प्रदूषणबाट जोगिन मास्क

डा. महेन्द्रबहादुर विष्ट

धूलो, धूवाँ, गन्ध र अन्य हानिकारक रासायनिक पदार्थ हावामा अत्यधिक घुलिएको अवस्थालाई प्रदूषण भनिए पनि हामीकहाँ यो वायुमण्डलमा मात्र सीमित छैन, ध्वनि तथा जल प्रदूषणको समस्या पनि उत्तिकै छ । 

ZenTravel

यातायातको चापसँगै सवारी साधनबाट निस्कने, त्यसमा पनि डिजेल इन्जिनको धूवाँबाट हुने घातक प्रदूषणबाट सहरी बासिन्दा ज्यादै पीडित छन् । भारत र चीनमा भएको औद्योगिक लहरले हिमालयलाई प्रदूषित बनाएको, जलवायु परिवर्तनलाई तीव्रता दिएको र हिमालका बादलमा मैलोपन तथा हिउँमा कार्बनका कण देखिएको विज्ञहरू औंल्याउँछन् । गत दुई महिनामा भारतको नयाँ दिल्ली ‘विश्वकै सबभन्दा प्रदूषित सहर’ का रूपमा चिनिएको थियो, जहाँ प्रदूषणको मात्रा ८१० माइक्रोग्राम प्रतिक्युबिक मिटर पुग्यो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सुरक्षित वातावरणको मापदण्ड २५ माइक्रोग्रामभन्दा यो करिब ३०० प्रतिशतभन्दा बढी हो भने, काठमाडौंको अधिकतम प्रदूषणभन्दा ३० गुणा बढी । भारतका धेरै सहर विश्वमै प्रदूषित सूचीमा छन् । नेपालमै तराईका तुलनामा पहाडका सहरहरू स्वच्छ मानिन्छन् ।

Meroghar

केही वर्षअगाडि एसियाली विकास बैंकको आयोजनामा एसियाली मुलुकका २२ सहरमा गरिएको आधिकारिक अध्ययन–अनुसन्धानले वायु प्रदूषणका दृष्टिले काठमाडौंलाई उच्च संवेदनशील सहरको सूचीमा राखेको थियो । डब्लुएचओको मापदण्डभन्दा ६ गुणा बढी प्रदूषण काठमाडौंमा हुने गरेको त्यसले देखाएको थियो । काठमाडौं उपत्यकामा प्रदूषण बढाउनमा थोत्रा सवारी साधन बढी जिम्मेवार छन् । तिनमा कडाइ गरिनु अपरिहार्य भइसकेको छ ।
डब्लुएचओका अनुसार, विश्वमा अकालमा मृत्यु हुने ९ मध्ये १ जनाको ज्यान प्रदूषणले ल्याएको रोग–व्याधि, उच्च रक्तचाप, मुटु, श्वास–प्रश्वास, फोक्सोको क्यान्सर सम्बन्धी बिमारीबाट जाने गरेको छ । प्रदूषणको प्रत्यक्ष असरबाट मृत्यु हुने मानिसको विश्वव्यापी संख्या ४२ लाख छ र अप्रत्यक्ष कारण जोड्दा यो संख्या ७० लाखभन्दा बढी हुन जान्छ । तीमध्ये २९ प्रतिशत मृत्यु फोक्सोको क्यान्सरबाट, १७ प्रतिशत श्वास–प्रश्वास सम्बन्धी रोगका कारण, २४ प्रतिशत हृदयाघात वा मस्तिष्काघातबाट, २५ प्रतिशत मुटुले पर्याप्त अक्सिजन लिन र रक्तसञ्चार गर्न नसक्ने रोग (कोरोनरी हार्ट डिजिज) बाट, ४३ प्रतिशतको मृत्यु फोक्सोले आवश्यक श्वास–प्रश्वासको क्षमता गुमाउने रोग (क्रोनिक अब्स्ट्रक्टिभ पुल्मोनरी डिजिज) बाट हुने गर्छ । वर्षेनि दक्षिणपूर्वी एसिया र प्रशान्त क्षेत्रका ५ लाख ४० हजार मानिस वायु प्रदूषणका कारण ज्यान गुमाउन बाध्य भइरहेका छन् ।

