कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्याज चिन्तन

उषा थपलिया

स्वस्थानीको महिमा गाउने दिन आउँदैछ । तर सोही धर्म अनुसार बर्जित प्याजको महिमा र चर्चा भने चार महिना बित्दा पनि सेलाएको छैन । केही महिनादेखि लगातार मूल्यवृद्धि हुँदै उच्च दरमा किनबेच भएका कारण प्याजको प्रसंग व्यापक बनेको हो । भदौ यताको ३ महिनामा साढे ३ सय प्रतिशतसम्म प्याजको भाउ बढेको देखिन्छ ।

प्याज चिन्तन

जसका कारण घरभित्र मात्र होइन, टोल–छिमेक, जमघट, सार्वजनिक यातायात, सामाजिक सञ्जाल सबैतिर प्याजको चर्चा छ ।


कृषिप्रधान देश भनिए पनि अधिकांश कृषिजन्य वस्तुमा विदेशी मुलुककै भर पर्नुपर्ने बाध्यता छ । त्यसमा पनि छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी कृषिजन्य उत्पादन आयात हुने गर्छ । प्याजको मुख्य निर्यातकर्ता देश पनि भारत नै हो । तर आफ्नो उत्पादन घटेको बताउँदै भारतले अन्य देशतर्फ प्याज निर्यातमा कटौती गरेको छ । नेपालमा पनि भारतीय प्याज आयातमा केही महिना अघिदेखि कमी आएपछि भान्सामा यसको प्रत्यक्ष प्रभाव परेको छ ।


प्याजको लागि नेपाली माटो र हावापानी अनुकूल रहँदा रहँदै पनि उत्पादन वृद्धिमा ध्यान दिएर आत्मनिर्भर हुनेतर्फ नसोच्नु हाम्रो ठूलो कमजोरी हो । यद्यपि, तरकारी विकास निर्देशनालयको निर्देशन अनुसार प्याज उत्पादन वृद्धि गर्ने उद्देश्यले आ.व. ०६४/६५ मा ‘प्याज मिसन’ सुरु गरियो । विदेशी प्याज आयातलाई निरुत्साहित गर्दै स्वउत्पादनद्वारा आत्मनिर्भर बन्ने योजना अनुसार उक्त अभियान सञ्चालन भएको थियो । तर ४ वर्षपछि उक्त कार्यक्रम अन्त्य हुँदा लक्ष्य हासिल हुन सकेन । प्याज उत्पादनमा लाग्ने किसानलाई सरकारी आर्थिक सहुलियतको व्यवस्था, देशका विभिन्न भागमा भण्डारण गृह लगायत केही राम्रा काम परियोजनाले अघि सारेको थियो । तर परियोजना अन्त्यसँगै किसानको सहुलियत रोकियो । योजना अनुसारको भण्डार गृहसमेत निर्माण हुन सकेन ।


आ.व. ०७५/७६ मा १ लाख ७८ हजार क्विन्टल प्याज देशभित्र आयात भएको भन्सार विभागको आँकडाले देखाउँछ, जसका लागि ५ अर्ब ६२ करोड रुपैयाँ बाहिरियो । चालु आ.व.मा प्याज आयातको मात्रा वृद्धि भएकाले करिब ६ अर्ब रुपैयाँ विदेशिने सम्बद्ध निकायको आंकलन छ । आयातको तुलनामा प्याज निर्यात भने निराशाजनक छ । अघिल्लो आ.व.मा १ करोड ८९ लाख रुपैयाँको ८८ हजार किलोग्राम प्याज भारत, कतार र सिंगापुर निर्यात गरेको देखिन्छ । निर्यातमा निराशाजनक अवस्था छ ।


सन् २०१३ को निर्देशनालयको सर्वेक्षणले करिब २० हजार हेक्टर जमिनमा प्याज खेती हुने गरेको देखाएको थियो । अहिले पनि यसमा उल्लेखनीय सुधार आएको छैन । यस बाहेक गुणस्तरीय बीउ, बिरुवाको अभावले समस्या बढाएको छ ।


