नेपालमा वर्ग निर्माणको कथा

आहुति

पोखरा — माछापुच्छ्रे हिमालले मात्रै पोखरा बनेजस्तो लाग्दैन । फेवातालभन्दा गहिरो लाहुर जानुपर्ने नेपालीहरुको कथाले पनि पोखरा बनायो । त्यो लाहुर जाने प्रथा नेपालको पुरानो जात व्यवस्था, जातीय उत्पीडनले बनाएको हो ।

ZenTravel

लेखक तथा राजनीतिज्ञ आहुति लामो समयदेखि नेपाली समाजको अध्ययन र विश्लेषणमा लागिरहेका छन्। खासगरी नेपाली समाजमा वर्गको निर्माणमा वर्ण व्यवस्थाको कस्तो भूमिका छ भन्नेमा उनको दखल छ। उनले लेखेको टेलिफिल्म 'दलन' एक समय निकै चर्चित भएको थियो। पोखरामा चलिरहेको नेपाल साहित्य महोत्सवको तेस्रो दिन आइतबार उनले यस विषयमा दिएकाे प्रस्तुति :

भारतीय लेखक यशपालले लेखेको 'दुःख' शीर्षकको एउटा कथा छ। सम्पन्न व्यापारी बिहान काममा निस्कनुअघि श्रीमतीले भन्छिन्, ‘म भरेमाइत जानु छ। मलाई हिराको हार ल्याइदिनुस्।

Meroghar


व्यापारीको निम्ति त्यो कुनै ठूलो कुरा थिएन। उनले हुन्छभने। तर दिनभरि काम गर्ने सन्दर्भमा साँझ आउँदा उनले हिराको हार ल्याउन बिर्सिए। श्रीमतीले खोइ भनेर सोध्दा उनले बिर्सिएँभन्ने जवाफ दिए।

रात परिसक्यो। सबै पसलहरू बन्द भइसकेका थिए। अहिलेजस्तो मोबाइलको समय थिएन त्यतिबेला। उनले भोलि ल्याउँलाभने। उनको श्रीमतीलाई यति धेरै पीर पर्‍यो कि उनलाई लाग्यो संसारको सबैभन्दा दुःखी मान्छे मै हुँ। चित्त दुखाएर उनले श्रीमानसँग भनिन्, 'म कति दुःखी मान्छे एउटा हिराको हार पनि लगाएर माइत जान पाइनँ।' त्यसपछि उनी आँसु खसालेर माइततिर गइन्।

उनको श्रीमानलाई पनि असाध्यै पीर पर्‍यो। उदास भएर उनी डुल्न बाहिरतिर निस्के। राति १० पनि बजेको थिएन। सुकुम्बासी बस्ती नजिकैमा बच्चाहरू भुटेका बदाम बेच्न बसिरहेका थिए। उनलाई अचम्म लाग्यो, ‘यति राति बदाम कसले किन्छ ?’

उसले बच्चालाई कति रुपैयाँ हो भनेर सोध्यो। बच्चाले भन्यो, ‘३ रुपैयाँ।उसले सयको नोट दिएर भन्यो, ‘म यो सबै किनिदिन्छु। तिमी घर जाऊ।

बच्चाले भन्यो, ‘हैन, मैले यो भोलि पनि बेच्नु छ। म पैसा साटेर ल्याउँछु।

सुकुम्बासी बस्तीभरि १ सयको नोट साट्न बच्चा घर घर गयो। ऊ पनि बच्चाको पछि पछि गयो। कुनै घरले साट्न सकेनन्। त्यो साट्ने क्षमता कुनै घरसँग थिएन।

अनि ऊ बच्चातिर नगई हिँड्यो। उसले बाटोमा सोच्यो, ‘मेरी श्रीमती हार लगाउन नपाइ माइत गइ। ऊ कति दुःखी छे। यो बस्तीमा १ सय साट्न सक्ने कोही छैनन्। यो बस्ती कति दुःखी छ।

