कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

विवाह कि असमान कारोबार ? 

उमा भण्डारी

काठमाडौँ — विश्वका प्रायः समाजमा झैं नेपाली समाज पनि पितृवंशीय परम्परामा आधारित छ । यहांँ अंश र वंश छोरा–नाति हुँदै सन्तान–दर–सन्तानसम्म जान्छ । जतिसुकै आधुनिक कानुन बनेको भए पनि छोरीमार्फत अंश र वंश हस्तान्तरण हुने परिस्थिति अझै आइसकेको छैन ।

विवाह कि असमान कारोबार ? 

यस्तो अवस्थामा छोराविहीन परिवारहरू जति वटी छोरी जन्मिए पनि, जतिसुकै पढाइ–लेखाइ गराएर छोरीहरू हुर्काए पनि छोरीलाई विवाह गरेर अर्काको घर पठाएपछि वंशविहीन हुनुको अन्तहीन पीडाले छटपटाइरहेका पाइन्छन् । परम्परागत रूपले पितृप्रधान एवं पितृवंशीय समाजमा छोरी र छोरा जतिसुकै समान हुन् भने पनि त्यसलाई समाज र परिवारले आत्मसात् गर्न सकेको पाइन्न ।


छोरा नभएको परिवारलाई यथार्थमै अधुरो र अपूरो रूपमा लिने गरिएको छ । त्यो घरमा परम्परागत रूपले पुरुषद्वारा गरिँदै आएका संस्कार गर्ने मान्छे हुँदैन । विवाह गरेका छोरीहरू अर्को (गोत्र र थरधारीको) घरका सदस्य हुन्छन् । एक किसिमले भन्ने हो भने तिनका लागि आमाबाको घरको दैलो लाग्छ । आमाबा कसले स्याहार्ने भन्ने समस्या अत्यन्त पेचिलो हुन्छ । पीएचडी अध्ययनका क्रममा मैले काठमाडौंको काँठक्षेत्रका बाहुन–क्षत्रीसँगको साक्षात्कारमा फरक सोचाइ पाउन सकिनँ ।


उदाहरण १ : छोराविहीन तर दुई वा तीनभन्दा बढी छोरी भएका आमाबाले छोरीहरूलाई अंशबन्डा गरिदिए । श्रीमान्को मृत्युपछि आमा एक्ली परिन् । कुनै पनि छोरी श्रीमान्को घर छोडेर आउन चाहेनन् वा सबै दिदीबहिनीले अंश लिएपछि मैले मात्रै किन हेर्नुपर्ने भन्ने कुरो आयो । पछि उनी एउटी छोरीको घर गएर लगभग शरणार्थीको हैसियतमा बसिन् ।


उदाहरण २ : तीनभन्दा बढी दिदीबहिनीमध्ये एक बहिनी पतिसहित माइतै बस्न आइन्, आमाबालाई स्याहार्न । आमाबाको देहान्तपछि दिदीबहिनीबीच सम्पत्तिलाई लिएर ठूलो झगडा पर्‍यो । अरू दिदीबहिनीले धेरथोर अंशमा चित्त बुझाए, तर जेठी चाहिँ बेखुसी भइरहिन् ।


उदाहरण ३ : एउटी आमाले आफ्नो भागको अंश सौतेनी छोराहरूलाई नदिई आफ्नै छोरी र नातिहरूलाई दिइन् । अहिले उनकी छोरीतिरका नाति र सौताका छोरातिरका नाति छिमेकी भएर बसेका छन् । अधिकारले केही नचले पनि सामाजिक मनोविज्ञानलाई समातेर छोरातिरका नातिले छोरीतिरका नातिलाई बेलाबेलै घोचपेच गरिरहन्छन् ।

उदाहरण ४ : एउटा परिवारमा तीन छोरा थिए । जेठा र कान्छा छोराका छोरी मात्र थिए भने माइलाका एक छोरा । जेठा र कान्छाले अलिअलि सम्पत्ति बेचेर छोरीहरूलाई पैसा दिए भने, बाँकी अंश माइलाका छोराका लागि छोडिदिए । यसबापत माइलाका छोराले पछि तिनको काजकिरिया, श्राद्ध आदि गर्नुपर्ने देखिन्छ । वरत्र र परत्र मिलाउने विस्मयकारी निर्णय आफैमा जटिल देखिन्छ ।


उदाहरण ५ : छ भाइ भएको एउटा परिवारमा एउटा भाइको एउटी छोरी मात्रै थिइन् भने, अरू भाइका छोराछोरी दुवै थिए । छोराविहीन दम्पतीको देहान्तपछित उनको भागको अंश अन्य भाइले दामासाही बाँडेर खाए । छोरीका सन्तानले केही पनि पाएनन् । अहिले दिवंगत दम्पतीको श्राद्ध गर्न अंश खाएका दाजुभाइबीच हानथाप देखिन्छ ।

