प्रश्नको सत्ता

डेटलाइन तराई
चन्द्रकिशोर

काठमाडौँ — एक भारतीय उद्योगपतिले सत्तासामु प्रश्न तेर्साएको सन्दर्भ अहिले भारतमा चर्चामा छ । आर्थिक जगतका एक अगुवाले शान्त पोखरीमा ढुंगा फाले । गृहमन्त्री अमित शाहको उपस्थितिमै एक सार्वजनिक कार्यक्रममा उद्योगी राहुल बजाजले भने, ‘मान्छेहरू सरकारको आलोचना गर्न डराउँछन् । युपीए २ को सरकारका बेला जसको पनि आलोचना गर्न सकिन्थ्यो, तर अहिले हामीलाई विश्वास छैन कि यदि हामीले खुला रूपमा आलोचना गर्‍यौं भने तपाईंहरू यसलाई मनपराउनु हुन्छ ।’

ZenTravel

लामो समयदेखि एउटा ठूलो वृत्तमा उकुस–मुकुस भइरहेको कुरालाई राहुलले अभिव्यक्त गरेका थिए ।

Meroghar

राहुल बजाजका हजुरबुबा जमनालाल बजाजलाई महात्मा गान्धी आफ्नो पांँचौं सन्तान मान्थे । उनको भारतीय स्वतन्त्रता संघर्षमा समेत सहभागिता थियो । भनिन्छ, सन् १९३८ मा जमनालाल राजस्थानको अनिकालग्रस्त क्षेत्रमा राहत सहयोग लिएर पुगे । ब्रिटिस उपनिवेशकालमा त्यो क्षेत्र जयपुर रियासत अन्तर्गत थियो । जब उनी सबाई माधोपुर स्टेसनमा ओर्ले, त्यहाँ एक अंग्रेज पदाधिकारीले उनलाई रोके ।

ती पदाधिकारीले एक पत्र देखाए, जसमा भनिएको थियो— जमनालाल जयपुरको सीमामा प्रवेश गर्न सक्दैन, किनभने उसले त्यस क्षेत्रमा अशान्ति निम्त्याउँछ । पत्र हेरेपछि जमनालालले भने, ‘म यसै रियासतमा जन्मिएको हुँ । म आफ्नै क्षेत्रका लागि कसरी खतरा हुन सक्छु ? बरू मलाई पत्र लेख्ने अधिकारी विदेशी हुन् । तसर्थ म आदेशको अवज्ञा गर्छु ।’

त्यस्तो जवाफ सुनेर ती अंग्रेज पदाधिकारी हेरेको हेर्‍यै भएका थिए भनिन्छ । त्यस घटनाको ८० वर्षपछि नाति बजाजको कुरा सुनेर अंग्रेज पदाधिकारीजस्तै दिल्लीको सत्ता हेरेको हेर्‍यै भयो । जबकि राहुल एक दशकपूर्व सत्तारूढ भारतीय जनता पार्टीको सहयोगमा राज्यसभामा पुगेका दिए ।

राहुलले बोलेपछि अरू उद्योगीहरूले समेत विस्तारै मुख फोर्न थालेका छन् । यस प्रकरणले स्थापित गरेको तथ्य के हो भने मोदीको शक्तिशाली सत्ताले एउटा यस्तो माहोल खडा गरेको छ, जहाँ आलोचना गर्नेहरू डराउँछन् । अर्को, शीर्ष नेतृत्वसम्म पुग्न छेकबार लगाइएको छ । यस्तो छेकबार प्रायः स्वयं शक्तिकेन्द्रको संकेतमा हुन्छ ।

उनका भक्तहरू विपरीत स्वरलाई सुन्नै चाहँदैनन् । उनीहरू शीर्ष सामुन्ने त्यही सुनाउँछन्, जे तिनलाई प्रिय
लाग्छ । यसमा कार्यकर्ता मात्र हुँदैनन्, प्रशासन र सुरक्षातन्त्रका कर्मचारीहरू पनि हुन्छन् । उद्योगी, व्यवसायी र बौद्धिकहरू पनि हुन्छन् । यस्तै परिदृश्यका लागि कुनै बखत विद्रोही कवि गोरख पाण्डेयले कोरेका थिए, ‘राजा बोला रात है /... सब बोले रात है / यह सुबह–सुबह की बात है ।’

