नेपाल चिनाउनुछ

प्रतिभा सुवेदी

हाम्रो देश अझ विश्वसामु चिनाउन बाँकी नै छ । हाल भारतले आफ्नो नक्सामा सीमा अतिक्रमण गरी लिम्पियाधुरा र कालापानी लगायतका भूभाग समेटेपछि विश्वभर छरिएर रहेका नेपालीहरू एकस्थानमा आएका छन् । विश्वसामु आफ्नो देशको सीमा अतिक्रमणबारे घोर अन्याय र थिचोमिचो भएको भनेर आवाज उठाइरहेका छन् । 

एक पटकको कुरा— क्यानाडाको एउटा महिला संस्थाले एकपटक मलाई पनि वक्ताको रूपमा निम्ता पठायो । उक्त संस्थाले नेपाल र विभिन्न मुलुकमा साझेदारी गरेको थियो । विभिन्न मुलुकका अनुभव आदान–प्रदानका लागि मलाई क्यानाडा निम्त्याइएको थियो । त्यतिबेलासम्म नेपाल आजजति चिनिएकै थिएन । मलाई क्यारेबियन देश ट्र्रिनिडा टोबेगोबाट आएकी एक महिलासँग एउटै कोठामा राखिदिएका थिए, आयोजकले । हाम्रो भेट राति कोठामा भयो । उनले मलाई कुन देशबाट आएको भनी सोधिन् । मैले जवाफ दिएँ, नेपालबाट । मैले पनि सोधेंँ, तिमी कुन देशबाट ? उनले जवाफ दिइन्, ट्रिनिडा टोबेगोबाट । म त्यो देशको नामबाट र भौगोलिक अवस्थितिबाट अनभिज्ञ । उनी पनि मेरो देशको नामबाट अनभिज्ञ । दुवै जनाले आ–आफ्नो देश कहाँ पर्छ भनेर बुझाउन अलमल भएपछि मैले विश्वको एटलासमा हुनेजस्तो नक्सा बनाएँ अनि उनले पनि त्यसै गरिन् । त्यो दुबै जनाले कोरेका कागजका टुक्रा जोडेर निर्क्योल गरेका थियौं, हामी भूगोलको कुन गोलार्धमा रहेछौं भनेर । बल्ल मैले नेपाल विश्व नक्सामा कहाँ छ भनेर बुझाउनसकेँं । मैले धेरै समूहसँग नेपाल सगरमाथाको देश अनि बुद्धको जन्मस्थान भनी चिनाउनुपरेको छ ।

तीन दशक अघिसम्म नेपाल कहाँ छ भनेर प्रश्न गरेका सुन्दा म छक्क पर्थें । नेपाल कहाँ छ भनेर सोध्नेहरूलाई हाम्रो देश भारत र चीन बीचमा अवस्थित छ भन्नपर्थ्यो । त्यतिबेला मेरो मनमा भने नेपाल किन यसरी लुकेको होला जस्तो लाग्थ्यो । देश पनि चिनाउनैपर्ने रहेछ, नेपाल यति सुन्दर हुँदाहुँदै विश्वमा अपरिचित रहेछ जस्तो लाग्थ्यो ।

कतिपय पश्चिमा विश्वविद्यालय पुग्दा नेपालबारे धेरै अनभिज्ञ नै देखिन्थे । हालका दिनहरूमा नेपाल धेरै चिनिएको छ । केही राम्रा र केही नराम्रा व्यक्तित्वहरू र घटनाका कारण । दरबार हत्याकाण्डका समयमा अनि माओवादी द्वन्द्वका समयमा पनि नेपाल केही हदसम्म चिनिएको हो । चिकित्सा, समाजसेवा, विभिन्न क्षेत्रका व्यक्तित्व, शेर्पादेखि साइकलयात्रीसम्मले नेपाल चिनाएका छन् । विभिन्न तह र क्षेत्रका नेपालीबारे राम्रा समाचार पनि सञ्चार माध्यममा आउन थालेका छन् । ‘नेपाली वमन राइजिङ’ सन् १९९३ मा प्रकाशनपछि म पश्चिमा मुलुकहरू र त्यहाँका विश्वविद्यालयहरूमा अनुभव आदान–प्रदानका लागि बोलाइएँ ।

