कोहलपुर काण्डका प्रश्न

सम्पादकीय

बाँकेको कोहलपुरमा आइतबार स्कुल जाँदै गरेकी बालिकालाई ट्रकले किचेर सख्त घाइते बनाएको घटना र त्यसपछि उत्पन्न परिस्थितिले एकसाथ तीनवटा सवाल आम रूपमै उठाएको छ– पहिलो, सडक सुरक्षाको नाजुक अवस्था, दोस्रो, राज्य प्रशासन र कानुनी प्रणालीप्रति डगमगाएको नागरिक भरोसा र तेस्रो, आक्रोशित भीडसँग प्रहरीले गर्ने अनुचित व्यवहार ।

ZenTravel

यी कुनै पनि विषय नयाँ होइनन्, कोहलपुरको घटनामार्फत पुनः प्रकट भएका मात्रै हुन् । राज्य र सरोकारवालाले जति छिटो यी लक्षणहरूउपर आवश्यक मन्थन गरी उपचारात्मक उपायहरू अपनाउनेछन्, यस्ता घटनाहरूको पुनरावृत्ति हुने सम्भावना त्यति नै कम हुनेछ ।

Meroghar

हाम्रो सडक सुरक्षाको बेहाल बताउने उक्त घटना चालकले गर्ने लापरबाहीको चरम नमुना हो । कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई उक्त ट्रकले कोहलपुर चोक नजिकै जेब्राक्रसमै ठक्कर दिएर घिसार्दै परसम्म पुर्‍याएको मात्र थिएन, ‘ब्याक’ गरेरसमेत मार्न लागेको थियो । एकातिर आफ्नो पहिलो अधिकार भएको जेब्राक्रसमै पैदलयात्रु सुरक्षित नहुनु र अर्कोतिर ठक्करले घाइते भएको व्यक्तिको ज्यानै लिन गाडी ब्याक गरेर पुनः किच्न खोज्नुले चालकहरूमा भएको गैरजिम्मेवारी मात्र होइन, आपराधिक मनोवृत्ति पनि देखाउँछ । यसले ‘घाइतेलाई बचाउँदाभन्दा मार्दा सस्तो पर्ने’ राज्यको असंवेदनशील नीतिमाथि पुनर्विचार गर्नुपर्ने खाँचो औंल्याउँछ । र, लापरबाहीका कारण भएका सडक दुर्घटनालाई अरू अपराधसरह व्यवहार गर्नुपर्ने आवश्यकता पनि दर्शाउँछ । कानुन र व्यवहार दुवैमा सुधार गरी चालकहरूलाई यो हदसम्म ओर्लनबाट रोक्नुपर्छ ।

आफ्नो साथीमाथि त्यत्रो घटना भएपछि सहपाठी विद्यार्थी र उनका शिक्षकहरू आक्रोशित हुनु स्वाभाविक थियो । तर उनीहरूले देखाएको आक्रोशको रूप र त्यसप्रति प्रहरीको व्यवहार भने बिल्कुलै अस्वाभाविक र अनुचित देखियो । आक्रोशित विद्यार्थीलाई सम्झाइबुझाइ गर्नुको साटो प्रहरीले कुटपिट गर्दा दुईतर्फी झडपको स्थिति बन्यो । भीड नियन्त्रणमा लिन प्रहरीले सयौं रबरका गोली र अश्रुग्यास प्रहार गर्‍यो । पुरै कोहलपुर क्षेत्र आइतबार दिनभर तनावग्रस्त मात्रै बनेन, कर्फ्यु नै लगाइयो । सर्वसाधारण र विद्यार्थी तथा स्थानीय गरी ४० जना घाइते भए । सोमबार पनि कोहलपुरका सबै विद्यालय बन्द रहे भने घटना भएको स्थल वरिपरि निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