सत्ता नायकभन्दा पनि तिनीहरू बढी जिम्मेदार हुन्, जसले भुइँया (भुइँतह) र फुनगी (टुप्पो) का बीच घेरा हाल्छन् । सत्ता मोहमा जेलिएको त्यो जमातले प्रत्येक सत्तासंँग आफ्नो स्पेस बनाउंँछ । सत्ता बिना तिनको काम चल्दैन वा सत्ताको संसर्गले तिनीहरू आफ्नो हित प्रबर्द्धन गर्छन् । यहांँनिर जुलियस बान्सरको उक्ति मननीय हुन्छ, ‘सबभन्दा ठूलो देशभक्ति आफ्नो देशलाई यो बताउनु हो कि कहिले सरकारले तपाईसँंग नीचतापूर्ण, मूर्खतापूर्ण र दोषपूर्ण व्यवहार गरिरहेको छ ।’ जनहितलाई हेरेर यथार्थ बाहिर ल्याउनेलाई नै बिरालोको घाँंटीमा घन्टीझुन्ड्याउन आँट गर्ने मानिन्छ । तर यो बाटो सहज छैन । सत्ताभन्दा पनि उसले पालेका अरिंगालहरूले पहिला टोक्न सुरु गर्छन् ।

कसैले प्रश्न गर्ने बित्तिकै यो त उडन्ते र बतासे हो भनेर आक्षेप लगाउँछन् । ‘सोसल ट्रायल’ गर्न थालिन्छ । उसको निष्ठा र नियतमाथि भ्रम फिँजाइन्छ । यो काम यति सुव्यवस्थित तवरबाट गरिन्छ कि सत्य यही हो भनेर सामान्य मान्छेलाई लाग्न थाल्छ ।

सत्तालाई प्रश्न गर्नु चानचुने कुरा होइन । किनभने सत्ताले जवाफ दिनुभन्दा पनि प्रश्नकर्तासँग प्रमाण खोज्न थाल्छ । लोकतन्त्रमा सामान्य जनले शंका व्यक्त गर्न सक्छ, पाउनुपर्छ । मिडियाले भुइँस्वरको चिन्तालाई आवाज दिन खोज्छ । यस्तोमा मिडियालाई चुनौती दिनुभन्दा सत्य–तथ्य बाहिर ल्याउने काम सरकारी पक्षको हो । तर जनताको मतबाट चुनिएको सरकारले जनताको थाहा पाउने अधिकारलाई उपेक्षा गर्छ । सरकारआफ्नो क्रियाकलाप पनि पारदर्शी राख्दैन, आफ्नो अनुकूल सूचनाको व्यापार गर्छ, तर दोष प्रश्नकर्तालाई दिन्छ ।

अर्को सवाल प्रश्नकर्तासामु सत्ताका भक्तहरूले डर, त्रासको वातावरण बनाइदिन्छन् । अनि सोच्न बाध्य बनाइन्छ, स्थायी तन्त्रले चाह्यो भने कसैको पनि कमजोरी समातेर हैरान पार्न सक्छ । यो मनोविज्ञान सबैतिर व्याप्त हुन्छ । काल्पनिक डरको तार वास्तविक डरसँग जोडिएको हुन्छ । महात्मा गान्धी भन्थे, ‘सत्य बोल्न पहिला आफैसँग संघर्ष गर्नुपर्छ । आफूभित्रका डरसँग जुध्नुपर्छ ।’ हो, गान्धीले भनेझैं सर्वसत्तावादी सत्ताले होशियारीसाथ डरको माहोल बनाउँछ । किनभने निर्वाचित सरकारलाई लोकतान्त्रिक अनुहार पनि जोगाउनुपर्ने हुन्छ ।

मधेसको सीमान्त सहरबाट हेर्दा नेपालको संघीय राजधानी काठमाडौं अनुदार लाग्छ । काठमाडौंको सत्ताले आफ्नो अहम्को सामुन्ने असहमतिको स्वरलाई हेप्छ भन्ने लाग्छ । तर दक्षिण एसियाको अन्य मुलुकतिर बुझ्दा तुलनात्मक रूपमा काठमाडौंले अझै सहिष्णुता जोगाएको छ । अभिव्यक्तिको स्वतन्त्रतालाई कुनै राजनीतिक भूगोलमा मात्र सीमित गर्न सकिँंदैन । मूलपक्ष काठमाडौंमा बसेर सत्ताको आलोचना गर्ने वातावरणका साथै दिल्ली वा बेइजिङप्रति असहमति राख्न सक्छौं कि सक्दैनौं ? यस्तो सहजता अरूतिर छ कि छैन ?