त्यो कथामा उनको निश्कर्ष थियो, वर्गीय समाजमा दुःख र सुख वर्गका छन्।

हामी विभिन्न वर्गका छौं। हाम्रा दुःखहरू फरक छन्। नेपाली समाजमा सबै कुरा वर्गले निर्धारण गरेका छन्। आफ्नो भाषामा जीवन चलाउन पाउने र आफ्नो भाषामा जीवन चलाउन नपाउनेहरू बीचको समस्या हो यो। सम्मानपूर्वक पुरुष जसरी बाँच्न पाउनु र जहिले पनि पुरुषभन्दा पछाडि बसेर यात्रा गरिराख्न बाध्य हुनु, त्यो पनि वर्गको अर्को रुप रहेछ। आजको मान्छेको दुःख सुख कहाँबाट निर्माण हुन सुरु भयो ? कहाँबाट सुरु भयो त्यहाँ पुग्नुपर्ने रहेछ।

जंगबहादुरको विसं १९१० को मुलुकी ऐन प्रत्येक मानिसहरूका निम्ति उसको जातका आधारमा उसलाई सजाय तोकिएको छ। जात व्यवस्था नै वर्ग निर्माणको निर्णायक तत्व हो। अहिले पनि वर्ग निर्माणमा भूमिका खेल्ने जात हो।

इतिहासमै फर्किने हो भने त्यो बेलामा मुख्य कुरा जमिन थियो। जमिन जातको आधारमा बाँडियो। विर्ता जातको आधारमा पाउने भइयो। नेपालमा दलितहरूले विर्ता कहिल्यै पाएनन्। किनकि उनीहरूलाई दिनै मिल्दैन थियो। नेवार, गुरुङ, मगर, लिम्बु राई र सुनुवार बाहेकका सबैलाई मासिन्य मतवालीमा राखिएको थियो। जसलाई जमिन दिन मिल्दैन थियो। नमासिन्या मतवालीहरूले जमिन पहिल्यैदेखि राखे र केहीले अपवादको रुपमा पाए। सबै जमिनमा काम गर्ने रैति थिए। राज्यले नै स्पष्ट किटान गरेर यो यो जातका मान्छे गरिब र यो यो जातका मान्छेचाहिँ धनी हुन पाउने भनेर किटान गरिएको समाज थियो। त्यसैले निर्णायक कुरा जमिन थियो र जमिनमा कुन जातको हक हुने भनेर व्यवस्थाले नै वर्गको सिर्जना गर्‍यो।

त्यसपछि वर्ग निर्माणमा जातीय उत्पीडनले भूमिका खेल्यो। आज धेरैजसो अपराध गर्नेहरूको नाम अखबारमा खोज्यो भने धेरैजसो अपराध गर्ने आरोपीहरू तामाङ हुन्छन्। केही वर्षदेखि एउटा नाम दलित पनि थपिन थालेको छ। अपराधको कोणबाट हेर्‍यो भने पनि सर्लक्कै देखिने रैछ समाज कहाँ छ। मैले बलात्कारका धेरै घटना आइसकेपछि विगत १० वर्षको तथ्यांक हेरेको थिएँ। कुन कुन जातिका महिला बलात्कारमा पर्दा रैछन् त। नेपालमा १३ प्रतिशत दलितहरूको संख्या छ। बलात्कृत हुने दलित महिलाहरूको संख्या १६ प्रतिशत छ। ३६ प्रतिशत जनजाति महिलाको जनसंख्या छ। तीमध्ये ३२ प्रतिशत महिलाहरू बलात्कृत छन्। अपराध गर्नेहरूबाट हेर्दै गयो भने पनि निश्चित जात व्यवस्था देखिन्छ। अपराधमा पर्नेहरूको कोणबाट हेर्दा पनि निश्चित जात व्यवस्था देखिन्छ।

नेपालमा वर्ग निर्माणको प्रमुख कारण जात व्यवस्था र जातीय उत्पीडन हो । तेस्रो रहेछ नेपालमा क्षेत्रीय उत्पीडन। भेरी र कर्णाली नदी पारिको। भेरी नदी पारीका मान्छेहरूमाथि बेवास्ता गरिएको रहेछ। कर्णाली नदी पारीको उत्पीडन गरिएको रहेछ। कर्णालीको बाहुनसँग काठमाडौंको दलितसँग दाँजिन्छ। कर्णालीको बाहुनसँग कर्णालीको दलित कसले दाजिदिएला ? त्यो प्रश्न, प्रश्नभित्रै हराएको छ।