यस्ता हरेक घटनापछि हुने ठूला प्रदर्शनहरूको खास कारण छ– हाम्रो राज्य प्रशासन र कानुनी प्रणालीप्रति नागरिक विश्वास संशयरहित छैन । पीडितले उचित न्याय अर्थात् उपचार/क्षतिपूर्ति नपाउने र पीडक सजिलै उम्किने गरेका दृष्टान्तहरू भएकैले नागरिकहरू विरोधमा उत्रिने गरेका हुन् । उचित दबाब नपुगेमा न्याय आफ्नो पक्षमा हुँदैन भन्ने जुन भावना पीडित पक्षमा पाइन्छ, त्यो नै मुलुकमा विधिको शासनको अवस्था सही छैन भन्ने प्रमाण हो । यदि देशमा कानुन छ, हरेक व्यक्ति तथा घटना कानुनको अधीनमा छन् र त्यो कानुन सबैका लागि समान हुन्छ अनि राज्य संयन्त्रमा पहुँच पुग्नु–नपुग्नु र दबाब दिनु–नदिनुले केही फरक पार्दैन भन्ने आम विश्वास भइदिएको भए नागरिकहरू घरिघरि यस्ता घटनाको विरोधमा सडकमा आउँदै आउँदैनथे । हरेक घटनाको उचित न्याय–निरूपण राज्य संयन्त्रले आफैं गरिहाल्थ्यो । त्यसैले देशको प्रशासन तथा कानुनी प्रणालीप्रति नागरिकहरूको विश्वास बढाउन राज्यले आफ्ना संस्थाहरूलाई निष्पक्ष र पीडित मैत्री बनाउनुको विकल्प छैन ।

यस घटनामा प्रहरी आक्रोशित भीडसँग सही व्यवहार गर्न चुकेको मात्र होइन, अमानवीय पनि देखियो । विरोधमा उत्रिएका कलिला विद्यार्थीहरू उसका लाठीले घाइते बने । आक्रोशित विद्यार्थीलाई सम्झाइबुझाइ गर्नुको साटो दमनमा उत्रँदा भीडको आक्रोश अझ बढेर तनाव लम्बिने तथ्य उसले हेक्का राखेको देखिएन । प्राकृतिक विपत्ति र दुर्घटनामा उद्धारमा सफल भएर स्याबासी कमाउने प्रहरीले यस्तै कार्यमा भने आफ्नो साख गुमाउने गरेको छ । तसर्थ, भीड नियन्त्रणको क्षमता विकासका लागि प्रहरीलाई थप तालिम तथा प्रशिक्षणहरूको खाँचो देखिन्छ ।

प्रकाशित : मंसिर २४, २०७६ ०८:३९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

२० वर्षपछि बक्सिङमा स्वर्ण

कुशल तिमल्सिना

काठमाडौँ — २० वर्षअघि नेपालमै आयोजित आठौं दक्षिण एसियाली खेलकुद (साफ) मा बक्सिङमा नेपालले २ स्वर्ण जितेको हो । त्यतिबेलाका स्वर्ण विजेतामध्ये एक प्रकाश थापामगर अहिले राष्ट्रिय टोलीका प्रशिक्षक छन् । उनकै प्रशिक्षणमा नेपालले बक्सिङमा स्वर्णको भोक मेटाएको छ । 

१३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत बक्सिङतर्फ नेपालले सोमबार २ स्वर्ण जितेको छ । महिला ५४ केजीमुनि स्पर्धामा मीनु गुरुङले पदक खडेरीमात्र तोडिनन् साग इतिहासमै स्वर्ण जित्ने पहिलो महिला बक्सरसमेत बनेकी छन् । सातदोबाटोस्थित कराते हलमा भएको फाइनलमा उनले भारतकी शिक्षालाई ५–० अंकका आधारमा पराजित गरिन् । सेमिफाइनलमा उनले बंगलादेशकी ओनिता मोहम्मद इस्लामलाई अंककै आधारमा
हराएकी थिइन् ।

सोमबार दुई खेलाडीले स्वर्ण जित्दा अरू दुई बक्सर फाइनलमा पराजित हुँदै रजतमा सीमित भए । नेपाली खेलाडीको प्रतिस्पर्धा रिङभित्र जारी रहँदा रिङबाहिर प्रशिक्षक थापामगरको बेचैनी हेर्नलायक थियो । ‘खेलाडी र प्रशिक्षकबीच धेरै कुरामा समानता भए पनि तनावचाहिँ प्रशिक्षक हुँदा बढ्दोरहेछ,’ आठौं साफका स्वर्ण विजेता थापामगरले थपे, ‘खेलाडी फिजिकल्ली र मेन्टल्ली रूपमा राम्रो हुनुपर्छ नत्र भने प्रशिक्षकलाई मानसिक दबाब बढी हुँदोरहेछ । प्रशिक्षक भनेको खेलाडीको बुबाआमा जस्तै हो । उनीहरूको हेरचाह हाम्रो दायित्व हुन्छ । खेलाडीले कतिबेला खान्छ, के खान्छ, कतिबेला सुत्छ, कस्तो प्रशिक्षण गर्छ सबै हेर्नुपर्छ ।’