नपालको चिन्ने–चिनाउने कामसँग मलाई एउटा पुस्तकको सम्झना हुन्छ । ‘द विन्ड अफ चेन्ज इन अ माउन्टेन भिलेज इन नेपाल’ शीर्षकमा सन् १९९६ मा प्रकाशित पुस्तकमा जापानी लेखिका याओरी मात्सुईले बेथानचोक काभ्रेका महिलाहरूले गरेका संघर्षका कथा र आर्थिक उन्नतिबारे वर्णन गरेकी छिन् । उनले साडी र पटुकीको पहिरनमा भारी बोकेर उकालो उक्लिरहेका नेपाली महिलाहरूलाई भेट्दै अन्तर्वार्ता गरेकी थिइन् । सामुदायिक भावना भएको हाम्रो गाउँघरमा जीविका कठिन भए पनि सहरमा जस्तो व्यक्तिवादी प्रवृत्ति हावी भैसकेको थिएन । विविध संस्कृति र हावापानी भएको रमणीय देश । जो पत्रकार र पर्यटकका रूपमा नेपाल आउँथे, उनीहरू हाम्रो सामुदायिक भावना अनि आतिथ्य सद्भावबाट प्रभावित थिए । उनीहरू भन्थे— तिमीहरूको देश सुन्दर र शान्त छ । म भने मनमनै सोच्थें— जीवनचाहिँ कष्टकर छ । आजभोलि यता आउने विभिन्न पत्रकार र पर्यटकहरू नेपाल रूपान्तरणको स्थितिमा छ भन्छन् । अहिले समाजमा धेरै–थोरै खैलाबैला छ, केही निराशा छ, केही आशा छ । जे भए पनि नेपाल चिनिँदो छ ।

प्रकाशित : कार्तिक ३०, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

राष्ट्रमानका चार रत्न

रामेश्वरप्रसाद बराल

समाज, विज्ञान र राजनीतिमा सदैव केही न केही चर्चा भैरहन्छन् । राष्ट्रत्व सेरोफेरो व्यक्ति चर्चा भैराख्छ । सञ्चार जगत्ले यिनका चर्चा, उपचर्चा गरिराखेकै हुन्छन् । कालक्रममा कतिपय पानीफोकासरि बिलाउँदै जान्छन् । तर कतिपय मन–मस्तिष्कमा दिगो, घतलाग्दो गरी बस्ने रहेछन् ! यस्तो मैले विद्यार्थीकालदेखि अनुभव गर्न पाएँ । कक्षा ८ मा एउटा यस्तै पढ्नुपर्ने पाठ थियो, नेपाली भाषा तथा साहित्य पाठ्य–पुस्तकमा । प्रकाशक थियो, पारसमणि एन्ड सन्स, दार्जिलिङ ।

शीर्षक थियो— त्रिरत्न । साठी वर्ष नाघिसक्ता पनि मेरो मस्तिष्कबाट त्यो मेटिएन । यो तत्कालीन नेपाली साहित्य आकाशमा तीन स्रष्टाको अभिनन्दन र वन्दन गर्नेतिर थिएन, बरु यिनका आभा, प्रतिभा र स्तरीयताको चर्चातिर थियो । स्रष्टा थिए— कवि शिरोमणि लेखनाथ, नाटककार सम र महाकवि देवकोटा । चर्चा पराइ थलोबाट थियो । स्पष्ट छ, त्यतिबेला त्यता राजनीतिक विषमता थियो । तथापि यो आफैँमा मनको धनी र शैलीमा सहज थियो । त्यसैले यसबाट झिक्ने र सिक्ने ज्ञान पनि थिए— कसैप्रति सम्मान के हो र सहृदय आभार कसरी प्रकट गरिन्छ ! त्रिरत्न, समकालीन स्रष्टा र सिर्जनाले आज झन्–झन् विश्वस्तर पाएको छ । हाम्रो राष्ट्रत्वमा पराइको यो अनुपम देन हो । यो अहिले अझ–अझ फैलिँदै र झाँगिँदै गएको छ । तसर्थ स्वर्गीय पारसमणिप्रति पनि सम्मान र गौरवले हेर्नु मनासिब छ ।

