१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

पितृसत्ताचाहिँ सच्चिनु पर्दैन ?

नारायणी देवकोटा

लगातार दुई घण्टा पढाएपछि कार्यालयमा उभिएरै तातोपानी पिउँदै थिएँ, चिनीको बट्टा देखेपछि ‘चियापत्ती पनि छ कि ?’ भनेर सोधेँ । मेरो बोली भुइँमा नखस्दै एक सरले भन्नुभयो, ‘हामीलाई चिया खुवाउनुहुन्छ ?’ मैले ‘यहाँ तपाईंलाई चिया पकाएर खुवाउन मलाई नियुक्त गरिएको होइन होला’ भनेर जवाफ दिएँ । 

xxx

त्रिविमा समाजशास्त्र विभागले एमएको परीक्षापत्र कसरी जाँच्ने भन्नेबारे एमए पढाउने समाजशास्त्रका लेक्चररहरूबीच छलफल चलाएको थियो । छलफलबाट निस्कँदै गर्दा एक सरले सिनियर मेडमलाई सोधे, ‘तपाईंको ब्यागमा केही खाने कुरा छैन ?’ मेडमले दिक्क मान्दै प्रतिप्रश्न गर्नुभयो, ‘तपाईंले राख्न दिनुभएको थियो र ?’ अनि केही बेरपछि मलाई भन्नुभयो, ‘केटाहरू किन त्यसरी तिम्रो ब्यागमा के खाने कुरा छ भनेर सोध्छन् ?’

xxx

यस्ता घटना उल्लेख गर्दै गए सूची लामै बन्छ । वन मन्त्रालयका महिला कर्मचारीलाई ‘बहिनी’ र पुरुषलाई ‘सर’ भन्ने गरिएको समाचार आएको पनि दुई वर्ष पुग्न लाग्यो । सर र बहिनीको सम्बोधन वन मन्त्रालयमा मात्रै सीमित छैन । आमरूपमा सामान्य लाग्ने यस्ता घटनाले कार्यक्षेत्रमा महिलाहरूलाई दिक्क बनाइरहेका हुन्छन् । अनि आफूभन्दा पुरानासँग रातो मुख लगाएर बाझ्ने वा अँध्यारो मुख लगाएर हिँड्ने अवस्था आउँछ । यस्तो मानसिक अवस्थामा आफ्नो पेसा–व्यवसायबारे छलफल वा कुरा हुँदैन । यस्तै भयो सागमा पनि । सागमा विजय र त्यसमा महिला खेलाडीको अभूतपूर्व सफलताका कथा कुनै पनि नेपाली मन उज्यालो बनाउनलाई पर्याप्त छन् । तर अब्बल महिला खेलाडीहरूलाई केही सञ्चार माध्यमले ‘चेली’ सम्बोधन गरेपछि ‘त्यस्तो सम्बोधन नगरौं न’ भन्ने महिलाहरूको सामान्य अनुरोधमाथि विषवमन गरियो, गरिँदै छ ।


यसरी विषवमन गर्ने बेला जब सामाजिक नैतिकताका न्यायाधीशको भूमिकाको ठेक्का आफूले लिएको सम्झने पितृसत्ताले तर्कले जित्न सक्दैन, तब महिलामाथि सदाबहार आरोप लगाउने गरिएको छ— ‘डलरमा बिकेकाहरू’, ‘डलरको खेती गर्नेहरू’, ‘काम नभएकाहरू’, ‘क्षमता नभएकाहरू’ वा यस्तै, जसको कुनै आधार दिएर पुष्टि गर्नु उनीहरूका लागि बाध्यकारी छैन । अनि महिलाका विषयमा कलम चलाउनेलाई ‘अरू केही नजानेर लेखेको’ भन्ने खालका बहस भइरहन्छन् ।


