सिद्धान्तविमुख विश्वविद्यालय

राम गुरुङ

समाजशास्त्री म्याथ्यु डेसमन्डले सन् २०१७ लाई अमेरिकी समाजशास्त्रको इतिहासमा विशेष वर्ष बनाइदिए । कारण थियो— उनको बहुचर्चित पुस्तक ‘एभिक्टेड’ (निकाला) । पुस्तकले ठूला सिद्धान्त प्रतिपादन वा घटनाको खोज गरेर चर्चा कमाएको भने होइन । समयमा घरभाडा तिर्न नसक्दा दु:ख भोगिरहेका गरिब अफ्रिकी–अमेरिकी र समयमा घरभाडा नपाउँदा कष्ट झेलिरहेका अफ्रिकी–अमेरिकी, मध्यमवर्गीय घरधनीको समस्यालाई उनले इथ्नोग्राफिक (जनजातीय) अध्ययनमार्फत पेस गरे ।

सिद्धान्तविमुख विश्वविद्यालय

हाल हार्वर्ड विश्वविद्यालयमा प्राध्यापनरत उनको यो प्रयोगलाई नयाँ पुस्ताका समाजशास्त्रीले विशेष मन पराए । २००८–९ सम्म दुई वर्षको अनवरत नवीन खोजको परिणाम समेटिएको पुस्तकलाई अमेरिकी पाठक र प्राज्ञिक वर्गले पनि खुबै रुचाइदिए । फलस्वरूप पुस्तक न्युयोर्क टाइम्स बेस्ट सेलर बन्योÙ पुलित्जर पुरस्कार पायो । यो सँगै पुस्तकले हार्वर्ड विश्वविद्यालयमा समाजशास्त्रको औपचारिक अध्ययनमा पनि प्रवेश पायो ।


गत वर्ष नै अमेरिकी समाजशास्त्रीहरूको वार्षिक सम्मेलनमा इन्डियाना विश्वविद्यालयमा विद्यावारिधि गरिरहेकी नाइजेरियाली रेवाट कोइवाटाको यस्तै खाले शोधले बेस्ट मेथडोलोजीको ‘वर्ष उपाधि’ हासिल गरेको थियो । यो पंक्तिकारसमेत सम्मिलित उक्त सम्मेलनमा उनले द्वन्द्वोत्तर समाजमा हठात् बदलिएका अर्थतन्त्र र सांस्कृतिक अभ्यासलाई अपनाउन नाइजेरियाका आदिवासीले गरेको संघर्ष, भोगेका चुनौती र कठिनाइलाई झन्डै डेसमन्डकै विधिमा पेस गरेकी थिइन् । शोधको निष्कर्षले भौतिक द्वन्द्वको अन्त्य भए पनि कसरी त्यसले अर्को भयानक तर अमुक द्वन्द्वलाई विकसित गर्छ भनी चर्चा गरेको छ । उनको शोधले विश्वभरबाट सहभागी झन्डै पाँच हजार विभिन्न शोधपत्रलाई पछि पारेको थियो । समाजशास्त्र विधामा गरिएको नवीन प्रयोग र निष्कर्ष नै यो शोधका बलिया पक्ष हुन् ।


यसको मतलब के हो भने, नवीन खोज र अनुसन्धान विधिले सामाजिक समस्यालाई फरक ढंगबाट खोतल्ने काम त गर्छ नै, हाम्रा शैक्षिक पाठ्यक्रमले अपनाएका बाह्य सैद्धान्तिक मान्यतामा नयाँ मान्यता र सर्त कति आवश्यक छन् भन्ने पनि संकेत गर्छ । यही गतिशील समाज र आर्थिक परिवर्तनलाई दिशानिर्देशक बन्न सक्छ । यी दुइटा प्रतिनिधि घटनाले समाजशास्त्रको इतिहासमा नयाँ मोड दिए र सामाजिक समस्यालाई नवीन दृष्टिकोणबाट पेस गर्दा समाजले लिन सक्ने फाइदातिर पनि औंल्याए ।


उपर्युक्त पुस्तक र शोधले प्रचलित सिद्धान्तको कर्मकाण्डी धार पछ्याएनन् । समाजशास्त्रीय अध्ययनबाहिर मानिएको इथ्नोग्राफिक विधिलाई प्रयोगमा ल्याए । विश्व समाजशास्त्रको दुनियाँमा नयाँ बाटो दिए, जसले ‘द्वन्द्वात्मक सम्बन्धभित्र पनि प्रकार्यात्मक अन्तरसम्बन्ध हुन्छ’ भन्ने फरक विश्लेषणको उपागम दियो ।


