कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

राष्ट्रियताका लागि टुँडिखेल रक्षा

जीवन क्षत्री

‘अकुपाई टुँडिखेल’ अभियानको उद्घाटनको दिन । खुलामञ्चमा औपचारिक कार्यक्रम चलिरहँदा दर्शकदीर्घाको एक छेउमा केही बेर कालापानी सम्बन्धी नारा घन्किए । ‘टुँडिखेल खुला गर’ लेखेका काला ब्यानरसँगै ‘ब्याकअफ इन्डिया’ का ब्यानर पनि देखाइए । नारा लगाउने युवामध्ये केही व्यग्र र उत्तेजित हुँदै मानिसहरूलाई निश्चित समयमा भारतीय दूतावासअगाडि आउन आग्रह गर्दै थिए । उनीहरूको सारा प्रयासको सारसंक्षेप एक युवाले बोले : कालापानी रहे पो टुँडिखेल रहन्छ ।

राष्ट्रियताका लागि टुँडिखेल रक्षा

ती युवासित तत्काल संवादको माहोल त थिएन, तर पछि मलाई लाग्यो, उनले झैं सोच्ने र तर्क गर्ने धेरै युवासित राष्ट्रियता के हो र यो कसरी सबल हुन्छ भन्ने विषयमा गहिरो संवाद गर्नु जरुरी छ । यस्तो सार्वजनिक संवादको आरम्भ मेरो एउटा दाबीबाट गरौं : दीर्घकालसम्म हेर्ने हो भने अहिले टुँडिखेलको रक्षा राष्ट्रियता प्रबर्द्धनको सबैभन्दा प्रभावकारी काम हो ।


ती युवाको तर्कको अन्तर्य हो : अहिले सारा देशको ध्यान कालापानी क्षेत्र नेपालमा फर्काउने हुनुपर्छ । सीमा सुरक्षा नेपाल मात्र नभई, कुनै पनि देशका नागरिकको भावनासित बलियोसँग जोडिएको विषय हो । नेपालको पश्चिमी सिमाना महाकालीको असली उद्गमस्थल लिम्पियाधुरासम्म पुग्नुपर्छ भन्नेमा विवाद गर्नुपर्ने ठाउँ छैन । कसैले सीमा सुरक्षाका पक्षमा भावपूर्ण टिप्पणी गर्नु वा सडक प्रदर्शन गर्नु स्वाभाविक हो, तर नारा–जुलुसले गर्ने काम सीमित हुन्छन् । व्यवहारत: सीमा अतिक्रमण रोक्न नेपालले गर्नैपर्ने काम बेग्लै छन् । सुरुमा नेपालले दुवै विशाल छिमेकीसित आँखा जुधाएर कूटनीति गर्ने क्षमता विकास गर्नुपर्छ । समाज र राष्ट्रका रूपमा हाम्रो ‘आँत’ बलियो हुनुपर्छ । आर्थिक समृद्धि र अर्थतन्त्रको गतिशीलतामार्फत सबै नागरिकलाई सम्मानजनक जीविकाको जोहो त्यसको पहिलो सर्त हो । नेपाल जस्तो दुई शक्तिशाली देशबीचको सानो देशका लागि कूटनीतिक चातुर्य र रणनीतिक सन्तुलन दोस्रो सर्त हो । सबै जात, क्षेत्र, वर्ण र लिंगका मानिसहरूलाई देशप्रति बराबर अपनत्व महसुस हुने भावनात्मक अवस्था सिर्जना तेस्रो सर्त हो ।


खुला वा मुक्त टुँडिखेलको विषयचाहिँं यी तीनै सर्तभन्दा बेग्लै राष्ट्रियताको चौथो आयामसित जोडिएको छ । कुनै पनि आधुनिक राष्ट्रलाई आन्तरिक–बाह्य सुरक्षा खतराहरूसँग जुध्न चुस्त र प्रभावकारी सैन्यशक्ति आवश्यक हुन्छ । त्यस्तो सेनाका लागि पर्याप्त बजेट, तालिम, हतियार, आदि आवश्यक छन्, तर पर्याप्त छैनन् । कडा अनुशासन र फौजी क्रियाकलापमा अर्जुनदृष्टि भएन भने कुनै पनि देशको सेना राज्यका बाँकी अंगहरूजस्तै शिथिल र भ्रष्टाचारको केन्द्र बन्छ । पाकिस्तानदेखि इरानसम्मका समाजले ठूलो मूल्य चुकाएर यो पाठ सिकेका छन् । टुँडिखेलको ठूलो हिस्सामा नेपाली सेनाको उपस्थिति, त्यहाँ उसले खडा गरेका संरचना तथा आम नागरिकलाई त्यसको प्रयोगबाट वञ्चित गरिएको अवस्था सेनाप्रति नेपालका नागरिक सरकारहरूले अपनाएका प्रत्युत्पादक रवैयाका उपज हुन् । नागरिक सर्वोच्चता कायम भएका देशमा सेनालाई राजधानी सहरको केन्द्रको अमूल्य खुला ठाउँ ओगट्ने आवश्यकतै पर्दैन । नेपालमा कहिल्यै पर्याप्त बहस नभएको के हो भने, हल वा भवन बनाएर भाडा कमाउने अनि शौचालयदेखि राजमार्गसम्म बनाउने काममा लगाउँदा सेनाको व्यावसायिक चरित्र मर्छ र व्यवसायी चरित्र सिर्जना हुन्छ । व्यवसायमा नाफा सर्वोपरि हुन्छ । नाफा र राष्ट्रिय सुरक्षा तेल र पानीजस्तै कहिल्यै एकअर्कासँग नघुल्ने विषय हुन् ।


