खानी बन्द हुने क्रम सुरु हुनुभन्दा पहिले ती खानी सञ्चालन गर्ने मुख्य वैज्ञानिक एवं प्राविधिक दलितभित्रका कामी थिए, जसलाई आफ्रे वा आग्री पदीय नामले पुकारिन्थ्यो, जुन पदीय नाम थरका रूपमा आज पनि तिनका सन्ततिमा कायमै छ । खानीबाट फलाम र तामा निकाल्ने औजार, भाँडाकुँडा र हतियार बनाउनु भनेको त्यति बेलाको विज्ञान र प्रविधिको उच्च रूप थियो अनि त्यो काम फत्ते गर्ने दलितहरू त्यति बेलाको हिन्दु समाजका प्रथम वैज्ञानिक वा प्राविधिक थिए ।


घोडाको काँठीमा बस्न मात्र जान्ने, हलो नजोत्ने र जुत्ता लगाउन मात्र जान्ने शासकहरूका पक्षमा बोल्ने, इतिहास र समाजशास्त्रले बताउन नचाहे पनि गाई, गोरु, भैंसी, बाख्रा, भेंडा आदि जनावरका आलो छालालाई कागती र अमला, लप्सी वा अन्य रूखको बोक्रामा पाइने क्षार प्रयोग गरेर गन्ध नआउने, नकुहिने पाको छाला तयार पारी काँठी, हल्लुँडो, जुत्ता र छालाका सामान तयार पार्ने सार्की वा चमारहरू त्यति बेलाका वैज्ञानिक एवं प्राविधिक होइनन् भने के हुन् त ? कागजका नोटभन्दा पहिलेका सबै टक्सारका प्राविधिक को हुन् ? दलित । आधुनिक नेपालका प्रथम वैज्ञानिक भनिएका गेहेन्द्र शमशेरका प्रयोगशाला एवं ज्यासलका मुख्य प्राविधिक तिनै ऐतिहासिक वैज्ञानिकका खलक कामी र सार्की नै थिए ।


नापीनापी सुर निकाल्ने वा भनेकै ताल निकाल्ने मादल, सारङ्गी, सनई आदि वाद्यवादनका आविष्कारक र निर्माता के तिनै दलित होइनन् ? भाँतीभाँतीका वस्त्रका ढाँचा निकाल्ने ती दलित वस्त्रशास्त्रका प्रथम प्राविधिकबाहेक अरू के हुन् ? जताबाट हेरे पनि, जताबाट नापे पनि हिन्दुशासित सभ्यताको प्रथम वैज्ञानिक एवं प्राविधिक दलित रहेकामा कसैले विमति राख्न सक्दैन ।


प्रथम संगीतकार : दलित

नेपालका सबै सभ्यता र जातिमा ऐतिहासिक कालदेखिका गीत–संगीत छन् नै, तर ती गीत–संगीतका रचनाकार थाहा हुँदैन । ती कालान्तरदेखि चल्दै परिमार्जन हुँदै आएका हुन्छन् । तर नेपालको हिन्दुशासित समाजमा भने गीत, संगीत र नृत्य बनाइरहने समुदाय दलित हो । गन्धर्व त्यति बेलाको समकालीन विषयमै गीत–संगीत निर्माण गर्ने समुदाय हो । त्यस्तै, वादी र दमाई पनि संगीत र नृत्यमा त्यो भूमिका गर्ने समुदाय हुन् । मारुनी, ढाल तरबार नृत्य, पातर जस्ता सयौं संगीत र नृत्यका जननी र संगीत क्षेत्रका प्रथम उस्तादहरू दलित नै हुन् । हिन्दु समाजमा कथित उच्च जातसँग कुनै गीत–संगीत नै थिएन भन्ने ह‍ोइन, तर मुख्य संगीत क्षेत्रको भूमिका दलितले नै पूरा गर्दै आएको भने सत्य हो ।


