कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

खुद्रे चुनावको होलसेल पाठ

सिपी अर्याल

‘क्वै बात छैन ! यदि जनताले हामीलाई मन पराएर कुर्सीमा आसीन गराए भने हामी त्यहाँ बसेर देश र जनताको सेवा गर्नेछौं । यदि जनताबाट हामीलाई त्यो हैसियत प्राप्त भएन भने हामी कुर्सीभन्दा तलतिर गजरामा बसेर, चटाईमा बसेर, धूलामा बसेर देश र जनताको सेवा गरिरहनेछौं ।’ उपनिर्वाचन परिणामको छेकोमा हार्ने नयाँ छिमलका र जित्ने पुराना डुहुरोका नेताका फुइँ सुन्दा निर्वाचनमा हारे आफ्नै दोषले, जिते जनताका कारण जितेको हुने आशयको नेता मदन भण्डारीको यो स्वादिलो भनाइ अचानक सम्झना आयो ।

खुद्रे चुनावको होलसेल पाठ

चुनाव परिणामपछि नयाँ राजनीतिक दल हारको पीडाले छटपटिएका छन्; पुरानाचाहिँ जितको उन्मादले छिल्लिइरहेका छन् । नयाँ एक नेताले मत परिणामको अन्त्य–अन्त्यतिर ट्वीट गरे— ‘...ऊँटले मरुभूमिमा हुने काँडे सिउँडीको डाँठ चपाउँछ । चपाउँदै गर्दा काँडाले घोचेर मुख आफ्नै रगतले भरिन्छ । त्यै रगत पिएर तिर्खा मेट्छ । मजा लिन्छ । उपनिर्वाचन परिणामको मजा ।’ उनकै अर्को ट्वीटमा मतदातालाई बिरामीको उपमा दिँदै उसकै कमजोरीले रोग बल्झेको आशय थियोÙ यद्यपि उनले आफूलाई उपचार गर्ने डाक्टर चाहिँ भन्न सकेनन् । त्यसै गरी उनैका अगुवा नेताले ट्वीट गरे, ‘निर्वाचन परिणामबाट आमजनताले भ्रष्टाचारीलाई पुन: अनुमोदन गरे ।’ अर्को काँटका नेताको कथन थियो— उनीहरूले चुनाव जित्थे, तर ‘केही विश्लेषक, विज्ञ, अनुभवी तथा शुद्धतावादीले वैकल्पिक राजनीतिलाई गिजोले ।’ वैकल्पिक शक्तिको शंखघोष गरिरहेका नेतैले यस्तो भन्नु बडो उदेकलाग्दो छ । ‘हामी नयाँ पुस्ताका हौं, नयाँ तरिकाले राजनीति गर्छौं’ भन्नेले मतदातालाई धारेहात लगाएको कत्ति सुहाउँदैन । पैतालाको घाउले हिँड्न कठिनाइ भा’ छ, जुत्ता फेरेर हुन्छ कहीँ ? हारेर पनि हाँसीहाँसी हिँड्न सकिन्छ भन्ने कस्केली नेता खेमराज पौडेलको चुनावी निष्ठा देखिसकियोÙ विद्या भट्टराईले पनि जित्नेहरू भावाडम्बरी नभएर मतदाताताप्रति सधैं निष्ठावान् रहनुपर्छ भनी देखाऊन् । निर्वाचनको पद्धति यही बनोस् ।


नयाँले ‘पुरानाको दोहोलो’ काढ्नुपर्दैन । पुरानाले पनि सधैंभरि सत्ताको हालीमुहालीमा रहन्छौं भन्ने ठानेर नयाँलाई आलाकाँचा ठानिरहन जरुरी छैन । छँदै छैन । ‘राजनीतिज्ञ र डाइपर बेलाबेला त्यही एउटै कारण फेरिरहनुपर्छ ।’ के यी दुवैले मार्क ट्वीनको यो वाणी सुन्या छैनन् ? पुरानाको पुस्तौंदेखिको बदमासी थाहै नपाएर ‘पुरानै’ लाई जिताएका होइनन् मतदाताले । किन जिताए ? लेखाजोखा विभिन्न कोणबाट हुन सक्छ । जस्तै— आधा हजार हाराहारी मत पाएर जमानतै जफत भएका ‘नयाँ’ लाई आलाकाँचा ठानेका होलान् आमजनताले वा अहिल्यै भरोसा गरिहाल्न नहुने लाग्यो कि त ! पुरानै नेतातर्फ पुरानो राजनीतिक आस्थाका कारण लहसिएका हुन् कि वा विकल्प त खोजेका छन् तर सिद्धान्तसहितको राजनीति गर्ने परिपक्व नयाँ दलको मात्रै वा यिनै पुरानाले ‘बिगारे बिगारून्, सपारे सपारून्’ भन्ने आशय पो हो कि ! वा, ‘यीमध्ये कसैलाई पनि भोट दिन्नँ’ भन्ने विकल्प नेपालको आमनिर्वाचनमा नभएर पनि हुन सक्छ, नयाँलाई नभई पुरानैलाई छानेको । सत्तासीनले यस्तो विकल्प आमनिर्वाचनमा अहिलेसम्म राख्न आँट नगर्नु सम्भवत: तिरस्कृत हुन्छु भन्ने डर पनि हो ।


