कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

दुर्घटनापछिको स्वास्थ्य

प्रकाश बुढाथोकी

सडक दुर्घटनाले विकराल रूप लिँदैछ । यात्राको क्रममा दिनहुँ धेरैले ज्यान गुमाइरहेका छन् । दुर्घटनामा परेर घटनास्थलमै बित्ने त बितिहाले, सख्त घाइतेहरूले पनि तत्काल उपचार नपाउँदा मर्नुपर्ने स्थिति छ ।

अन्तर्राष्ट्रिय मान्यता अनुसार मुख्य राजमार्गमा हरेक ३० किमिमा अर्थात् ३० मिनेटमा तालिम प्राप्त चिकित्सकसहितको राजमार्ग द्रुत उद्धार सेवा हुनुपर्छ । दुघर्टनाको चोट, मानसिक तनाव र शारीरिक असरले गर्दा ठूला एवं मध्यम चोटमा बिरामीको अवस्था अस्पताल लैजाँदा र पुर्‍याइसकेपछि पनि जाँचपड्ताल र अपरेसनको पूर्वतयारी गर्न समय लाग्दा औषधि र रगतसमेत बढी चाहिने बेलामा बिरामीको शरीरमा थप गम्भीर असर पर्न जान्छ । ठाउँ–ठाउँमा दुर्घटना अस्पताल नभएकोले दुर्घटनापछि घाइतेले चाँडै उपचार पाउन नसकी मृत्यु बढेको छ ।


अधिक रक्तस्राव, श्वासनली थुनिएर, टाउकाको गम्भीर चोट भई गिदी फाटेर, गर्धनको सुषुम्ना, नाडी चुँडिएर दुर्घटनाको केही मिनेटमै प्राय:जसोको ज्यान जाने गर्छ । नाक, मुख र घाँटीमा रगत जमेको मात्र छ भने श्वासनलीलाई सफा गरी घाइतेलाई बचाउन सम्भव हुन्छ । बाहिरी रक्तस्रावलाई साधारण शल्यक्रिया गरी कडा पट्टी बाँधेर रोकथाम गर्न सकिन्छ । घटनाको १०–१५ मिनेटसम्म बाँचेकालाई श्वास–प्रश्वास नली रक्षा गरी रक्तस्राव रोकेर बचाउन प्रयास गरे गम्भीर खालको भित्री चोट भएकालाई बाहेक बाहिरी चोट भएकालाई बचाउन सकिन्छ । दुर्घटनामा परि शरीरको भित्री भागमा रक्तस्राव भएकालाई ‘मेजर अपरेसन’ गरेर मात्रै बचाउन सकिन्छ । टाउकाभित्र रगत जमेको, पेटमा साना रक्तनली, फियो र कलेजो एवं पेट र आन्द्रामा चोट लागी रक्तस्राव भएकालाई तुरुन्तै अपरेसन गरे जीवन जोगिन्छ ।


समयमा उपचारको प्रबन्ध गर्न सक्ने हो भने दुर्घटनापछि ठूला हाड भाँचिएका र अधिक रक्तस्राव भएकाहरूलाई घाउको संक्रमणबाट बचाएर जीवन जोगाउन सकिन्छ । चोटपटक वा दुर्घटनाबाट बाहिर निस्केका वा हल्लेका दाँतलाई तुरुन्तै दाँतको घरमा स्थिर बनाई राख्नसके जीवनभरका लागि मुखमै प्राकृतिक दाँत रहन सक्छ । दाँत मुख बाहिर नै निस्केमा पनि सामान्य सलाइन पानीमा राखी अस्पतालमा ल्याइपुर्‍याए सोही दाँत सोही स्थान र अवस्थामा मुखभित्र रोप्न सकिन्छ ।


दुर्घटना स्थलमा उद्धारको क्रममा लड्ने तथा दुर्घटनाका समयमा हातखुट्टा चल्ने वा रिकभर गर्न सकिने हुँदा पनि सामान्य सावधानीको अभावमा झ्याइँकुटी पार्दै बोरा फालेजस्तै एम्बुलेन्स, गाडीमा राख्दा घाइतेको चोट झनै बल्झी अवस्था थप बिग्री घाइते बाँचे पनि जीवनभर ओछ्यान पर्नुपर्ने अवस्था आउने गरेको छ । तसर्थ घाइतेको गर्धन, घाँटी, शरीर, खुट्टालाई हलचल नहुनेगरी सन्तुलित रूपमा उद्धार गरी सावधानीपूर्वक अस्पताल ल्याइएमा धेरैलाई पूर्ववत् अवस्थामै फर्काउन सकिन्छ ।


सडक सुरक्षा सुधार्न सडकको पूर्वाधारमा सुधार आवश्यक छ । सवारी साधनको अवस्था कस्तो छ भनी उच्च प्राविधिक जाँच निकै आवश्यक हुन्छ । हामीसित दुर्घटनामा कमी ल्याउने कानुन नभएका होइनन्, छन् । तर ती कानुनको कडा परिपालना हुन सकिरहेको छैन । राज्यले यसमा कडाइ गर्नुपर्छ । सडक प्रयोगकर्ता चालक, साइकलयात्री र पदयात्रीको अनुशासन र आपत्कालीन उपचार लगायतका विषयमा ध्यान पुर्‍याउन जरुरी छ ।

विकसित मुलुकहरूमा झैँ ‘रोड सेफ्टी अडिट’ पनि आवश्यक हुन्छ । हरेक दिन, महिना, घन्टा नै सडक सुरक्षाबारे सोच्ने एउटा निकायको खाँचो छ । त्यसका लागि सडक बोर्ड बनाउनसके जाती हुन्छ । सडकको सुरक्षा हाम्रो पनि सुरक्षा हो । तसर्थ जबसम्म सडक सुरक्षित हुँदैन, तबसम्म हामी पनि सुरक्षित छैनौं भन्ने सबै सरोकारवालाले मनन गर्नु जरुरी छ ।


बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय सहकोषाध्यक्ष हुन् ।


प्रकाशित : मंसिर २८, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?