मान्छे प्रकृतिको एकमात्र यस्तो कृति हो, जो शब्दका माध्यमबाट आफ्नो सोच, भावना र अनुभवलाई अभिव्यक्त गर्न सक्छ । यो अभिव्यक्ति सामर्थ्यको आधार मानव जीवनको ज्ञानको आधार पनि हो । मान्छेको ज्ञान उसको आफ्नै र अरुका अभिव्यक्तिको माध्यमबाट अगाडि बढ्छ । अनुभूतिको माध्यमबाट उसले निजी तवरमा परिस्थितिलाई बुझ्छ र अभिव्यक्तिको माध्यमबाट उसले आफ्नो बुझाइ र ठम्याइलाई अरू समक्ष पस्किन्छ । अभिव्यक्तिका कैयौं माध्यम छन् । भाषा एउटा सशक्त माध्यम हो । अहिलेका शासकहरू आफूलाई चुनौती दिने अभिव्यक्ति मनपराउँदैनन् ।

बिहार, पटनाका अधिकारकर्मी अशोक प्रियदर्शी भन्छन्, ‘कुनै बखत विहारका लालुप्रसाद यादव हुन् वा उत्तरप्रदेशकी मायावती र मुलायम सिंहको सामाजिक न्यायको अन्धलहर चलेको बखत तिनीहरूप्रति आलोचना गर्दा समर्थकहरू झम्टिन्थे, जसरी अहिले मोदीका लागि झम्टिन्छन् । विगतमा बिहार वा उत्तरप्रदेशमा आममानिसको दिनहुँको समस्या र सरोकारको सही व्यवस्थापन नहुँदा शासकीय ओज हराउँदै गयो । मोदीको दोस्रो कार्यकालमा आर्थिक संकट, किसान समस्या,बढ्दो महँगी वा बेरोजगारी जस्ता समस्यालाई कृत्रिम संकथनहरूको आवरणले छोप्न सकिंँदैन ।

भुइँतहका मतदाताले मात्र होइन, उनकै भक्तहरूले पनि आलोचना गर्न थालेका छन् । जनसरोकारका सवालसँग जोडिएका प्रश्न भारतका मोदीलाई जस्तै दक्षिण एसियाका अन्य सत्ताका लागि पनि चुनौती हो । यदि सरकार प्रश्नहरूप्रति असहिष्णु हुने हो भने उसले आम जनतासँग संवादको स्पेस घटाउँदै जान्छ । भारतका मोदीजस्तै हाम्रा प्रधानमन्त्री पनि गलत सल्लाहकारहरूबाट घेरिएका छन् ।

बोल्ने अधिकार नै लोकतन्त्र जीवन्त रहेको पहिलो सर्त हो । प्रश्न गर्न पाउनु सरकारको अनुकम्पा होइन । प्रत्येक नागरिकसँग प्रश्नको सत्ता सुरक्षित रहुन्जेल लोकतन्त्र जोगिएको मान्नुपर्छ । निःशब्द रहने दलीय मजबुरी पनि रहनु हुँदैन । भारतीय राजनीतिमा विपक्षी राजनीतिका वास्तुशिल्पी डा. राममनोहर लोहियाले भनेका थिए, ‘राजनीतिमा असलपन त्यतिखेर आउँछ, जतिखेर कार्यकर्ताले आफ्नै दलका गलत कुराको आलोचना गर्छन् ।’ अहिले विस्तारै सत्तारूढ घटकभित्र नेपालमा पनि सरकारको प्रभावकारिताबारे चिन्ता प्रकट गर्न थालिएको छ । तर यसको घेरा साँघुरो छ । अहिले पनि शीर्षहरूप्रति प्रश्न गर्ने साहसीहरू कम छन् ।

जनताले प्रश्न दुई अवस्थामा गर्छन् । पहिलो, सरकारले समयबद्ध सही सूचना उपलव्ध नगराउँदा । दोस्रो, सपना देखाएर मत बटुल्ने तर त्यस अनुसार काम नगर्दा जनताले ठगिएको महसुस गर्छन् र सत्तासित प्रश्न तेर्स्याउँछन् । जब कुनै समुदाय, पन्थ वा संगठनले आफूलाई अरूभन्दा श्रेष्ठ, असल र रैथाने ठानेर फरक कुरा सुन्न चाहँदैन, त्यतिबेला लोकतान्त्रिक हक हनन हुन पुग्छ । अहिले दक्षिण एसियामा यस्तै भैरहेको आभास हुन्छ ।

प्रश्नको सत्तालाई औंल्याउँदै प्रसिद्ध पाकिस्तानी कवि फैजले भनेका थिए, ‘बोल कि लव आजाद हैं तेरे ।’ प्रश्नको गरिमाको रक्षा स्वयं प्रश्नकर्ताको पाइताला कहाँ अडिएको छ, त्यसमा भर पर्छ ।