यो अभ्यास नेपाली समाजशास्त्रका लागि अनौठै हो । अनौठो कुन अर्थमा भने, अहिलेसम्म नेपाली समाज विज्ञानमा इथ्नोग्राफिक विधिको प्राज्ञिक साधना मानवशास्त्रभित्र मात्र हुँदै आएको छ । चलनचल्तीमा इथ्नोग्राफिक अध्ययन समाजशास्त्रीय अध्ययनभित्र पर्दैनन् । डेसमन्ड वा कोइवाटाले जस्तै समाजशास्त्रीय अध्ययनका लागि शास्त्रीय सिद्धान्तको जगमा हाम्रा आफ्नै मौलिक तरिका र विधिलाई विकास गर्ने समाजशास्त्री नेपालभित्र देखिएका पनि छैनन् ।

समाजशास्त्र र अन्य सामाजिक विज्ञान विषयको अध्ययन सन् १९८० को उत्तरार्धदेखि हुन थालेको हो । यसरी हेर्दा नेपाली समाज विज्ञान अध्ययन–अध्यापनको उमेर ४० वर्षजति हुँदै छ । समाजशास्त्र मात्रमा दीक्षित विद्यार्थीको संख्या हजारौं पुगिसकेको छ । संख्याका हिसाबले समाजशास्त्र सबैभन्दा आकर्षणको विषय हो । तर गत ४० वर्षमा त्रिवि र समाजशास्त्र लगायतका सामाजिक संकायले स्वामित्व ग्रहण गरेको कुनै पनि नयाँ सिद्धान्त (थेसिस/एन्टिथेसिस) प्रतिपादन भएको छैन ।


हाम्रो शैक्षिक पाठ्यक्रम र शिक्षण पद्धतिले विद्यार्थीलाई मौलिक अध्ययन र खोजका लागि जिम्मेवार बनाउन नसक्दाको परिणाम त्यस्ता शोध पुस्तकालयका अभिलेखमा गएर थन्किएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का समाजशास्त्र लगायतका अन्य सामाजिक संकायका विभिन्न तहमा अध्ययन गरेका हजारौं शोधार्थी छन् । तिनले वर्षेनि उत्तिकै संख्यामा आफ्ना शोध सम्बन्धित विभाग र त्रिवि केन्द्रीय पुस्तकालयमा पेस गर्छन् । यीमध्ये ७२ प्रतिशतभन्दा बढी शोधका शीर्षक, खोज तथा अनुसन्धानका मुद्दा र तिनको निष्कर्ष, अनुसन्धान विधि र अध्ययन क्षेत्र झन्डै–झन्डै मिल्छन् । तिनले मौलिकता पहिल्याउन र खोज्नै सकेका छैनन् । पाठ्यक्रममा समावेश सिद्धान्तमाथि पनि न्याय गर्न सकेको देखिँदैन ।


समाजशास्त्रमा विश्वविद्यालय अध्ययन सकेका विद्यार्थीको बजार–खपत संख्या सन्तोषजनक देखिन्न । एउटा अध्ययन अनुसार, त्रिविबाट निस्किएका हरेक सय विद्यार्थीमध्ये १०–१५ जनाले मात्रै विषयजन्य रोजगारी पाएका छन् । बाँकी, अन्य पेसा वा रोजगारीमा छन् । यसका पछाडि पेसा/व्यवसायको रोजाइ र रुचिजस्ता अनेक कारण भए पनि मूल कुरा हाम्रो पाठ्यक्रम र रोजगारी बजार समाज वैज्ञानिक उत्पादन गर्न उत्प्रेरित गर्ने खालको नहुनु नै हो ।


पछिल्ला वर्षमा भर्ना प्रक्रियामा सुधारले समाजशास्त्र लगायत केन्द्रीय विभागमा विद्यार्थी संख्यामा उल्लेख्य कमी आएको छ । तथापि आवेदक र भर्ना संख्याको औसत अनुपात १:४ छ । यो समाजशास्त्र जस्ता विषय अध्ययनप्रतिको विद्यार्थी आकर्षणको तथ्य हो । अद्यापि समाजशास्त्र लगायतलाई खोज–अनुसन्धानका रूपमा भन्दा पनि पेसा/नोकरीमा पेस गरिने ‘डिग्री’ लिने विषयकै रूपमा लिइन्छ । यसले अध्ययनशील विद्यार्थी, नवीन खोज तथा अनुसन्धानमा समर्पित र प्रतिबद्ध विद्यार्थीलाई उत्प्रेरित गर्दैन ।


