देखिने र सुनिने नेपाल

टीका ढकाल

नेपाली विदेशनीतिको समकालीन डिस्कोर्समा ‘देखिने र सुनिने नेपाल’ निकै दोहोरिने पदावली बनेको छ । यसको सरलीकृत अर्थ हुन्छ— नेपाल हिजोको एउटा ऐतिहासिक कालखण्डका तुलनामा आजका अन्तर्राष्ट्रिय मञ्चमा बाक्लो गरी उपस्थित हुन थालेको छ र आफ्ना कुराहरू प्रस्ट भन्न थालेको छ । यतिसम्म ठीक छ ।

ZenTravel

यहाँबाट एक कदम माथि जाँदा ‘देखिनु र सुनिनु’ को अर्थ यो पनि हुन्छ— विश्वमञ्चमा नेपालको सहभागिता खोज्न थालिएको छ र नेपालको कुरा अलिक ज्यादा बिक्न थालेको छ । सफल अन्तर्राष्ट्रिय सम्बन्धले पहिलोबाट क्रमश: दोस्रो निहितार्थतिर डोर्‍याउने अभीष्ट राख्छ । सहभागिता र अभिव्यक्ति कूटनीतिका प्रारम्भिक पाइला हुन्, साधन मात्र । नेपाललाई खोज्न थालिनु र नेपालका भनाइहरू एक हदसम्म लागू हुने वातावरण बन्न थाल्नुचाहिँं अन्तर्राष्ट्रिय सम्बन्धका असली साध्य हुन् ।

Meroghar

लामो राजनीतिक संक्रमणले पैदा गरेको अस्थिरताजनित तदर्थवादबाट विदेशनीतिलाई निकालेर स्थायी आधारमा उभ्याउने र वैदेशिक अनुबन्धहरूलाई त्यसै आधारमा सञ्चालन गर्ने प्रक्रिया धेरै लामो छ । अर्थात्, साध्यका रूपमा ‘देखिने र सुनिने नेपाल’ सरकारले आफैलाई दिएको दीर्घकालीन र अप्ठ्यारो लक्ष्य प्रतीत हुन्छ ।

नेपालका सामुन्ने आजको वैदेशिक मामिलामा तीन वटा विशाल मुद्दा (ग्य्रान्ड न्यारेटिभ) उभिएका छन् । देखिने र सुनिने साध्यसम्म पुग्न तिनको विश्लेषण गर्दै पर्गेल्ने प्रयास हुनु अत्यन्त जरुरी छ । नागरिक आन्दोलन र अभिमत दुवैको वैधानिकताद्वारा स्थापित लोकतान्त्रिक प्रणालीको सुदृढीकरण तथा एउटा सम्भावनायुक्त मुलुकका रूपमा नेपाली सपना जोगाइराख्न यी मुद्दासँग जुध्नैपर्ने हुन्छ । हिजोसम्म तिनको स्थगनले यथास्थितिलाई कायम राख्थ्यो । आज नेपालका उत्तरी र दक्षिणी छिमेकमा उदाएको ‘डाइनामिक्स’ ले विश्वव्यापी रूपमा यथास्थिति भत्काइरहेको छ । त्यसैले, यस्ता विषय जीवित रहेसम्म नेपालको नाजुक भूराजनीतिक सन्तुलन अप्रत्याशित परिणामको भयमा तरलीकृत भैरहने देखिन्छ ।

सुरुमै स्पष्ट गरूँ, यहाँ चर्चा गर्न लागिएका मुद्दा आज हठात् उठेका होइनन् । लामो समयदेखि उपस्थित तिनको यथोचित उत्तरचाहिंँ नागरिकले आजै खोज्न थालेका छन्, किनभने नेपालको आन्तरिक राजनीतिमाथि भूराजनीतिक रस्साकस्सीले पार्ने प्रभावलाई बुझ्ने नागरिक सामर्थ्य निरन्तर बढिरहेको छ । विगतमा जुनसुकै कारणले स्थगनमा रहेका वा प्राथमिकतामा नपरेका भए पनि आजको ‘देखिने र सुनिने’ नेपालले यी मुद्दालाई अब सीधा सम्बोधन गर्नुपर्ने समय आइपुगेको छ ।