प्रकाशित : मंसिर १९, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दुइटा फूल देउरालीमा

नन्दकृष्ण जोशी

काठमाडौँ — असंख्य कालजयी गीतका सर्जक, जादुमय स्वरका धनी स्वरसम्राट् नारायण गोपालको सम्झनामा, जसले यो धरती छाडेको पनि २९ वर्ष पुगिसकेको छ । नेपालका सर्वाधिक लोकप्रिय एवं स्वाभिमानी गायकको असामयिक निधनको अप्रत्याशित खबर रेडियो नेपालले प्रसारण गरेको त्यो बेला मेची–महाकाली, हिमाल र तराईमा सांगीतिक भूकम्प आए बराबर भएको थियो ।

त्यस बेला सञ्चारको एक मात्र सुलभ माध्यम रेडियो नेपाल नै थियो । हामी सबै रेडियो नेपालका श्रोता थियौं । त्यो दुःखद खबर सुन्नुपर्दा असंख्य नेपाली भक्कानिएका थिए । यस्तो भावुक दृश्य भोलिपल्ट आर्यघाटमा उनको पार्थिव शरीर जलाइरहँदासम्म पनि देख्न सकिन्थ्यो ।

जुनसुकै सरकारको पनि कलाकारप्रतिको दृष्टिकोण सतही खालको छ । तर स्वाभिमानी कलाकारलाई त्यसले फरक पार्दैन । स्वरसम्राट् नारायणगोपाल यसैका ज्वलन्त उदाहरण थिए । उनलाई खालि नेपाली संगीतसँग चासो थियो, नेपालीपन झल्किने संगीतसँग । उनी नेपाली माटोप्रेमी थिए । उनका सबैजसो गीतमा यसको छाप प्रस्ट अनुभूति गर्न सकिन्छ ।

शब्द–शब्द केलाउने गायक
भनिन्छ- असल गीतका शब्दमा शक्ति हुन्छ संगीतमा सागर हुन्छ र गायनमा प्राण हुन्छ । यी तीनै विषयको सम्मिश्रणबाट अजम्बरी सिर्जना जन्मिन्छ । नारायणगोपाल यस्तै गुण भएका दुर्लभ गायक थिए । शब्द–शब्द केलाउन सक्ने क्षमता भएका उनी शब्द र भाव चयनमा व्यक्ति, वंश र पद–प्रतिष्ठा कमाएका गीतकारको भन्दा बढी ध्यान दिन्थे ।

स्वरसम्राट्सँग संगत गरेका गीतकारहरू रत्नशमशेर थापा, कालीप्रसाद रिजाल, किरण खरेल, यादव खरेल र दिनेश अधिकारी तथा संगीतकारहरू दीपक जंगम र शम्भुजित बास्कोटाको भनाइ रहँदैआएको छ-नारायणगोपाल आफूलाई चित्त नबुझेसम्म र मुड नचलेसम्म एक महिनासम्म पनि एउटै गीतसँग हार्मोनियममा खेलिरहने गायक थिए ।

‘पोखिएर घामको झुल्का भरि संघारैमा’(शब्द : हरिभक्त कटुवाल), ‘लौ सुन म भन्छु,मेरो राम कहानी’ (शब्द/संगीत : गोपाल योञ्जन), ‘आँखा छोपी नरोऊ भनी भन्नुपर्‍या छ’ (शब्द : कालीप्रसाद रिजाल), ‘साउनको झरी बनी तिमी आऊ न’ (शब्द/संगीत : दीपक जंगम), ‘यो सम्झिने मन छ, म बिर्सूं कसोरी’ (शब्द : दिनेश अधिकारी) जस्ता गीत प्रतिनिधि मात्र हुन् ।

अन्य गीतकारका पनि उनले बैंस, वय र उमंग, दुःख, पीडा, मिलन, बिछोड, हाँसो, रोदन, प्राकृतिक सौन्दर्य तथा मानसिक चेतनासम्बद्ध शब्दहरू मात्र छानी–छानी गाएका छन् । उनको स्वर माधुर्यले अहिलेसम्म लोकप्रियताको सगरमाथा चुमिरहनुको एउटा कारण यो पनि हो । यस्तै गीतका कारण स्वरसम्राट्को स्वरले धरती–आकाश जोड्छ, संगीतले व्यक्ति–व्यक्तिको मन आह्लादित तुल्याउँछ । अनि नेपाली भाषा र संस्कृति चिरायु बन्छ ।

