कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'बाबा'हरूको यौनलीला र अन्धविश्वास

रामेश्वरी पन्त

काठमाडौँ — यतिखेर महिला हिंसाविरुद्धको सोह्रदिने अभियान चलिरहेको छ । परिणाममुखीभन्दा पनि कर्मकाण्डीय रूपमा हरेक वर्ष खबरमा रहने यो अभियानकै दौरान, आफूलाई सिद्धबाबा भनेर चिनाउँदै आएका कथित धर्मगुरुबाट बलात्कृत भएको भनेर एक महिलाले प्रहरीमा जाहेरी दिएपछि फेरि एक पटक धर्मका ठेकेदार कथित ‘बाबा’ को घृणित यौनजीवन सतहमा आएको छ ।

समाजमा आफूलाई धर्मका सबैभन्दा ठूला ठेकेदार सम्झँदै महान् सन्त, ऋषि–महर्षि, ध्यानी, योगी सिद्धबाबा भएको देखाएर एकातिर आडम्बरयुक्त जीवन बाँच्ने र अर्कातिर त्यही धर्मको आड लिएर महिलाको यौन शोषण गर्दै विकृत यौनजीवन बाँच्ने ‘बाबा’ हरू प्रायः धर्ममा छन् ।


पौराणिक कालका विद्वान् ऋषि–महर्षि होऊन् वा आजका आशाराम, रामबहादुर बमजन वा टुल्कु लामा, अथवा यति बेला चर्चामा आएका कृष्णदास, सबै बलात्कारको अभियोग र आरोपले डामिए । हुन त धर्मको आडमा भएका यौन विकृतिबारे कुरा गर्दा ‘धर्मविरोधी’ को आरोप खेप्नुपर्नेछ, तर पनि हामीले पढ्दै र सुन्दै आएका कैयौं पुराण र धर्मकथामा सगर्व उल्लेख भएका महान् आत्माहरूको यौनलीलाका केही प्रतिनिधि उदाहरण दिनु सान्दर्भिक हुन सक्छ ।


यौनको आवेग र शक्तिको अहम्लाई नियन्त्रण गर्न नसक्दा अर्काकी पत्नीदेखि आफ्नै पुत्रीसम्मलाई नछोडेका भनिएका ‘देवता’ पुजेर हामी धन्य छौं । आफ्नो जीवनभरको तपस्या र योगलाई दाउमा राखी नारी देहमा डुबुल्की मारेर तृप्त बनेका केही महान् ऋर्षि–महर्षिबारे कथा लेखिएका छन् ।


माझीकी छोरी मत्स्यगन्धालाई वशीकरण गरेर सखारै डुङ्गामा बलात्कार गर्ने ऋषि पराशर, नर्तकी मेनकाको रूप र देहमा सारा तपोबल खन्याउने ऋषि विश्वामित्र, आफ्नी भाउजूलाई बलात्कार गर्ने देवगुरु भनिएका बृहस्पति सबै यस्तै उदाहरण हुन् । धर्मकथाका नाममा यस्तै कुकृत्यलाई सगर्व समाजले वाचन गर्दै आयो र आइरहेको छ ।


यस्तै–यस्ताहरूलाई महान् ठान्दै आइएकाले आशाराम, रामबहादुर, टुल्कु र कृष्णदासहरूको शक्ति र महिमा बढिरह्यो । यिनकै भक्तिमा लीन हुनेहरूको भीड सधैं लागिरह्यो र त्यो भीडमा सबैभन्दा बढी देखिए महिलाहरू नै ।


यिनैको भीडमा सबैभन्दा बढी चर्चित रहेको आशारामको तस्बिरलाई गलामा भिरेर आफूलाई धन्य सम्झेका महिलाहरूको भीड भारत र नेपालमा प्रशस्तै रह्यो । जब उसको असली तस्बिर बाहिर आयो, त्यसपछि ती महिलाले के सोचे होलान् कुन्नि ! भक्तिको आडमा महिलाको यौनशोषण गर्ने आशारामले जेलको हावा खाइरहेको छ । तर पनि कैयौं आशाराम विभिन्न नाममा जन्मेका जन्म्यै छन् र धर्मको खोल ओढेर यौनलीलामा रमाइरहेका छन् ।


यही क्रममा भर्खर कृष्णदासको जन्म भएको छ । यौनको उन्मादमा आफ्नो जीवनभरको साख दाउमा राख्ने ‘कृष्ण’ हरू कहिले धर्मको शक्तिमा उदाउँछन् त कहिले राजनीतिको । केही समयअघि मात्र एक शक्तिशाली कृष्ण यौनहिंसा आरोपमा खोरमा पुगेका छन् भने अहिले अर्का कृष्ण । यी पछिल्ला कृष्णलाई पनि राजनीतिक शक्तिको भक्तिले बलियो बनाएको देखियो । किनकि यस्ता कृष्णको आशीर्वाद लिन र चरणामृत पान गरी ‘धन्य’ बन्न थुप्रै राजनीतिकर्मीको लाम लागेको पनि सुन्नमा आइरहेको छ ।


