कर्णाली र सुदूरको समृद्धि सपना

चन्द्रदेव भट्ट

नेपाल राष्ट्र बैंकले २०७५ जेठमा प्रकाशन गरेको नेपालको जनसांख्यिक, सामाजिक, आर्थिक तथा वित्तीय स्थितिको प्रदेशगत प्रोफाइल अनुसार, सुदूर पश्चिम र कर्णाली प्रदेशका विकास मानाङ्कहरू सबै क्षेत्रमा पछाडि देखिन्छन् । 

कर्णाली र सुदूरको समृद्धि सपना

सबैभन्दा बढी प्राकृतिक स्रोत भएको क्षेत्रकै सूचकाङ्क यस्तो कमजोर हुनु दुःखद हो । यसका पछाडि दुइटा कारण हुन सक्छन् । पहिलो, राज्यबाट उपेक्षित हुनु; दोस्रो, गलत नीतिको सिकार बन्नु । यी दुई कारण सान्दर्भिक छन्, किनकि भौगोलिक विकटताबाट सुगमतामा रूपान्तरण भए पनि त्यहाँको परिस्थितिमा सकारात्मक परिवर्तन आएको छैन । त्यसो त शासकहरूले सुदूर र कर्णाली क्षेत्रप्रति हिजो र आजका दिनमा गरेको व्यवहार पनि त्यत्ति धेरै बदलिन सकेको छैन । आज पनि काठमाडौंका बाबुसाहेबहरू वृत्ति विकासका लागि बाहेक जुम्ला र दार्चुला जान रुचाउँदैनन् । काठमाडौंकेन्द्रित विकास र पूर्वाधार निर्माणको सोच यसको अर्को ज्वलन्त उदाहरण हो । राज्यबाट उपेक्षित यो क्षेत्र, जसलाई स्कन्दपुराणमा देवभूमिको नामले चिनिन्छ तथा जुन नेपाली संस्कृति र सभ्यताको केन्द्रविन्दु पनि हो, अचेल विकासवादी अभियानको आक्रमणमा परेको छ । ‘खाना खाएपछि साबुनपानीले हात धुनुपर्छ’ भन्ने जस्ता नारा बोकेका त्यस्ता अभियानहरूले न नागरिकको जीवनस्तर माथि उठाउन सघाएका छन्, न त देवभूमिकै संरक्षण गर्न नै । हिमालयका चार खण्ड केदार, हिमवत्, मानस र अरुणाञ्चलमध्ये मानसखण्डमा उल्लिखित यो क्षेत्रले पछिल्ला वर्षहरूमा विकासका नाममा सांस्कृतिक अतिक्रमण ब्यहोरिरहेको छ ।


नेपालको राजनीतिक, सांस्कृतिक र भौगोलिक एकीकरणमा यो क्षेत्रको महत्त्वपूर्ण योगदान रहे पनि केन्द्रको हेपाइ उस्तै छ । कर्मचारीतन्त्र तथा नीतिनिर्माण तहमा मध्य र पूर्वी नेपालको वर्चस्व भएकाले राजनीतिज्ञहरूले चाहेर पनि परिस्थितिमा भिन्नता आउन नसकेको हुन सक्छ । कर्णाली बहादुर शाहको एकीकरण अभियानपछि शासकको उपेक्षामा पर्‍यो । राणाकालमा पनि पाल्पापश्चिमका व्यक्तिहरू काठमाडौंको सत्तामा पुग्न सकेनन् । पश्चिम एकीकरण अभियानका कारण यस क्षेत्रले जुन क्षति ब्यहोरेको थियो, त्यसको सजाय यस क्षेत्रका बासिन्दाले अहिले पनि भोग्नु परिरहेको छ । काठमाडौंले भावनात्मक रूपमा अरू क्षेत्रलाई समेट्न नसकेको प्रमाण पनि हो यो ।


विगतमा यस क्षेत्रबाट काठमाडौं दरबारसँग पारिवारिक सम्बन्ध जोड्न पुगेका केही र प्रजातन्त्रको झन्डा बोकेकै आधारमा अलि बढी व्यक्तिहरू राजनीतिको उच्च ओहदामा आरोहण भए पनि समग्रमा राज्यका अङ्गहरूमा प्रतिनिधित्व कम नै छ । यही कारण हाम्रो भूगोल बेलाबेलै अतिक्रमणमा पर्ने गरेको छ । कालापानी यसको पछिल्लो उदाहरण हो । राज्यको कमजोर उपस्थितिको फाइदा उठाएर यस क्षेत्रमा पछिल्ला वर्षहरूमा विकासवादी संस्थाहरूले पनि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्, जसबारे राज्य बेखबर जस्तै छ । कालान्तरमा समाजमा यी कार्यक्रमको कस्तो असर पर्ला भन्ने लेखाजोखा कतैबाट हुन सकेको छैन ।