वायुमण्डलमा कार्बन मोनोअक्साइड र नाइट्रोजन अक्साइडको बढी मात्रा, बस–ट्रक तथा भीमकायसहित अन्य गाडीबाट निस्कने धूवाँ सबभन्दा खराब मानिन्छ । पेट्रोलबाट निस्केको धूवाँभन्दा डिजेलको धूवाँ २९ गुणा बढी खराब हुन्छ भन्छन् वैज्ञानिकहरू । ग्यासोलिन वा डिजेल हाइड्रो कार्बनमा आधारित तरल इन्धन हो । डिजेलबाट निस्कने सिसाका अणुहरू सबभन्दा घातक हुन्छन् । प्रायः सहरमा हुने जुलुस प्रदर्शन आदिलाई नियन्त्रण गर्न प्रहरीले चलाउने अश्रुग्यास रासायनिक हतियार नै हो र यसले पनि निकै असर गर्छ । प्रदर्शनकारीहरूले बाल्ने टायर झन् घातक प्रदूषणको कारक हुन्छ ।

खानी उत्खनन, सुरुङ निर्माण, ढुङ्गा तथा धातु, इँटाभट्टा, सिमेन्ट कारखाना वा गोदाम, खाद्य उद्योग तथा गोदाम, ग्लास, सेरामिक्स, रासायनिक वा औषधि कारखाना, रबर कारखाना, पुराना संरचना, भग्नावशेष तथा भवन भत्काउन, खेतीपाती र काठको काम गर्नेहरू एवं बस–ट्रकका चालक वा सहयोगीहरू, साइकलयात्री र पैदल यात्रीहरू धूलो वा धूवाँबाट बढी आक्रान्त हुन्छन् । एक्स–रे मेसिन चलाउने वा अस्पतालको फोहोर उठाउनेहरू गम्भीर जोखिममा परिरहेका हुन्छन् । बेलायतको स्वास्थ्य विभागले जनाए अनुसार, त्यहाँ पनि वर्षेनि ३० हजार मानिसको यसैका कारण ज्यान जान्छ, जुन त्यहाँ हुने मृत्युका मुख्य १० कारणमध्ये एक हो । साइकल जति छिटो चलाइन्छ वा पैदल जति छिटो हिँडिन्छ, त्यति छिटछिटो सास फेर्नुपरेपछि त्यही अनुपातको प्रदूषण हाम्रो रगतमा पुग्छ । वायुका विषाक्त कणहरू श्वास–प्रश्वासद्वारा फोक्सो हुँदै रक्तसञ्चारमा मिसिन्छन् ।

नेपालका सहरी इलाकामा हाल चलिरहेको सडक फराकिलो बनाउने काम अनावश्यक लम्बिएकाले प्रदूषण बढिरहेको छ । जग्गा प्लटिङ, सिमेन्ट उद्योग तथा ओसारपसारको काम पनि वायु प्रदूषण फैलाउने कारक हो । सुत्केरी, शिशु, वृद्धवृद्धा, मुटु र दमका बिरामीहरू प्रदूषणबाट सबभन्दा नराम्रो असर भोग्नेमा पर्छन् ।

प्रदूषणले गर्दा आँखा दुख्ने, रुघा–खोकी लाग्ने, घाँटीको एलर्जी हुने, टाउको दुख्ने वा जीउ भारी हुने, भोक–निद्रा नलाग्ने, शरीर थाक्ने, काममा मन नलाग्ने, तनाव, रिस र आवेग बढ्ने जस्ता तात्कालिक समस्या उत्पन्न हुन्छन् । प्रदूषणले सबभन्दा छिटो नाक, कान, घाँटी र आँखामा असर गर्छ ।

मास्क र अन्य उपाय
नेपाली समाजमा मास्कको उपयोगिताबारे दुई थरी धारणा व्याप्त छन् । धेरैजसोलाई मास्क लगाएपछि प्रदूषणबाट बचिन्छ भन्ने विश्वास छ । कतिपयलाई यसबाट स्वास्थ्यमा कुनै सुधार हुँदैन भन्ने लाग्ने गरेको छ । बीबीसीमा प्रसारित एउटा अध्ययन रिपोर्टमा भनिएको छ— बेइजिङको वातावरणमा गरिएका दुइटा अध्ययनको निष्कर्षमा, गुणस्तर भएको मास्क ठीक तरिकाले लगाउने हो भने प्रदूषणबाट बच्न सकिन्छ र कार्डियोभास्कुलर (मुटुको कार्यप्रणाली सम्बन्धी) असर पनि घटाउन सकिन्छ । पहिलेदेखि नै दम वा श्वास–प्रश्वास सम्बन्धी खराबी रहेका मानिसहरूलाई मास्क लगाएर हिँड्न गाह्रो पर्न सक्छ । लामो दाह्री पालेका मानिस वा ट्राफिक कन्ट्रोलको काममा खटेर सिटी बजाइरहनुपर्ने प्रहरीलाई मास्क लगाउन कठिनाइ हुन्छ ।
मास्क लगाउनु प्रदूषणबाट बच्ने सहज र सरल उपाय हो । मास्क प्रदूषणमा मात्र होइन, जाडो याममा निमोनिया वा रुघाखोकी जस्ता बिमारबाट जोगिन, अस्पतालभित्र र भीडभाडमा लगाउनैपर्छ । खानेकुरा पकाउने वा वितरण गर्ने मानिसले पनि लगाउनुपर्छ । सडकको प्रदूषणबाट बच्ने उपाय मास्क नै हो, जसका कारण गलाको एलर्जी नियन्त्रण गर्न सकिन्छ ।

