लोकवार्ता, साग र सिर्जना

अभि सुवेदी

नेपाली लोकवार्ता तथा संस्कृति समाजको आयोजनामा सातौं अन्तर्राष्ट्रिय लोकवार्ता कङ्ग्रेस २७(२९ मङ्सिर २०७६ मा काठमाडौं चलिरहेको सन्दर्भले एकाध कुराको फेरि बोध भएको छ । फर्केर हेर्दा २०५१ सालमा हामीले खोलेको यो समाज चलेर आइराखेको नै लोक ‘न्यारेटिभ’ भइसकेछ ।

लोकवार्ता, साग र सिर्जना

यो लोकवार्ता समाज तथाकथित मूल प्रवाह बाहिर चल्यो । अर्जुन अप्पादुराईले ‘फियर अफ् स्मल नम्बर’ (सन् २००६) मा भनेजस्तै यो ‘सेलुलर इनर्जी’ वा मूलधार बाहिरको संस्थाको शक्तिका रूपमा चल्यो । त्यसो त हामीमात्रै चलिआएका होइनौं ।


हामीजस्ता अरु पनि ‘सेलुलर’ शक्ति लिएर संस्था चलिआएका छन् । यो खुलेको बेलादेखि नै हो, नेपालमा लोकतान्त्रिक परिवर्तन कहिले चक्रवात, कहिले उपलब्धि अनि कहिले व्यर्थका कोलाहल हुँदै आएको हो । माओवादी युद्ध चल्यो, यो खुलेको २ वर्षपछि । सबैतिर विचलन, सतर्कता, हत्या र अपहरणका कथाहरू आइबसे । हामीले लोकवार्तालाई माओवादीदेखि सरकारका मानिसहरूसम्म यो सबैले बुझ्नु र रक्षा अनि प्रबर्द्धन गर्नुपर्ने संस्था हो भन्न छाडेनौं । फ्रान्सेली अध्येता मेरी लुई लकोँतले सुदूर पश्चिमको दलितहरूको घुट्के लोक प्रस्तुतिलाई माआवादीले कसरी आफ्नो आन्दोलनको सिलसिलामा प्रयोग गरे भन्ने आफ्नो अल्मोरामा छापिएको किताबमा लेखिन् । उनीहरूले छवि चित्र पनि बनाए । अर्को अर्थमा लोकवार्ता र यसको प्रयोग अनेकौं किसिमले भयो । सरकारमा हुनेहरूले पनि संस्कृतिको एउटा काम भनेर गरे । कसैलाई आलोचना गर्नु छैन । एकेडेमीहरूले पनि एकाध प्रकाशन गरे । विश्वविद्यालयका एकाध पाठमा लोकवार्ता राखे । स्वतन्त्र काम गरेर आफ्ना साहित्य विभागमा केही लोकवार्ताका पाठहरू पनि राखे कतिले । क्रम जारी छ ।


यी सबै चक्रवातका वर्षहरूमा लोकवार्ता समाजका अध्यक्ष कवि तुलसी दिवस र महामन्त्री डा. चूडामणि बन्धु एक–एकवटा तेर्सा झोला झुन्ड्याएर सरकार र संस्थाहरूका घरदलानमा पुगेर सहायता माग्दै यसका सम्मेलन गर्ने क्रममा लागिरहे । म पनि त्यसमा छु, तर म झोला पछाडि भिर्ने हुनाले उनीहरूसँग हिँडिन । यसरी सहयोग माग्दा यी दुई लोकवार्तारथिहरूको शैली फरक हुन्थ्यो । बन्धु अलिक सरल र सूक्ष्म किसिमले कुरा राख्थे । दिवस हकारेजस्तो गरेर नदिइनहुने गरी माग्थे । धेरै माग्दैनथे । एकाध सेसनमा चमेनाको व्यवस्था, एउटा दिउँसो सहभागीलाई भोजन, एउटा जोगीको जस्तो सानो झोला सिलाउने, एउटा नेपाली कागत नामको लुते फायल बनाउने खर्च माग्थे । म आन्तरिक मानिस भएकोले जान्दछु । यी दुईलाई भारत, बंगलादेश, पाकिस्तान आदि देशका लोकवार्ता समाज र विश्वविद्यालयले बोलाइबस्थे । यिनीहरू जान्थे । अझै जान्छन् । दिवस युरोप र एसियाका निकै देशमा गएका छन् ।


