कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जवाफ देऊ, जिम्मेवार बन  

सम्पादकीय

किन कुनै तथ्य बारम्बार दोहोर्‍याइन्छ ? या त जसलाई सुनाउन खोजिएको हो उसले नसुन्दा । नभए सुनेर पनि सुनेको नसुन्यै गर्दा । सडक दुर्घटनाको सवाल एउटा यस्तै विडम्बना भएको छ, जसलाई हामी बारम्बार दोहोर्‍याइरहेका त छौं तर त्यसको सुनुवाइ विल्कुलै भइरहेको छैन । 

मुलुकमा प्रतिदिन ३७ सवारी दुर्घटना भइरहेका छन् । ती दुर्घटनामा दिनहुँ ७ जनाले ज्यान गुमाइरहेका छन् । ४० जना घाइते हुने गरेका छन् । दुर्घटनाको यो भयावह तथ्य सञ्चारमाध्यम रटेको रट्यै छन् । दुर्घटना न्यूनीकरणका लागि चौतर्फी आवाज उठेको उठ्यै छ । तैपनि राज्यसंयन्त्र र तिनका जिम्मेवार पदाधिकारी पूरै बेखबरसरह छन् ।


मंसिरमा मात्रै मुलुकमा १ हजार ५ सय १६ सवारी दुर्घटना भए । त्यसमा २ सय ३० जनाले ज्यान गुमाए । १ हजार ४ सय २६ जना घाइते भए । मंसिर २९ गते बिहानै दोलखाको कालिञ्चोकबाट काठमाडौं आइरहेको बा ४ ख ४४६८ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ स्थित ६ किलोमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भयो । १८ घाइते भए । सिन्धुपाल्चोकमै १ महिनाअघि यस्तै ठूलो दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो । यति छिट्टै किन यति ठूला दुर्घटना भए ? अब यस्तो हुन नदिन के सजगता अपनाइने छ ? यातायात व्यवस्था विभाग, यातायात व्यवसायी वा ट्राफिक प्रहरी कसैले पनि यी प्रश्नको जवाफ दिनु आवश्यक ठानेका छैनन् ।


उसो त सबैजसो दुर्घटनाका कारण र परिणाम जगजाहेरै छन् । हाम्रोजस्तो उकालो, ओरालो र अझ कच्ची सडकमा थोत्रा गाडी चलाउनु र त्यसैमा पनि ओभरलोड गर्नु भनेको दुर्घटना हुनु होइन, निम्त्याइनु हो । मुलुकका सबै सडक एकैपल्ट स्तरोन्नति गर्न सकिन्न । तर बिनाइन्जिनियरिङ बनेका ग्रामीण सडकमै ज्यादा दुर्घटना भइरहेको देख्दादेख्दै डोजर चालकका भरमा मात्र सडक खन्ने क्रम रोक्न किन सकिन्न ?


दुर्घटनामा परेका अधिकांश गाडी वर्षौं पुराना र मर्मत नगरिएका छन् । यान्त्रिक जाँच नगरी सवारी साधन चलाउनाले दुर्घटना बढिरहेछ । जापानमा सार्वजनिक सवारी साधनको ६/६ महिनामा र निजी सवारी साधनको वर्षमा १ पटक अनिवार्य यान्त्रिक जाँच गराउनुपर्ने व्यवस्था छ । हामीकहाँ पनि हरेक वर्ष प्रमाणपत्र नवीकरण गर्दा गाडीको मर्मतसम्भार अनिवार्य गराउन किन सकिन्न ?


३० सिटको बसमा ६० भन्दा बढी मानिस र अटाइनअटाई सामान राखेकै कारण कति गाडी गुल्टेका छन् । ६/७ वटा ट्राफिक पोस्ट पार गर्दा पनि यस्ता ओभरलोडका बसहरू किन ट्राफिक प्रहरीका नजरमा पर्दैनन् ?


हाम्रो ट्राफिक नियमन साह्रै कमजोर छ । चालक अनुमतिपत्र जारी गर्ने परिपाटी उत्तिकै नाजुक । ठूला गाडी चलाउने चालकले पनि तालिम केन्द्रबाट अनुमतिपत्र ल्याउन पर्दैन । साना सवारी साधनका कम उमेरका सहचालकले चालकलाई खुसी पारेर २ वर्ष चलाएको भन्दै ठूलाको लाइसेन्स लिने गरेका छन् । बिनातालिम चालकको निगाहमा लाइसेन्स बाँड्ने परिपाटी दुर्घटनाको अर्को प्रमुख कारण हो । यस्तो स्थिति अन्त्य गर्न यातायात व्यवस्था विभाग किन सक्दैन ?