प्रशिक्षक थापामगरका अनुसार स्वर्ण विजेता मीनु र भूपेन्द्रले फाइनलमा भारतीय प्रतिस्पर्धीविरुद्ध चतुर्‍याइँपूर्वक खेलेका हुन् । ‘विपक्षी बलियो भन्ने थाहा छ, हाम्रा खेलाडीले जसरी खेल्नुपर्ने त्यसैगरी खेले, उनले भने, ‘भूपेन्द्रले आज टेक्निकल रूपमा राम्रो र अग्लो प्रतिस्पर्धीसँग आक्रामक खेल खेले त्यसैले उनलाई स्वर्ण दिलाएको हो । मीनुले दोस्रो र तेस्रो राउन्डमा सम्हालिएर खेलिन् ।’

भूपेन्द्रको बदला
भूपेन्द्रले भारतका मनीष कौशिकलाई अंकका आधारमा ५–० ले पराजित गरेका हुन् । कौशिक विश्व च्याम्पियनसिपमा कांस्य विजेता खेलाडीसमेत हुन् । यसअघि दुईपल्ट भारतीय बक्सरसँग पराजित भएको पीडा र घरेलु दर्शकसामु बदला लिने चुनौतीलाई भूपेन्द्रले पूरा गरे । सेमिफाइनलमा उनले बंगलादेशका मोहम्मद अल अमिनलाई अंककै आधारमा पराजित गरेका थिए ।

‘भारतीय खेलाडीसँग मेरो यो तेस्रो भेट हो । यसअघि इन्डियन ओपन बक्सिङको पहिलो र दोस्रो संस्करणमा भारतसँगै उसैको मैदानमा पराजित भएको थिएँ । अहिले बदला लिएजस्तो महसुस भएको छ,’ फाइनलमा विपक्षीबारे भूपेन्द्रले भने, ‘विश्व च्याम्पियनसिपमा कांस्य जितिसकेको भन्ने थाहा थियो । तर मैले त्यस्तो केही सोचिनँ । मैले के सोचें भने उनी पनि बक्सर हुन् र म पनि बक्सर हुँ । उनले पनि दुई हातले पन्च हान्ने हो, मेरो पनि त्यही हो । आफ्नै रिङमा घरेलु समर्थकमाझ मलाई झन् सजिलो भयो । बक्सिङ खेल्न थालेदेखि नै म विपक्षीसँग डराएको इतिहास छैन ।’

‘होम ग्राउन्डमा एग्रेसिभ खेलिनँ भने जित्न सक्दिनँ भन्ने मलाई थाहा थियो । उनी मभन्दा टेक्निकल रूपमा धेरै राम्रो थिए, त्यसो हुँदा मैले आफ्नो पावर नै देखाउने हो । उनलाई कठिन बनाउने हो,’ आफ्नो जितको राज खोल्दै नेपाल पुलिसका ३० वर्षीय सिपाही भूपेन्द्रले भने, ‘४ महिनाको बन्द प्रशिक्षणमा हामीले २ महिना थाइल्यान्डमा प्रशिक्षण गर्‍यौं । नियमित प्रशिक्षण भयो । उज्वेकिस्तानका प्रशिक्षक आएपछि खेल अझै सुधारियो ।’

भूपेन्द्रले २०६५ सालको पाँचौं राष्ट्रिय खेलकुददेखि बक्सिङका प्रतिस्पर्धा सुरु गरेका हुन् । २०६८ सालदेखि आफ्नो तौलसमूहमा अपराजित छन् । तर सन् २०१६ को १२ औं सागमा भने इन्जुरीका कारण उनी सहभागी हुन पाएनन् । सन् २०१४ को इन्चोन एसियाड, सन् २०१८ को जाकार्ता एसियाड, थाइल्यान्ड ओपन, इन्डोनेसियाको प्रेसिडेन्ट कपमा सहभागिता जनाइसकेका उनका लागि यो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण हो ।

‘योभन्दा अगाडि विदेशमा खेल्न जाँदा अहिलेजस्तो तयारी भएको थिएन । त्यसमाथि घरमै हुन लागेको सागमा आफ्नै घरमा बसेर कुटाइ खानु हुँदैन भनेर अरूलाई समेत भन्दै आएको छु । एउटा ईख राखेर देशका लागि पदक जित्ने अठोट गरेको थिएँ ।’ उनले यही तयारीलाई निरन्तरता दिएर ओलम्पिक छनोटको लक्ष्य बनाएका छन् ।