अर्कोतर हिमाली क्षेत्रमा पनि उत्पीडन गरियो। उत्पीडन कुटेर मात्र हुन् वास्ता गरिदिएन भने पनि हुँदो रहेछ। छिमेकीको घरमा चा छ। सबैलाई बोलाइयो र आफूलाई बोलाइएन भने त्यो अपमान हुन्छ।

अर्को मधेशमाथि तीन किसिमको उत्पीडन देखेँ। क्षेत्रीय, त्यो क्षेत्रको भएको हुनाले। अर्को भाषिक सांस्कृतिक। ०२७ सालभन्दा अगाडि नेपालमा सबैभन्दा धेरै शिक्षितहरु भएको जिल्ला सप्तरी थियो। जब नयाँ शिक्षा भन्ने आयो पहाडवादी शिक्षा। निश्चित संस्कृतिलाई अगाडि लैजाने। आज सप्तरीको शिक्षाको हालत नाजुक छ। भाषिक सांस्कृति, उत्पीडत मात्रै नभएर केही प्रतिशत बडो तिखो गरी मधेशमा रंगको उत्पीडन पनि भयो। यी सबैले वर्ग निर्माणमा भूमिका खेल्दै आए।

विगतदेखि जात व्यवस्था, जातीय उत्पीडन र क्षेत्रीय उत्पीडनले नेपालमा जुन वर्गहरु निर्माण भए। सामन्त वर्ग, किसान उत्पीडित वर्ग त्यसैले भने यो प्रक्रिया अगाडि बढ्ने क्रममा केही परिघटना यस्ता देखा परेका छन् नेपालमा जसले नेपालको शासनले थाहा नपाइकन जात व्यवस्था र जातीय क्षेत्रीय उत्पीडनबाट निर्धारित भएको वर्ग निर्माणको प्रक्रिया भत्किन पुगेको छ। जस्तो कि पश्चिम नेपालका दलितहरुसँग जमिन थिएन। दलितहरु अधिकांश पश्चिम नेपालबाट पूर्वतिर आएका हुन्।

बागमती उपत्यकाको नेवार जातिभित्रका दलितहरु बाहेक केही बालीप्रथा थियो, जमिन दिने कुरा होइन। बाली दिएर उसको ज्यान बचाउने कुरा हो। रैकर जमिनको कुनै स्रोत नै थिएन। तर उनीहरु मुग्लान जान्थे। विष्टको घरमा फलाम ठटाउन नपरेको वा हलो जोत्न नपरेको बेला मुग्लान गए। मुग्लानमा उनीहरुलाई दलित भनेर चिन्दैनथें। उनीहरु बाली पाउँदैनथे, नगद नै पाउँथे। त्यो नगद ल्याएर उनीहरुले जमिन जोड्न थाले। भेरी नदीपारीका अधिकांश पहाडी बस्तीका दलित बस्तीका धान खाने खेत कतैबाट आयो भने त्यो मुग्लानबाट आयो। त्यो गजबको अर्थशास्त्र छ नेपालको। बाली प्रथाले जमिन नहुने भन्या कुरालाई थोरै तुहायो। मुग्लानबाट कमाएर ल्याएको कति नै हुन्थ्यो र ! धेरै पाखो जोड्न पुग्दैनथ्यो। धान फलाउने जति जमिन दलितको हातमा देखियो त्यो मुग्लानको कमाइले आएको भन्ने सम्झिनुपर्थ्यो।

