खप्तडका नाममा दोहन

सम्पादकीय

काठमाडौँ — २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको नेपाल भ्रमण वर्ष, २०२० दुई सातापछि सुरु हुँदै छ । आन्तरिक पर्यटनसमेत प्रवर्द्धन गर्न सरकारले देशभित्र पर्यटकीय गन्तव्यहरू तोकेको छ । तर, स्थापित तथा प्रवर्द्धन गरिनुपर्ने गन्तव्यहरूको सरकारी सूचीमा भएको खप्तड क्षेत्रको विकासका लागि विनियोजित ठूलो रकम कुनै काम नगरी दुरुपयोग भएको जुन यथार्थ सार्वजनिक भएको छ, त्यसले मुलुकको पर्यटन विकासको विद्रुप तस्बिर प्रस्तुत गरेको छ ।

खप्तडका नाममा दोहन

सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्यमा कागज मिलाएर वा रकम फरफारक गरेर वर्षौंदेखि ‘बेहिसाब’ भइरहेको मनपरी खर्च डरलाग्दो देखिन्छ ।


खप्तड क्षेत्रमा पर्यटकका लागि बाटोघाटो र बसोबासस्थल लगायतका पूर्वाधार र अन्य सुविधा विस्तार गर्न पछिल्लो १२ वर्षमा करिब आधा अर्ब रुपैयाँ खर्च भइसकेको छ । तर, पर्यटकलाई घुम्न न सजिलो बाटो छ, न त गन्तव्य देखाउने कुनै संकेत चिह्न । स्थानीय गोठालोहरू नै हराउने ठूलठूला पाटनमा पर्यटकहरू ‘भगवान् भरोसा’ मा हिँड्नुपर्ने स्थिति छ । कदाचित् हराइहाले बाटो भेट्नै मुस्किल पर्छ । केही को त, बाटो भुलेर ज्यानै गएको छ ।


प्रतिवर्ष सरदर ५ हजार पर्यटक खप्तड पुग्छन् । १२ वर्षयता झन्डै १५ सय विदेशी र ५७ हजारभन्दा बढी स्वदेशी पर्यटकले खप्तड घुमिसकेका छन् । तर भूस्वर्ग भनेर चिनिने खप्तड पुग्नेहरूले त्यहाँको विकासका लागि केही नै नगरिएको अनुभव पाइलापाइलामा गर्छन् । बाटोघाटो मात्र होइन, त्यहाँ अझै पनि पर्यटकका लागि खान, बस्न सहज पूर्वाधारसमेत छैन । भएका केही सरकारी गेस्टहाउस अव्यवस्थित छन् । चिसोमा सकसपूर्ण तरिकाले रात कटाउन विवश छन् पर्यटक । एकै पटक ३०–३५ जनाको टोली गइदियो भने या एकै ठाउँमा कोचिएर सुत्नुपर्ने अवस्था छ ।


सरकारले व्यवस्थित पहल गर्न नखोजेको होइन । उक्त क्षेत्रको प्रवर्द्धनका लागि खप्तड क्षेत्र पर्यटन विकास समिति स्थापना भएकै १२ वर्ष भइसक्यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग मात्र होइन, तत्कालीन जिल्ला विकास समिति बझाङ, अछाम, डोटी र बाजुरा तथा डोटीको पूर्वचौकी गाउँपालिकाले पनि पूर्वाधारका लागि ठूलो रकम खर्चिएका छन् । भएको खर्च र कागजअनुसार उक्त क्षेत्रमा ३० भन्दा बढी भवन हुनुपर्ने हो । विभिन्न ठाउँमा गरी धर्मशाला, प्रतीक्षालय, अतिथिगृह आदिका नाममा २२ वटा सानाठूला भवन र आठ ट्रस्ट, जहाँ एक पटकमा ३ हजारसम्मलाई खानेबस्ने व्यवस्था गर्न सकिनुपर्ने हो । तर यथार्थ अर्कै छ– जस्तापाता प्रयोग गरेर बनाइएका नाम मात्रका भवन धेरैको छानो हावाले उडाइसकेको छ, कतिपय भवन भत्किएका छन् । छाडा छाडिएका बस्तुभाउ र घोडाखच्चडको मलमूत्रले भवन ढाकिएका छन् । दुई–तीनवटा मात्रै दु:खसुख प्रयोग गर्न सकिने छन् । कारण, यी भवन प्रयोग गर्न होइन, केबल पैसा सक्ने उद्देश्यले निर्मित थिए ।


रोमाञ्चक यात्रानुभूति बटुल्न र प्रकृतिको मनोरम दृश्यावलोकन गर्न खप्तड पुग्नेहरूले जब बाटो भुलेर जीवनमै नपाएको दु:ख भोग्छन् अनि बास बस्ने स्थल भेट्दैनन्, तब त्यस क्षेत्रप्रति उनीहरूको धारणा कस्तो बन्ला ? एकपटक बाटो भुलेर हराएपछि कतिले त बीचमै यात्रा टुंग्याउने गरेका छन् । यस्तो अवस्थाबाट गुज्रिएकाहरूले अरूलाई के सुनाउलान् र यसरी उक्त क्षेत्र र मुलुकको पर्यटन विकास कसरी होला ? खप्तडको प्रवर्द्धन र विकासका लागि छुट्याएको रकमजति हर्ताकर्ताको पोल्टामा जानु र पर्यटकहरू भने बाटो भुलेर उज्यालो पछ्याउँदै हिँड्नुपर्ने अवस्था रहनुले उक्त क्षेत्रको ख्यातिमै नकारात्मक असर पुर्‍याइरहेको छ ।


खप्तड क्षेत्र पर्यटन विकास समिति उक्त क्षेत्रको प्रवर्द्धन गर्न होइन, व्यवस्थित तरिकाले अनियमितता गर्न बनाइएको जस्तै भएको छ । अहिलेसम्म बनेका यसका अध्यक्ष र कार्यकारी निर्देशक जिम्मेवार भइदिएको भए बेथिति यो हदसम्म झाँगिँदैनथ्यो । अहिलेसम्म जेजति रकम खप्तडको विकासका नाममा खर्च भएको छ, त्यसको सदुपयोग मात्रै हुन सकेको भए, आज यो क्षेत्र अर्कै भइसक्थ्यो । सुविधाजनक भएपछि पर्यटकहरूको संख्यामा पनि गुणात्मक विकास हुन सक्थ्यो । यसले सुदूरपश्चिमको पर्यटन क्षेत्र मात्र होइन, आय बढेर समग्र विकासमै टेवा पुग्न सक्थ्यो । त्यसैले अब सम्बन्धित निकायहरूको ध्यान विगतका अनियमिततामा छानबिन गर्न/गराउन र अब हुने लगानीमा सावधानी अपनाउनमा केन्द्रित हुनुपर्छ । र, पर्यटकका लागि पूर्वाधारहरू अविलम्ब बनाइनुपर्छ ।

प्रकाशित : मंसिर २९, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?