सेनाको प्रसंग आउनासाथ त्यसलाई सार्वजनिक बहसको विषय नबनाउँदा अवस्था कति विकराल भइसकेको छ भने, अहिले नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानको नामबाट निजी मेडिकल कलेज सञ्चालित छ । सो कलेजले २०७३ देखि नै सरकारले तोकेभन्दा प्रतिविद्यार्थी झन्डै ८ लाख रुपैयाँ अतिरिक्त रकम अवैध रूपमा असुलेर एकै ब्याचका विद्यार्थीबाट ७ करोडभन्दा बढी ठगी गरेका समाचार आइरहेका छन् ।


हाम्रो संविधानले नेपाली सेनालाई कति संवेदनशील र अदूषणीय संस्थाका रूपमा परिकल्पना गरेको छ भने, त्यहाँ बहाल अधिकारीलाई समेत अख्तियारजस्तो भ्रष्टाचार रोक्ने जिम्मा पाएको संवैधानिक निकायको कार्यक्षेत्रभन्दा बाहिर राखेको छ । तर सेनाप्रति हाम्रो नागरिक सरकारको लाचारी कतिसम्म लज्जास्पद छ र सेनाको पारदर्शिता र जवाफदेहिताप्रति सरकार कति उदासीन छ भन्ने यो अर्को उदाहरण हेरौं : यस वर्षदेखि सेनाको प्रतिष्ठानजस्ता संस्थालाई चिकित्सा शिक्षा ऐनले सार्वजनिक संस्था मान्दै ७५ प्रतिशत छात्रवृत्ति दिन बाध्य पारेको छ । तर ऐन जारी भएलगत्तै आयोगका अध्यक्ष प्रधानमन्त्री आफैले उक्त प्रावधान उल्लंघन गर्दै सेनाको कलेजमा यस वर्ष १० प्रतिशत मात्रै छात्रवृत्ति दिन लगाए । लगत्तै शिक्षा मन्त्रालयले त्यति सिटका लागि मात्रै छात्रवृत्तिको सूचना निकालेको छ । अर्थात्, देशका प्रधानमन्त्री सेनाका नामबाट चलेको संस्थाको नाफा सुनिश्चित गर्न संविधानको हिस्सा बनिसकेको कानुनलाई ठाडै उल्लंघन गर्न उद्यत छन् ।


टुँडिखेलको रक्षा र राष्ट्रियता जोडिएका विषय हुन् भन्नुको अर्थ नागरिक सर्वोच्चता भएको देशमा सेनाले टुँडिखेल ओगटेर हल बनाई भाडामा लगाउनु, व्यापार, व्यवसाय र निर्माणमा लाग्नु अनि निजी मेडिकल कलेज खोलेर ठगी गर्नु सबै हाम्रो राष्ट्रियता–प्रतिकूल काम हुन् । व्यापार र ठगीसँग टुँडिखेलमा सेनाको उपस्थिति कसरी जोडिन्छ भन्ने प्रश्न उठ्न सक्छ । तर सत्तामा पुग्ने राजनीतिज्ञहरूको जुन लाचारी र नालायकीका कारण सेना निर्माण र ठगीमा जोडिएको हो, त्यसैका कारण टुँडिखेलमा ऊ बसेको हो । त्यसैका कारण बारम्बार आवाज उठ्दासमेत सेना टुँडिखेलबाट नहटेको र निरन्तर भौतिक संरचना थपेको हो ।


