३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कक्षाकोठामा प्रश्नको भय

होमो सापियन्स (बुद्धिमान मानिस) लाई गुफा युगबाट आजको परिस्कृत आधुनिक युगमा ल्याउने मुख्य तत्त्व भनेकै उसको प्रश्न गर्न सक्ने गुण हो । यदि उसले प्रश्न गर्न सक्दैनथ्यो भने आज पनि हामी उही गुफे शैलीको जीवनयापन गरिरहेका हुने थियौं । होमो सापियन्सको यही प्रश्न गर्न सक्ने कौशलले नै आज हामी यहाँसम्म आइपुगेका हौं । संसारमा जति पनि आविष्कार भएका छन्, ती आविष्कारका जननी प्रश्नहरू नै हुन् । 

कक्षाकोठामा प्रश्नको भय

कुनै विषयको सूचना र तथ्यले त्यो विषयवस्तु बोध गर्न मद्दत गर्छ । तर नयाँ ज्ञान निर्माण गर्न र नयाँ चिजको आविष्कार गर्न प्रश्न नै चाहिन्छ । बिना प्रश्न र खोज नयाँ कुराको आविष्कार र ज्ञान निर्माण सम्भव छैन । सूचना र तथ्यहरूले त सहयोगी भूमिकामात्र निभाउने हुन् । जेम्स वाटले केतलीको बिर्कोलाई वाफले किन धकेल्यो होला भनी प्रश्न नगरेको भए सायद उनले वाष्प इन्जिनको आविष्कार गर्न सक्ने थिएनन् । रुखबाट स्याउ किन खस्यो भनी सर आइज्याक न्युटनले प्रश्न नसोधेको भए उनले गुरुत्वाकर्षण सम्बन्धी विज्ञानको सिद्धान्त पत्ता लगाउने थिएनन् । चरा कसरी उड्न सक्यो भनी ओट्टो लिलियन्थलले प्रश्न नगरेको भए आज आकाशमा मानिस वायुयानमा कसरी उड्न सक्थे ? प्रश्नले मानिसलाई विषयवस्तु गहिराइमा बुझ्न र उत्तर खोज्न प्रेरित गर्छ । प्रश्नको उत्तर खोज्दा नयाँ–नयाँ आविष्कार र ज्ञान निर्माण हुँदै जान्छ ।


एउटा शिक्षक कक्षाकोठामा प्रवेश गर्छन्, विद्यार्थीलाई नयाँ विषयवस्तु र आवश्यक सीप पस्कन्छन् । त्यसपछि सदाझैं एउटा प्रश्न सोध्छन्, ‘तिमीहरूको केही प्रश्न छन् ?’ प्राय: शिक्षकले पाउने उत्तर एउटै हुन्छ– कक्षाकोठामा मौनता वा सन्नाटा । शिक्षकलाई पनि थाहा छ, यतिका विषयवस्तु र सीप सिकाउँदा सबैले उही स्तरमा सिक्न सक्दैनन् । विद्यार्थीहरूलाई पनि थाहा छ, उनीहरूले विषयवस्तु बुझेका छैनन् । मनमा प्रशस्त प्रश्न भए पनि मुखबाट ती प्रश्न किन बाहिर आउँदैनन् ? नबुझेका, नजानेका र द्विविधा भएका विषयहरू हुँदा हुँदै पनि किन विद्यार्थीहरू प्रश्न सोध्न सङ्कोच मान्छन् ? किन प्रश्न सोध्न डराउँछन् ? प्रश्नदेखि विद्यार्थीमा किन यत्रो भय र त्रास ? मनमा द्विविधा, सन्देह, शङ्का, कौतुहल, जिज्ञासा र थप जान्ने इच्छा हुँदा पनि हाम्रा विद्यार्थी त्यसलाई व्यक्त गर्न सक्दैनन् । मैले सोध्दा अरुले के भन्लान् भन्ने डर विद्यार्थीमा रहेको पाइन्छ । अरुले त सोधेका छैनन्, मैले मात्र किन सोध्नु भन्ने सोचले जरा गाडेको पाइन्छ । हामीले विद्यार्थीलाई प्रश्न सोध्न सक्ने सीप सिकाउन नस्कनुमा हाम्रो शिक्षा प्रणाली र सोचमा कहीं न कहीं समस्या छ ।


