कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी हट्छ छाउपडी

डा. अरुणा उप्रेती

अहिले ‘छाउपडी’ कुरीति विरुद्ध जनमत नै सिर्जना भएको छ । सामाजिक कार्यकर्ता र सरकारी निकायले पनि सकारात्मक भूमिका खेलेका छन् । अब महिनावारी हुँदा छाउगोठमा नबसेका सुदूर पश्चिम र कर्णालीका महिला र किशोरीहरूका कथा पनि बाहिर आउनुपर्छ । त्यसो भए मानिसहरूले सुदूर पश्चिम र कर्णालीमा पनि बोल्ने महिलाहरू रहेछन् भनी थाहा पाउँछन् । ‘छाउ’ भएका बेला घरमै बसेका उनीहरूले ‘पाप’को अनुभूति गरेका छैनन् भन्ने सन्देश जान्छ । केही धामीले पनि ‘छाउ’ बार्नु पर्दैन भनिसकेका छन् । 

यसरी हट्छ छाउपडी

पहिले–पहिले साना बालबालिकालाई झाडापखाला लाग्दा धामीकहाँ लगिन्थ्यो । उनीहरूले ‘झाडापखाला लागेको बेला पानी पनि खान नदिनू’ भन्थे । पानीको कमी भएर बालबालिका मर्थे । तर धामीहरूलाई यो विषयमा जानकारी दिएपछि ‘बच्चाको जीवन बचाउन जीवनजल खानैपर्ने रहेछ’ भन्ने धामीहरूले बुझे । उनीहरूले बच्चालाई फुकफाक गरे पनि स्वास्थ्यचौकीमा जीवनजल ख्वाउन पठाउन थाले । सरकारले पनि आमसञ्चार माध्यमबाट नुन, चिनी, पानी र जीवनजलबारे जानकारी दियो र जनसमुदायमा जीवनजल पखाला लाग्दा ख्वाउनपर्ने रहेछ भन्ने बुझाइ बन्यो । अहिले कसैले पनि झाडापखाला लागेको बेला जीवनजल ख्वाउनु हुँदैन भन्न सक्दैन । यसैगरी छाउपडी विरुद्ध पनि बोल्ने हो भने सुधार आउन सक्छ । अहिले अछाम, डोटीका धामीहरू पनि यस कुरीतिबारे बोल्न थालेपछि चेतना बढेको छ । छाउपडी गलत हो भन्ने विचार स्थापित भएको छ । यस विरुद्ध आवाज उठेपछि नै समाचार छापिएका हुन् । छाउपडी विरुद्ध काम भएर नै यस्ता घटना बाहिर आएका हुन् । पछिल्लो समय ‘छाउपडी’ हटाउन सरकारी तवरबाट पनि केही कदम चालिएका छन् । तर प्रश्न उठ्छ, यी कदम किन सफल भइरहेका छैनन् ?


छाउपडीबारे बोल्दा केही संस्था र व्यक्ति महिनावारी भएका महिलालाई सुरक्षित रूपमा बस्न सुरक्षित छाउगोठ बनाइदिनुपर्छ भन्ने गलत तर्क पनि गर्छन् । यसले महिनावारी फोहोर हो । यो बेला भिन्नै ठाउँमा बस्नुपर्छ भन्ने गलत मान्यता स्थापित हुन्छ । के त्यसो भए दलितहरूलाई ब्राह्मणहरूबाट टाढा लगेर सफा घर बनाइदिने, तिनका केटाकेटीका लागि अलग्गै स्कुल र अस्पताल बनाइदिने ? यस्तो हुनुहुँदैन । यस्तो मान्यतालाई हामी मान्न सक्दैनौं । यस्तै ‘सुरक्षित छाउघर’ बनाउने कुरा पनि मान्य छैन ।


छाउपडी विरुद्ध बनेका कानुन व्यवहारमा लागू भएका छैनन् । एउटी हजुरआमाले के आफ्नी १४ वर्षीया नातिनी बलात्कृत होस्, सर्पले टोकोस्, आगोले जलेर मरोस् भन्ने चाहन्छिन् होला र ? के सुदूर पश्चिमका हजुरआमाहरूको मन काठमाडौंमा बस्ने हजुरआमाहरूको भन्दा कठोर छ होला र ? त्यसो त पक्कै होइन । तर सुदूर पश्चिम र कर्णालीका हजुरआमाहरूलाई धामी र मष्टोको डरले नातिनीको मायालाई खप्लक्क खाइदिएको छ । चाहेर पनि उनीहरू नातिनीलाई महिनावारी हुँदा छाउगोठमा नजाउ भन्न सक्दैनन् । किनभने उनीहरूको चेतनाको स्तर कमजोर छ । हजुरआमाहरूको मनमा मष्टो रिसाउँछन्, मारिहाल्छन् भन्ने डर छ । तर त्यही मष्टोले अमेरिका जाने सुदूर पश्चिमका महिलालाई चाहिँ दु:ख दिँदैन । नत्र त अमेरिकामा पनि ‘छाउगोठ’ बनाउनुपर्ने हुन्थ्यो । सुदूर पश्चिमका पुरूष समेत मष्टोबाट धेरै तर्सेका छन् । त्यसैले आफ्नी श्रीमती, छोरी र नातिनीको सुरक्षाका लागि केही बोल्न सक्दैनन् । अब तिनले यस कुरीति विरूद्ध बोल्नुपर्छ ।


अछामकी अप्सरा कुँवरले धेरै अघि नै छाउगोठ जान छोडिसकेकी थिइन् । तर त्यो कुरा पत्रिकामा आएन । अछाम र डोटीतिरका केही किशोरी छाउगोठ जानुपर्छ भनेर महिनावारी भएको कुरा ३/४ महिनासम्म पनि भन्दैनन् । कसैले सोधिहाले हामीले औषधि खाएर महिनावारी रोकेका छौं भन्दारहेछन् ।


आफ्नो सुरक्षा गर्न बनाएको रणनीति र महिनावारीमा छाउगोठ नगए पनि केही पाप लाग्दैन भन्ने तिनले बुझिसकेका छन् । अब स्वदेशी तथा विदेशी सञ्चार माध्यमहरूमा छाउगोठ नजाने महिलाहरूलाई पाप पनि लाग्दैन र ‘मष्टो’ले पनि केही गर्दैन भन्ने सन्देश आइदिए बेस हुन्छ ।


प्रकाशित : मंसिर १८, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?