नेपाली वैदेशिक नीतिको पहिलो विशाल मुद्दा भारतसँग समानतापूर्ण सम्बन्धको खोजी हो । भारतसँग नेपालको द्विपक्षीय सम्बन्धका ‘विशेष’ आयाम छन् । यद्यपि विशेष सम्बन्ध हुनु मात्र समस्यारहित मित्रताको आधार होइन भन्ने तथ्य द्विदेशीय कूटनीतिक इतिहासमा कहिले नेपालले भोग्नुपरेको नाकाबन्दी त कहिले खुला भनिएको सिमानाबाट नेपालतर्फ भित्रिने वस्तु वा सेवाको आंशिक प्रतिबन्धका रूपमा दोहोरिँदै आएको छ । यस्तै व्यवहारको पछिल्लो प्रकटीकरण लिम्पियाधुरा–कालापानी अतिक्रमणलाई समाधान गर्ने सन्दर्भमा व्यक्त भारतीय ‘अनिच्छा’ मा भएको देखिन्छ । नेपाल–भारत सम्बन्धको सत्तरी वर्ष लामो इतिहासमा करिब ६५ वर्षअघिदेखि कायम रहेको यस मुद्दालाई अब उच्च राजनीतिक तहमा छलफल गरौं भन्ने नेपालको चाहना बेवास्ता गर्दै पुरानै तरिकाले कर्मचारीतन्त्रीय संयन्त्रमा छलफल हुनुपर्ने आफ्नो भनाइमा कायम रहेर भारतले आफ्नो हात माथि नै रहेको संकेत गरेको छ ।

ऐतिहासिक प्रमाण तथा अभिलेखहरूले नेपालका पक्षमा बोले पनि आधुनिक कूटनीतिको सञ्चालनमा राष्ट्रहरूको आकार, शक्ति र भौगोलिक सुगमता प्रधान हुने तथ्यलाई पछिल्लो भारतीय शैलीले सम्झाएको मात्र छैन, न्यायिक तर्कका अघिल्तिर शक्तिको उपस्थिति प्रधान हुने अन्तर्राष्ट्रिय प्रणालीको कठोर वास्तविकतासँग नेपाललाई साक्षात्कार पनि गराइदिएको छ ।

सडकमा प्रकट हुने सस्तो राजनीति वा अखबारी विचारमा व्यक्त हुने बासी राजनीतिक आग्रहभन्दा कूटनीतिक दुनियाँ फरक र निर्दयी छ । नेपाल–भारत सम्बन्धबाट इच्छित राजनीतिक लक्ष्य हासिल गर्न भारतले नेपालको भारत निर्भर व्यापारलाई हतियार बनाउने गर्छ भनी मुरलीधर धर्मदासनीले करिब ४५ वर्षअघि लेखेको पुस्तक ‘इन्डियन डिप्लोमेसी इन नेपाल’ मा सप्रमाण उल्लेख गरेका छन् । तीनतिरबाट भारतले घेरिएर भूपरिवेष्टित रहेको नेपालका लागि भारतसँगको एकल निर्भरता तोडेर नयाँ सम्भावना खोजी गर्नु जति आवश्यक छ, द्विपक्षीय सम्बन्धमा हाल कायम रहेको सीमा समस्या सदाका लागि हल गर्नु त्यत्तिकै जरुरी छ । यससँगै जोडिएको अर्को यथार्थ के हो भने, दुई छिमेकी राष्ट्रबीच विद्यमान विवादहरू रातारात हल हुँदैनन् । तर, सिमाना अतिक्रमण जस्ता पुराना मुद्दाहरू थुप्रिंँदै जाने र प्रबुद्ध समूहको प्रतिवेदन जस्ता नयाँ विषय थपिँंदै जाने क्रमले समस्यारहित रहनुपर्ने द्विदेशीय सम्बन्धमा अतिरिक्त बोझ थपिरहेको देखिन्छ । अहिले आएर भारतले भर्खरै लागू गरेको नयाँ नागरिकता प्रावधानले नेपालमा ल्याउन सक्ने असरबारे तत्कालै गरिनुपर्ने विश्लेषण हुन सकिरहेको छैन । भारतसँग सम्बन्धको सहजताले नेपाललाई हेर्ने पश्चिमा दृष्टिकोणको व्यवस्थापन गर्न सहयोग पुग्ने यथार्थलाई समेत मनन गर्दै दिल्लीमा सुनिने र देखिने राजनीतिक–कूटनीतिक पहुँचको निर्माण गर्नुपर्ने ठूलो आवश्यकता खट्किरहेको देखिन्छ ।

