बदलिँदो गढीमाई मेला

चन्द्रकिशोर

मेला र जात्रा हाम्रा सांस्कृतिक सम्पदा हुन् । त्यस्तै एउटा सम्पदा हो— गढीमाई मेला । प्रत्येक पाँच वर्षमा लाखौं मानिस एकै थलोमा भेला हुने मेला । प्रदेश २ को त यो चिनारी नै हो । स्थानीय बासिन्दाले यसलाई विश्वकै सबैभन्दा बढी बलि दिइने मेलाका रूपमा चिनाउन मन पराउँछन् । कतिपयले यसलाई ‘मधेसी महाकुम्भ’ को संज्ञा दिने गरेका छन् ।

बदलिँदो गढीमाई मेला

उसो त यो मेलामा नेपालका विभिन्न भागका साथै भारतका भक्तजन र कारोबारीहरूको व्यापक सहभागिता हुने गर्छ, तैपनि यसले सीमाञ्चलमा सांस्कृतिक सेतुको काम गरिरहेको भन्नेहरू पनि कम छैनन् । यो मेलामा सीमाञ्चलको देहात बढी मुखरित हुन्छ । मेला मुख्यत: बारा जिल्लामा लागे पनि यसको चाप छिमेकी जिल्लाहरूमा समेत सघन रूपमा देख्न सकिन्छ ।


धार्मिक आस्था र बलिका कुरालाई थाती राख्ने हो भने, गढीमाई मेलामा नेपालको मधेसको वास्तविक झल्को पाइन्छ । यहांँ पस्किइने स्वादहरूमा मधेस झल्किन्छ । डेढ दशकअघिसम्म मेला भर्न आउनेहरू बैलगाडीमा बढी हुने गर्थे । अचेल गाउँघरमा पनि ट्याक्टरको प्रयोग बढेपछि बैलगाडी विस्थापित भएका छन् । यसको प्रभाव मेलामा पनि देखिएको छ । भर्खर धान काटिएका खेतमा ट्याक्टरहरूको लस्कर निकै मोहक देखिन्छ । अब त अन्य चारचक्के गाडी पनि कम छैनन् । यस क्षेत्रका रैथाने पहाडी समुदाय भाकल वा दर्शनका लागि मात्र होइन, बलि दिन पनि आउने लामो परम्परा छ । यसले लोकजीवनमा गढीमाई मेलाको प्रभावलाई प्रस्ट्याउँछ ।


गढीमाई क्षेत्रका बवुआइन, कबही, मधुरी, दहियार, मल्हनी, नेगछिया, बर्बा, पर्सा, तेलकुवां, मन्झरिया र धरमपुरी गाउँमा मेलाको वर्ष मेला समाप्त भएपछि मात्र छोरी बिदाइ गर्ने परम्परा छ । दसैंसंगै मन्दिर वा घरमा बिदाइ वा आशिषको ‘खोइछा’ दिन रोकिन्छ । यो क्षेत्रका लागि मेला इष्टमित्र र नातागोता मिलनको अवसर पनि हो । यतिखेर वरिपरिका गाउँमा आफन्तहरू आएर बस्ने गर्छन्, जसलाई ‘पहुंनई’ भनिन्छ । अर्को कुरा, गढीमाई मन्दिरका पुजारी र धामी थारू कछडिया जातिका हुन् । माईको मूर्तिमा समेत थारू परिधान अंकित छ । गढीमाई र यस मेलाबारे बिभिन्न किंवदन्ती पाइन्छन्, तर सबैको केन्द्रमा थारू जाति छन् ।


आमसञ्चार माध्यमको बढ्दो कभरेजका कारण करिब दुई दशकयता गढीमाई मेलाको व्यापक प्रचार भएको छ । बढ्दो प्रचारले स्थानीय व्यवस्थापन समिति सुरुमा निकै हौसियो । कारण, मेला भर्न आउनेहरूको संख्या ह्वात्तै बढायो । सँगै बलिको संख्या पनि । लाखौं मानिस भेला हुने, लाखौं रांगाको बलि हुने र ठूलो मेला लाग्ने भएपछि पैसाको पनि राम्रै खेल हुन थाल्यो । त्यसैले मेला समितिको चुनावमा राजनीतिक अतिक्रमण बढ्दै गयोÙ चुनाव खर्चिलो पनि हुँदै गयो । स्थानीय प्रहरी–प्रशासनले पनि ‘बहती गंगा’ मा हात धुन थाले ।


गढीमाई मेलाको मूल विशेषता भनेकै बलि हो । यहां भाकल गरिए अनुसार रांगा, बोका र परेवा बलि चढाइन्छ । आस्था राख्नेहरूका लागि राँगा बलिको दृश्य उत्सवजस्तै हुन्छ । अहिले पहिलेसम्म राँगा काट्ने लाइसेन्स लिएका व्यक्तिहरू नांगा खुकुरी हल्लाउँदै, घुमी–घुमी राँगा ढालिरहेका हुन्थे । डराएका रांगाहरू भागाभाग गर्दै हुन्थे । गढीमाई मेलामा आवधिक हुने यस्तो प्रदर्शन सुरुमा जोकसैलाई अचम्म लाग्ने भइहाल्यो । तर राँगा–बलिमा सहभागी समूहहरू उल्लसित देखिन्थे । यस्तोमा आमसञ्चारले मेलाको विशालताका साथै ठूलो संख्यामा बलिको ‘बीभत्सता’ लाई अन्तर्राष्ट्रियकरण गरे । पशु बलिविरुद्ध आवाज उठाउनेहरू गढीमाईतिर आकर्षित भए । दबाब बढ्दै गएपछि मेला व्यवस्थापन समितिले साबिकको खुला बलि क्षेत्रलाई अग्लो पर्खालले घेराबन्दी गर्‍योÙ बलिस्थलमा हुने काटमारको दृश्य खिच्न रोक लगायोÙ पशु बलिविरुद्ध चेतनामूलक तुल र ब्यानर झुन्ड्याउन दिन थाल्यो ।