हामीले विद्यार्थीलाई सूचना र तथ्यहरूले सुसज्जित बनायौं, तर प्रश्न सोध्न सक्ने बनाएनौं । सूचना र तथ्यहरूले कुनै विषयमा जानकार मात्र बनाउँछ । सोचको विकास गराउँदैन । हामीले विद्यार्थीलाई एक्काइसौं शताव्दीको वैश्विक नागरिक बन्न सूचना र तथ्यहरूले मात्र सुसज्जित बनाउने होइन । उनीहरूमा ज्ञान निर्माण गर्न, सिर्जनात्मकता र रचनात्मकता विकास गराउन प्रश्न सोध्न सक्ने बनाउने हो । मानिसमा सोचको विकास गराउन प्रश्न चाहिन्छ । हाम्रा कक्षाकोठामा प्रश्न र खोज हराइरहेका छन् । प्रश्न र खोजको कक्षाकोठामा बलियो उपस्थिति नभएसम्म ज्ञान निर्माण, सिर्जनात्मकता र रचनात्मकता विद्यार्थीमा विकास गराउन सकिँदैन ।


कक्षाकोठामा प्रश्न सोध्न डर उत्पन्न गराउने तीन मुख्य कारण भनेका विद्यार्थीको आफ्नै लाज, सहपाठी साथी र शिक्षक हुन् । हाम्रा अधिकांश विद्यार्थीहरूमा सामाजिक सीप र सञ्चार कौशल कमी देखिन्छ । यही कारणले विद्यार्थीहरूले अरुको आगाडि बोल्न र प्रश्न सोध्न धक मान्छन्, लाज मान्छन् । अरुले केही भन्छ कि भन्ने लाज, आफूले बोल्दा बिग्रन्छ कि भन्ने लाज, सोधेको प्रश्न र भनेको कुरा विषयभन्दा बाहिर जान्छ कि भन्ने डर र लाजले विद्यार्थीले प्रश्न गर्न सकिरहेका छैनन् । कुनै विद्यार्थीले प्रश्न सोध्यो भन्नुको मतलब उसले पढाइएका विषयवस्तु बोध गर्न सकेन, विद्यालय शिक्षाको आम बुझाइ यही हो । कोही पनि मानिस अरुको आगाडि नजान्ने, नबुझ्ने बन्न चाहँदैन ।


कक्षाकोठामा प्रश्न सोधेर बेवकुफ बन्न कोही तयार हुँदैन । सहपाठी साथीहरूको गलत सोचको कारणले कक्षामा प्रश्न सोध्दा कसैले केही भन्छ कि ? भन्ने डर विद्यार्थीमा जहिल्यै रहन्छ । कक्षाकोठामा खोज र प्रश्नलाई सम्मान गरिएन र प्रोत्साहन दिइएन भने विद्यार्थी प्रश्न सोध्न डराउँछन् ।


शिक्षकले विद्यार्थीको पूर्वज्ञान जाँच्न, पूर्वअनुभव पत्ता लगाउन, विषयवस्तुको बुझाइको स्तर पत्ता लगाउन अनि आफ्नो शिक्षण सुधार्न कक्षाकोठामा प्रश्न सोध्छन् । विद्यार्थीमा के भ्रम छ भने शिक्षकले उनीहरूको मूल्याङ्कन गर्नमात्र प्रश्न सोध्छन् । विद्यार्थीहरूको बुझाइ के छ भने शिक्षकले सोधेका सबै प्रश्नहरू उनीहरूका लागि मात्र हो । शिक्षकहरूले यो कुरा विद्यार्थीहरूलाई बुझाउन सकेका छैनन्, भ्रम चिर्न सकेका छैनन् । यो भ्रम हटाउने प्रयास गरेको पनि देखिँदैन । विद्यार्थीले ‘मलाई थाहा छैन, मलाई आउँदैन, म जान्दिनँ ।’ भन्ने कुरा व्यक्त गर्ने वातावरण सिर्जना गर्नुपर्छ । यस्तो सिकाइ वातावरणले ज्ञान निर्माणमा अवरोध हैन, बाटो खोल्छ भन्ने सोचको विकास गर्नैपर्छ । विद्यार्थीमा यस्तो बुद्धि नआएसम्म ऊ प्रश्न सोध्न र सोधेका प्रश्नको जवाफ दिन जहिल्यै पर सर्छ ।