प्रथम सञ्चारकर्मी : दलित

आज सञ्चार क्षेत्र सेवाभन्दा व्यापार हुँदा दलितहरू त्यस क्षेत्रमा धेरै नै पछि पर्न पुगे, तर नेपाली समाजको प्रथम सञ्चारकर्मी भने दलित समुदाय नै हो । पहाडमा कट्वालका रूपमा समाचार सम्प्रेषण सयौं वर्षदेखि दलितले नै गर्दै आए । मिसन सञ्चारकर्मीका रूपमा भने गन्धर्वहरूले युद्धका, व्यवस्थाका, प्राकृतिक प्रकोपका गीत बनाएर गाउँगाउँ सन्देश बाँड्दै आए । कट्वाल प्रथा त अझै पश्चिम नेपालमा जीवितै छ । तराई क्षेत्रमा ढोल पिटेर बस्तीबस्ती सूचना बाँड्ने काम पनि त्यति बेला पानी अचल बनाइएको समुदायकै जिम्मामा थियो ।


प्रथम सफाइ अभियन्ता : दलित

निश्चित रूपमै सफाइ पेसा दलितभित्रका खास जातमाथि लादिएको हो । शासकहरूले लादेका हुनाले नै सफाइ गर्ने समुदायलाई त्यसले फोहोरी भनी लाञ्छना लगाउँदै आयो, सफाइको काम नै फोहोरी काम भन्ने अवधारणाबाट सिंगै समाजलाई प्रशिक्षित गर्‍यो, जुन बिलकुल गलत थियो । सफाइ फोहोरी काम र सफाइ गर्ने मानिस फोहोरी हो भने फोहोर गर्नुचाहिँ सफा काम हुन सक्छ त ? सहर फोहोर मात्र गर्नेचाहिँ सफा समुदाय अनि त्यो फोहोरलाई सफा गरेर सिंगै बस्तीलाई रोगव्याधि फैलिनबाट रोक्ने र सफा पार्नेचाहिँ झन् उल्टो फोहोरी समुदाय ? कति गलत मान्यता ! च्यामे, पोडे, डोम, हलखोर जात फोहोरी अनि फोहोर मात्र गर्ने तर सफा नगर्नेहरू चाहिँ सफा ?


प्रथम जोताहा : दलित

सामन्तवादी समाजको मुख्य उत्पादनको क्षेत्र कृषि हो भन्ने प्रस्टै छ । तर हिन्दु समाजमा तागाधारीभित्र रहेकाले त हलो जोत्नै हुँदैनथ्यो, खेतीमा काम तल्लो स्तरको श्रम मानिन्थ्यो । त्यसैले कतै हलिया बँधुवा बने, कतै बँधुवा हरुवा बनेर हलो जोत्ने काम दलितकै रहिआएको हो । तराईका मुसहरको त माटो काट्ने जात भनेर समेत परिचय बनेको छ । यस प्रकार सिंगो हिन्दु समाजलाई भरणपोषण गर्न सबैभन्दा बढी पसिना बगाएको प्रथम जोताहा नेपाली हिन्दु शासित समाजको दलित नै हो भन्ने यथार्थ स्वत: प्रस्ट छ । यसबाहेक सिकर्मी, डकर्मी, बेतबाँस, रोगको उपचारलगायत सर्वत्र क्षेत्रमा नेपाली हिन्दु समाजको निर्माण, सञ्चालन र अग्रगतिका निम्ति दलित समुदायले चालक समुदायका रूपमा पु‍र्‍याउँदै आएको योगदान दिनको घामभन्दा पनि उज्यालो छर्ने गरी छर्लङ्ग छ ।


यस प्रकार विगतदेखि समाजको निर्माण र अग्रगतिका निम्ति कुनै योगदान छ भनी गणना नगरिएको दलित समुदायको वास्तविक योगदान यति निर्णायक पाइन्छ भने अरू उत्पीडित समुदायको योगदान पनि महत्त्वपूर्ण नभएको हुँदै होइन, हुनै सक्दैन । तसर्थ, उनीहरूको ऐतिहासिक योगदानलाई अगाडि ल्याएर नयाँ भाष्यको निर्माण अबको उत्पीडितहरूको राजनीतिक अभियानक‍ो एउटा मुख्य कार्यभार बन्नु जरुरी छ ।

प्रकाशित : पुस १३, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?