मैले जागिरे जीवनको सुरुआत राजनीतिक बिट हेर्ने पत्रकारिताबाट गरेँ । एमएको थेसिस विपत्का पीडाहरूलाई पचाउने नेपालीको सामाजिक खुबीमाथि गरेंँ । एमएको थेसिस सक्दै गर्दा लाग्यो— महिलाको पाटो नबुझी समाज बुझिँदैन । अनि मैले महिला अधिकारवादीसँग बसेर दुई वर्ष काम गरेँ । एमफिल सकेर एमएका विद्यार्थीलाई पढाइरहेकी म नेपाली आख्यान, इतिहास, वर्तमान राजनीति र पत्रकारितालाई नजिकबाट नियालिरहेकी पनि छु । सहरीकरण, विपत् र समाजशास्त्रका सिद्धान्तमा एक हदसम्मको दखल राख्छु भन्ने ठान्छु । मेरै अगाडि कसैले मेरो जत्तिको पेसागत ढंग नभएकोलाई ‘तपाईं’ र ‘सर’ भन्दै मलाई ‘तिमी’, ‘बहिनी’ वा ‘चेली’ भन्छ, मलाई रिस उठ्छ । यस्तो धेरै महिलालाई हुन्छ र हामी ‘हामीलाई यस्ता सम्बोधन नगरिदेऊ’ भनी अनुरोध गरिरहन्छौं, कहिले लेखमार्फत, कहिले सामाजिक सञ्जालमा त कहिले प्रत्यक्ष रूपमा ।


आफैले वा आफ्नो समूहले भयंकर ज्ञानी भनिदिएका धेरैलाई लाग्छ— ‘महिला लेखकहरू वा अधिकारकर्मी वा प्राध्यापक महिलाको विषयबाहेक केही पनि जान्दैनन्’ वा ‘महिलाको विषयमा महिलाले नै लेख्नुपर्छ वा बोल्नु वा पढाउनुपर्छ’ । यस्तो धारणाको अन्तर्य हुन्छ— ‘महिलाको विषयमा लेख्न वा बोल्न वा पढाउन कुनै क्षमताको आवश्यकता पर्दैन, जसले पनि लेख्न बोल्न र पढाउन सक्छन्’ अनि ‘महिलाको मुद्दा खास मुद्दै होइन’ ।


मानव सभ्यताको यो चरणमा महिला कसैका दासी, सम्पत्ति वा इज्जत मात्रै होइनन्, उनीहरू आफ्नै खुट्टामा उभिएका सार्वभौम व्यक्ति पनि हुन् । आफ्नो पेसा वा व्यवसायमा आफ्ना प्रतिस्पर्धी सहकर्मीहरूकै हैसियतका मान्छे हुन् । कसैले गरेको सम्बोधन, हाउभाउ वा व्यवहारले आफूलाई दिक्क पारेको, रिस उठाएको वा पीडा पुर्‍याएकोमा यसो नगर भन्ने मात्रै होइन, कानुनी लडाइँ लड्न पनि उनीहरू स्वतन्त्र छन् । तर यो कुरा स्विकार्न आमरूपमा पितृसत्ता तयार छैन । किनभने महिला पनि पुरुष बराबर हुन सक्छन्, उनीहरू दिनभर कार्यालयको काम सकी घर पुगेर घरको काम सकीवरी पितृसत्ताविरुद्ध बाझिरहन सक्छन् भन्ने ऊ कल्पना पनि गर्दैन ।


तर कसैले कल्पना गर्दैमा वा नगर्दैमा परिवर्तनको यो सिलसिला रोकिँदैन कि अझै गहिरिँदै जानेवाला छ । महिलालाई कार्यक्षेत्रमा आरक्षणसहित भर्ना गर्नुपर्ने बाध्यतामा एकातिर सरकार छ भने, समाजको आवश्यकता महिलालाई घरबाहिर निस्केर काममा अब्बल दरिनुपर्ने पनि छ । यसले गर्दा आगामी दिनमा कार्यक्षेत्रमा बिस्तारै महिला पुरुषको हाराहारीमा वा पुरुषभन्दा माथिल्लो पदमा हुने सत्यलाई कसैले रोक्न सक्ने अवस्था पनि छैन । महिलालाई अप्ठेरोमा पार्दैमा वा दिक्क बनाउँदैमा कसैले केही पाउने पनि त होइन होला, गालीको सट्टा गाली, अपमानको बदला अपमानबाहेक ? अनि के पितृसत्ताले आफूलाई सच्याउनचाहिँ मिल्दैन ? हामीले ‘असहज भयो’ भन्दा ‘माफ गर्नुस्’ भन्न सकिँदैन ?


प्रकाशित : मंसिर २५, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?