लोकवार्ताका संस्था र मानिससँग यिनको परिचय भएकोले ती अहिले पनि हाम्रा लोकवार्ता कङ्ग्रेसमा आउँछन् । यस्तै सम्पर्कको सिलसिलामा केही वर्ष पहिले फिनल्यान्डको राजदूतावासबाट केही लोक समूहहरूको अध्ययन गर्नलाई सम्झौता गरेर केही आर्थिक सहयोग पायौं । समूहहरू बनाएर गोपाली, आठपहरिया राई, दनुवार, थारु, मेचे र गन्धर्वका लोकजीवन शैली, चलन र संगीतका अध्ययन गर्‍यौं । प्रत्येकका किताब र क्यासेटहरू पनि बनायौं । खासै बिक्री गर्न जानिएन । ती प्रोजेक्ट सकेपछि केही पैसा उब्रियो । कुनै धेरै पैसा उब्रिएको त होइन, तर अब यसले एउटा लोकवार्ता अध्ययन कार्यक्रम चलाउने हो भनेर लाग्यौं । तर दूतावासले थाहा पाएछ । त्यो उब्रिएको पैसा ल्याओ भनेर लग्यो । पैसा फिर्ता गरेपछि लोकवार्ता समाजको कार्यकारी मिटिङले यो पैसाले अर्को अध्ययन गरेको भए हुने थियो, गरेनौं भनेर ठोकेर आत्मालोचना सहितको प्रस्ताव पास गर्‍यो ।


लोकवार्ता समाजमा रुद्रलक्ष्मी श्रेष्ठ लगायत १०/११ जना छौँ, तर थोरैले खटिएर काम गर्ने लोकपरम्परा छ, यसमा । पछिल्लो समय एउटा साना काँटीका एकेडेमिक र भाषाशास्त्री भीमनारायण रेग्मी यसका सचिव भए । यी अहिले नेपाली भाषाशास्त्र समाजका अध्यक्ष पनि हुन् । यिनले लगभग एक्लै नेपाली फोकलोरको आन्तरिक सञ्चालन कर्म गर्ने गरेका छन् । आफ्ना कार्यपत्रको निम्ति उनले छानेका विषयहरू सर्वथा नौला हुन्छन् ।


यो लोकवार्ता समाजका यसरी गरिएका सेमिनारहरूमा नेपालका कुनै सम्बन्धित संस्थाले सम्बोधन नगरेका विषयहरू आउँछन् । मूलरूपमा लोकवार्ता एउटा गतिशील विषय भएको हुनाले यसमा आएका परिवर्तनहरू सबै समावेश गरेर यसका विषय छान्ने हो । अनि तीमाथि देश र विदेशबाट सहभागीहरूले कार्यपत्र प्रस्तुत गर्छन् र सहभागी हुन्छन् । फोकलोरका विषयहरूका विस्तार हुँदैछन् । जर्मन समाजशास्त्री युर्गेन हेबरमासले भनेजस्तै फोकलोरको आमवृत्त वा ‘पब्लिक स्फेयर’ बढिरहेको छ । त्यो दिनदिनै महत्त्वपूर्ण हुँदैछ । अहिले साहित्य अध्ययनमा पनि ‘एन्थ्रापोसेन’ वा भूप्रकृति र मानिस जनिन विषयको प्रयोग हुँदैछ । एक्काइसौं शताब्दीको त्यो चिन्तन हो । अहिले पृथ्वी माता ठूलो कष्टमा परेकी छन् । भूक्षय, जातिहरूको बिचल्ली र निर्वासन, बालबालिकाको वर्णन गर्न नसकिने शोषण र हत्या, युद्धपिपासु र अन्धशक्तिले उन्मत्त नेताहरूको उदय र तिनका नीतिले ल्याएका ठूला संकट छन् । यी सबै कुराले लोकजीवन र वार्ताहरूमा ठूलो असर परेको छ ।


तर फोकलोर अविनाशी विषय हो, किनभने यो मानिसको भित्री सिर्जनशील शक्तिसँग जोडिएको छ । मानिसको ऊर्जा मिथकको फिनिक्स पंक्षीजस्तो खरानी भएर थुप्रो लागे पनि त्यहीँबाट फेरि पानी हुँदै अनि नाद भएर उही आकारमा उठ्छ । मानिसको यही शक्ति फोकलोरको अन्तर्यमा रहेको छ । यसपालिको फोकलोर कङ्ग्रेसले ‘यो सम्मेलन पनि पहिलेका सम्मेलनहरूझैँ लोकवार्ता, संस्कृति, लोकसाहित्य, समाजशास्त्र, मानवशास्त्र, सङ्गीतशास्त्र, भाषाविज्ञान, पर्यटन, इतिहास, भूगोल, कम्प्युटर विज्ञान, इन्जिनियरिङ जस्ता विभिन्न विधासँग सम्बन्धित शिक्षक, विद्यार्थी, अनुसन्धाता तथा अमूर्त सांस्कृतिक सम्पदाका प्रयोगकर्ता तथा संवाहकहरूको आफ्ना अनुसन्धान, प्रयोग, र वैशिष्ट्यहरूबारे मन्थन गर्ने साझा मञ्च हुनेछ’ भनेर जानकारी दिनुको अन्तर्य त्यही हो ।