अर्को, राणाहरुले नेपालका केही जातिलाई भारतीय सेनामा पठाउने सन्धी गरे। जनजातिको आन्दोलनको तर्फबाट भन्ने हो भने जनजातिको जनसंख्या घटाउन पठाए भन्ने तर्क आउँछ। त्यो मैले अध्ययन गर्न पाएको छैन। अध्ययन गरौंला। जेहोस् अंग्रेजहरुको सेवा गर्न गोर्खा भर्ति सन्धी भयो र नेपालीहरु गए। एकातिर हेर्दा यो नेपालको निम्ति अपमानको विषय छ। अर्कोको निम्ति भाडाको सिपाही बनेर जानुपर्ने। गल्लावालाले छान्दैछान्दै लग्नुपर्ने। हामी मरिदिनुपर्ने ! उनीहरुको निम्ति मरिसकेपछि हाम्रो छातीमा ल्याएर तक्मा झुण्ड्याइदिने र हामीलाई वीर भन्ने। हामी वीर बनेर रेडियो नेपालबाट गीत बजाउने। दुःख कति भन्नु छ र नेपालीहरुको, धेरै नै दुःख छ संसारभरि। त्यसको उल्टो एउटा फाइदा भयो। यो तन्नम गरिब देशमा उनीहरुले विदेशी पैसा बोकेर आए। धेरै मोल भएको विदेशी पैसा। आईसी भएपनि, पाउन्ड स्टर्लिङ भएपनि। त्यसपछि तिनीहरुले पूर्वलाई बल्छी थापेर बसेको धरानमा पक्की घर बनाउन थाले लाहुरेहरुले। फर्केर आएर भैरहवा, बुटवलमा धुर्काधुर्की पनि किन्न थाले र पोखरा सहरपनि यसरी जन्म्यो।

माछापुच्छ्रे हिमालले मात्रै पोखरा बनेजस्तो लाग्दैन। फेवातालभन्दा गहिरो लाहुर जानुपर्ने नेपालीहरुको कथाले पनि पोखरा बनायो। त्यो लाहुर जाने प्रथा नेपालको पुरानो जात व्यवस्था, जातीय उत्पीडनले बनाएको हो। वर्गीय समाजलाई विस्तारै विस्तारै बीचमा चर पारेर काट्दै जाने अचम्मको तरबार भयो। केही सहरहरु नै लाहुरेहरुले बनाए।

यदिराणाहरुलाई थाहा हुन्थ्यो एउटा चटक्क परेको घर लिम्बुले बनाउने छ। पोखरामा ५ तलाको होटल एउटा मगरले बनाउने छ। एउटा गुरुङले बनाउने छ। मलाई लाग्दैन, गोर्खा भर्ति सन्धी गरिन्थ्यो। काम गलत थियो तर त्यसको उल्टो फाइदा भनेको पुरानो वर्ग संरचनालाई यसले खल्बलाइदियो।

त्यसपछि सुनारहरुको गजबको वर्ग जन्मियो। यहाँका सुनारद्वारा बाली प्रथामै सुन बनाइन्थ्यो। नगद कसले दिन्थ्यो र ! लाहुरबाट नगद लिएर लाहुरेहरु आए। बेलायती सेना भनेपनि उनीहरु भारतमा थिए। भारतमा गहना लगाउने संस्कृति धेरै थियो। उधुम गहना लाउने रहर पनि उनीहरुले बोकेर आए। खल्तीमा पैसा बोकेर आए। बाली दिन धेरै सिकेका थिएनन् जनजातिले। उसले सुनको काम गर्ने सुनारलाई भैरहवामा बोलाएर सुन बनाउन लगायो। धरानमा बोलाएर सुन बनाउन लगायो।

सुन व्यापार हामीलाई थाहा छँदै छ। १२ प्रतिशत हाकाहाकी भनेरैं खान पाइन्छ। सुनको काम गर्ने ज्यासलमा गयो भने त्यो धुलो काम गर्ने खेतालाहरुको हक लाग्छ। सुनको काम गरेपछि बेलुका बढार्ने धुलो। सुन त सुन भैहाल्यो।

सुन त सुन भइहाल्यो। नेतालाई पनि मन पर्ने, जनतालाई पनि। लाहुरेहरुले सुनारलाई बेस्सरी काम दिए। जसका कारण भैरहवामा सुनारहरुले पाँच तलाका घर बनाउन थाले। अहिले जंगबहादुर आउने हो भने त्यो घर बनाउन कहाँ दिन्थे ? भयो के भने जात व्यवस्थाबाट बनेको त्यो बन्धनलाई लाहुरे प्रथाबाट आएको पैसाद्वारा थोरै टुट्ट पुग्यो। दलितहरुको सानो खलकलाई मध्यमवर्गमा लगिदियो। भत्काइदियो। कतै न कतै चर्काइदियो। एउटा म यहाँनेर देख्छु।

