कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साना हातमा पुस्तक कि ग्याजेट ?

बिना थिङ

सबै कक्षाका विद्यार्थीका लागि साताको एक दिन पुस्तकालयको ढोका उघ्रिन्थ्यो । केटाकेटी पालो बमोजिम एक पिरियड त्यहाँ बस्थे । ससाना हातमा ती पुस्तक घामजस्तै चहकिला देखिन्थे । सुनौला अक्षरहरूको चमकले तिनका आँखा चमचमाउँथे । कोही सस्वर वाचन गर्थे त कोही मौन । मन परेको पुस्तक घर लाने सुविधा पनि थियो ।

साँझ–बिहान गृहकार्य र खेलकुद बाहेकको समय तिनीहरू पुस्तक पढ्थे । पुस्तकका घोडा, कमिला, आकाश, रूख, खोला, मानिस, चरा आदिका चित्र खुब मन पराउँथे । एकअर्काका पुस्तकमा भएका चित्र देखाउँथे । यसरी आआफ्ना क्षमता अनुसार पुस्तकका ज्ञान ग्रहण गर्थे । त्यही ज्ञान अर्को साथीसँग बाँड्ने गर्थे । यसले केटाकेटीको अभिव्यक्ति कलामा निखार ल्याउँथ्यो । कथावाचकका रूपमा तिनीहरू परिष्कृत हुँदै जान्थे । कतिमा त साहित्यप्रति रुचि जाग्ने गर्थ्यो । साहित्य लेखनमा रत्तिँदै जान्थे । समग्रमा केटाकेटीमा सामाजिकीकरणको अभ्यास हुन्थ्यो । कल्पनाशक्तिको विकास हुन्थ्यो । एक दशक अगाडिसम्म केटाकेटी वरिपरिको वातावरण धेरथोर यस्तै थियो ।


एक दशक उति लामो समय नभए पनि परिवर्तन भने धेरै भइसकेको छ । सूचना, सञ्चार तथा प्रविधिले छलाङ मारेको छ । इन्टरनेटमा पहुँच बढाएको छ । अहिले अधिकांश केटाकेटीका हातमा कसैको एन्ड्रोइड फोन हुन्छ । भिडियो गेम, टिकटक, इन्स्ट्राग्राम, युट्युब, फेसबुक च्याटले तिनीहरूको अधिकांश समय निलिरहेको छ । प्रविधिको सवालमा अहिलेका केटाकेटी अभिभावकभन्दा एक कदम अगाडि छन् । सँगै केही रिक्तता उत्पन्न भएका छन् । अहिले केटाकेटी घरबाट निस्कन मन पराउँदैनन् । कतै गइहाले पनि एकाध घण्टा पनि अडिन सक्दैनन् । संसार प्राविधिक त भयो, तर पारिवारिक भएन । केटाकेटीमा सामाजिक अन्तरघुलनको अभ्यास शून्य भएर गएको छ । छिमेकका आफ्नै छिमलका साथी चिन्दैनन् । आफन्त र नातागोता आए–गएको पत्तो हुँदैन । उज्यालो तिनका आँखाले विद्यालयतिर हिँड्दा मात्र देख्छन् ।


‘मामाघरमा इन्टरनेट छैन । के गर्न जाने ?’

सात कक्षा पढ्ने मेरो छोराको ठाडो प्रतिक्रिया हो यो । ऊ मामाघर करबलले मात्र जान्छ । रहरले जाँदैन । कारण स्पष्ट छ । त्यहाँ उसले भनेजसरी मोबाइलमा गेम खेलेर वा च्याट गरेर समय व्यतीत गर्न पाउँदैन ।

यस्तो एकै पटक वा अचानक भएको पक्कै होइन । सामाजिक संरचनासँगै हाम्रो भूमिकामा परिवर्तन आएको छ । अधिकांश अभिभावक सुखको खोजीमा भौंतारिइरहेकै छन् । वैदेशिक रोजगारी सामान्य हुन थालेको छ । सरकारकै तथ्याङ्कले पनि प्रत्येक दुई घरबाट एक जना वैदेशिक रोजगारीमा रहेको देखाउँछ । बाहरूसँगै आमाहरू पनि आय आर्जनमा व्यस्त हुन थालेका छन् ।


संयुक्त परिवार अपवाद भएको छ । अभिभावकसँग अहिले केटाकेटीसँग बिताउने समयको अभाव छ । केटाकेटीलाई अलमलाउने माध्यम के हुन सक्ला ? मोबाइल, फिल्म, गेम, इन्टरनेट... । हामी (अभिभावक, विद्यालय, समाज) आफ्नो दायित्व र कर्तव्य कतै छोडेर दौडियौं । फलस्वरूप केटाकेटीमा एकाकीपन व्याप्त हुन थाल्यो । चुपचाप बस्ने, दोहोरो संवाद गर्न झिँजो मान्ने । भावना सेयर गर्न हच्किने । आत्मविश्वास कमजोर हुँदै जाने । व्यावहारिकता कुन तत्त्वको नाम हो ? पत्तो नपाउने । चिडचिडो हुने, क्रोधको पारो उकालो लाग्ने ।