नारायणगोपाल संगीत कोष
लगभग तीन दशकअघि स्वरसम्राट्को पार्थिव शरीर मात्र टाढा गएको हो, उनका सिर्जना अद्यापि हामीमाझ जीवित छन् र रहिरहनेछन् पनि । स्वरसम्राट्को इच्छानुसार, नेपाली संगीतलाई जीवित राख्न स्थापना गरिएको नारायणगोपाल संगीत कोषले आर्थिक विपन्नतालाई चुनौतीदिँदै प्रत्येक वर्ष उनको पुण्य तिथिमा महाराजगन्जस्थित उनकै निवासबाट सांगीतिक चेत फैलाउने काम गर्दै आइरहेको छ ।

नारायणगोपालले गाएका सबै थरी गीत मंसिर १९ गते प्रस्तुत गर्न एक महिनाअघिदेखि नै नयाँ–पुराना संगीतकर्मीहरू नाम लेखाउने गर्छन् । उनकै शैलीमा गीत गाएर श्रद्धाभाव जनाउने गर्छन् ।

नयाँ पुस्तालाई पाठ
पर्खिबसें आउला भनी, मेरो उठ्ने पालो
कुर्दाकुर्दै जिन्दगी नै भै गएछ कालोकालो
(शब्द : नीर शाह,संगीत : शम्भुजित बास्कोटा)

दिन बितेको साँच्चै पत्तो हुँदैन । संगीतको असली विद्यार्थीका हकमा यो उक्ति झन् लागू हुन्छ । संगीतमा लाग्छु भनेर मात्र हुन्न, त्यही किसिमको साधना पनि चाहिन्छ । यस्तो धैर्य नयाँ पुस्तामा त्यति देखिन्न । ‘स्वरसम्राट्’ उपाधि मात्रै होइन भन्ने बुझन् जरुरी छ, अहिलेको पुस्ताले ।

बहुदलीय व्यवस्थाको स्थापनासँगै नेपाली संगीतले बजार पाएको छ । सँगै अस्वस्थ प्रतिस्पर्धा पनि विस्तारित हुँदै गएको छ । अहिलेका संगीतकर्मीलाई जसरी पनि, जस्तो गीत गाएर पनि ‘हिट’ हुनुपरेको छ । पैसाले सिर्जना जन्मिएला, तर दिगो हुँदैन । यो कुरा स्वरसम्राट्बाट सिक्नु जरुरी छ । संगीतमा वास्तवमै केही गर्न चाहनेले नारायणगोपाल जस्तो इमानदार, स्वाभिमानी र मेहनती हुनुको विकल्प छैन ।

अन्त्यमा,
श्रद्धाको फूल चढाइदिनू आएर लासमा
नपाए फूल भैगयो तिमी रोइदिनू आसमा
(शब्द : रवीन्द्र शाह,संगीत : गोपाल योञ्जन)

२०४७ मा संविधान बन्दै थियो । देशमा अन्तरिम शासन थियो । सन्तनेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री थिए । श्रद्धाको फूल चढाउँदै उनले नारायणगोपाल र उनकी श्रीमती पेमला गुरुवाचार्यका नाममा सरकारले कुनै ठोस काम गर्छ भनी वचन दिएका थिए । पछि महाराजगन्जमा सालिक राखियो, जुन स्तुत्य काम हो । तर, त्यो पर्याप्त थिएन । सरकारले यसबारे गम्भीर हुनु आवश्यक छ ।

स्वरसम्राट्ले साहित्यलाई संगीतमा बदले सबै थरी मानिसलाई संगीतप्रति अभिप्रेरित गरे । उनी कुनै पनि राजनीतिक पार्टीको व्यक्ति बनेनन् । सबैका प्यारा गायक भएर चम्के युगौं–युगसम्म चम्की नै रहनेछन् ।

‘स्वर्गकी रानी मायाकी खानी’ गीत हुँदै सांगीतिक आकाशमा देखिएका नाराणगोपाल जिन्दगीको उत्तरार्धमा ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’ आदिजस्ता गीतसँगै अस्ताए । तर सांगीतिक क्षेत्रका सबै थरी सर्जकहरू भन्ने गर्छन्— नारायणगोपाल जीवित छन्, जीवित नै रहनेछन् । ५१ वर्षको उमेरमा परलोक भएका उनी सकारात्मक चेत भएका संगीत सारथि हुन् भनेर एउटा प्रसंगमा जनगायक रामेश, रायन र जेबी टुहुरेले भनेको याद आउँछ ।

जोशी देउडा गायक तथालोकसंस्कृतिकर्मी हुन् ।

प्रकाशित : मंसिर १९, २०७६ ०९:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×