एउटा रोचक तथ्य छ । समाजशास्त्र लगायतका पाठ्यक्रम सन् १९९० वा २००५–६ जस्ता हरेक ऐतिहासिक राजनीतिक उतार–चढावबाट उल्लेख्य प्रभावित भएका छन् । सिफारिसमा शास्त्रीय सिद्धान्तहरू दोहोरिएका छन् । नेपालभित्र नेपाली समाजशास्त्रीले गरेका नयाँ खोज/विधि, सैद्धान्तिक उपागम प्राथमिकतामा परेका देखिन्नन् । संरचनात्मक प्रकार्यवाद वा मार्क्सवादी दृृष्टिकोण जस्ता प्रभुत्वशाली मानिएका दृष्टिकोण अन्तर्गत नेपाली समाजशास्त्रीले गरेका मौलिक खोज तथा पठन सामग्री १० प्रतिशतभन्दा पनि कम सिफारिसमा परेका छन् ।


नयाँ विधिबाट नयाँ सैद्धान्तिक धार बनाउनु कठिन र जोखिमपूर्ण हुन्छÙ आलोचनात्मक तथा गहन अध्ययनको खाँचो हुन्छ । शोधार्थी एक्लैको साधना र मेहनतले मात्र सम्भव हुने काम होइन यो । यसका लागि सम्बन्धित संकाय/विभाग, शैक्षिक वातावरण तथा शिक्षण पद्धति र विद्यार्थीको सुदूर दृष्टि जिम्मेवार हुन्छन् ।


उल्लिखित दृष्टान्तका आ–आफ्नै आर्थिक–सामाजिक सीमा अवश्य छन् । विद्यार्थीका रुचि र बाध्यता उत्तिकै जिम्मेवार छन् । सम्बन्धित संकाय र विभागका छुट्टै आर्थिक–प्रशासनिक कठिनाइ पनि होलान् । तर महत्त्वपूर्ण प्रश्न, समाजशास्त्र जस्ता विषयलाई जागिरे डिग्री र प्रमाणपत्रको घेराबाट कसरी निकाल्ने भन्ने नै हो । यो जिम्मेवारी मूलत: सम्बन्धित संकाय/विभागकै हो । यसका लागि शिक्षण/अनुसन्धान विधि एवं पद्धतिलाई प्रचलित सिद्धान्तमा भएका खोट केलाउनपट्टि केन्द्रित गर्न आवश्यक छ, जसले नेपाली समाजको अर्थराजनीतिक, सामाजिक तथा सांस्कृतिक विशिष्टता अनुसार समस्याको पहिचान गर्न सकोस् ।


त्रिविले विद्यावारिधी लगायतका विशिष्ट अध्ययनमा अपनाएको भर्ना विधिको कुरा गरौं । सामान्यत: उल्लिखित तहका लागि आवेदकको तल्ला शैक्षिक तहको प्राप्तांकभन्दा विगतका प्राज्ञिक उपलब्धि महत्त्वपूर्ण हुन्छन् । आवेदकको खोज–अनुसन्धान, राष्ट्रिय–अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित कृति, भविष्यमा गर्न चाहेको खोज–अनुसन्धानको विषय र सैद्धान्तिक दृष्टि, यसप्रति उसको समर्पणलाई भर्ना हुन योग्य आधार बनाइन्छ । यस्तो अभ्यासले उम्मेदवारको लेखाइ र प्रस्तुति, समस्याको सैद्धान्तिक बुझाइ, नवीनता खोज्ने क्षमता विकास गर्नुका साथै विद्यार्थीलाई भविष्यमा नयाँ सिद्धान्तका लागि चिन्तनशील बनाउँछ । तर, आज पनि समाजशास्त्र लगायतका विभाग/संकायको मूल्यांकन प्रवेश परीक्षाबाट बाहिर निस्कन सकेको छैन ।


समग्र त्रिवि समाजशास्त्र संकाय लगायतका विभागीय शैक्षिक कार्यक्रम पाठ्यक्रम निर्माण र त्यसको कर्मकाण्डीय पठन–पाठनमै खुम्चिएको छ, न त्यो अध्ययन–अध्यापन तथा खोज–अनुसन्धान लक्षित एवं प्रेरित छ । शिक्षक–विद्यार्थी दुवै नीरसप्राय: लाग्छन् । नवीन सिद्धान्तको खोज–अनुसन्धान विधि अपनाई नीरस, कर्मकाण्डी र परीक्षाकेन्द्रित उच्च शिक्षालाई प्राज्ञिक तुल्याउनु आवश्यक छ । यो कसरी सम्भव छ ? यस्तो किन भइरहेको छ ? सम्भवत: यसको एउटै ठोस जवाफ छैन । कारण विविध छन् । हाम्रा आर्थिक व्यवस्था, सामाजिक मान्यता, राज्यको चरित्र, राजनीतिक दलका प्राथमिकता आदि प्राज्ञिक चिन्तन र खोज–अनुसन्धानका लागि जिम्मेवार छन्, जसले समाजशास्त्र जस्ता सामाजिक विज्ञानलाई अद्यापि सामाजिक प्रतिष्ठा र पेसाको विषय मात्रै बनाइदिएका छन् ।


प्रकाशित : मंसिर १३, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?