बजारमा धेरै किसिमका मास्क पाइन्छन् । सामान्य कपडाका मास्क सामान्य प्रदूषण रोक्न मात्र उपयोगी हुन सक्छन् । ज्यादै प्रदूषण हुने काठमाडौं र तराईका कतिपय सहरमा हिँड्दा विशेष किसिमको मास्क लगाउनुपर्छ । त्यस्ता मास्क नेपालका बजारमा पनि पाइन थालेका छन् । वैज्ञानिक तरिकाले बनाइएका गुणस्तरीय मास्कको उपयोगबाट ८० प्रतिशतसम्म प्रदूषणलाई छल्न सकिन्छ । घनीभूत प्रदूषणमा परियो र मास्क लगाइएको छैन भने हातेरुमाल वा गलबन्दी वा सलले भए पनि नाक–मुख छोप्नु उचित हुन्छ । तर औंलाले नाक बन्द गरेर प्रदूषण छल्न खोज्दा अर्को समस्या पैदा हुन सक्छ ।

साइकल चलाउँदा, रिक्सामा सवार हुँदा वा पैदल हिँड्दा प्रदूषण नहुने बाटो रोज्नुपर्छ । सुत्नुअघि मनतातो नुनपानीले टन्सिललाई पनि लाभ पुग्ने गरी कुल्ला गर्ने बानी बसाल्न सके प्रदूषणको असरलाई नियन्त्रण गर्न सकिन्छ । प्रदूषण धेरै हुने बेला घर वा कार्यालयबाट ननिस्कनु पनि यस्तो समस्याबाट बच्ने उचित तरिका हो । प्रदूषणप्रति बेवास्ता गर्नु आफैलाई जोखिममा पार्नु हो ।

विष्ट स्वास्थ्यसेवा विभागका पूर्वमहानिर्देशक हुन् ।

प्रकाशित : मंसिर २४, २०७६ ०८:४८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

चाडपर्वमा स्वास्थ्यरक्षाको चुनौती

डा. महेन्द्रबहादुर विष्ट

दसैंलाई मासुको र तिहारलाई सेलरोटीको चाड मानिन्छ । तर दसैं-तिहारजस्ता चाडपर्वमा यतिमात्र खानेकुरा होइन, धेरै परिकार बनाउने गरिन्छ । यस अवसरमा धेरै चिल्लो र मसलादार परिकार बनाउने गरिन्छ । अघिपछिभन्दा बढी खाने, आफ्नो शरीरमा विद्यमान बिरामी वा अन्य समस्यालाई हेक्का राखेर मन थाम्न नसक्ने र खानेकुराको गुणस्तरप्रति वास्ता नगर्ने प्रवृत्तिले कतिपयलाई चाडपर्व अभिशाप पनि हुनपुग्छ । 


चाडपर्वमा रमाइलो मनाउनु र मजा लिएर खानु सबैको इच्छा हुनसक्छ । तर रमाइलो र मजा लिने भन्दैमा आत्मानुशासन र मर्यादाको सीमा नाघ्दा भोलिपल्टदेखि त्यही समाज वा समुदायमा मुख देखाउन लज्जा उत्पन्न हुने अवस्था आउन पनि सक्छ । चाडपर्वका बेला लापरबाही वा चेतना अभावका कारण जथाभावी खानाले धेरैले बिरामी भएर अस्पताल धाउनुपर्छ ।

त्यस्ता बिरामीहरूमा ‘फुड प्वाइजनिङ’ भएर झाडा-बान्ता भएका, अत्यधिक रक्सी सेवन गरेर सवारी चलाउँदा दुर्घटना गरेर वा रक्सी सेवनपछि झगडा गरेर (गम्भीर) घाइते भएका, बर्जित खानेकुरा खाएर बिमार बढाएका आदि हुने गर्छन् । खासगरी मुटु वा कलेजोका रोगी, मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, उच्च कोलेस्टोरलको समस्या भएका र कमजोर पाचनशक्ति भएकाहरू चाडपर्वका खानपिनबाट सतर्क हुनु जरुरी छ । अजीर्ण, ग्यास्ट्रिक, वान्ता हुनु, पखाला लाग्नु, आउँ पर्नु, टाउको दुख्नु, ज्वरो आउनु, पेट फुल्नु, डकार आउनु आदि समस्या उत्पन्न हुन सक्छन् ।

