कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

मूल सङ्लो भए पो कुलो सङ्लिन्छ

जसले अरूको संरक्षण गर्छ, त्यही नै कमजोर वा अक्षम छ भने संरक्षकत्व प्रभावकारी बन्न सक्दैन । संरक्षक हुन चाहनेमा त्यो भूमिका निर्वाह गर्न सक्ने क्षमता जरुरी हुन्छ, चाहे त्यो राजनीतिक संरक्षण होओस् या धार्मिक, पारिवारिक तथा सामाजिक ।

सूचना प्रविधिको विकाससँगै हरेक क्षेत्रमा परिवर्तन भइरहेको छ । यसबाट मानिसको चालचलन, रहनसहन, बोलीचाली सबैमा प्रत्यक्ष प्रभाव परिरहेको छ । बालबालिकामा त अझ बढी छ त्यस्तो प्रभाव । कलिलो मस्तिष्कमा जेले प्रभाव पार्छ, त्यो आवश्यकताका रूपमा देखिन थाल्छ । र, त्यस्तो बेला तिनलाई संरक्षकको सही सल्लाह बढी आवश्यक हुन्छ ।


अहिले बढीभन्दा बढी बालबालिका विद्युतीय साधनमा रमाउने गर्छन् । यस्ता साधनको अभावमा कतै स्थिर हुन नसक्ने, बाहिरी क्रियाकलापमा वास्ता नगर्ने, आफन्तहरूको सम्पर्कमा जान मन नगर्ने अनि परिवारका सदस्यहरूसँग पनि सँगै बस्न, खान, कुराकानी गर्न नरुचाउने जस्ता स्वभाव देखिने गरेको प्राय: अभिभावकको गुनासो हुने गर्छ ।


बालबालिकामा यस्तो स्वभाव आउनु स्वाभाविक हो । यसलाई अभिभावक र विद्यालयका शिक्षकहरूले बुझ्न जरुरी छ । स्कुल बढी बिदा भइरहँदा बालबालिका घरमै बस्नुपर्ने हुन्छ । अभिभावकको प्राय: बिदा नहुने हुनाले बच्चाहरूलाई भुलाउन मोबाइल, ल्यापटप, आइफोन, टीभी, आइप्याड जस्ता साधन जिम्मा लगाएर बाहिरिनुपर्ने हुन्छ । त्यसअघि बालबालिकालाई खाजाका रूपमा जंक फुड, चिसो पेय, होटलका परिकार मगाएर खानेसमेतको व्यवस्था गरिदिनुपर्छ । यसरी हामी अभिभावकले नजानिँदो पाराले बच्चाहरूलाई तिनै साधन र तिनै रेडिमेड खानाको स्वादमा चुर्लुम्म बनाइसक्छौं ।


जब आफूलाई बिदा वा फुर्सद हुन्छ, अनि भन्छौं— अब इलोक्ट्रोनिक मिडिया बन्द । यसले बिगार्छ । अनि कराउँछौं, ‘तिमीहरूलाई घरको खाजा मन पर्दैन ? रेडिमेड खानामा मात्तिने ?’ हामी बिर्सन्छौं सन्तानलाई विद्युतीय साधनको साथी बनाउने आफै हौं भन्ने यथार्थ । तिनलाई समय नदिएर बाहिरी खाजाको स्वाद लिन बाध्य बनाउने पनि आफै हौं भन्ने वास्तविकता भुल्न खोज्छौं ।


हामी मूल धमिल्याई कुलोमा सङ्लो पानी आएन भनेर गुनासो गर्ने गर्छौं । अभिभावकको व्यवहार मूल हो भने बालबालिकाको व्यवहार कुलोमा बगेको पानी ।


समयसँगै सानो बच्चा बढ्दै ठूलो हुन्छ, तर ठूलो मान्छे त्योभन्दा ठूलो होइन, बूढो हुन्छ । मासको दाना पिसे पीठो हुन्छ, तर पीठो पिसेपछि पीठो नै बन्ने हो । त्यसैले अभिभावकले आफ्नो कर्तव्य र जिम्मेवारीप्रति सधैं सजग भई सही संरक्षकत्व प्रदान गर्न सके मात्र बालबालिकालाई सही मार्गमा लगाउन सकिन्छ ।


समयसँगै अभिभावकको सोचमा पनि परिवर्तन आउनु जरुरी छ ।

अहिलेका अभिभावक पनि चाहन्छन्— मेरा बच्चा यो गरून् वा त्यो गरून्, यो नगरून् वा त्यो नगरून् । तर, त्यो बालमस्तिष्कलाई के थाहा कुन बेला के गर्ने ! त्यो बालापनमा के थाहा अभिभावकको फुर्सद नहुँदा साथी बनेका ती उपकरण अभिभावकको फुर्सद हुनेबित्तिकै छोड्नुपर्ने कुरा ! अभिभावक व्यस्त हुँदा जे खाए पनि हुने, फुर्सद हुनेबित्तिकै सब थोक खान बन्द गर्नुपर्ने ! यसले गर्दा अचेल घर–घरमा तनाव छ । अभिभावक सचेत नभई यो तनाव घट्नेवाला पनि छैन ।


सुरुमै भनियो, संरक्षत्वको प्रसंग परिवारमा मात्र उठ्ने होइन । राजनीतिक संगठनमा संरक्षकको भूमिकामा रहेको व्यक्तिको सोचमा परिवर्तन नआउँदा नयाँ पुस्ता अगाडि बढ्न सक्दैन । एउटै व्यक्ति वा समूहले मात्रै सधैं पद ओगटिरहने हो भने भोलिको नेतृत्व कसरी तयार हुन्छ ? त्यस्तै, कर्मचारी संगठन हाँक्ने प्रशासकहरूले पनि संगठनमा असल संस्कार विकास गर्न जान्नुपर्छ । चाकडी र चाप्लुसी गर्नेहरूलाई काखी च्यापेर हिँंड्ने प्रवृत्ति त्याग्न सक्नुपर्छ । प्रशासकहरूले निष्पक्ष ढंगले कामको मूल्याङ्कन गर्न सक्ने क्षमता प्रदर्शित गर्न सक्नुपर्छ ।


असल संरक्षकको छत्रछायामा मात्र बालबालिकाले, मातहतकाले क्षमता बढाउने अवसर पाउन सक्छन्, आफूमा असल संस्कारको विकास गर्न सक्छन् ।

प्रकाशित : मंसिर ४, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?