अर्को कहाँनेर चर्कियो भने। नेपालमा दुईवटा जातिले अचम्मले छल्दिए यो जात व्यवस्था र जातीय उत्पीडनलाई। एउटा तराईको कायस्थ र अर्को थकाली। थकाली त मासिन्याभित्र हो नि। केको यत्रो थकाली खानाको देशभरी रेस्टुरेन्ट खोल्नु ? थकालीको जनसंख्या यति थोरै छ, कामको निम्ति नै मन्त्री नि त्यै हुनुपर्‍या छ, अमेरिका त्यै जानुपर्‍या छ। मान्छे नपुगेर हैरान छ। जंगबहादुरले मासिन्या भित्र राखेको कसरी यहाँ आइपुग्यो ?

तराईको कायस्थ पनि जनजाति हो। त्यो अहिले नेपाली समाजको सबैभन्दा पहिलो लहरमा आइपुग्यो। जात व्यवस्थाले कजाउन खोलेको मुन्सी बनाएर। तर मुन्सी बनाउन हिसा पढ्नुपर्‍यो। त्यतिबेला पो शिक्षाको महत्व थिएन। आजको समाज शिक्षाको महत्वमा आइपुग्यो। त्यो मुन्सी बनाउन पढाएको मान्छे त्यहीं शिक्षाको घोडा चडेर अहिले सबैभन्दा अगाडि आइपुयो। त्यसले जात व्यवस्थाको मतवाली भनेर तल बस्न बाध्य पार्ने कायस्थको स्थीतिलाई भत्काइदियो।

चीन र भारतको बीचमा थाकखोलामा बसेर व्यापार गरेको कसैले नचिनेको थकाली, काठमाडौंले पत्तो नपाइकन अगाडि आइपुग्यो। यदि त्यतिबेलाको राणा शासनले त्यहाँ बसेर थकालीले सम्पत्ति कुम्ल्याउने काम गरिरहेको छ, ढुकुटीप्रथा अन्तर्गत आफ्नो समुदायको रक्षा गर्ने काम गरिहेको छ भन्ने थाहा पाएको भए अर्कै कुरा हुन्थ्यो त्यहाँ। त्यसले पनि त्यो पुरानो परम्परालाई छलेर अगाडि आयो।

अर्को दुईवटा प्रसंग छ। एउटा प्रसंग छ, सगरमाथाको। युरोपियनहरुले सुरु गरे एड्भेन्चर, साहसिक यात्रा। त्यसपछि हिमाल चढे। उनीहरुले नै आएर एभरेस्ट भन्ने नाम राखे। भारी बोकाए शेर्पालाई। बाटो देखाउन शेर्पा चाहियो। उसकै फोक्सोको प्वाल धेरै फुक्यो। त्यहाँ बस्दाबस्दा फोक्सोको प्वाल उसकै धेरै फुलाथ्यो र सबैभन्दा माथि सास उसैले लिन सक्थ्यो। उसलाई नलगि त भएन। उसलाई हिमाल चढाउँदै जाँदा यस्तो स्थिति आयो, शेर्पाहरुको एउटा सानो खलक काठमाडौंदेखि अमेरिकासम्म पुग्यो। त्यसले पनि भत्काइदियो। यो कुनै नेपालको समाजको डिजाइनमा भत्केको होइन। हिमाल चढ्ने यात्रा अरुले सुरु गरे, त्यसबाट फाइदा शेर्पालाई पुग्यो।

अर्को एउटा प्रसंग छ, मनाङको। मनाङमा पाँच गाउँले थिए। मनाङमा भोट हाल्नुपर्‍यो भने मनाङका पाँच गाविसका मान्छे हेलिकप्टर रिजर्भ गरेर आउँछन् भन्थे। सबैजसोको काठमाडौंमा घर छ। त्यो कसरी भयो ? अचम्मको कुरा। मनाङको मान्छेको काठमाडौंमा घर ! स्थानीय बुढापाकासँग छलफल गर्दा यसको पनि गजबको कथा छ।