नेपालले आज प्रस्ट हुनुपर्ने वैदेशिक मामिलाको दोस्रो ठूलो मुद्दा चीनसँगको सम्बन्ध हो । चीनसँग ‘कनेक्टिभिटी’ बढाएर उसको भौगोलिक क्षेत्र हुँदै समुद्रसम्म पहुँच स्थापित गर्नुपर्छ भन्ने मान्यता भूपरिवेष्टित नेपालको अधिकार हो भन्नेमा नेपालभित्र धेरै समस्या देखिँदैन । विशेष गरी चार वर्षअघिको भारतीय नाकाबन्दीले पीडित भएका नागरिकलाई चीनतिर आशाजनक सम्भावनाको यो बाटो अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले नै देखाएका हुन् । यस बेलाचाहिंँ यो आशा केवल एउटा ‘भिजन’ मात्र हो वा नेपालले चीनलाई यसबारे विश्वासमा लिन सकेको छ भन्नेमा थप स्पष्ट हुनुपर्ने देखिन्छ । हस्ताक्षर भैसकेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ अन्तर्गतका परियोजनाको अवस्था अनिर्णीत रहनु, उत्तरी नाका जोड्न सकिने सडक निर्माणलाई ओझेलमा पारिरहनु, निर्माण गर्न थालिए पनि तिनलाई कमसल र साँघुरो बनाउन खोजिनु तथा चीनसँग द्विपक्षीय सम्झौता भएका पूर्वाधार निर्माण कार्यमा तदारुकता नदेखिनुले यी प्रश्न जन्माएका हुन् ।

नेपालमा अहिले कम्युनिस्ट पार्टीको सरकार छ, त्यसैले ऊ चीनसँग खुल्लमखुल्ला वैचारिक निकटता दर्साउन चाहन्छ भन्ने जबर्जस्त प्रचार विश्वव्यापी रूपमा भैरहेको छ । चीनले आफू विचार निर्यात गर्न नचाहने र नेपालले हाल अँगालेको लोकतान्त्रिक प्रणालीबाट पछि नहट्ने बताइरहे पनि त्यसलाई उति साह्रो सुनिएको देखिँंदैन । यसको अर्थ हुन्छ— बाँकी दुनियाँले निर्माण गर्ने कथ्यको सामना गर्न नेपालको कूटनीतिक बल पुगिरहेको छैन । चीनसँग नयाँ भौतिक कनेक्टिभिटी नेपालको राष्ट्रिय अस्तित्व कायम राख्न अत्यावश्यक तत्त्व हो । स्वतन्त्र भारतसँगको ७० वर्ष लामो एकल निर्भरताले नेपाललाई तन्नम राष्ट्रको दर्जाबाट उठाउन सकेनÙ स्वाभिमानमा बारम्बार आघात पुग्यो । चीनसँगको सम्बन्धले यसलाई तोडेर नयाँ राष्ट्रिय दिशा निर्माण गर्ने सम्भावनाको बाटो खोल्छ । नेपाली वैदेशिक नीतिले यो बृहत्तर दृष्टि राखेर अघि बढ्दा आइपर्ने कूटनीतिक जटिलता तथा भूराजनीतिक कसरतको सटिक जवाफ दिनसक्ने सामर्थ्य विकास गर्नुपर्ने टड्कारो आवश्यकता छ ।