प्रश्न र विद्यार्थीको सम्बन्ध ज्ञान निर्माण र सीप सिकाइमा एकअर्काका सहयोगी हुन् । तर व्यवहारमा विद्यार्थी र प्रश्नको सम्बन्ध शत्रुतापूर्ण देखिन्छ । प्रश्न र विद्यार्थी सिकाइका विरोधी तत्त्व होइनन् । हाम्रा विद्यार्थीले प्रश्नलाई सिकाइ र ज्ञान निर्माणको तगारोको रूपमा लिएका छन्, जुन सोच हटाउन जरुरी छ । विद्यार्थी र प्रश्नको सम्बन्ध विद्यार्थीलाई मूल्याङ्कन गर्ने कुरासँग सम्बन्धित गरिनु हुँदैन । यसलाई उसको सिकाइसँग जोड्नुपर्छ । प्रश्नको उद्देश्य मूल्याङ्कन गर्ने कुरासँग मात्र सम्बन्धित गरियो भने यसले विद्यार्थीको मनमा डर पैदा गर्छ ।


शिक्षकले कक्षाकोठामा अज्ञानता, भ्रम, सन्देह, द्विविधाको प्रदर्शनलाई सकारात्मक तरिकाले स्वीकार गरी त्यसलाई सहजै ग्रहण गर्ने संस्कार बसाल्नुपर्छ । विद्यार्थीले नजानेको, नबुझेको, भ्रम रहेको, सन्देह भएको विषयवस्तु कक्षाकोठामा प्रश्नको माध्यमले व्यक्त गर्ने वातावरण निर्माण गर्नुपर्छ । उसले आफ्ना जिज्ञासा, कौतुहलता र थप जान्ने इच्छा बिना हिच्कचाहट गर्वसाथ कक्षामा व्यक्त गर्न सक्ने परिवेश सिर्जना गर्नुपर्छ । कक्षाकोठामा विद्यार्थीले सोधेको प्रश्न हाँसो र मूल्याङ्कनको पात्र भयो भने त्यो सिकाइको लागि प्रत्युत्पादक हुन्छ ।


शिक्षकले विद्यार्थीको पूर्वज्ञान र समझ पत्ता लगाउन, सिकाउने विषय र उनीहरूको समझ बीचको अन्तर पत्ता लगाउन, पढाएको विषयवस्तुको बोध जाँच्न, विषयवस्तु कति गहिराइमा बुझे पत्ता लगाउन प्रश्न सोध्छन् । शिक्षकले आफ्नो शिक्षणको कमजोरी पत्ता लगाउन प्रश्न नसोधी विद्यार्थीको कमजोरीमात्र जान्न प्रश्न गरे भने त्यसले विद्यार्थीलाई प्रश्न गर्न निरुत्साहित गर्छ । शिक्षकले आफ्नो शिक्षण सुधार्न प्रश्न सोध्नैपर्छ । तर त्यसको नकारात्मक प्रभाव सिकारुमा पर्नदिनु हुँदैन । शिक्षकले प्रश्न विद्यार्थीको कमजोरी जाँच्ने उद्देश्यले सोधिदिँदा प्रश्नप्रति विद्यार्थीमा त्रास बढेर जान्छ । विद्यार्थीले प्रश्न गर्ने भनेको आफ्नो विषयवस्तुप्रतिको सन्देह, भ्रम, द्विविधा हटाउन हो । आफ्ना जिज्ञासा र कौतुहल मेटाउन हो । ज्ञान निर्माण गर्न हो । समस्या समाधान गर्न हो । विषयवस्तुमा अझ बढी जानकारी हासिल गर्न हो । जति शिक्षकले प्रश्न गर्छन्, त्योभन्दा बढी प्रश्न विद्यार्थीले गर्नुपर्ने हो । जसले ज्ञानको खोजी गर्नुपर्ने हो, उनीहरूले प्रश्न नै सोध्दैनन् । जसले ज्ञान निर्माण गर्नुपर्ने हो, उसलाई प्रश्न सोध्ने वातावरण नै छैन । हाम्रो कक्षाकोठाको मूल समस्या भनेको यही हो ।