ओबामा राष्ट्रपति हुनुभन्दा १३ वर्षअगाडि प्रधानमन्त्री भएका देउवा बाँचुन्जेलै सत्तासीन भइरहने आश गर्छन् । कार्यकाल सकीवरी ओबामा व्यक्तिगत जीवनको लयमा फर्किसके; आमजनता भइसके । हाम्रा नेतालाई चाहिँ प्रधानमन्त्री पद लोकसेवा पास भएर पाइने गजक्कको स्थायी जागिरझैं हुनुपर्छ, जसको जीवनभर पेन्सन पनि आउँछ । पटकौंपटक प्रधानमन्त्री भएका नेपालका १०–१२ नेताले आफ्नो कार्यकालमा गरेका पाँच उत्कृष्ट नीतिनिर्माण र बसालेका थिति बुँदागत रूपमा बताउनुपरे परान जान्छ ! फेरि तिनैलाई किन फर्की–फर्की सत्ता चाहिएको ? ताज्जुब लाग्छ । यद्यपि आमनिर्वाचनले यिनै नेतालाई पुरस्कृत गरिरहन्छन् पनि । यो सोच्दा झन् ताज्जुब लाग्छ !


नेपालमा राजनीति सुरु गरेका जुझारु देखिने केहीले टुरिस्टझैं स्वाट्ट कुनै गाउँ पसेर ‘मम– चाउमिनभन्दा मकै–भटमास रोजम्’ भन्दैमा भोटको पहिरो उनैतिर गइहाल्दैन । जमानतै जफत हुने गरी जनताले नपत्याइदिएपछि मिहिनेत पुगेन भन्ने बुझून् न ! यद्यपि चियाचौपारीमा यी नयाँलाई अलि धेरै उडाइन्छ । त्यसो गर्नु हुँदैन । किनभने यिनीहरू कम्तीमा जनतामाझ गएर पुरानाले गतिलो काम गरेनन्, हाम्रै पुस्तामा देश बनाउँछौं भन्ने आँट त गरिरहेका छन् ! यो प्रयास तालीयोग्य छ ।


नेपाली राजनीतिक दलको इतिहासले देखाउँछ के भने, कांग्रेस, (पूर्व) एमालेजस्ता दल अझै धेरै समय हावी हुनेछन् । जनस्तरमा जरो–किलो बुझेका छन् यिनलेÙ संगठन बलियो छ । गाउँठाउँमा केही परिहाले जनताले ‘लौन यस्तो पर्‍यो’ भन्ने पनि यिनैलाई । सबैभन्दा भ्रष्ट पनि यिनै, सधैं जितिरहने पनि यिनै ! हुन त सशस्त्र विद्रोहपछि पहिलो पटक आमनिर्वाचन लडेको माओवादीलाई पनि आमजनताले जिताए क्यारे ! विद्रोहीले त्यसरी अपत्यारिलो गरी चुनाव जित्नुमा, उसले १२ वर्ष जंगलमा गरेको ‘दु:ख’ को समभावको हिस्सा पनि हो । त्यही एक पटक जितको पहिरो ल्याएपछि दोस्रो पटक हारको बाढी आयो, जुन अध्यक्ष प्रचण्डलाई पत्याइनसक्नुको ‘डेथ सरप्राइज’ भएको थियो । मतदाताको यस्तो ‘स्विङ भोटिङ’ ले देखाउँछ, आमजनता कांग्रेस, (पूर्व) एमालेजस्ता दलले राम्ररी काम नगर्दा तीबाट उन्मुक्ति चाहन्छन् भने अन्य परिपक्व विकल्पको, राजनीतिक दलको अभावमा उनै पुराना दललाई काँध थाप्न पनि पछि पर्दैनन् ।