वैदेशिक नीतिको तेस्रो ‘ग्य्रान्ड न्यारेटिभ’ नेपालले सन् १९९६ देखि २००६ सम्म ब्यहोरेको सशस्त्र द्वन्द्वमा भएका मानव अधिकार उल्लंघनका घटनावरिपरि निर्माण भैरहेको छ । द्विपक्षीय स्तरमा मूल रूपले अमेरिका र बेलायत एवं उनीहरूकै सहयोगीका रूपमा जर्मनी लगायतका देशहरू तथा संस्थागत रूपमा युरोपेली युनियन र संयुक्त राष्ट्रसंघले आजको नेपालसँग गर्ने व्यवहारलाई मानव अधिकारको झ्यालबाट निर्देशित गरिरहेका छन्, जसमा द्वन्द्वकालीन मुद्दाहरूको अर्थपूर्ण सम्बोधन नेपालभित्रै हुनुपर्ने विषय प्रमुख बन्न गएको छ । पाँच वर्षयता हरेकजसो अन्तर्राष्ट्रिय मञ्चमा नेपालले स्पष्टीकरण दिनुपरिरहेको वा प्रश्नको सामना गरिरहेको द्वन्द्वोत्तर न्यायको मुद्दा नेपाली कूटनीतिक संयन्त्रले भेउ नपाउँदै नयाँ भूराजनीतिक अस्त्रका रूपमा परिवर्तन भैरहेको छ । यसको अर्थ अबको चरणमा नेपाललाई गरिने व्यवहारसँग मानव अधिकारको मुद्दा एउटा सर्त बनेर उभिने देखिन्छ । वासिङ्टन, न्युयोर्क, जेनेभादेखि लन्डन र पेरिससम्मका अनेक मञ्चमा नेपालको सुसूचित कूटनीतिक कार्य यसवरिपरि केन्द्रित हुन सकिरहेको छैन । आन्तरिक रूपमा यो विषय सम्बोधन गर्ने विश्वसनीय तयारी नभएसम्म कूटनीतिले एक्लै केही गर्न सक्दैन । आगामी फागुनमा हुने मानव अधिकार परिषद्को बैठक सामना गर्नसक्ने अस्त्र नेपालसँग अहिलेसम्म देखिएको छैन, जबकि नेपाल आफै परिषद्को सदस्य पनि हो ।

राजनीतिमा जतिसुकै फरक भए पनि पश्चिमा मुलुकको कूटनीतिक निकटता भारतसँग छ । सैद्धान्तिक रूपले संयुक्त राष्ट्रसंघ सबैको साझा विश्वसंस्था हो । यद्यपि व्यवहारमा चाहिंँ ऊ अमेरिकी नेतृत्वमा पश्चिमको ‘ज्यादा साझा’ हुने गरेको इतिहास छँदै छ । चीनमा कम्युनिस्ट प्रणालीले निर्माण गरेको आर्थिक र सामरिक क्षमताले पश्चिमा वर्चस्व रहेको मूल्य प्रणालीलाई गम्भीर चुनौती दिएपछि यसले प्रतिस्पर्धाको कम्पन पैदा गरेको छ, जसलाई नयाँ भूराजनीतिक तरङ्ग भन्न सकिन्छ । यसको राजनीतिक आयाम अन्तर्राष्ट्रिय सम्बन्धमा बनिरहेका नयाँ समीकरण र व्यापार सम्झौताहरूको अवमूल्यनमा प्रकट भएको छ । कूटनीतिक आयाम राष्ट्रहरूबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय रस्साकस्सीमा प्रकट भैरहेको छ भने, सामरिक आयामचाहिँं इन्डो–प्यासिफिक रणनीतिको पक्ष र विपक्षमा कार्यान्वित देखिंँदै छ । के नेपालले विदेशनीतिका यी तीन वटा ‘ग्य्रान्ड न्यारेटिभ’ भित्र आफूलाई सुनाउन र देखाउन सक्छ ? के हामीले हाम्रो कथन अनुसारको क्षमता बनाउन कोसिस गरेका छौं ? एउटा राष्ट्रका रूपमा स्वाभिमानपूर्वक बाँच्ने बाटो तय गर्न नेपालले यी प्रश्नको जवाफ नखोजी हुँदैन ।
twitter :@TikaDhakaal

प्रकाशित : मंसिर २५, २०७६ ०८:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पितृसत्ताचाहिँ सच्चिनु पर्दैन ?