हाम्रा पाठ्य–पुस्तकमा अत्यधिक मात्रामा न्यून संज्ञानात्मक प्रश्नहरू पाइन्छ । न्यून संज्ञानात्मक प्रश्नहरूको उत्तर जति जनालाई सोधे पनि एउटै हुन्छ । यस्ता प्रश्नहरूको उत्तर सही या गलतमात्र हुन्छन् । न्यून संज्ञानात्मक प्रश्नहरू विद्यार्थीले कति सम्झनसके भनी जाँच्न प्रयोग गरिने हुनाले ती प्रश्नहरूले विद्यार्थीलाई घोक्न र कण्ठ गर्न बाध्य पार्छ । यस्ता प्रश्नहरूले विद्यार्थीलाई ज्ञान निर्माण गर्न, सिर्जनात्मकता, रचनात्मकता र नवीनताका लागि डोर्‍याउँदैनन् । विद्यार्थीलाई खालि सूचना र तथ्यमा आधारित न्यून संज्ञानात्मक प्रश्नसँग मात्र खेल्दा विद्यार्थीमा आफूले दिएको उत्तर गलत हुन्छ कि भन्ने डर हुन्छ । उसको ध्यान कसरी सही उत्तर दिने भन्नेमा मात्र केन्द्रित हुन्छ । उत्तर गलत होला कि भनेर ऊ कक्षाकोठामा मौन बस्छ । यही मौनताले उसमा भय र आशङ्का उत्पन्न गराई प्रश्न गर्न नसक्ने वातावरण सिर्जना गर्छ ।


शिक्षकले उच्च संज्ञानात्मक प्रश्न सोध्दा विद्यार्थीले ती प्रश्नहरूलाई सहजै स्वीकार गर्छन् । किनभने यस्ता प्रश्नहरूको उत्तर सही र गलत भन्ने हुँदैन । यस्ता प्रश्नहरूले विद्यार्थीको रचनात्मक चिन्तन र महत्त्वपूर्ण सोचको विकास गर्छ । प्रश्नले विद्यार्थीलाई ज्ञानको खोजीमा डोर्‍याउनुपर्ने हो । उच्च संज्ञानात्मक प्रश्नले विद्यार्थीलाई सूचना र तथ्य घोक्न कण्ठ गर्न प्रोत्साहन गर्दैन । यसले त विषयवस्तु बुझ्न सहयोग गर्छ । जस्तै दसैं कुन महिनामा मनाइन्छ भन्ने प्रश्नले सूचना र तथ्य सम्झन लगाउँछ, तर त्यही प्रश्नलाई उच्च संज्ञानात्मक बनाएर दसैं किन असोज कात्तिकमा मनाइन्छ ? भनेर सोधियो भने त्यसले विद्यार्थीलाई सोच्न बाध्य पार्छ । जसको कारणले उसले प्रश्नको उत्तर पत्ता लगाउन खोज्नुपर्‍यो, पढ्नुपर्‍यो । समाज र विभिन्न व्यक्ति र संस्थासँग अन्तरक्रिया गर्नुपर्‍यो । अनि मात्र उसले यो प्रश्नको जवाफ दिन सक्छ ।