२०७२ मा संविधान बनिसकेपछिको पहिलो स्थानीय चुनावमा काठमाडौंमा विवेकशील र साझा पार्टीका नेताले पाएको अधिकतम भोट र अहिलेको उपनिर्वाचनमा पाएको सम्पूर्ण भोटको चिन्तनीय लेखाजोखा दुवै दलले गर्लान् । अनि, एउटै–एउटै उद्देश्यसाथ राजनीतिमा आएका यी दल एक हुन किन सकेका छैनन् ? मतदातालाई बुझाऊन् पनि । यी दुइटालाई एउटैझैं मान्ने तप्का देशैभर छ । दूरगाउँका मतदाताले यिनीहरूको नाम अझै नसुनेको सत्य पनि नकार्न सकिँदैन । खगेन्द्र संग्रौलाले भनेको यो ‘खुद्रे चुनाव’ यी दलका लागि ‘होलसेल’ को पाठ बन्न सक्छ । जितेका पुरानाले पनि नयाँले धक्का दिँदै छन्, यिनको ब्यहोरा नसुध्रिए आमजनता सधैंभरि तिनको दास–मतदाता भइरहन सक्दैनन् भन्ने पनि बुझ्दै छन् ।


तीव्र विकासको जादुको छडी आफूले मात्रै चलाउन जान्ने गफ पेलिरहेका ‘नयाँ’ नेताले बुझून्— दुई वर्षमा ‘हामी परिपक्व भएम्’ भनेर देखाउने मौका थियो, संगठित हुने काइदाको अवसर पनि थियो । जुट्नुपर्ने बेला फुट्ने तर फेरि जुट्न पाएका बेला एकजुट पनि नहुने ! अनि जमानत जफत हुने गरी लज्जास्पद परिणाम आइदियो । सामाजिक सञ्जालको आत्मरतिमा रमाउँदै दोषजति ‘टेढो आँगन’ लाई दिँदा जगहँसाइ हुने नै भो !

विकसित मुलुकमा राजनीतिसँग सिद्धान्त जोडिन्छ भने नेपालजस्तो दक्षिण एसियाली मुलुकमा राजनीतिसँग सिद्धान्त कम भावावेग बढी । कम्युनिस्टको झन्डा बोकेर पचासौं वर्ष हिँडेकाको रवाफ चप्पलबाट सुरु भएर आलिशान बंगला, गाडी–घोडामा गएर सिद्धिएको छ । गैरकम्युनिस्ट वा डेमोक्र्याटहरू झन् तानाशाही प्रवृत्तितिर अल्झिइरहेका छन् । यसैबीच कतै स्थान बनाएका छन्, धर्मका आधारमा राजनीतिक लहरो चढेका मोदी–शासनकालका भक्त र आफैलाई भगवान् घोषणा गरेकाले पनि । राजनीतिमा आडम्बर पत्तासाफ नहुन्जेल यस्तो रवाफ रहनेछ ।


राणा र राजतन्त्र कालमा अस्तिका एमाले–कांग्रेस र हिजोका माओवादी ‘हामी फरक छौं’ भन्दै उदाएका थिए । यसको विश्वास जनतालाई दिन भलै उनीहरूलाई समय लाग्यो । यी तिनै दल पनि भए जसले नेपाली समाजलाई बडेमानका र सानातिना जंघार तार्दै यत्तिको अवस्थामा ल्याए । ऊ बेला ती पुरानाले ‘हामी फरक छौं’ भन्दै गरेको राजनीतिक पारामै नयाँबाट अब मतदाता पट्टिँदैनन् । ‘रिटायर्ड’ र ‘टु योङ’ दौंतरीको स्मार्ट क्लबभन्दा पनि सामाजिक सञ्जालको आत्मरतिभन्दा पर रहेको नेपाली समाजसुहाउँदो, सिद्धान्तमा अडिग दल भएर जनताको आत्माले मागेको राजनीति गर्न सक्छौं भन्ने जगमा उभिऊन् ती । किनभने विन्स्टन चर्चिलले भनेकै छन्, ‘पोलिटिक्स इज नट अ गेम बट अ सिरियस बिजनेस’ ।


अर्याल साउथ एसियन युनिभर्सिटी, नयाँ दिल्लीमा विद्यावारिधि शोधरत छन् ।

ट्वीटर : @CPArya

प्रकाशित : मंसिर १८, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?