हामी काठमाडौँ बाहिर सप्तकोशी पूर्वका विद्यार्थीलाई यस्तै सुविचार पढ्न र गुन्न सिकाइयो । आज यस्तैमा मन बाँधिएको छ र यसैमा म मन खेलाउँदै र गुन्दै ‘आज’लाई पर्गेलिरहेको छु । यसमा म कालक्रमले हाम्रामा उदाएका र विकास भएका विज्ञान, राजनीति र यिनका पात्रहरूको चर्चा गरिरहेको छैन । त्यस्तै मैले उल्लेख गर्ने कोही पनि न मेरा आफन्त हुन्, न निकटस्थ । मैले बुझेकोमा यी पौरखी र पारखी हुन् । यिनले दिगो समृद्घिको अभिलाशा काँधमा भिरेका छन् । यिनको मन, वचन र कर्म जगजाहेर छ र घर–घरमा चर्चा छ । नि:संकोच यी राष्ट्रत्वमा मुछिएका छन्— स्थिर समाज, उद्योग र आर्थिक उकालीमा अनमोल छन् ।

हाम्रो भूमिले आजका दिनमा चार रत्न पाएको छ । क्रममा अघिपछि जो आए वा यीबारे शब्दमा घटीबढी जे भए पनि यी सबै पहिला हुन् । सबै विशिष्ट र सबैका उपाधिमा ‘डिस्टिङक्सन’ को शिरपोस छ ।

पहिला, विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ हुन् । सोझो शब्दमा यी ‘विद्युत्मान’ र ‘प्रकाशवान’ हुन् । यिनको नाम मात्रले पनि राष्ट्र उसै उज्यालिन्छ । अहिलेको चरमचुली आर्थिक भ्रष्टाचारले साँदिएको यो समाजमा यिनैका नि:स्वार्थ र स्वच्छ छवि, सेवा र व्यवस्थापनका आडमा हामी अन्धकारबाट प्रकाश युगमा आउन पाएका छौँ । यतिमात्र होइन, यिनले द्रव्यपिशाचहरूको ठगीधन्दामा हाकाहाकी मुखबुजो लाएका छन् । नत्र बीसौँ वर्षसम्म हाम्रा आँखालाई बाध्य गराएर ‘कि अँध्यारोमा बस ! कि हाम्रा ब्याट्री र इन्भर्टर किन !’ भनी भोरजुवाजस्तो ‘मार्रा !’ भन्दै ती पिशाचले विद्युत्ग्राहीसँग पैसा सोहर्दै आएका थिए । आज तीन वर्ष बढीको चिरिएको अँध्यारो र प्रकाशपुञ्जलाई खुलस्त आँखा र मनले हेर्न सक्नुपर्छ, राजनीतिक वा कर्के आँखाले होइन । ‘राष्ट्रज्योति’ निम्ति विद्युत् योजना, वितरण र विकासमा तल्लिन यस्ता प्रशासकलाई हेर्न जान्ने पारख चाहिन्छ ।