यौन अपराधकै आरोप लागेका अर्का ‘तपस्वी’ रामबहादुर बमजन यति बेला कहाँ छन्, थाहा छैन । उनलाई पक्रन आदेश पाएकाहरू निरीह बनेर बसिरहेका छन् । सुनिन्छ, राजनीतिक शक्तिको आडमा उनलाई ‘फरार’ गराइयो । केही समयअघि गुम्बाकै एक महिलालाई बलात्कार गरेको आरोपमा टुल्कु लामा पनि जेल पुगे । त्यसो त भर्खरै एउटा कहलिएको अस्पतालका एक डाक्टरले बिरामी महिलालाई बलात्कार प्रयास गरेको खबर चर्चामा आएको छ । लामा, झाँक्री, साधु, सन्तजस्ता ढोंगीहरू मात्र होइन, वर्षौंसम्म मरीमरी पढेर बिरामीको ज्यान बचाउन डाक्टर बनेकाहरू नै पनि यौन उन्मादलाई लगाम लगाउन नसक्दा पतित बन्न पुग्नुले समाजमा ‘कसलाई विश्वास गर्ने ?’ भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो ।


महिलाका कुरा

महिला हिंसाको प्रसंग निस्किँदा सबैभन्दा पहिले बलात्कारकै कुरा आउँछ । ससाना नानीहरूदेखि वृद्धासम्म बलात्कारको सिकार हुने गरेका छन् । तर केही यस्ता घटना बाहिर आउँछन्, जसमा महिलाहरू आफैले विश्वास गरेका, भगवान् ठानेका तथा पूजा गरेका व्यक्ति (जस्तो– आशाराम, रामबहादुर, टुल्कु, कृष्णदास) आदिबाट बलात्कृत भएर अन्ततः प्रहरीको शरणमा पुग्छन् । अन्धभक्ति वा अन्धविश्वास नै महिलाहरूको ठूलो कमजोरी हो ।


खासमा धर्मले महिलाहरूलाई सबैभन्दा बढी कमजोर बनाएको छ । आफू र आफ्नो शक्ति चिन्न नसकेर अर्को कुनै अलौकिक शक्तिको खोजीमा ‘बाबा’ हरूको शरणमा पुग्नु र उनीहरूलाई नै ‘भगवान्’ ठानेर अहोरात्र तिनकै सेवा र भक्तिमा लीन हुनुको परिणाम हो— कथित बाबा र लामा–झाँक्रीबाट यौन शोषण ।


कृष्णदास र पीडित भनिएकी महिलाको सम्बन्धबारे पढ्दा र सुन्दा कृष्णदासप्रतिको ती महिलाको आसक्ति पनि कम देखिँदैन । आफ्नो घर, परिवार र सारा जिन्दगी दाउमा लगाएर यस्ता ‘फुस्रे’ हरूको पछि लागेकैले यस्ता घटना हुने गरेकाले यसमा महिलाहरू पनि कम जिम्मेवार देखिँदैनन् । समाजमा यस्ता घटना भएपिच्छे पाठ सिक्दै जानुपर्छ । अहिलेका महिला अबुझ र अनपढ सायदै हुन्छन्, तैपनि उनीहरू यस्ता कुरामा सचेत बन्न नसक्दा शोषित–पीडित हुन पुग्छन् ।


धार्मिक विषयमा अहिले सबैभन्दा बढी चर्चामा आइरहने शब्द हो— आत्मज्ञान । यही आत्मज्ञान खोज्ने लहडमा पुरुषभन्दा बढी महिला आँखा चिम्लेर बाबाहरूको शरणमा पुग्ने गर्छन् । उनीहरूको चरणस्पर्श गरेर आफू धन्य भएको ठान्छन् । तिनैलाई परमात्मा परमेश्वर ठानी तिनका तस्बिर गलामा सजाएर हिँड्छन् । उनीहरूलाई हेक्का छैन, सबैभन्दा ठूलो ‘आत्मज्ञान’ त आफैसँग हुन्छ र आफ्नै आत्माबाट आफैले त्यो ज्ञान लिन जान्नुपर्छ !