महेन्द्र सिंगापुर गएका रहेछन्। नेपालकै मनाङ मुस्ताङकै अनुहारका मान्छे जडिबुटी बेचिरहेको देखेछन्। नेपालबाट आएका रहेछन् कि भनेर सोधखोज गरेछन्। महेन्द्रको कामै यस्तो, बर्मासम्म नेपाली खोज्न जाने उनी। बर्मामा पनि खस नेपाली भाषा बोलेका छन् भने झापातिर ल्याएर एक दुई रोपनी जमिन दिएर राखिहाल्ने उनको चलन थियो। पहाडिया खोज्ने, ल्याउने, नेपाली बनाउने। सिंगापुरमा उनले खोजविन गर्दा मर्स्यांदीको शिरबाट हामी आएको भनेछन्। त्यतिबेला न पासपोर्ट न के। भारत गएर जहाज चढेर सिंगापुर जाने त्यतिबेलको चलन रहेछ। उनीहरुले भनिसकेपछि नेपाल आओ, म तिमीहरुको देशको राजा हुँ भनिसकेपछि हामीलाई के मतलब, तिमीलाई राजा मानेर हामीलाई के हुन्छ। हामीलाई लुकेर यहाँ आउँनुपर्‍याछ , तिमीलाई राजा मानेर के हुन्छ ?’ भनेछन्।

महेन्द्रले तिमीहरु नेपाल फर्केर आएपछि सबै व्यवस्था गर्छु। तर तिमीहरुको माथिल्लो मर्स्यांदीमाथिको ५ गाउँले मेरो शासन मान्नुपर्छभनेछन्। उनीहरु फर्केर आइसकेपछि विशेष अधिकार दिइयो। नेपाली भएवापत्, नेपालको राजा र शासनलाई मानेवापत्। उनीरुको के अधिकार पाए भने विदेश गएर आएर सामान ल्याउँदा भन्सार छुट हुने। अधिकार नपाउँदा कलकत्ताबाट जहाजमा लुकेर गएर सिंगापुरमा जडिबुटी बेच्न भ्याउन मान्छेलाई पासपोर्ट बनाएर भन्सार छुट दिने जिम्मा राज्यले लिनेभएपछि कति मजा भयो होला ? त्यहाँबाट एउटा माथिल्लो मनाङको एउटा खलक विशेषाधिकार पाएर ह्वात्तै मध्यम र मध्यम वर्गभन्दा माथि आउने स्थीति बन्यो।

नेपालको परम्परागत राज्यले वर्गमानको जुन खालको प्रक्रिया निर्माण गरेको थियो, सबैलाई तोडेर, छलेर, छिर्के हानेर, बीचमा घुसेर वर्ग बनावटको ढाँचालाई उनीहरुले केही न केही बदले। बदलियो। तर मूल चरित्र बदलियो त भन्यो भने मेरो अध्ययनमा अहिले पनि मूल चरित्र वर्ग निर्माणको उही नै छ।

म कहिलेकाहीं घरमा चार पत्रिका पढ्ने गर्छु। दैनिक पत्रिका। कहिलेकाही म पत्रिकाभरि ककसले लेख लेखेका छन् भन्ने हेर्छु, एकदुई घण्टासम्म। सम्पादक, व्यवस्थापक, पहिलो पातोमा, दोस्रो पातोमा लेख्ने को छ, महिला को छ भनेर पाना पल्टाउँदै १८ पानासम्म पल्टायो, मलाई त्यो दिनको पत्रिका पढ्नै मन लाग्दैन। ४५ वटै पत्रिका। यसो भन्दा कतिपय मान्छेले मलाई बाहुनविरोधी भइस् भन्छन्। मैले सधैं भन्ने गरेको छु, नेपालमा बाहुनहरुको ठूलो योगदान छ। सहिद पनि त्यत्रा छन्। कहिले पनि बाहुनहरु सबै शासक भनेको हुँदै होइन, क्षेत्री ब्राह्मणभित्रबाट शासक जन्म्यो भनेको मात्रै हो। कुरा त्यति मात्रै हो। त्यहाँभन्दा बढी कुरै होइन। त्यसभित्रबाट मात्रै बन्ने स्थीति आयो। त्यसभित्र दमित कति छन्, कति छन्।