सुदूर र कर्णालीको परनिर्भरता ४० वर्षअगाडिकै जस्तो छ । यताका धेरैजसो युवाको जीविकोपार्जनका लागि अन्तिम गन्तव्य भारत नै हो । हातमुख जोर्न बाउबाजेले जस्तै पन्जाब र उत्तराखण्डका खेत–खलियानहरूमा, मुम्बईका गल्लीहरूमा, बङलोर र दिल्लीका होटल एवं कोठीहरूमा काम गर्नुपर्ने बाध्यता अद्यापि छ । अलि हुनेखाने र खर्च गर्न सक्ने खाडी मुलुक जान्छन् । खाडीभन्दा अन्य मुलुक जाने कम छन् ।


यसो त सरकारले विगतमा यो क्षेत्रका लागि विशेष कार्यक्रम नगरेको होइन । पञ्चायत कालमा विश्व बैंकको सहयोगमा एकीकृत ग्रामीण विकास कार्यक्रमहरू ल्याइए । पछि सरकारी, गैरसरकारी र थरीथरीका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले विकास र जनचेतनाका नाममा अनेक अभियान युद्धस्तरमा सञ्चालन गरे । भौतिक पूर्वाधार निर्माणमा पछिल्लो समय राम्रो पहल भएको छ एवं सुदूर र कर्णाली काठमाडौं तथा मुलुकका अन्य भागसँग जोडिएका छन् । ३०–३५ वर्षयता जिल्ला–जिल्ला र गाउँ–गाउँमा सडक पुगेका छन् । स्कुल, अस्पताल र बैंकहरू ठाउँ–ठाउँमा खुलेका छन् । तैपनि यस क्षेत्रका बासिन्दाका लागि विकास र समृद्धि अहिलेसम्म सुइना (सपना) नै भएको छ । पूर्वाधार विकासले पेट भरिदिने होइन । किनकि रोजगारी निर्माणमा यिनको भूमिका न्यून हुन्छ । यिनको मुख्य उद्देश्य गाउँको पुँजी संकलन हुन्छ । त्यसैले यी क्षेत्रबाट साना किसान तथा सर्वसाधारणले खासै फाइदा उठाउन सकेका छैनन् । पहिले–पहिले जसरी गल्लावालहरू गाउँ–गाउँ जान्थे, अचेल ‘मानिसको व्यापार’ का लागि म्यानपावर कम्पनी, प्राइभेट स्कुल र अस्पतालहरू ग्राहक खोज्न गाउँ–गाउँ चहार्दै छन् ।


कार्यकर्ता व्यवस्थापन तथा ठेकेदारी प्रथाको निरन्तरताका लागि सुदूर र कर्णालीमा पनि डोजरे विकासको सुरुआत भएको छ । हामी पनि त्यही पञ्चतत्त्वको भाग हौं भन्ने नबुझ्ने यस्तो अहितकर विकासले न प्रकृति र मानिसलाई हित गर्छ, न त संस्कृतिलाई । दिगो विकासको जति दुहाइ दिए पनि यस्ता अभ्यासहरू आउने पुस्ताप्रति जवाफदेही छैनन् । यस्तो विकास कृत्रिम हुन्छ, स्वयम्भू होइन । विकासको यस्तो खतरनाक अवधारणाका कारण हाम्रा डाँडाकाँडा कुरूप भएका छन् । यस्तै हो भने नेपालको पर्यटन व्यवसाय धरापमा पर्ने निश्चित छ । संस्कृति र प्रकृति दुवै नष्ट भए विदेशी किन नेपाल घुम्न आउने ? ठूलठूला घर र चौडा सडक त तिनकैमा छँदै छन् नि !


त्यस्तै, सशक्तीकरणको गफ जति गरे पनि अशक्तीकरण बढ्दो छ । हाम्रो सशक्तीकरणको सूत्र नै गलत छ । तीन–साढे तीन दशकयता अन्यत्रझैं यो क्षेत्रमा गरिएका महिला सशक्तीकरणका कामहरूको असर देखिन थालेको छ । सशक्तीकरण कार्यले सुदूर र कर्णालीका २५ वर्षमाथिका अधिकांश महिला पाठेघर र प्रजनन सम्बन्धी रोगबाट ग्रस्त भएका छन् । परिवार नियोजनका विभिन्न साधनको सबभन्दा ठूलो असर तिनको स्वास्थ्यमा परेको छ । यस विषयमा कसले बोल्ने ? हिजोका आमा–हजुरआमाहरूले औसतमा आधा दर्जन सन्तान जन्माए पनि यस्तो अवस्था भोगेको विरलै सुनिन्थ्यो । अर्कातिर, यो भेगलाई छाउपडी क्षेत्र भनेर संसारभर बदनाम गरियो र काठमाडौंबाट आएर शिक्षा दिने तर यसको समाधान नखोज्ने काम भइरह्यो । पीडकको समस्यालाई आफ्नो समृद्धि र नाम कमाउनमा प्रयोग गर्ने परम्पराको जबसम्म अन्त्य हुँदैन, समस्याहरू ज्युँका त्युँ रहनेछन् ।