नेपालमा लोकवार्ताको अन्तर्यमा रहेको शक्ति यहाँका नरनारी, बालबालिकामा छ भन्ने बुझ्न सक्यौं भने हामीले यसको आन्तरिक गतिशीलतालाई बुझ्छौं । नेपालमा दिनदिनै प्रशासन, सरकार राजनीतिक दलहरू यो लोकवार्ताले प्रतिनिधित्व गरेको शक्तिबाट टाढा हुँदै गएका कैयौं बलिया उदाहरणहरू हामी देख्न सक्छौँ । सिधै नदेखिने तर अन्तर्यमा अत्यन्त प्रभावकारी किसिमले प्रयोग भएका केही विषयलाई हेर्‍यौं भने त्यो प्रस्ट देख्न सकिन्छ । धेरै उदाहरण लिने ठाउँ नभएकोले अहिले भर्खरै सम्पन्न दक्षिण एसियाली देशहरूको खेल वा सागको उदाहरण लिन सक्छौँ । ५१ स्वर्ण पदक र १ सय ९८ अन्य पदक जित्ने नेपाली खेलाडीहरूको सामर्थ्य तिनको निजी सिर्जनशील सामर्थ्य हो । विशद परिस्थितिमा पनि सिर्जनशील नेपाली नरनारी र तिनले बाँचेको लोकजीवन र लयको शक्ति हो त्यो ।


हाम्रा जीवनमा यो विषय अत्यन्त महत्त्वपूर्ण छ । किनकि साधारण नेपाली जनमा रहेको सिर्जनशीलतालाई आफ्नै धुन र आसेपासे पुँजीवादी प्रपञ्चमा व्यस्त सरकार र राजनीतिक दलहरूले बुझ्न नसक्नु एउटा यथार्थ भएको छ । यो अवस्थाले गर्दा खेलाडीहरूसँग नपुगी, तिनका सुख–दु:ख, तालिमसम्म नपुगी, तिनलाई खाने भोजन उपलब्ध छ कि छैन, ती कहाँ बस्छन् आदि कुनै कुराको चिन्ता नलिई, तिनले खेलाडीहरूका सिर्जना एकाएक प्रकट भएर त्यति उत्कृष्ट खेलमा प्रदर्शन गरेको हेरेर मखलेल हुने बाहेक उनीहरूले अरु खासै केही गर्नसकेको देखिएन । द काठमाडौं पोष्ट (२६ मङ्सिर २०७६) मा ‘सागमा सरकार होइन, नेपाली खेलाडीले जितेका हुन् स्वर्ण’, दीपक थापाको लेखमा केही खेलाडी र तिनका सिर्जनशीलनता अनि तिनका पीडाका उदाहरण दिएका छन् ।


उत्कृष्ट खेल खेलेर मेडल जितेका सोनी गुरुङ, कमलबहादुर अधिकारी, काजल श्रेष्ठ, तुलसा खत्री, निमा घर्ती, राजेश मगर, संगीता धामी, संजु चौधरीजस्ता खेलाडीका उल्हाद र विरहका विशेष कथा छन्, यस लेखमा जसबाट हामी लोकवार्ता र शक्ति संरचनाको सम्बन्ध बुझ्न सक्छौं । गौरिका सिंहसहित सबै मेडल जित्नेहरूमा एउटा साझा चरित्र देखियो, त्यो हो सिर्जनशीलता । आफैं आफ्ना अठोट र सिर्जनालाई प्रयोग गरेर खेल्ने तिनीहरू नेपाली नरनारीहरूमा रहेको प्रतिभा र सिर्जनाका प्रतीक हुन् । छोटो समयमा साग आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषद र यसलाई सफल पार्न सहयोग गर्ने र संलग्न सबै बधाईका पात्र हुन् र तिनका आफ्नै कथा होलान् ।


आज फोकलोरमाथिका छलफल, अध्ययन र सहभागिताले माथि भनिएका प्रकट हुन खोजिरहेका सरल र सिर्जनशील कालिक चेतनालाई प्रतिनिधित्व गर्छ । नेपालका लोकसंस्कृति, चलन, कला, संस्कृति र साहित्यका बहुल चरित्र छन् । ती अत्यन्त सिर्जनशील र जीवनमुखी छन् । मानिसहरूले विभिन्न कालमा लोकचेतनाका प्रयोग गरिआएका छन् । अहिले दार्शनिक र साहित्यिक चिन्तनमा सरलता, सिर्जनशील लोकचेतनाका प्रयोग हुनलागेका छन् । जलवायु परिवर्तन र संकट विषयका छलफलहरूले उद्घाटन गर्ने विषय लोकवार्ता नै हो । नेपालको सन्दर्भमा भन्दा नेपालका लोकचलन, संस्कृति र जीवनशैलीमा परिवर्तन आएका छन् । अहिलेको नेपालको सन्दर्भमा लोकवार्ता र सरल जीवनको सिर्जनशील पक्षको पहिचान सबभन्दा आवश्यक विषय हो ।


प्रकाशित : मंसिर २८, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?