३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

एन्टिबायोटिक्स कम प्रयोग नै राम्रो

काठमाडौँ — एन्टिबायोटिक्स प्रतिरोध पछिल्ला दुई–तीन दशकदेखि विश्वव्यापी रूपमा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा देखिइरहेको छ । एन्टिबायोटिक्स–प्रतिरोधी जीवाणुको संक्रमण भएमा पहिला जुन एन्टिबायोटिक्स औषधि खांँदा निको हुन्थ्यो, अब भने त्यसले काम गर्न सक्दैन ।

एन्टिबायोटिक्स कम प्रयोग नै राम्रो

यसरी संक्रमण गराउने जीवाणु शक्तिशाली बनेका पहिलेको एन्टिबायोटिक्स औषधिले काम गर्न नसक्ने अवस्था आउनुलाई नै एन्टिबायोटिक्स प्रतिरोधको समस्या भनिन्छ ।


यो समस्या मानव र पशु स्वास्थ्य दुवैतिर भयावह रूपमा नेपालसहित विश्वभरि नै बढिरहेको छ । विडम्बना, यो समस्या अन्य संक्रामक रोगहरूको महामारी फैलिंँदाजसरी सजिलै थाहा पाउन सकिँदैन । त्यसै कारण विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) की पूर्वमहानिर्देशक मार्गारेट चानले यसलाई बिस्तारै अघि बढ्ने सुनामीको संज्ञा दिएकी थिइन् ।


यो समस्याको गाम्भीर्य मनन गर्दै संयुक्त राष्ट्रसंघको महासभाले समेत २०१६ को सेप्टेम्बरमा विशेष राजनीतिक घोषणामार्फत सबै राष्ट्रलाई एन्टिबायोटिक्स प्रतिरोधको समस्यालाई गम्भीर रूपमा लिन र यसको न्यूनीकरणका लागि ठोस कदम चाल्न अनुरोध गरेको थियो ।


यही सन्दर्भमा एन्टिबायोटिक्स प्रतिरोधबारे डब्लुएचओले खाद्य तथा कृषि संगठन र विश्व पशु स्वास्थ्य संगठनसंँगको सहकार्यमा २०१५ देखि विश्वभरि नै नोभेम्बरमा एक साताभरि विश्व एन्टिबायोटिक्स सचेतना दिवस मनाउँदै आएको छ । यस वर्ष यही नोभम्बर १८ देखि २४ सम्म त्यो दिवस चलिरहेको छ ।


डब्लुएचओले एन्टिबायोटिक्स–प्रतिरोधी जीवाणुहरूका कारण अहिले विश्वभर वर्षेनि करिब ७ लाख मानिसको मृत्यु भइरहेको अनुमान गरेको छ । नियन्त्रणमा ठोस कदम नचाल्ने हो भने २०५० सम्ममा यो संख्या वर्षेनि करिब १ करोड पुग्ने र १,००० खर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति हुने प्रक्षेपण डब्लुएचओले गरेकोे छ । मानिसका अलावा पशुपालन क्षेत्रसमेत ठूलो समस्यामा पर्नेछ ।


विश्व बैंकको अध्ययनले एन्टिबायोटिक्स–प्रतिरोधी जीवाणुहरूका कारण २०५० सम्ममा पशुपालन क्षेत्रमा २.५ देखि ७.५ प्रतिशतसम्म उत्पादकत्व घट्ने प्रक्षेपण गरेकोे छ । विकासशील राष्ट्रको ठूलो जनसंख्या जीविकाका लागि पशुपालनमा आश्रित रहेको र पशुपालन क्षेत्र राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण खम्बा हुनुका अलावा गरिबी निवारणको महत्त्वपूर्ण अस्त्र भएकाले यो क्षेत्र संकुचित हुँदा गरिबी निवारण अभियानमा समेत गम्भीर धक्का लाग्नेछ ।


समस्या बढिरहे २०५० सम्ममा विश्वका थप २ करोड ८० लाख मानिस गरिबीको रेखामुनि धकेलिने अनुमान छ । यसरी हेर्दा एन्टिबायोटिक्स प्रतिरोधको समस्यालाई कुनै पनि राष्ट्रले बेवास्ता गर्न सक्ने देखिँदैन । यसको बढी असर नेपालसहित न्यून आय भएका अल्पविकसित देशहरूमा बढी पर्ने कुरासमेत अध्ययनहरूले देखाएका हुँदा हामी झन् गम्भीर हुन आवश्यक छ ।