यस पटक त बलिलाई निरुत्साहित गर्न मेला समितिले नै केही पहल सुरु गरेको छ । अब अपरिपक्व राँगा र बोका नकाटी पालनपोषण गर्न इच्छुक स्थानीय व्यक्तिहरूलाई उपलब्ध गराउने, बलिबापत राँगा, खसी, परेवाको तोकिएको दररेट अनुसार रकम लिने र त्यसलाई बलि चढाएसरह मान्ने काम थालेको छ । समितिले परेवा संरक्षण अभियानसमेत गर्ने भएको छ । निश्चय नै यसमा अदालती आदेश र नागरिक दबाबले काम गरेको छ । तर यो संकेत पनि हो— बलिमा आधारित पुराना मान्यता, विश्वास र परम्परामा बिस्तारै ह्रास हुँदै छ ।


स्थानीय बासिन्दाले ‘रगतविहीन मेला’ को अवधारणालाई दुई प्रकारले ग्रहण गरेको पाइन्छ । एक, हिन्दु परम्परालाई कमजोर बनाउने तत्त्व जसले अनेक गैरसरकारी संस्थालाई औजार बनाएको छ । दोस्रो, बरियारपुर क्षेत्रलाई मेलाबाट उन्नति हुने अवसरबाट वञ्चित गर्न खोज्नेहरूको खेतीपाती । स्थानीय बासिन्दा गुनासो गर्छन्— अन्यत्रभन्दा बरियारपुरकै बलिको विरोध किन ? स्थानीय तहमा व्याप्त यस्तो धारणा पशु अधिकारकर्मीहरूका लागि चुनौती हो ।


पहिला मेलाको बखत खबर छापिन्थ्यो— ‘चमारलाई मासुभोज’ । पहिला सीमाञ्चल क्षेत्रका चमार परिवारमा मेलाको बखत मासुभोज भित्रिन्थ्यो । राँगा बलिका दिन बलि क्षेत्रमा जताततै लडेका राँगा खोस्न एउटा समुदाय उद्यत देखिन्थ्यो । यस परिदृश्यले देखाउँथ्यो मधेसमा रहेको खाद्य असुरक्षा र जातिभेदबाट सिर्जित खाडल । तर अब ‘सिनो बहिष्कार’ को नारा बाक्लिएको छ । यसरी मेला आफै सामाजिक–आर्थिक बदलाव मापन गर्ने ब्यारोमिटर भएको छ ।


पशु बलि नेपालमै सबैतिर छ । यो परम्परा कुनै धर्मविशेषमा मात्र सीमित छैन । त्यसै गरी मांसाहारको परम्परा नयाँ होइन । गाउँ–देहातमा समेत एकातिर रैथाने परिकार हराउँदै छ भने, अर्कातिर सेकुवापसलको जालो बाक्लिएको छ । यसले भुइँतहमा उदीयमान आर्थिक संरचनाको पनि पोल खोल्छ । यता शाकाहारको आन्दोलन पनि चुलिएको छ । शाकाहारी आन्दोलन अझै व्यापक स्वीकृतिका लागि प्रयासरत छ । किनभने अझै अधिकांश मानिस पुरानो जीवनशैलीबाट मुक्त हुन सकेका छैनन् । बलिविरुद्धको आन्दोलन यहींनेर कमजोर हुन्छ । सामाजिक जागरुकताका लागि पारदर्शिता र नैतिकता जरुरी हुन्छ नै, सामाजिक मनोविज्ञानसंँग सामीप्य राख्न पनि सक्नुपर्छ ।


मधेस मेलाप्रधान क्षेत्र हो । यहाँका पारम्परिक मेलाहरू मौलिक थिए । तिनको समय र स्थान लोकस्मृतिमा सुरक्षित रहन्थ्यो । यसका आर्थिक पक्ष पक्कै थियो, तैपनि सांस्कृतिक भावले बढी प्राथमिकता पाउँथ्यो । अहिले राजनीतिका कारण सबैले मेलालाई आर्थिक चस्माले मात्र हेर्न थालेका छन् । कतिपय स्थानीय तहले आधुनिक ‘स्पेस’ मा रूढी र परम्पराहरूको पुनर्खोज गर्दै अझ बढी आडम्बरसाथ कार्यान्वयन गर्दै छन् । अहिलेको राजनीतिक वर्ग अन्धविश्वासको सबैभन्दा ठूलो संरक्षक बनेको छ । विभिन्न क्षेत्रका अगुवाहरूले अन्धविश्वासलाई नै हौस्याएका छन् । गढीमाई मेलाको अवसरले आस्था, अन्धविश्वास र संस्कृति बीचको मसिनो भेदबारे विमर्श गर्ने मौका देओस् ।

प्रकाशित : मंसिर १२, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?