चाडपर्वमा के, कति र कसरी खाए रमाइलो लिन सकिन्छ भन्ने प्रश्न उठ्छ । हामी नेपाली दसैंका बेला मासु त्यो पनि खसी, राँगा, बंगुर आदि अत्यधिक खान्छौं । यी जनावरबाट रातो मासु (रेड मिट) पाइन्छ, जसको अत्यधिक सेवनले मुटु तथा उच्च रक्तचाप, युरिक एसिड, पेट आदिका बिरामीलाई प्रत्यक्ष असर गर्न सक्छ । यही बेलामा मिठाइ र गालेको अचार आदि पनि धेरै सेवन हुन्छ । स्वस्थ मानिसका लागिसमेत यस्ता परिकार धेरै खाने खालका होइनन् भने बिमार वा समस्या बोकेका मानिसका लागि त सर्वथा बर्जित नै हुन्छ । तरिका मिलाएर यस्ता खाद्यवस्तुको उपभोग गरियो भने त्यति समस्याआउँदैन । यस सन्दर्भमा एउटा चिकित्सकको नाताले केही सल्लाह-सुझाव दिनु पेसागत जिम्मेवारी ठान्छु ।

शारीरिक तयारी : चाडपर्व आउनुभन्दा अघि नै कतिपय परिवारले सस्तो, गुणस्तरयुक्त खानेकुराको जोहो गर्न थालेका हुन्छन् । प्राय: हाम्रा गाउँघरमा यस्तो चलन हुन्छ । उनीहरूले प्राय: स्वस्थकर खानेकुरा बटुलेका हुन्छन् । तर सहरमा चाडपर्व लागेपछि जे पनि बिक्री भइरहेको हुन्छ, क्रेताको भीड हुन्छ । ती चिजको गुणस्तर र मूल्यबारे कसैलाई परवाह हुँदैन । विकसित र समृद्ध मुलुकका समाजमा चाडपर्व आउन थालेपछि शरीरमा कुनै बिमार भएकाहरू स्वास्थ्य जाँच गर्छन् र चिकित्सक तथा आहारविज्ञ (डाइटिसियन) को समेत सल्लाह लिन्छन् ।

के खाने : चाडपर्वका लागि खानेकुरा बनाउँदा परिवारका सदस्यको स्वास्थ्य अवस्था र भेटघाटमा आउने अतिथि र आफन्तको सत्कारका लागि के बनाउने भन्ने कुरामा विवेक पुर्‍याउनुपर्छ । सकेसम्म बजारका रेडिमेड खाद्यवस्तु (जङ्कफुड) किन्नतिर नलागी आफैले बनाउनु राम्रो हुन्छ । किन्नुपरेका वस्तुहरू सस्तो र महँगोका आधारमा होइन, त्यसको गुणस्तरको ग्यारेन्टी र शुद्धताबारे ध्यान दिनु जरुरी हुन्छ । गुणस्तरपछि मूल्यको सवाल जरुरै आउँछ । आजकाल खासगरी सहरी क्षेत्रमा मधुमेह, उच्च रक्तचाप, ग्यास्ट्रिक लगायत पेटका शिकायतहरू व्यापक भइरहेका छन् ।

शारीरिक श्रम गर्ने मानिसहरू त केही हदसम्म चिल्लो पदार्थ, रातो मासु, गरिष्ठ भोजन पचाउन सक्छन् । तर घरभित्र बसेर दिमागी श्रम गर्नेका लागि यस्ता वस्तु पचाउनसमस्या पर्छ । क्यानाडाली स्वास्थ्य विभागको अध्ययनले के देखायो भने भोज खानेहरूले नाच्दा ३ हजार क्यालोरीसम्म पचाउँछन् ।

हाम्रा गाउँघरमा पनि भोज खाएर मादलबजाउँदै नाच्ने चलन छ । स्वास्थ्यको दृष्टिकोणले यो राम्रो हो । पिङ खेल्नु पनि राम्रो हो ।