जबसम्म महिलामा यो चेत आउँदैन, जबसम्म अन्धभक्तिबाट मुक्त हुँदैनन्, तबसम्म उनीहरूको कमजोरीको फाइदा यस्ता ढोंगी बाबाहरूले उठाइरहन्छन् र महिलाहरू शोषणमा परिरहन्छन् । अनि फेरि, यस्तो शोषणलाई ‘गुरुकृपा’ वा आशीर्वाद ठान्दै महिलाहरू चुप लागिरहन्छन् । बाहिर आउने घटना त नगण्य हुन्छन् । त्यसैले यस्ता घटनाबाट पाठ सिकेर सचेत बन्न, आफूमाथिको शोषणविरुद्ध बोल्न र प्रतिकार गर्न हिम्मत जुटाउन सके यौनजन्य हिंसाबाट जोगिन सकिन्छ ।


समाजमा दुई थरी अनुहार लिएर बाँचिरहेका यस्ता ढोंगीहरू (चाहे धर्मको आड लिएका होऊन् या राजनीतिको) का यौनलीला जब बाहिर आउँछन्, तब यिनको रुवाबासी चल्छ । यिनलाई जोगाउन र चोख्याउन यिनका भरौटेहरूको दौडधुप चल्छ । यस्ताहरू झ्यालखानासम्म पुग्नु त भवितव्य हो, नत्र यस्ता कैयौं यौनपिपासुलाई धर्म र राजनीति दुवैले सुनपानी छर्किदिन्छन् अनि हाम्रो समाजले ‘जयगान’ गर्न थाल्छ ।


अझ ठूलो दुर्भाग्य त के भने, पछिल्लो समयमा बलात्कारका घटनामा मुछिएका ‘ठूला’ हरूलाई अस्पतालले शरण दिन थालेको छ । आफ्नो कुकर्म बाहिर आएपछि रन्थनिँदै बिरामीको बहाना पारेर अस्पताल पुगेका यौन अपराधीहरूको लर्को देख्दा लाग्न थालेको छ— अचेल अस्पतालहरूले बिरामीको उपचार गर्छन् कि बलात्कारीको ?


प्रकाशित : मंसिर २३, २०७६ ०८:४५

प्रतिक्रिया
पठाउनुहोस्

कोरम नपुग्ने डरले बस्दैनन् संसदीय समितिका बैठक

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसद्का समितिहरूका बैठक गणपूरक संख्या (कोरम) नपुगेका कारण स्थगित हुने गरेका छन् । कतिपय समितिले कोरम नपुग्ने डरले बैठक बोलाउनै सकेका छैनन् । गृहजिल्ला गएका सांसद नफर्केकाले गणपुरक संख्या नपुगेको संघीय सचिवालयले जनाएको छ । 

तस्बिरः इलिट जोशी

समितिका सदस्यहरू मन्त्री नियुक्त भएको र निवर्तमान मन्त्रीहरूको समिति तोकिन बाँकी रहेकाले पनि गणपूरक संख्या पुर्‍याउन हम्मे परेको छ । गणपूरक संख्या नपुगेर अर्थ समितिको दुई पटक र उपसमितिको बैठक एक पटक स्थगित भएका छन् । ‘बैठक फेरि राख्ने कोसिस गरिरहेका छौं,’ अर्थ समितिका सचिव सुरेन्द्र अर्यालले भने, ‘समितिमा बिमा र लगानीसम्बन्धी दुई विधेयक विचाराधीन छन् ।’ घनश्याम भुसाल र मोतीलाल दुगड मन्त्री बनेपछि उक्त समितिमा सदस्य संख्या घटेको छ ।

गणपूरक संख्या नपुगेकै कारण सार्वजनिक लेखा समितिको बैठक बस्न सकेको छैन । सदस्यहरू हृदयेश त्रिपाठी, लेखराज भट्ट र वसन्तकुमार नेम्वाङ मन्त्री भएका छन् । ‘नियमित उपस्थित हुने सांसद मन्त्री भएपछि कोरम पुर्‍याउन कठिन भएको छ,’ सभापति भरतकुमार शाहले भने । समितिमा सिमेन्टको गुणस्तर निर्धारणमा उद्योग मन्त्रालयले गरेको निर्णय, प्राधिकरणको ट्रंक र डेडिकेटेड लाइनको महसुल सम्बन्धमा उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्नुपर्नेछ ।

संघीय संसद्का १६ समितिमा १० वटा विधेयक विचाराधीन छन् । संसद् अन्त्य भएपछि शिक्षा तथा स्वास्थ्य समितिको बैठक बुधबार पहिलो पटक बसेको थियो । समितिका एक कर्मचारीले भने, ‘कोरम नपुग्ने भएपछि बैठक राख्न कठिन भएको हो ।’ विकास तथा प्रविधि समितिको पनि बैठक बसेको छैन ।

‘छलफल गर्नुपर्ने विषय छन्, माननीयज्यूहरू बाहिर हुनुभएकाले तत्काल बैठक बस्न सकिएको छैन,’ सभापति पवित्रा निरौला खरेलले भनिन् । राज्य व्यवस्था समितिको बैठक सञ्चालन भइरहे पनि गणपूरक संख्या मुस्किलले पुग्ने गरेको छ । समितिमा ढिलो उपस्थित हुने र छलफलमा भाग नै नलिई सांसदहरू हिँड्ने गर्छन् ।

प्रकाशित : मंसिर २३, २०७६ ०८:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×