सन् १९२८ मा वैज्ञानिक एलेक्जेन्डर फ्लेमिङले पेनिसिलिन नामक एन्टिबायोटिक्स संयोगवश पत्ता लगाएपछि विश्वमा एन्टिबायोटिक्स युगको सुरुआत भएको थियो । यो औषधिको आगमनसंँगै सामान्य संक्रमणकै कारण मानिस र पशुपंक्षी मर्ने अवस्था अन्त्य भएको थियो । त्यसैले यो आविष्कारले औषधि विज्ञानका क्षेत्रमा क्रान्ति नै ल्याएको थियो । त्यसपछि अन्य समूहका एन्टिबायोटिक्ससमेत बजारमा उपलब्ध हुन थाले । यसले गर्दा गम्भीर प्रकृतिका संक्रमणमा समेत एक प्रकारले विजय प्राप्त हुन थाल्यो । तर अहिले आएर बजारमा उपलब्ध अधिकांश एन्टिबायोटिक्सविरुद्ध जीवाणुहरूले प्रतिरोधी क्षमता विकास गरिरहेका छन् ।


नयाँं प्रभावकारी एन्टिबायोटिक्सको विकास भने त्यही गतिमा हुन सकेको छैन । पछिल्ला ३० वर्षयता नयांँ समूहको प्रभावकारी एन्टिबायोटिक्स बजारमा आएको छैन । यसले गर्दा हामी कतै फेरि एन्टिबायोटिक्स विकास हुनुअघिकै अन्धकार युगमा त फर्कनुपर्ने होइन भन्ने चिन्ता अस्वाभाविक होइन ।


जीवाणुहरूले आफ्नो स्वरूप परिवर्तन गर्नु नितान्त प्राकृतिक प्रक्रिया हो । तर अहिले एन्टिबायोटिक्सको दुरुपयोगमा वृद्धि, नेपालजस्ता देशमा यस्ता औषधिको चकलेट र नुनसरह बिक्री–वितरण, एन्टिबायोटिक्सले ठीक नपार्ने रुघाखोकी जस्ता भाइरल समस्यामा समेत प्रयोग, अस्पतालमा सरसफाइको कमी, अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनको कमजोर प्रणाली जस्ता मानवसिर्जित कारणहरूले गर्दा अपेक्षित गतिभन्दा निकै छिटो जीवाणुहरूले स्वरूप बदलिरहेका छन् । त्यसैले यो गम्भीर चासोको विषय बनेको हो ।


अस्पतालहरूमा एन्टिबायोटिक्स–प्रतिरोधी जीवाणुहरूको फैलावटबारे भरपर्दो प्रयोगशाला तथ्यांकको अभावमा स्वयं चिकित्सकहरूलाई एन्टिबायोटिक्स सिफारिस गर्न कठिन बन्दै गइरहेको कटु यथार्थ हाम्रा सामु छ ।

मानिस जस्तै पशुपक्षीहरू पनि जीवाणुजन्य संक्रमणको कारण बिरामी पर्ने हुँदा तिनीहरूको उपचारका लागि एन्टिबायोटिक्स औषधिहरू ठूलो मात्रामा प्रयोग हुन्छ ।


पशुपक्षी बिरामी पर्दा पशु चिकित्सकको सिफारिसमा उपयुक्त एन्टिबायोटिक्स प्रयोग गरे पनि रोगको रोकथामका लागि र छिटो हुर्काउनका लागि एन्टिबायोटिक्सको प्रयोग गरिनु हुँदैन । पशुपक्षी बिरामी नहुँदा पनि न्यून मात्रामा दानामार्फत निरन्तर एन्टिबायोटिक्स खुवाउने अभ्यासले जीवाणुहरूमा एन्टिबायोटिक्स–प्रतिरोधी क्षमता विकास हुने सम्भावना अत्यधिक हुन्छ । नेपालमा पछिल्ला दुई वर्षदेखि दानामा एन्टिबायोटिक्स मिसाउन पशु सेवा विभागले प्रतिबन्ध लगाइसकेको छ ।


यस्ता प्रतिरोधी जीवाणुहरू पशुपक्षीको मलमूत्रमार्फत वातावरणमा आइपुग्छन्, अनि संक्रमित वातावरण र खाद्यान्नमार्फत मानिसमा । पशुपक्षीमा प्रयोग हुने एन्टिबायोटिक्स पनि बजारमा सजिलै किन्न पाइन्छ ।


यसरी हेर्दा एन्टिबायोटिक्स प्रतिरोध एउटा बहुआयामिक समस्या हो । यसलाई निराकरण गर्न मानव, पशु, खाद्य र वातावरण क्षेत्रमा काम गर्ने सरोकारवालाहरूको उत्तिकै सहभागिता र प्रतिबद्धता चाहिन्छ । आवश्यक नीतिनियमको तर्जुमा, सर्भिलेन्स कार्ययोजना बनाई नमुना संकलन र परीक्षण गरी अवस्थाको निरन्तर आकलन गर्ने र तथ्यमा आधारित भएर नीतिहरू परिमार्जन गर्दै जाने, प्रयोगशाला र जनशक्तिको विकास गर्ने र एन्टिबायोटिक्सको सही प्रयोगबारे जनचेतना जगाउने जस्ता काम गरी यो भयावह समस्यालाई न्यूनीकरण गर्न सकिन्छ ।


लेखक इपिडेमियोलोजी विषयमा विद्यावारिधि हुन् ।


प्रकाशित : मंसिर ६, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?