उसो भए ‘अकुपाई टुँडिखेल’ ले कसरी राष्ट्रियताको प्रबर्द्धन गर्छ त ? कल्पना गरौं, जनदबाब बढ्दै गएसँगै सरकारले खुलामञ्चको बसपार्क अन्यत्र सार्‍यो । त्यहाँ थुपारिएका निर्माण सामग्री हटायो र बनेका टहरा भत्कायो । हाल सर्वसाधारणका लागि निषिद्ध टुँडिखेलको ठूलो हिस्सा घोडे जात्राका बेला बाहेक सेनाले प्रयोग नगर्ने भयो र सर्वसाधारण बेरोकटोक त्यहाँ विचरण गर्ने भए । दबाब अझ धेरै भएसँगै शहिदगेटदेखि दशरथ रंगशालासम्मको भूभागबाट सेना हट्यो । त्यहाँ निर्माण भएका कंक्रिटका संरचनामध्ये केही संग्रहालय आदि सार्वजनिक संरचनामा बदलिए र अरू भत्काइए । शहिदगेटको सडक भूमिगत बनाइयो । रानीपोखरीदेखि रंगशालासम्म विशाल र सुन्दर पार्क बन्यो । दशकौंदेखि निसासिएका काठमाडौंवासीका लागि त्यसले साँच्चिकै सास फेर्ने फोक्सोको काम गर्‍यो । खुला ठाउँको रक्षा र विस्तार भएसँगै बर्खाको धेरै पानी जमिनमा सोसिएर काठमाडौंको भूमिगत जलाधारमा सुधार भयो ।


खास गरी सेनाले उपयोग गरी आएको टुँडिखेलको हिस्सा सर्वसाधारणका लागि खाली गर्नु भनेको नेपालमा दुई खालको सम्बन्धलाई पुनर्परिभाषित गर्नु हो । एक, नागरिक सत्ता र सैन्यबलबीच हालसम्म चलिआएको लाचारीपूर्ण, अपारदर्शी र जवाफदेहिता बिनाको सम्बन्ध । नाफाजन्य व्यवसाय र राष्ट्रिय सुरक्षाबीचको भेद बुझेर मात्र व्यवहार गर्ने हो भने सेनालाई व्यावसायिक बनाउने यात्रा सुरु भइहाल्छ । दुई, सत्ता र आम नागरिकबीच अनुत्तरित आग्रह र अनुग्रहको सम्बन्ध । त्यसको ठाउँमा आम नागरिकप्रति राज्य निरन्तर उत्तरदायी हुने अवस्था बन्नुपर्छ । दुई चुनावबीच नागरिकले जतिसुकै संवेदनशील र जीवन–मरणकै विषय उठाए पनि सरकारले कानमा तेल हालेर बस्ने वा दमन गर्ने अलोकतान्त्रिक परिपाटी अन्त्य हुनुपर्छ ।


राज्य र नागरिकबीच त्यस किसिमको न्यायोचित र उत्पादनमूलक सामाजिक अनुबन्ध निर्माणको राम्रो प्रवेशविन्दु बन्न सक्छ, ‘अकुपाई टुँडिखेल’ अभियान । सरकारले यो विषयलाई गम्भीरतापूर्वक लिने हो भने, अहिलेको अवस्थामा टुँडिखेलका अनेक खाले निजी अतिक्रमणकारीहरू एकाध दिनमा त्यहाँबाट हट्न सक्छन् । केही महिनाको समय लगाएर सैन्य संरचनाहरू पनि व्यवस्थित रूपमा अन्यत्र सार्न सकिन्छ । नागरिक–सैन्य सम्बन्धलाई नयाँ दिशा दिने विषयमा थप घनीभूत बहसको सुरुआती विन्दु पनि यो हुनसक्छ । जुन दिन नेपाली सेना सडक निर्माणको ढिलासुस्ती वा अनियमितता र मेडिकल विद्यार्थीमाथिको करोडौंको ठगीजस्ता विषयबाट अलग्गै रहेको विशुद्ध व्यावसायिक सैन्यफौजमा रूपान्तरण हुन्छ, त्यो दिन हाम्रो राष्ट्रियता अहिलेभन्दा धेरै गुणा मजबुत हुनेछ ।


त्यसैले टुँडिखेललाई अतिक्रमणबाट बचाउने अभियान यो सरकारको राष्ट्रवादको अग्निपरीक्षा हुनेछ : साँच्चिकै देशलाई मजबुत र सुरक्षित बनाउन आवश्यक पर्ने कठोर संरचनागत निर्णयहरू लिन यसले सक्छ कि सक्दैन ? नाराजुलुस र डिजिटल पम्प्लेटमार्फत राष्ट्रवादको गर्जन गर्ने सत्तारूढ दलको पनि यो अग्निपरीक्षा हुनेछ : राष्ट्रिय स्वाभिमान र गौरवका कुरा जनताका आँखामा छारो हाल्ने माध्यम मात्रै हुन् कि दीर्घकालमा मजबुत र स्वाभिमानी देश तथा समाज निर्माणका लागि पार्टीले कुनै सार्थक काम पनि गर्न सक्छ ? समयले यी प्रश्नको उत्तर दिने नै छ ।

प्रकाशित : मंसिर ४, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?