खानाका परिकार बनाउँदा सकेसम्म हल्का बनाउन बढी ध्यान दिनुपर्छ । खानेकुरामा मुख्य ६ किसिमका स्वाद— गुलियो, अमिलो, तितो, नुनिलो, पिरो र टर्रो हुन्छन् । पाचन प्रणाली र स्वास्थ्यका लागि ६ वटै स्वादको आ-आफ्नै काम छ । त्यसैले ६ वटै स्वादका परिकार खाइयो भने पाचन क्रियाका लागि अनुकूल र हितकर हुनसक्छ ।

कागती, अदुवा, लसुन, धनियाजस्ता औषधीय महत्त्वका खाद्यहरू खाने तरिका अपनायो भने चाडबाडमा खाना पचाउन सजिलो हुन्छ । ताजा कागतीको रस अत्यन्त उपयोगी हुन्छ । कागतीमा सबैजसो भिटामिन, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, पोटासियम तथा लौहतत्त्व हुन्छन् । रुघाखोकी, कफ, अपच, बढी मदिरा सेवन, उच्च रक्तचाप, वाकवाकी, कब्जियत हटाउन यसले राम्रो काम गर्छ । वैज्ञानिक अनुभव पनि छ, कागतीमा मानसिक र भावनात्मक स्वास्थ्य सन्तुलित राख्ने, चिन्ता शान्त गर्ने, दिग्दारी, स्मरणशक्ति र मुड ठीक गर्ने क्षमता छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दसैंको नवरात्र (नौरथा) भरि कागतीको रस, मह मिलाएको तातोपानी र कालो चियाका भरमा निराहार उपवास बस्ने गरेका तर यस वर्ष उपवाससँगै अमेरिकाको भ्रमण गर्ने जानकारीबाट के बुझौं भने यस्ता खाद्यवस्तुमा शरीरलाई चाहिने ताकत भरपूर हुन्छ । बिहान उठेर हामीले पनि यो विधि अपनाउँदा अत्यन्त लाभ हुन्छ ।

हाम्रा खानपिनमा अदुवाको निकै महत्त्व हुन्छ । हामी प्राय: यसलाई मसलाको रूपमा मात्र लिन्छौं । तर यसको औषधीय महत्त्व धेरै छ । पाचन प्रणालीमा रासायनिक प्रक्रिया, मुटु तथा रक्तसञ्चार, रुघाखोकी वा सर्दी, पाचक-तरल पैदा गर्न, वायु-विकार, वाकवाकी आदिमा अदुवा निकै फाइदाजनक भएकाले भोजमा अदुवाको सेवन वेश हुन्छ । पूर्वी पहाडतिर काँचै अदुवालाई कुटेर कागतीको ताजा रसका साथ चटनी बनाएर खाने चलन छ । यो निकै राम्रो तरिका हो ।

लसुन अर्को महत्त्वपूर्ण औषधीय मसला हो । खानाबाट उत्पन्न हुनसक्ने बिकारलाई यसले रोक्छ । रगत बाक्लो हुने, रगत बग्ने धमनीहरूलाई कडा हुन नदिने, उच्च रक्तचाप नियन्त्रण गर्ने, क्यान्सरको सम्भावना घटाउने, कलेजोको संरक्षण गर्ने, शरीरमा प्रतिरक्षा प्रणाली विकसित गर्ने, ब्लड-सुगरको तह घटाउने, ग्यास्ट्रिक नियन्त्रण, भोक जगाउने आदि धेरै काममा लसुन महत्त्वपूर्ण छ । धनिया पनि भोजहरूमा उपयोगी औषधीय मसला हो । हरियो धनियाको चटनी बनाएर सेवन गरे पाचनशक्ति बढाउने र पेटका बिमार, पेट फुल्ने, नसाको दर्दमा उपयोगी हुन्छ । यस्ता चिजहरू काँचै तर कुनै न कुनै परिकारको रूपमा खानु चाडबाडमा शरीरका लागि फाइदाजनक हुन्छ ।

भोजनपछि के गर्ने : रातभरि जुवा-तास खेल्नु, बिहानभरि सुत्नु, व्यायाम वा प्रात: भ्रमण नगर्नु चाडपर्वमा मात्र होइन, अघिपछि पनि एकदमै हानिकारक र जोखिमपूर्ण जीवनशैली हो । चाडपर्वमा धेरै गरिष्ट परिकार खाने हुँदा शारीरिक व्यायाम तथा बिहान एक-आधा घन्टा डुल्नु स्वास्थ्यका लागि जरुरी हुन्छ ।

लेखक स्वास्थ्यसेवा विभागका पूर्व महानिर्देशक हुन् ।

प्रकाशित : आश्विन १३, २०७६ ०८:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×