कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

हामी यस्तै त हो नि कमरेड !

गंगा बीसी

काठमाडौँ — माफ गर्नुहोला, हामी यस्तै त हो नि कमरेड ! 
दुई तिहाइ सरकारको कुर्सीमा हुनुहुन्छ । छ प्रदेश सरकारमा पनि तपाईहरु नै हुनुहुन्छ । स्थानीय सरकारमा पनि तपाईहरुको वर्चस्व छ । जता पनि तपाईहरु सत्तामा हुनुहुन्छ । सत्तामा भएपछि भत्ता हुने नै भयो । त्यसैले तपाईहरु मत्त हुन भएको छ ।

हामी यस्तै त हो नि कमरेड !

पक्कै पनि तपाईहरुले विगत भुल्नु भएको छैन होला । विगतको चालचलन कार्यशैलीचाहिँ भुल्नु भएको हो । यो कुरा तपाईहरुले देख्न सक्नु हुन्न, दखेर पनि नदेखेझै गर्नुहुन्छ । हामी त देख्छौं ।


हामी देखेको कुरा भन्छौं । हामीले तीतो सत्य बोलेको कुरा भनेको तपाईलाई मन पर्दैन होला । तर पनि हामी यस्तै त हो नि कमरेड ! हामी देखेको कुरा लेख्छौं, भोगेको कुरा बोल्छौं ।


विगतमा तपाईंले धेरै संघर्ष गर्नुभयो । पञ्चायत विरोधी आन्दोलनमा लाग्दा धेरै जेल, नेल, दुःख पाउनु भयो । माओवादी १० वर्षे युद्धमा लाग्दा ज्यानको बाजी पनि लगाउनु भयो । पछिल्लो जनआन्दोलनमा शाही सरकारको लाठी खानुभयो । बिभिन्न आन्दोलनमा तपाईंका धेरै साथी, कार्यकर्ता सहिद भए । केही अझै बेपत्ता नै छन् । मुलुकमा गणतन्त्र, संघीयता ल्याउनमा मुख्य भूमिका तपाईहरुकै छ । तीन तहको सरकार बनाउने डिजाइन पनि तपाईहरुकै हो । गणतन्त्र नेपालको संविधान पनि तपाईहरुले नै लेखेको हो ।


जनताले तपाईका हरेक आन्दोलन, संघर्ष र युद्धमा साथ दिएको घाम जत्तिकै छर्लङ्ग छ । विगतमा गर्नु भएन भनेर हामीले भनेकै छैन । विगतका आन्दोलनमा करमेडले धेरै गर्नुभयो । गरेको कुरा गरेकै भन्छौं, नगरेको कुरा नगरेको भन्छौं । हामी यस्तै त हो नि कमरेड !


विगतमा तपाईको वर्ग के हो ? तपाईले कुन वर्गका लागि आन्दोलन गर्नभुएको थियो ? त्यो भनिरहनु पर्ने कुरा होइन । किनकी तपाईं निम्न र मध्यम वर्गको हितका लागि टाउकोमा कफन बाँधेर संघर्षमा लाग्नु भएको हो । तपाईं पनि त्यही जनताको वर्गबाटै आउनु भएको हो । खासमा जनता र तपाईंको वर्ग एउटै थियो । त्यसैले त जनताले तपाईंलाई साथ सहयोग दिएको भुल्नु भएको छैन होला । समय बदलिँदै गयो, नेपालका नदीनालामा धेरै पानी बग्यो । अचम्मको कुरा करिब २४० वर्ष लामो राजतन्त्रको अन्त्य भयो ।


मुलुकमा वर्गविभाजन भयो भनेर हतियार, झण्डा, डण्डा उठाउने पनि कमरेडहरु हो । हामीलाई लागेको थियो । तपाईले जनता र आफ्नो वर्गको ख्याल गर्नुहुन्छ । सत्तामा पुगेपछि जनताको वर्गलाई उकास्न उद्यम गर्नुहुन्छ । २०४६ सालदेखि हालसम्म कमरेडहरु कुनै न कुनै रुपमा सत्तामा हुनुहुन्छ । जनताले हिसाब किताब राखेका छन्, जनताको घरमा गास र बासमा साथ दिनुहुन्थ्यो । आफूले खाएको थाल आफै धुनुहुन्थ्यो । फोहोर पिंढी देखे बढारकुडार गर्नुहुन्थ्यो । सुख दुःखमा साथ दिनुहुन्थ्यो । सपना देखाउनु हुन्थ्यो, आफूले पनि सपना देख्नु हुन्थ्यो । नेता र जनताको वर्ग छुट्टयाउन गाह्रो हुन्थ्यो त्यतिबेला । जनताको पसिना तपाईँलाई प्रिय लाग्थ्यो, जनताको श्रमको माया लाग्थ्यो । जनता र नेता, कार्यकर्ताबीच नङ र मासुको सम्बन्ध भनेको पनि त्यही हो ।


यो एक दशकयता चाहिँ के भयो के भयो कमरेड ? हामीलाई भाउन्नै भएको छ । हाम्रो कमरेडको वर्ग कसरी राताराभत बदलियो ? जनताको वर्ग किन बदलिएन ? कमरेडलाई जनताको पसिना अप्रिय किन लाग्न थाल्यो ? जनताको श्रमको किन तिरस्कार हुन थाल्यो ? तैपनि पछिल्लो चुनावमा जनताले तपाईहरुलाई जिताए कमरेड । केवल आशा बोकेर ।