उदाहरण ६ : एक नि :सन्तान दम्पतीले भाइको छोरालाई धर्मपुत्र बनाए, आफ्नो भागको सम्पूर्ण जग्गाजमिन उसकै नाममा गरिदिए । अहिले ती दम्पती करोडौंको सम्पत्ति लिएको धर्मपुत्रको परिवारसँंग कष्टकर जीवनयापन गरिरहेका छन् ।


छोराविहीन वा सन्तानविहीन पितृवंशीय परिवारले आफ्नो अंशवंशका लागि अपनाएका विभिन्न उपायमध्ये केही उपर्युक्त नै हुन् । यी उपायमा नि :सन्तान वा छोरी मात्र भएका दम्पतीको सम्पत्ति खाने र जेनतेन काजकिरिया गर्ने मान्छेसम्म त जुटे, तर उनीहरूको थरगोत्र बोकिदिने चाहिँ कोही भएन । कतिपय अवस्थामा चाहिँ धर्मपुत्र (जो दाजुभाइका छोराहरू थिए) मार्फत अंशवंश कायम गरेको पाइन्छ ।


धरातलीय यथार्थ

छोरी र छोरा समान हुन् भनेर जतिसुकै फलाके पनि माथिका उदाहरणले देखाउँछन्— हाम्रोजस्तो पितृवंशीय समाजमा छोरी र छोरा समान हैनन् । अंश हक ग्रहण गर्न त अहिलेको कानुनले छोरीलाई रोक लगाएको छैन, तर वंश हस्तान्तरण गर्ने तथा विवाहपछि छोरीको बासस्थान ज्वाइँको घरमा रहने भन्नेमा भने परम्परागत पितृवंशीय अभ्यास अद्यापि छ ।


छोरा र छोरी दुवै हुने आमाबालाई त केही फरक छैन छोराको विवाह गर्‍यो बुहारी आउँछिन् छोरी विवाह गरेर पठाइदियो, सकियो । तर छोरीछोरी हुने आमाबाका लागि तिनको विवाहपछि घर सुनसान हुन्छ । छोरीहरू अर्काका हुन्छन् कहिलेकाहीं आउँछन् दु :खपीर साटेर आआफ्ना घर लाग्छन् । अनि आमाबाबु नितान्त एक्लै, सन्तान भए पनि नि :सन्तानसरह ! छोरीमा जति माया खन्याए पनि, जति लगानी गरे पनि अन्ततोगत्वा त्यो अर्कैको हुन्छ । अरूको थरगोत्रमा गएर मिसिन्छ । अर्काको घर बन्छ । आफ्नो घर उजाड हुन्छ ।


विवाहपछिका सुरु–सुरुका वर्षमा छोरीहरूले आमाबाप्रति अधिक स्नेह र सहानुभूति देखाए पनि समयक्रमसँंगै उनीहरू आफ्नै घरव्यवहारमा व्यस्त हुन्छन् । अनि बुढेसकालमा आमाबाको हेरचाह छोराबुहारी भएको घरमा जस्तो हुन पाउँदैन । कम्तीमा पनि सामाजिक मर्यादा र बाध्यताले छोराबुहारीलाई जति अंश तथा वंशको उत्तराधिकारी बनाएको छ, त्यति नै कर्तव्यपालनको उत्तरदायित्व पनि थोपरिदिएको छ । मरेपछि यिनै छोराबुहारीले हेर्नुपर्छ भनेर पनि बूढाबूढी आफ्ना गुनासा एकातिर थुपारेर छोराबुहारीप्रति, देखावटी नै सही, सहिष्णु भएर बसेका हुन्छन् । छोरो विदेशमै भासिएको भए पनि साह्रोगाह्रो पर्दा घर आउँछ भन्ने मनोविज्ञानले काम गरेको हुन्छ ।


अहिलेको बहस

‘दुई सन्तान ईश्वरका वरदान’ नीतिले धेरै परिवारमा छोरीछोरी मात्रै छन् । छोरीछोरीमा चित्त बुझाउने परिवार गाउँ र सहर दुवैमा बढ्दै छन् । समाजको बदलिँदो पारिवारिक संरचनालाई सम्बोधन गर्न २०७६ को मुलुकी संहिताले अंश वितरणमा लचिलोपनासहित यो फरकपनालाई स्वीकार गर्न खोजेको देखिन्छ । छोरी मात्रै हुँदाको मूल समस्या भनेको विवाहपछि छोरीको अंश (बासस्थान) र वंश (थरगोत्र) समूह फेरिनु हो ।


सांस्कृतिक एवं कानुनी रूपमै माइतीसँंगको सम्बन्धविच्छेद भएकी छोरीले आफ्ना आमाबाबुका लागि चाहेर पनि गरिपुर्‍याउन सक्ने बाटाहरू अत्यन्तै साँघुरा हुन्छन् । समाजले न त विवाहित छोरी माइती आएर बसेको राम्रो मान्छ, न बाबुआमा विवाहित छोरीको घर गएर बसेको । यी दुवै परिस्थितिलाई नपचाउने समाजकै कारण हरेक परिवारले एउटा मात्रै भए पनि छोरो जन्मोस् भन्ने चाहन्छ ।