दोस्रा, सीमाविद् बुद्घिनारायण श्रेष्ठ हुन् । यी राष्ट्रको समग्र भूगोल र राष्ट्ररेखाका दूत हुन् । सेवानिवृत्त भएर पनि यिनले पटक–पटक सरकार र सम्बन्धित पदाधिकारीहरूको सहयोगनिम्ति ढ्वाङ फुकिरहेका छन् । आफ्ना ज्ञान र अनुभवको उपयोगबाट यिनले कालापानी र सुस्ता लगायत अरु कति–कति मिचिएका राष्ट्ररेखा र बिलाएका सीमास्तम्भबारे हामीलाई सजग तुल्याउँदै आएका छन् । सामान्य अवकाश प्राप्तका आँखा र मन कि आफ्ना नातिनातिनामा, कि सात समुद्र नाघ्ने जेटविमानमा, कि चारधाम यात्रामा हुन्छ । तर यिनको एकलकाँटे सोख राष्ट्ररेखा अतिक्रमण विरुद्घ तेर्सिएको छ । यिनलाई मेचीदेखि महाकाली, दक्खिनमा समथर र उत्तरमा डाँडाकाँडा सबैको प्रत्यक्ष ज्ञान छ । क्षेत्रफलमा राष्ट्रको भौतिक आँकडा यिनको चासो हो । सन्धिसर्पनका साँधसिमानाले यिनका आँखा र मन बिझाइराखेका हुन्छन्, किनभने यी आफैँले फलामे टोप लाएर लमतन्न सयफिटे जञ्जिर दोर्क्याउँदै र हल्लाउँदै तिनलाई देखेका र नापेका छन् । यिनले तोकेका बिन्दुमा साँधका छेका र किला गाडेमात्र पनि राष्ट्ररेखा सोझिन्छ । यिनको परामर्श मान्दा राजनीतिक व्यक्ति र पदाधिकारीका लोकप्रियता र महिमाको ‘ग्राफ’ माथि उक्लिन्छ । लोकप्रियता र महिमा ! किन भने सात सालपछिको यो मात्र एक स्थिर र दीर्घकालिक सरकार हो ।

त्यसैले ‘राणाले छाडे, हामीले गद्दी पायौँ’ भनेर सोच्ने धेरै आए, गए । हो, साँच्ची नै राणाले (शासन) छाडे ! वरिपरि साँधसिमानाका ‘जङ्गे पिलर’ पनि त राणाले नै छाडे । मुलुक लगेनन् त ! अङ्ग्रेज गोराले भारत छोड्दाको नक्सामा नेपालको सीमाङ्कन ‘खोज’ ! यही त हो, कसैले यसमा निर्भीक कूटनीतिक आग्रह गर ! भन्ने । तेस्रा, नेत्रविशेषज्ञ डाक्टर सन्दुक रुइत हुन् । यी पूर्व–उत्तरको विकट पहाडी क्षेत्रबाट अति साधारण परिवेशमा उदाएका व्यक्ति हुन् । सामान्य डाक्टरी पेसा र तिलगङ्गा आँखा अस्पतालबाट माथि–माथि उक्लेर यिनले दृष्टिविहीन निम्ति मर्मभेदी कर्म गरे । यिनले दृष्टिविहीनलाई देखे ! दृष्टिविहीनले यिनलाई देखे, कुलमानका ज्योति देखे, संसारका झलमल देखे ! आजसम्ममा डाक्टर रुइतलाई विश्वका धेरैले देखे । उमेरले डाँडा काटिसके पनि यी अझै व्यस्त हुन अभ्यस्त छन् । यिनको ज्वलन्त योगदान हो— आँखाको नानी प्रत्यारोपण र निकासी । भौतिक संसार देखाउने एउटै ज्ञानेन्द्रिय हो, आँखा । यही कर्मबाट यिनले म्यागासेसे पुरस्कार पाए । विश्वमा कतिपय दृष्टिविहीन निम्ति आज यी आँखाको नानी बनेका छन् र अक्षरश: ‘राष्ट्रचक्षु’ हुन् ।