िि

िसहरका स्टार होटलहरूमा लघु भोजन, पूर्ण भोजन र जलपानको उपभोग गरी बनाइने समावेशी, लैङ्गिक समानता र दिगो विकासका कार्यक्रमहरूले सुदूर र कर्णालीका बासिन्दाका समस्यालाई विरलै बुझेका छन् । व्यक्ति, परिवार र समाजको संवेदनशीलता नबुझेका व्यक्तिहरूका हातमा नीतिनिर्माण र समाज अगुवाइको जिम्मेवारी दिनु नै समस्याको सुरुआत हुनु हो ।


आर्थिक उन्नतिका लागि चाहिने तत्त्व संस्कृति, प्रकृति र जनशक्ति प्रचुर भएर पनि हाम्रो विकासले बाटो बिराएको छ । आधुनिकतामा आधारित विकासका कारण जनशक्ति बहुराष्ट्रिय कम्पनीका उपभोक्तामा परिणत हुँदै छन् । हाम्रो विकास मोडलले कार्ल्सबर्ग बियर र मोबाइल फोन त ठाउँ–ठाउँमै पुर्‍याएको छ, तर अन्नलाई बेवास्ता गरेको छ । जमिन हाम्रो तर जनता हाम्रो होइन भन्ने भौगोलिक राष्ट्रवाद (बाउन्डेड नेसनालिजम) को विचारधाराले ग्रस्त मानसिकता नत्यागेसम्म यो क्षेत्रको मात्र होइन, मुलुककै समग्र विकास अप्ठ्यारोमा पर्नेछ । अनि जनताको राज्यप्रतिको वफादारी कमजोर हुँदै जानेछ ।


विकासको योजनाबद्ध सुरुआत भएको लामो समय भैसके पनि गलत नीति र केन्द्रको लापरबाहीका कारण अहिलेसम्म सुदूर र कर्णाली मात्र होइन, सम्पूर्ण मुलुक नै दिशाहीन हुँदै गएको छ । राजनीतिक व्यवस्था प्रजातान्त्रिक तर विकासको केन्द्रीकृत मोडल (साम्यवादी मोडल) ले नेपालजस्ता धेरै मुलुक ‘विकास’ को चक्रव्यूहमा परेका छन् । कहिले सहस्राब्दी विकास, कहिले दिगो विकास, कहिले गरिबी निवारणका कार्यक्रममै हाम्रा योजनाविद्हरू रमाएका छन्, मानौं हाम्रो एक मात्र उद्देश्य बाहिरबाट थुपारिएका अवधारणाका लागि मात्र काम गर्नु हो र हाम्रो आफ्नै कुनै राष्ट्रिय प्राथमिकता छैन । अहिलेसम्मका विकासे कार्यक्रमहरू परिवार नियोजन र सन्तानोत्पादन प्रक्रियासँग या सामाजिक इन्जिनियरिङमा मात्र सीमित छन् । यस्तै प्राथमिकताले निरन्तरता पाएमा विकासेहरूले भोलि ‘सहवास’ गर्ने तरिका पनि सिकाउन बेर लाउँदैनन् । पटक–पटक विज्ञहरूको चङ्गुलमा परेको विकासवादी धारणा र राजनीतिक स्वार्थपूर्तिका लागि सिर्जना गरिएका नाराहरूले विकास र समृद्धिको कल्पना गर्नसम्म सिकाउँदैनन् ।


रोजगारी र आर्थिक क्रियाकलापलाई टेवा नदिने यो वित्तीय पुँजीवादले असमानताको खाडल बढाउँदै छ । यसले गर्दा अहिलेसम्म वस्तु आयात र व्यक्ति निर्यात गर्ने परम्पराले निरन्तरता पाएको छ । यो नेपाली राज्यको पुरानो रोग हो । राणाशासकदेखि लोकतान्त्रिक नेतृत्व सम्हाल्नेहरूसम्म यसैमा रमाएका छन् । प्रजातन्त्र र संविधान जहिले पनि खतरामा देख्ने, त्यसका लागि जनतालाई विभाजित गर्ने, तर जनताको दुःख नदेख्ने शासकहरूले लोककल्याणकारी राज्यको निर्माण गर्न सक्दैनन् ।


अन्त्यमा, स्वदेशमा बेरोजगार र अपहेलित, विदेशमा पनि पीडा खपिराख्ने स्थितिको अन्त्य भएन भने नेपाली युवायुवतीले बाटो नबिराउलान् भन्न सकिँदैन । राज्यले गम्भीर हुने बेला भइसकेको छ ।


प्रकाशित : मंसिर १७, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?