हुन त कमरेडहरु बदलिइसक्नु भएको छ । यसमा तपाईहरुलाई यी प्रश्न अप्रिय लाग्नु अनौठो होइन । बहुसंख्यक जनताको वर्गमा कमरेडहरु पर्नुहुन्न भनेर हामी भन्छौं । हामी यस्तै त हो नि कमरेड ! हामी प्रश्न गर्छौ ।


अनौठो लाग्छ कमरेड ! चुनावबाहेक अरु बेला तपाईहरुलाई जनताको खासै माया लाग्दैन । जनता नजिक आएको मन पर्दैन । हिसाब त जनतासँग अझ गहिरोसँग हुन्छ नि ! तपाईको साथ संगत कोसँग छ ? रातारात बिचौलिया भएका र मनग्य कमाएका प्रिय पात्रहरुसँग करमेडको उठबस, डिनर, लन्च हुन्छ । तपाईहरु जनताको भोक र रोगबाट धेरै टाढा हुनुहुन्छ । जनतालाई सय रुपैयाँको मूल्य अथाहा छ । कमरेडलाई करोड रुपैयाँ केही लाग्दैन । किनकी जनताले अभावमा जीवनको मूल्य खोजेका छन् । कमरेडहरुले जनताको मतादेशमा कमाइधन्दा देख्नुहुन्छ । खासमा यो हिसाब त जनतासँग छ नि कमरेड ! देश बदल्न हिँडेका करमेडहरु आफै रातारात कसरी बदलिए ? यो प्रश्न गर्छौं । हामी यस्तै त हो नि कमरेड !


राज्यको पुनर्सरचना भयो । यो असल काम भयो । स्थानीय तहसम्म सरकार पुग्यो । जनतालाई सजिलो भएको छैन भनेर हामीले कहाँ भनेका छौ र ? धेरैतिर कमरेडका जनप्रतिनिधि छन् । केन्द्र, प्रदेश र स्थानीय सरकारका प्रमुख पनि कमरेडहरु नै हुनुहुन्छ । जनता भन्छन्, ‘कमरेडहरु मुखिया पो भए गाँठे ! नमस्कार पनि फर्काउन छाडे है ।’निर्वाचित भएपछि कमरेडको आनीबानीमा आमुल परिवर्तन आयो । हिसाब त जनतासँग हुन्छ नि ! स्थानीय सरकारको साधन स्रोतमा कमरेडकै हातमा आयो । जनताको आवश्यकता र चाहना अनुसार होइन, कमरेडको इच्छाअनुसार काम हुन थाल्यो । अनि साधन स्रोत कमरेडतिरै सोहरियो ।


जनताको वर्ग उही । माथि उक्सेन । कमरेडहरुले कुनै बेला भन्नुहुन्थ्यो, ‘नयाँ बोतल पुरानै रक्सी ।’ यो कुरा त हामी भन्छौ नि ! अहिले नयाँ संघीय नेपालमा कमरेडको कार्यशैली हेर्दा ‘नयाँ बोतलमा पुरानै रक्सी’ जस्तो छ । तपाई तर्क गर्नहुोला, काम भएको छ । अलिकति तीतो भन्नुपर्छ, यदि काम भएको भए विश्वको तुलनामा मुलुक उस्तै गरिब किन हुन्छ ? हो, कमरेडको स्तर बढेको हो । एक जनालाई वर्षभरि चामल किन्न पुग्ने रकमको कमरेडको एउटै कोट जिउमा परेको छ । अरु हिसाब गर्दा कमरेडले एकपटक लगाएको पहिरनले निम्न वर्गको एक परिवारलाई वर्षभरि खाना पुग्छ । संसार बदल्न हिडेका कमरेडको जीवनशैली बदलिएपछि के क्रान्ति पुरा भयो ?


हामी यस्तै हो त करमेड ?


कमरेडको विश्लेषण छ, मुलतः पुँजीवादी क्रान्ति पूरा भयो । कमरेडले संविधान र अरु दस्तावेज बनाउनुभयो, समाजवादउन्मुख बाटोमा अघि बढ्ने भनेर । खासमा हिसाब जनतासँग छ, जुन वाद भने पनि त्यो नेता, कार्यकर्ता कमरेडलाई आएजस्तै भयो । यो व्यवस्थामा जनता बदलिए कि नेता तथा कार्यकर्ता करमेडहरु ? जबकि कमरेडहरुले वर्ग भुल्नुभयो, बाटो भुल्नु भयो । आफू हिँडेको बाटो भुल्नु भयो । अप्ठ्यारोमा बास बसेका कोठा भुल्नु भयो । संकटमा सेल्टर दिएका साथ भुल्नुभयो । भुल्ने पालो त जनताको पनि आउँछ नि ? एक दिन जनताले कमरेडहरुलाई भुल्ने छन् । हामी त यस्तै देख्छौ । हामी यस्तै त हो नि कमरेड !

प्रकाशित : मंसिर २७, २०७६ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?