दुर्घटना बढ्नुमा सडकको अवस्था, मौसम, चालकको उमेर, मनस्थितिजस्ता कारणहरू जिम्मेवार हुन्छन् । चालकले मादक पदार्थ सेवन गरेको वा मोबाइलमा कुरा गर्दै चलाइरहेको अवस्थामा दुर्घटनाको जोखिम उच्च रहन्छ । चालक तनावमा या अति खुसी हुँदा पनि दुर्घटनाको जोखिम हुन्छ । यस्तो बेला सवारी साधन चलाउनु हुँदैन भनेर बारम्बार सचेत गराइरहनुपर्छ । दुर्घटनामा चालकको उमेरको पनि भूमिका रहेको तथ्यहरूले देखाएका छन् । अकलिलो उमेरका चालकलाई ठूला सवारी साधन चलाउन नदिएर पनि दुर्घटनामा कमी ल्याउन सकिन्छ ।


सवारी साधनले कति क्षमतासम्म बोक्न सक्छ भन्नेमा हाम्रा चालक सचेत छैनन् । उनीहरूलाई आफूले चलाइरहेको सवारी साधनको क्षमता (पे–लोड क्यापासिटी), च्यासिस, इन्जिन आदिबारे पर्याप्त ज्ञान नहुनु पनि दुर्घटनाका थप कारण हुन् । यसमा पनि उनीहरूलाई सचेत गराउनुपर्छ । सार्वजनिक सवारी साधनका चालकलाई जुत्ता अनिवार्य गर्नुपर्छ । चप्पल लगाएर गाडी चलाउँदा चिप्लिएर वा अल्झिएर दुर्घटना हुने जोखिम रहन्छ । गाडीको विन्डस्क्रिन चालकले अगाडि राम्ररी देख्नका लागि हो, सजावटका सामग्री टाँस्न होइन । अगाडिका दृश्य नै छेक्ने गरी विन्डस्क्रिनमा टाँसिएका स्टिकरहरू हटाउनुपर्छ । चर्को स्वरमा गीत बजाउँदै गाडी हुँइक्याउँदा चालकले अर्को गाडीको हर्न सुन्न सक्दैन । यसले पनि दुर्घटना गराउँछ । रियर भ्यु मिरर दुवैपट्टि राख्नुपर्छ, जसले ब्लाइन्ड स्पटको न्यूनीकरण गर्छ । तीव्र गति र चालक–चालकबीचको प्रतिस्पर्धा तत्काल नियन्त्रण गरिनुपर्छ । आइतबारको दुर्घटना चालककै जबजस्तीले गर्दा भएको छ ।


धेरै दुर्घटना ग्रामीण सडकमा भइरहेकाले त्यस्ता सडकहरूमा यात्रुवाहक सवारी साधन चलाउने अनुमति दिन कडाइ गर्नुपर्छ । नियमनका लागि भरपर्दो स्थानीय समिति बनाउन सकिन्छ । हजारपल्ट दोहोर्‍याए पनि निष्कर्ष उही हो– सडक दुर्घटना कम गर्न सवारी साधन र चालक दुवैको नियमित नियमन अपरिहार्य छ । दुर्घटनाका कारण पत्ता लगाई तत्कालीन र दीर्घकालीन सडक सुरक्षा नीति लागू नगर्ने हो भने हाम्रा सडक यसरी नै ‘मृत्युमार्ग’ सरह बनी नै रहनेछन् । सवारी साधनले हामीलाई सुरक्षित गन्तव्यमा पुर्‍याउनुको बदला बर्बादीतर्फ धकेलिरहनेछन् । यस्तो दु:खद स्थिति दोहोरिन नदिन यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीसहितका जिम्मेवार सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरून् । जिम्मेवारी निर्वाह गर्न कुनै व्यवधान छ भने त्यो पनि खुलस्त गरून् ।

प्रकाशित : मंसिर ३०, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?