यस्तो समस्याबाट सहर र सहरोन्मुख गाउँका अभिभावक ग्रस्त छन् । समस्याको जालो नजानिँदो गरी फैलिँदै छ । निराकण त्यति सहज छैन । यसका लागि लामो समय लाग्न सक्छ । तर हात बाँधी बसेर भएन । अभिभावक, शिक्षक, सरोकारवालाहरूले यसबारे सोचेर मात्र हुँदैन । सोचलाई कार्यान्वयनमा ल्याउनुपर्‍यो । कसले के–के गर्न सक्छ ?


घरमा

केटाकेटीमा इन्टरनेटको लत बसिसक्यो । तिनलाई यसबाट स्वाट्टै विमुख गर्नु घातक हुन सक्छ । बरु घरका सबै सदस्यको सहभागितामा आचारसंहिता बनाउने । यसमा केटाकेटीको पनि सुनुवाइ हुनुपर्छ । जस्तै : इन्टरनेटका लागि समय निर्धारण गर्ने । खाना परिवारका सबै सदस्यले सँगै खाने । साँझ आधा घण्टा पारिवारिक गफगाफमा सामेल हुनैपर्ने । छिमेक वा आफन्तका विवाह, व्रतबन्ध, मरण लगायतमा अनिवार्य उपस्थित हुनैपर्ने । यसले अभिभावक, केटाकेटी, छिमेकी, आफन्तमा आत्मीयता प्रगाढ बनाउन मद्दत गर्छ । पारिवारिक दायित्वबोध गराउँछ ।


विद्यालयमा

मानिस आनन्द चाहन्छ । खुसीको खोजीमा भौंतारिन्छ । त्यस्तो खुसी यथार्थ जीवनमा कम प्राप्त हुन्छ । सिनेमा, खेलकुद, पुस्तकहरूले हामीलाई वर्तमानको दु:खबाट केही समयलाई भए पनि टाढा लैजान्छन् । यसबाट मानसिक थेरापी हुन्छ ।


केटाकेटी कम्प्युटरमा गेम खेलेर, मोबाइल चलाएर, युट्युब हेरेर त्यस्तो आनन्द खोजिरहेका छन् । पुस्तकसँग विद्यार्थीको सामीप्य बाक्लो बनाउन विद्यालय चुकिरहेको छ । केटाकेटीमा कोर्स बाहेकका पुस्तक पढ्ने बानी हराउँदै गएको छ ।


शिक्षकले चाहने हो भने विद्यार्थीलाई अभ्यस्त बनाउन सक्छ । उदाहरणका लागि, शिक्षिका मीनाले हरेक शुक्रबार पाँच कक्षाका विद्यार्थीबीच कथावाचन प्रतियोगिता गर्ने गर्छिन् । त्यो कक्षामा बाइस विद्यार्थी छन् । सुरु–सुरुमा चार जनाले मात्र कथा वाचन गरे । बिस्तारै त्यो संख्या बढेर नौ पुग्यो । यसरी कथावाचन प्रतियोगिताप्रति विद्यार्थीहरूको आकर्षण बढ्दो छ । ती कथा उनीहरूले साताको एक पटक पुस्तकालय जाँदा पढेका, कतै सुनेका वा मनगढन्ते पनि हुन सक्छन् । जसले सिलसिलेवार र रोचक ढङ्गले कथा वाचन गर्छ, ऊ पुरस्कृत हुन्छ । पुरस्कारमा कपी, कलम अथवा चकलेट दिन सकिन्छ । अथवा, स्याबासी मात्रै पनि हुन सक्छ । यसले ती विद्यार्थीमा पुस्तक पढ्ने बानीको विकास गर्दै लगेको छ ।


सरोकारवाला

केटाकेटीसँग प्रत्यक्ष सरोकार राख्ने संघ–संस्थाले समय–समयमा खेलकुद, चित्रकला, संगीत तथा नृत्य प्रतियोगिता गर्न सक्छन् । सामाजिक रूपमा आयोजना हुने यस्ता कार्यक्रमको तयारीका लागि केटाकेटीले समय निकाल्नुपर्ने हुन्छ । बिस्तारै आउटडोर कार्यक्रममा संलग्न हुँदै जाँदा रम्दै जान्छन् ।


अनि इन्टरनेटमा झुन्डिने बानी स्वत: कम हुँदै जान्छ ।

प्रकाशित : मंसिर १३, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?