मीनुको सपना पूरा
आर्मी क्लबकी २९ वर्षीया मीनुले यसपल्ट घरमै भएको सागमा स्वर्ण जित्नुमा तीन वर्षअघिको ईखले काम गरेको छ । सन् २०१६ मा भारतमा भएको १२ औं सागमा कांस्य पदकमा सीमित भएकी उनले त्यतिबेलै अर्कोपल्ट स्वर्ण जित्ने सपना देखिसकेकी थिइन्, उनको सपनामा प्रशिक्षक, विभाग र परिवारले हौसला दिए ।

‘१२ औं सागमा कांस्य जितेपछि पनि नेपालको झन्डा त फहराइएको थियो, तर सबैभन्दा तल थियो । त्यतिबेलै मैले अर्कोपल्ट आफ्नो झन्डा सबैभन्दा माथि पुर्‍याउँछु भन्ने सोच राखेकी थिएँ । यसमा प्रशिक्षकहरूले पनि हौसला दिनुभयो र यो दिन आयो,’ स्वर्ण जितेपछि मीनुले खुसी व्यक्त गरिन् ।

चितवनकी मीनुले सुरुमा कराते खेलिन् । आर्मी क्लबमा अनुबन्ध भएपछि बक्सिङ सुरु गरेकी उनले यसपल्ट फाइनलमा भारतीय प्रतिस्पर्धी हुँदा केही हतोत्साही भएकी थिइन् । भनिन्, ‘विपक्षीले राम्रो खेलेकी हुन् । पहिला पनि भारतसँगै हारेको भएर यसपल्ट पनि सुरुमा अलि नर्भस भएकी थिएँ । तर स्वर्ण जित्ने अठोट कमजोर हुन दिइनँ ।’

मीनुले अहिले बुझेकी छन्, बक्सिङमा सफल हुन शारीरिक रूपमा मात्र बलियो भएर हुने रहेनछ । मानसिक रूपमा पनि निकै तन्दुरुस्त हुनुपर्दोरहेछ । बन्द प्रशिक्षणका क्रममा प्रशिक्षकबाट उनले यही सिकिन् र यस प्रतियोगितामा लागू गर्ने प्रयास गरिन् ।

‘प्रशिक्षणका क्रममा गुरुहरूले निकै हौसला दिनुभएको थियो । हामीलाई मानसिक रूपमा बलियो बनाउनुभएको थियो । बक्सिङ भनेको शारीरिक रूपमा मात्र होइन मानसिक रूपमा पनि खेल्नुपर्छ भन्ने सिकाउनुभएको थियो,’ उनले थपिन्, ‘१२ औं सागभन्दा अहिले धेरै नै सुधार आएको पनि छ किनभने हामीले प्रशिक्षण पनि त्यहीअनुसार गरेका छौं र हामी अनुभवी पनि त भयौं नि ।’

महिला ४८ केजीमुनि तौलसमूहमा ललिता महर्जनले भारतकी कलाइभानी श्रीनिवासनसँग स्पिलिट निर्णयका आधारमा पराजय बेहोरिन् । स्पिलिट भनेको बक्सिङका ५ निर्णायकबीच बहुमतका आधारमा गरिने निर्णय हो । ६० केजीमुनि तौलमा पनि संगीता सुनारले स्पिलिट निर्णयकै आधारमा भारतकी प्रभिनसँग पराजय बेहोरिन् । यसबाहेक पुरुष ४९ केजीमुनि, ५६ केजीमुनि, ७५ केजीमुनि र ९१ केजीमुनि तौलसमूहमा भारतीय खेलाडीले स्वर्ण जिते ।

बक्सिङको अन्तिम दिन मंगलबार ८ तौलसमूहको स्वर्ण छिनोफानो हुनेछ । नेपालले पुरुष ९१ केजीमाथि आशिष दुवाडी, ८१ केजीमाथि गणेश प्रधान, ६० केजीमुनि सनिल शाही तथा महिला ६४ केजीमुनि पुनम रावल र ५१ केजीमुनि माला राईले स्वर्णका लागि भिडन्त गर्नेछन् ।

प्रकाशित : मंसिर २४, २०७६ ०८:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×