नारायणी देवकोटा

लगातार दुई घण्टा पढाएपछि कार्यालयमा उभिएरै तातोपानी पिउँदै थिएँ, चिनीको बट्टा देखेपछि ‘चियापत्ती पनि छ कि ?’ भनेर सोधेँ । मेरो बोली भुइँमा नखस्दै एक सरले भन्नुभयो, ‘हामीलाई चिया खुवाउनुहुन्छ ?’ मैले ‘यहाँ तपाईंलाई चिया पकाएर खुवाउन मलाई नियुक्त गरिएको होइन होला’ भनेर जवाफ दिएँ । 

xxx
त्रिविमा समाजशास्त्र विभागले एमएको परीक्षापत्र कसरी जाँच्ने भन्नेबारे एमए पढाउने समाजशास्त्रका लेक्चररहरूबीच छलफल चलाएको थियो । छलफलबाट निस्कँदै गर्दा एक सरले सिनियर मेडमलाई सोधे, ‘तपाईंको ब्यागमा केही खाने कुरा छैन ?’ मेडमले दिक्क मान्दै प्रतिप्रश्न गर्नुभयो, ‘तपाईंले राख्न दिनुभएको थियो र ?’ अनि केही बेरपछि मलाई भन्नुभयो, ‘केटाहरू किन त्यसरी तिम्रो ब्यागमा के खाने कुरा छ भनेर सोध्छन् ?’
xxx
यस्ता घटना उल्लेख गर्दै गए सूची लामै बन्छ । वन मन्त्रालयका महिला कर्मचारीलाई ‘बहिनी’ र पुरुषलाई ‘सर’ भन्ने गरिएको समाचार आएको पनि दुई वर्ष पुग्न लाग्यो । सर र बहिनीको सम्बोधन वन मन्त्रालयमा मात्रै सीमित छैन । आमरूपमा सामान्य लाग्ने यस्ता घटनाले कार्यक्षेत्रमा महिलाहरूलाई दिक्क बनाइरहेका हुन्छन् । अनि आफूभन्दा पुरानासँग रातो मुख लगाएर बाझ्ने वा अँध्यारो मुख लगाएर हिँड्ने अवस्था आउँछ । यस्तो मानसिक अवस्थामा आफ्नो पेसा–व्यवसायबारे छलफल वा कुरा हुँदैन । यस्तै भयो सागमा पनि । सागमा विजय र त्यसमा महिला खेलाडीको अभूतपूर्व सफलताका कथा कुनै पनि नेपाली मन उज्यालो बनाउनलाई पर्याप्त छन् । तर अब्बल महिला खेलाडीहरूलाई केही सञ्चार माध्यमले ‘चेली’ सम्बोधन गरेपछि ‘त्यस्तो सम्बोधन नगरौं न’ भन्ने महिलाहरूको सामान्य अनुरोधमाथि विषवमन गरियो, गरिँदै छ ।

यसरी विषवमन गर्ने बेला जब सामाजिक नैतिकताका न्यायाधीशको भूमिकाको ठेक्का आफूले लिएको सम्झने पितृसत्ताले तर्कले जित्न सक्दैन, तब महिलामाथि सदाबहार आरोप लगाउने गरिएको छ— ‘डलरमा बिकेकाहरू’, ‘डलरको खेती गर्नेहरू’, ‘काम नभएकाहरू’, ‘क्षमता नभएकाहरू’ वा यस्तै, जसको कुनै आधार दिएर पुष्टि गर्नु उनीहरूका लागि बाध्यकारी छैन । अनि महिलाका विषयमा कलम चलाउनेलाई ‘अरू केही नजानेर लेखेको’ भन्ने खालका बहस भइरहन्छन् ।