मुखले ठिक्क पारे पनि मनमा छोरा नहुनुको पीडा छताछुल्ल भएको पाइन्छ । छोराछोरी दुवैको विदेश पलायनले गर्दा छोरो भए पनि के हुने हो र आमाबालाई छोडेरै जाने हो भन्ने जस्ता वैकल्पिक स्वर सुनिए पनि यथार्थमा ती भनाइ र सामाजिक धरातलमा धरती–आकाशको फरक छ ।


उठाउनैपर्ने बहस

देशमा ठूलठूला क्रान्ति भए, नयाँ संविधान बने, समावेशिताका कुरा उठे, अंशाधिकारका कुरा पनि उठे, आमाका नामबाट नागरिकता पाउनुपर्छ भन्नेसम्मका आवाज उठे, मुलुकी संहितामार्फत सम्पत्तिको हस्तान्तरण सम्बन्धी विभिन्न प्रावधान अदलबदल गर्न पाउने नियम पनि आयो । तर पनि छोराविहीन परिवार केही अलमलमै रुमलिन परिरहेको कटु यथार्थ छर्लंगै छ । र, यो पीडा बोक्ने पुस्ता बढ्दै छ ।


यसमा गाँसिएका केही यक्षप्रश्न यथावत् छन् । जस्तै— छोरीछोरी मात्र हुने आमाबाबुले आफ्नो थरगोत्र आफ्ना छोरी र नातिनातिनीमा सार्न पाउने हक अधिकार छ कि छैन ? वा, हुनु पर्छ कि पर्दैन ? विवाह गरेकी छोरीले ‘म माइतै बसेर बाआमा स्याहार्छु’ भन्न पाउने कि नपाउने ? जसरी छोरासँंग बुहारी बस्छिन् र छोराको परिवार चल्छ, त्यसै गरी छोरीसँंग ज्वाइँ बसेर छोरीको परिवार सहज रूपले चलाउनु पर्ने कि नपर्ने ? छोरीका आमाबा लगानी गरिरहने, अनि ज्वाइँका आमाबाले त्यसमा तर काटिरहने ? यसलाई उल्ट्यायो भने के हुन्छ ?


एउटी छोरीलाई डाक्टरसम्म पढाउँदा अहिलेको महँगीमा लगभग दुई करोड लगानी गर्नुपर्छ । अनि अलि हेरिसक्नुको खर्चमा बिहेबारी गर्न पचास लाख लाग्छ । दुइटी छोरीलाई पढाउँदा चार–पाँच करोड झ्वाम ! यत्रो लगानी गरेका छोरीहरूबाट आमाबाले पाउने प्रतिफल चाहिँ के ? छोरीको तलबजति ज्वाइँको परिवारले कुम्ल्याउँछ । अझ ‘तेरा बाबुआमासँंग पैसा माग् न, दाजुभाइ छैनन् क्यारे, आज खाए पनि तिमीहरू, भोलि खाए पनि तिमीहरू’ भन्दै बीचबीचमा ज्वाइँको परिवारबाट आउने दबाब छुट्टै हुन्छ । अनि छोरीले जन्माइदिएका सन्तानलाई मेरा नातिनातिनी भनेर जुँगामा ताउ लाएर बस्छ, ज्वाइँको परिवार ।


बिचरा, छोरीका आमाबाले उही फोनमा कुरा गरेर चित्त बुझाउनुपर्छ । मर्दापर्दा काजकिरिया कसले गर्ने भन्ने तनावसंँगै जीवन अस्ताउँछ, छोरीका आमाबाको । हामी अरू विषयवस्तुलाई लिएर ठूलठूला कुरा गर्छौं, आमूल परिवर्तनका नारा लगाउँछौं, तर यस्ता कुरामा ध्यान दिँदैनौं ।


एउटा वा दुइटा सन्तान जन्माउने हरेक आमाबासँंग एउटा अंश र वंशको उत्तराधिकार चयन गर्ने अधिकार छ कि छैन ? ज्वाइँका आमाबाको घरबार चलाउनुपर्छ भने, छोरीका आमाबाको घरबारचाहिँ चलाउनुपर्दैन ? विवाहभित्रको यस्तो अराजक आर्थिक अवस्थाको सहज विकल्प त आमाबाको अधिकार उनका छोरीको कमाइ र उनले जन्माउने सन्तानमाथिको अधिकारभित्रै गाभिएको छ ।


यसको खोजी नगरी अहिलेकै विवाह सम्बन्धी सामाजिक, आर्थिक एवं सांस्कृतिक पद्धति कायम रहिरहने हो भने, छोरी र छोरा बराबर भन्नुको तुक छैन । यो पद्धतिले छोरीका आमाबालाई त्यस्तो लगानी गर्न बाध्य पारेको छ, जसको दीर्घकालीन प्रतिफल ज्वाइँको परिवारले प्राप्त गर्छ ।


प्रकाशित : मंसिर ६, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?