चौथा, त्रिवि शिक्षण अस्पतालबाट भर्खरै अवकाशप्राप्त वरिष्ठ डाक्टर गोविन्द के.सी. हुन् । यी प्राविधिक हुन्, तर योभन्दा अझ बढी सामाजिक, शैक्षिक अभियन्ता हुन् । हुन त यिनलाई एकभन्दा अनेक नजरले हेर्न थालिएको छ । अचेल यिनलाई ‘अनशन कलाकार’, ‘सत्याग्रही’ ‘हड्तालकर्मी’ समेतको बिल्ला भिराइएको छ । तथापि यिनका धेरै राम्रा पक्ष छन् । म यिनलाई चिकित्सा अध्ययनक्षेत्र र यसमार्फत समस्त शिक्षा प्रणालीको शुद्घीकरण र विकासनिम्ति भारतका ‘अन्ना हजारे’सरह देख्छु । चिकित्सा क्षेत्रमा गएका पच्चीस वर्षको एउटा असल पाटो छ— काठमाडौँ उपत्यका र उपत्यका बाहिर निजी लगानी र उद्यममा मेडिकल कलेज धमाधम खुल्नु । नत्र पहिले यत्तिका कलेज संख्या थिएनन् ।

चिकित्सकको माग धान्न वर्षेनि बाहिरबाट शिक्षा लिइन्थ्यो र लगानी बाहिरिन्थ्यो । अहिले निजी कलेजहरूले वर्षेनि हजारौँ चिकित्सक तयार गरिरहेका छन् । एक दृष्टिमा यो कल्याणकारी हो, तर अर्कोमा चिकित्सा शिक्षा चुनौतीमय र हाउगुजी बन्नथालेको छ । पहिलोमा यसका प्रयोगशाला, उपकरण र शिक्षक–प्राध्यापकको व्ययभार आदि थेगिनसक्नु छ । दोस्रोमा केही निजी स्वार्थमा चिकित्सा शिक्षा दुर्नाम भएको छ । यसरी हेर्दा निर्धन तर मेधावी छात्रछात्राका लागि चिकित्सा शिक्षा अब दु:साध्य देखियो ! निजी कलेजले सरकारी योजनाको भरथेग गर्ने हो । हुन ता यी निजी कलेजमा लगानी, सञ्चालन र व्यवस्थापनको तात्पर्य सदावर्त मात्र पनि होइन । यसैमा डाक्टर के.सी.को सरकारसँग आग्रह छ— १) निर्धन मेधावी विद्यार्थीले पढ्न पाउने अवसर होस् । २) सरकारले क्षेत्रीय स्तरमा मेडिकल कलेजको विस्तार गरोस् । यस्तो विस्तारले कलेजहरू एकै थलोमा धुइरिनु सट्टा देश वरिपरि फैलिन्छन् ।

के.सी.ले शिक्षा र स्वास्थ्य सरोकार बोकेका छन् । यही कुरा उनी सत्रौं पटकसम्म ज्यानको जोखिम मोल्दै भोको बसेर सरकारको नजरमा पार्न खोज्दैछन् । भन्न सजिलो छ, ‘यस्ता धेरै आए !’ बरु सट्टामा उनको एउटै कुरो बुझे पुग्छ— धनसम्पत्ति जोडजाममा जहान, बालबच्चा र तिनको भविष्य गाँसिन्छ । उनका न जहान, न बालबच्चा ! शेषपछि को छ त उनको, खोइ ?

राजनीति र अर्थनीतिमा स्वस्तिवाचन र वन्दना गरिनु स्वाभाविक हो । यस निम्ति भाटका ओठेभक्ति सदैव तत्पर रहन्छन् । यस्तैबाट ती नीतिमा मिथ्या, अहङ्कार र दम्भका ऐँजेरु पनि पलाउँछन् । उल्लिखित चार रत्नहरू सुयश, सेवा र सीपले राष्ट्रमय छन् । यिनमा को सानो र को ठूलो छुट्याउन खोज्नु मिस्री र महमा कुन बढी गुलियो (?) भनेर सोध्नु जस्तै हो ।

प्रकाशित : कार्तिक ३०, २०७६ ०९:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×