अर्को ठूलो समस्या भण्डारणको हो भन्ने कुरा वर्षैपिच्छे दोहोरिन्छ, तर उपाय खोजिँदैन । प्याज उत्पादन फागुनदेखि वैशाखमा हुने गर्छ । त्यतिबेला नेपाली बजारमा स्थानीय उत्पादनको उपलब्धता भए पनि दीर्घकालसम्म टिकाउने भण्डारको अभावले परनिर्भरतालाई बढाएको छ । जब विभिन्न कारणले विदेशबाट आयात कटौती हुन्छ, उपभोक्ताको माग सम्बोधन गर्ने अवस्था देशभित्र विद्यमान रहन्न । पहिलादेखि नै यही क्रम दोहोरिँदै आइरहेको छ । अहिले भारतमै प्याजको उत्पादन घटेर मूल्य अकासिएको छ । यससँगै त्यसको असर नेपालमा मात्रै होइन, दक्षिण एसियाका अन्य मुलुकहरूमा पनि परेको छ । भारतले निर्यात रोकेर देशमा प्याजको भाउ बढेपछि बंगलादेशकी प्रधानमन्त्री सेख हसिना वाजेदले आफ्नो भान्सामा प्याजको प्रयोग नगर्ने घोषणा गरिन् ।


आफ्नो देशमा उत्पादन नहुने र प्याजकै लागि देशको ठूलो रकम बाहिरिने भएपछि जनतालाई समेत सोही सन्देश दिन उनको घोषणा आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । जति नै महंँगो भए पनि प्रधानमन्त्रीजस्तो हैसियतले प्याज किनेर खान नसक्ने अवस्था रहन्न, तर उनको यही घोषणाले जनतालाई उपभोगप्रति सतर्क रहन सकारात्मक सन्देश प्रवाह गरेको छ ।


नेपालमा भने प्याजकै कारण उपभोक्ता लामो समयदेखि तरंगित भैरहँदा सरकारले आधिकारिक रूपमा केही बोलेको छैन, न त आम उपभोक्ता नै अभावप्रति सजग देखिन्छन् । दसैं लागेपछि हरेक वर्ष प्याजको भाउ उकालो लाग्ने गर्थ्यो । प्याज मात्रको सवाल होइन, जुनसुकै वस्तु बजारमा अभाव देखिन्छ । अभावको हल्ला चल्नासाथ आफूलाई चाहिनेभन्दा बढी किनेर थुपार्ने होडबाजी नेपाली उपभोक्तामा चल्ने गर्छ । यसले कृत्रिम अभाव र मूल्य झन् चर्काउन सघाउँछ । अहिलेको अवस्था अझ जटिल छ । कुनै प्राविधिक कारणले केही समयका लागि आयात रोकिएको नभई उत्पादनकै मन्दीले आयात प्रभावित भएकोले तुरुन्तै समस्या समाधान होला भन्न सकिन्न ।


भारतको साटो अन्य मुलुकबाट आयात गर्दा पनि नेपाली रुपैयाँ बाहिरिने नै हो । त्यसैले यतिबेला उपभोक्ताकै सुझबुझ सबैभन्दा उपयुक्त समाधान हुनसक्छ । जीवन धान्न आवश्यक वस्तुभित्र प्याज पर्दैन । त्यसैले यो विना पनि भान्सा सुचारु हुन्छ भन्ने मानसिकता सबैले बनाउन जरुरी छ । सोही बमोजिम आफ्नो उपभोग संस्कृतिलाई परिमार्जन गर्नु वेश हुन्छ ।


अभावको बेला आयातित वस्तुलाई धेरै प्रश्रय दिनु हुँदैन । यही कुरालाई आत्मसात गरेर आफ्नो उपभोग शैलीमा सुधार गर्नसके देशकै अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न सक्छ । यस बाहेक राज्यले गर्नुपर्ने काम पनि धेरै छन् ।


आत्मनिर्भर हुने सम्भाव्यता भएका वस्तुहरूको उत्पादन विस्तारका लागि ठोस योजना पहिलो प्राथमिकता हुनुपर्छ । उत्साहसाथ केही काम सुरु हुन्छन्, तर लक्ष्यमा पुग्नु अघि नै ती भताभुङ्ग हुन्छन् । प्याजकै उत्पादनलाई व्यापकता दिने भन्दै सुरु भएको ‘प्याज मिसन’ पनि सोही नियतिसाथ ४ वर्षमा अवसान भयो । जबकि मिसनले सकारात्मक प्रतिफल दिइरहेको थियो । प्याजको चरम अभाव र महँगीको व्यवस्थापनबारे जनस्तरलाई संयमित बनाउने बंगलादेशी प्रधानमन्त्री वाजेदकै प्रयास नेपालका लागि उपयोगी हुनसक्छ कि ?

प्रकाशित : मंसिर १७, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?