भारतीय सेनामा गएका क्षत्रीहरु कुन हालतमा छन् ? बम्बइमा गयो भने गल्लीगल्लीमा क्षेत्री बाहुन भेटिन्छन्। काठमाडौंका भरिया हेर्‍यो भने काभ्रे र रामेछापबाट आएका ब्राह्मणक्षेत्रीहरु भरिया भएर बाँचिरहेका छन्। तल्लो वर्गमा क्षेत्रीबाहुन छैनन् भन्ने कुरा होइन। त्यो हास्याँस्पद कुरा हो। त्यो विशुद्ध जातवादी कुरा हो। त्यो दृष्टिकोण गलत हो। त्यो जातबाट मात्रै मुख्य शासक आउने प्रणाली बन्यो। अरुबाट आउन नपाउने बन्यो।

टेलिभिजन कार्यक्रम पनि हेर्छु। कहिलेकाहीं झोक चल्यो भने बिहानदेखि बेलुकासम्म बसेर टेलिभिजन कार्यक्रम कसकसले चलाउँदो रहेछ भनेर हेर्छु। हेरे पनि समाचारमा एउटा आउँछ, अर्को आउँछ, कसैले के भन्दा कसैले के भन्दा दिनभरिको नाम टिप्दै गयो भने राति सुत्न गाह्रो हुन्छ।

अहिले पनि बनावट त्यहीं छ। पार्टीमा हुने यसो मन्त्रीको नाम हेर्‍यो। १, २....८.... कसरी सुत्ने ! हेर्दाहेर्दै हालत त चौपट देखिन्छ। अहिले म सबैभन्दा धेरै च्याम्बर अफ कमर्श, उद्योग वाणिज्य महासंघको नाम हेर्छु। उद्योग वाणिज्य संघको नाम हेर्दा झुक्किएर कहिले उपेन्द्र महतो रुस पुगेका रहेछन्। कहिले एकजना गुरुङ अस्ट्रेलिया पुगेका रहेछन्। अरु त एनआरएन भने पनि फेरि नाम त त्यहीं दोहोरिन थालिहाल्यो। एयरपोर्टमा आएर झगडा गर्छन् तिनै।

यो के भयो ? के भएको हो भन्दा अहिलेसम्म जति राजनीतिक परिवर्तन हामीले गर्‍यौं (भयो) तर नेपाली समाजको वर्ग निर्माणको जुन मुख्य प्रक्रिया थियो त्यसलाई हामीले अन्दाज नगरिकिन, त्यसलाई राजनीतिको निश्चित कार्यदिशाभित्र नसमेटिकिन अगाडि गयौं। हामीले नेपाली समाजलाई रुस र चीनजस्तो समाज ठान्यौं। चीनमा माओ थर भएको मान्छे राजा पनि हुन पायो, रैति पनि हुन पायो। नेपालमा त्यस्तो हुँदैन। रामबहादुर ठकुरी भन्यो भने त्योसँग कति जमिन छ भन्ने थाहा हुँदैन तर हलिया प्रथा अन्तर्गत उसको शाखा सन्तान कोही पनि छैन। यो कुरा प्रस्टै छ।

असर्फी सदा वा मुसहर भन्यो भने त्योसँग कति जमिन छ त थाहा छैन तर उसको शाखा सन्तान कोही पनि सामन्त थिएन भन्ने थाहा हुन्छ। निश्चित जातअनुसारको वर्ग निर्माणको प्रक्रिया हो नेपालमा। न कम्युनिस्ट भन्नेहरुले न लोकतन्त्र भन्दै आउनेहरुले। न पुष्पलालले न बीपी कोइरालाले। नेपाली समाजलाई सर्लक्कै जात व्यवस्था नभएको समाजजस्तो विश्लेषण गर्दै आइयो। जसको कारणले अहिले पनि पत्रिका पढेपनि, निबन्ध हेरे पनि, पार्टी हेरे पनि, टेलिभिजन हेरे पनि हुँदाहुँदा एनआरएन हेरे पनि हाम्रो वर्गको निर्माणमा जात प्रकट भयो। यो गहिरो प्रकट भएर निरन्तर जारी हुने प्रक्रियामा छ। जारी हुने प्रक्रिया सानो कुरा छैन।