हाम्रा विद्यार्थीहरू व्याकरण र गणितका सूत्रहरू कण्ठ भन्न सक्छन्, तर शुद्धसँग लेख्न सक्दैनन् । गणितका सूत्रहरू प्रयोग गरेर समस्या समाधान गर्न सक्दैनन् । हाम्रा विद्यार्थीहरू रासायनिक मलखादको प्रयोगले हुने हानि–नोक्सानी लेख्न सक्छन्, बताउन सक्छन्, तर रासायनिक मलखाद चिन्न सक्दैनन् । हाम्रा विद्यार्थीहरू विशिष्ट तापधारण शक्तिको बारेमा बताउन सक्छन्, तर पानीभन्दा तेल किन छिटो तात्छ भन्न सक्दैनन् । हामीले विद्यार्थीलाई सूचना र तथ्यहरू रटायौं, ज्ञान निर्माण गर्न सिकाएनौं । सिकेका कुराहरू दैनिक जीवनमा प्रयोग ल्याउन सिकाएनौं । सिकाइलाई दैनिक जीवनसँग जोडेनौं, विद्यार्थीमा प्रश्नको चेत हाल्न सकेनौं ।


शिक्षक पाठ्य–पुस्तक र परीक्षाले प्रश्न सोध्दा आधारभूत सूचना प्रश्न (के ? कहाँ ? कहिले ? को ? आदि) र खोज प्रश्न (किन ? कसरी ? आदि) दुबै सोध्नुपर्छ । पहिलो प्रश्नले सूचना, तथ्य, आदिको माग गर्छ भने दोस्रो प्रश्नले विषयवस्तुको थप समझ, पूर्वानुमानको प्रयास, विसङ्गतिहरूको पहिचान, समस्या समाधान आदिको माग गर्छ । दोस्रो प्रश्नको उत्तर दिन विद्यार्थीले विभिन्न स्रोतहरूको अध्ययन गर्नुपर्छ । यसले विद्यार्थीको सिकाइलाई थप फराकिलो र मजबुत बनाउँछ । पहिलो प्रश्नले पढ्ने भनेको किताबमात्र हो भन्ने सन्देश दिन्छ भने दोस्रो प्रश्नले पढाइलाई कक्षाकोठा र पाठ्य–पुस्तकबाट बाहिर निकाल्छ र ज्ञान निर्माण र सीप सिकाइलाई वास्तविक जीवन र जगतसँग जोड्छ । खोज प्रश्नले विद्यार्थीमा रचनात्मक चिन्तन र महत्त्वपूर्ण सोचको विकाससमेत गराउँछ ।


विद्यार्थीमा प्रश्न गर्ने क्षमताको विकास गर्नमा शिक्षकको शिक्षण विधिले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । विद्यार्थीमा प्रश्न गर्ने क्षमता विकासका लागि शिक्षकले अनुसन्धान, अवधारणा बुझाइ र समझमा आधारित शिक्षण विधिको प्रयोग गर्नुपर्छ । अनुसन्धान वा सोधपुछमा आधारित शिक्षण विधिले विद्यार्थीलाई अनुसन्धान कौशल सिकाउँछ भने अवधारणा बुझाइ र समझमा आधारित शिक्षण विधिले सोच–सीपको अभ्यास गर्न मद्दत गर्छ ।


अनुसन्धान सीप र सोच कौशलले विद्यार्थीलाई प्रश्न सोध्न सक्षम बनाउँछ । विद्यार्थीले कुनै अवधारणा बोध गरेपछि त्यही अवधारणाको सेरोफेरोमा बसेर आफ्ना जिज्ञासा, कौतुहलता र थप जान्न मनलागेका विषयवस्तुमा प्रश्न गर्न सक्छन् । विद्यार्थीले विषयवस्तु बुझ्दै जाँदा उसको समझ पनि बढ्दै जान्छ र सिकेका र बुझेका विषयवस्तुमा प्रश्न गर्न थाल्छन् । त्यसैले, कक्षाकोठामा प्रश्नको भय हटाउन सकिएन भने एक्काइसौं शताब्दीको वैश्विक नागरिकको लागि आवश्यक सीप सिकाउन सकिँदैन । यसका लागि सम्बन्धित निकाय, विद्यालय प्रशासन, शिक्षक र विद्यार्थी सबैको सोचमा परिवर्तन ल्याउन जरुरी छ ।

प्रकाशित : पुस ५, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?