मैले जागिरे जीवनको सुरुआत राजनीतिक बिट हेर्ने पत्रकारिताबाट गरेँ । एमएको थेसिस विपत्का पीडाहरूलाई पचाउने नेपालीको सामाजिक खुबीमाथि गरेंँ । एमएको थेसिस सक्दै गर्दा लाग्यो— महिलाको पाटो नबुझी समाज बुझिँदैन । अनि मैले महिला अधिकारवादीसँग बसेर दुई वर्ष काम गरेँ । एमफिल सकेर एमएका विद्यार्थीलाई पढाइरहेकी म नेपाली आख्यान, इतिहास, वर्तमान राजनीति र पत्रकारितालाई नजिकबाट नियालिरहेकी पनि छु । सहरीकरण, विपत् र समाजशास्त्रका सिद्धान्तमा एक हदसम्मको दखल राख्छु भन्ने ठान्छु । मेरै अगाडि कसैले मेरो जत्तिको पेसागत ढंग नभएकोलाई ‘तपाईं’ र ‘सर’ भन्दै मलाई ‘तिमी’, ‘बहिनी’ वा ‘चेली’ भन्छ, मलाई रिस उठ्छ । यस्तो धेरै महिलालाई हुन्छ र हामी ‘हामीलाई यस्ता सम्बोधन नगरिदेऊ’ भनी अनुरोध गरिरहन्छौं, कहिले लेखमार्फत, कहिले सामाजिक सञ्जालमा त कहिले प्रत्यक्ष रूपमा ।

आफैले वा आफ्नो समूहले भयंकर ज्ञानी भनिदिएका धेरैलाई लाग्छ— ‘महिला लेखकहरू वा अधिकारकर्मी वा प्राध्यापक महिलाको विषयबाहेक केही पनि जान्दैनन्’ वा ‘महिलाको विषयमा महिलाले नै लेख्नुपर्छ वा बोल्नु वा पढाउनुपर्छ’ । यस्तो धारणाको अन्तर्य हुन्छ— ‘महिलाको विषयमा लेख्न वा बोल्न वा पढाउन कुनै क्षमताको आवश्यकता पर्दैन, जसले पनि लेख्न बोल्न र पढाउन सक्छन्’ अनि ‘महिलाको मुद्दा खास मुद्दै होइन’ ।

मानव सभ्यताको यो चरणमा महिला कसैका दासी, सम्पत्ति वा इज्जत मात्रै होइनन्, उनीहरू आफ्नै खुट्टामा उभिएका सार्वभौम व्यक्ति पनि हुन् । आफ्नो पेसा वा व्यवसायमा आफ्ना प्रतिस्पर्धी सहकर्मीहरूकै हैसियतका मान्छे हुन् । कसैले गरेको सम्बोधन, हाउभाउ वा व्यवहारले आफूलाई दिक्क पारेको, रिस उठाएको वा पीडा पुर्‍याएकोमा यसो नगर भन्ने मात्रै होइन, कानुनी लडाइँ लड्न पनि उनीहरू स्वतन्त्र छन् । तर यो कुरा स्विकार्न आमरूपमा पितृसत्ता तयार छैन । किनभने महिला पनि पुरुष बराबर हुन सक्छन्, उनीहरू दिनभर कार्यालयको काम सकी घर पुगेर घरको काम सकीवरी पितृसत्ताविरुद्ध बाझिरहन सक्छन् भन्ने ऊ कल्पना पनि गर्दैन ।

तर कसैले कल्पना गर्दैमा वा नगर्दैमा परिवर्तनको यो सिलसिला रोकिँदैन कि अझै गहिरिँदै जानेवाला छ । महिलालाई कार्यक्षेत्रमा आरक्षणसहित भर्ना गर्नुपर्ने बाध्यतामा एकातिर सरकार छ भने, समाजको आवश्यकता महिलालाई घरबाहिर निस्केर काममा अब्बल दरिनुपर्ने पनि छ । यसले गर्दा आगामी दिनमा कार्यक्षेत्रमा बिस्तारै महिला पुरुषको हाराहारीमा वा पुरुषभन्दा माथिल्लो पदमा हुने सत्यलाई कसैले रोक्न सक्ने अवस्था पनि छैन । महिलालाई अप्ठेरोमा पार्दैमा वा दिक्क बनाउँदैमा कसैले केही पाउने पनि त होइन होला, गालीको सट्टा गाली, अपमानको बदला अपमानबाहेक ? अनि के पितृसत्ताले आफूलाई सच्याउनचाहिँ मिल्दैन ? हामीले ‘असहज भयो’ भन्दा ‘माफ गर्नुस्’ भन्न सकिँदैन ?

प्रकाशित : मंसिर २५, २०७६ ०८:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×