किन जारी हुँदै छ त यो भन्दा नेपालमा अहिले जो शासक वर्ग जन्मियो, त्यो शासक वर्ग बन्न उ के कारणले पायो भन्दा जात व्यवस्थाको कारणले पायो जातीय, क्षेत्रीय उत्पीडनको कारणले पायो। उ त्यो कारणले शासक बन्न पाएको हुनाले अब उसले के गर्ने भयो त भने आफ्नो शासनलाई फेरि निरन्तर गर्नका निम्ति त्यो जात व्यवस्थालाई केही न केही गरेर टिकाइराख्नुपर्ने भयो। नयाँ नयाँ तरिकाले टिकाइराख्नुपर्ने भयो। जस्तो कि आजको पुरुष शासक किन भयो भन्दा महिलामाथि उत्पीडत गर्न पाउने पितृसत्तात्मक संरचनागत विचारका कारणले भयो। आजको पुरुष कस्तो नक्कलबाजी गर्छ। महिलालाई ल्याउनुपर्छ सरकारमा सत्तामा तर सधैंभरि उपाध्यक्षमा बस्नुपर्छ भन्छ। महिलाहरु अगाडि आउनुपर्छ नआइ हुँदैन भनिन्छ। किनकी आउनुपर्दैन भन्यो भने भोटै पाउनेवाला छैन। हिजो पो भोटै नपाई शासन गर्न पाइन्थ्यो र पो नभनेपनि हुन्थ्यो। अब महिलाको पनि भोट लिनुपर्‍यो। अब त भन्नैपर्‍यो महिला पनि आउनुपर्छ तर कहाँसम्म आउनुपर्छ भन्यो भने मोटरसाइकलको पछाडि बस्न आउनुपर्छ। मोटरसाइकलचाँहि चढ्नुपर्छ तर पछाडि बस्नुपर्छ। श्रीमतीले स्कुटर चलाउँदा आफैंले चलाउने, लोग्ने पनि चढ्नुपर्‍यो भने पछाडि बस्नुपर्ने।

पितृसत्तावादी विचार र संरचनाको कारणले पुरुष सत्ताधारी भएको अब महिलामाथिको उत्पीडन सबै अन्त्य गर्‍यो भने आफू सत्ताधारी नहुने भयो। जसको कारणले महिलामाथिको उत्पीडन नयाँनयाँ कलेबरमा नयाँ रंग लगाएर फेरि जारी राख्न खोज्दो रहेछ। ठी, जात व्यवस्थामा पनि आफ्नो सत्ता निरन्तर जारी राख्न पनि त्यो व्यवस्था जारी रहँदो रहेछ।

प्रकाशित : मंसिर २९, २०७६ २०:०४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मानवअधिकार आयोग प्रहरीजस्तो : मुख्यमन्त्री शाही

कान्तिपुर संवाददाता

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय मानवअधिकार आयोग प्रहरीजस्तो भएको आरोप लगाएका छन् । मानवअधिकारको अवस्थाबारे आयोगले आइतबार सुर्खेतमा आयोजना गरेको कार्यक्रममा उनले आयोगका गतिविधि घटना भएपछि मुचुल्का उठाउनेमै सीमित भएको बताए ।

‘घटना भएपछि बुझ्ने र मुचुल्का उठाउने काम त प्रहरीले गरिहाल्छ,’ उनले भने, ‘आयोगले त मानवअधिकारबारे व्यापक जनचेतना फैलाउने र सामाजिक अन्तरद्वन्द्वलाई कसरी घटाउने भन्नेतिर आफूलाई केन्द्रित गर्नुपर्छ ।’

मुख्यमन्त्री शाहीले कर्णालीलाई मानवअधिकारमैत्री प्रदेशका रूपमा स्थापित गर्न आयोगको सहयोगको खाँचो औंल्याए । ‘यसका लागि हामीले सिकेका र बुझेका कुरालाई कार्यान्वयन गरौं,’ उनले भने, ‘हामीसँग अरूलाई सिकाउने आफूले नगर्ने प्रवृत्तिमात्र छ, यो प्रवृत्तिलाई पनि अन्त्य गरौं ।’

कार्यक्रममा आयोग सदस्य सुदीप पाठक, निर्देशक मुरारी खरेल, कर्णाली प्रदेश योजना आयोगका सदस्य दीपेन्द्र रोकाया, जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देललगायतले मानवअधिकारको स्थितिबारे बोलेका थिए ।

प्रकाशित : मंसिर २९, २०७६ १९:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×