राष्ट्रमानका चार रत्न

रामेश्वरप्रसाद बराल

समाज, विज्ञान र राजनीतिमा सदैव केही न केही चर्चा भैरहन्छन् । राष्ट्रत्व सेरोफेरो व्यक्ति चर्चा भैराख्छ । सञ्चार जगत्ले यिनका चर्चा, उपचर्चा गरिराखेकै हुन्छन् । कालक्रममा कतिपय पानीफोकासरि बिलाउँदै जान्छन् । तर कतिपय मन–मस्तिष्कमा दिगो, घतलाग्दो गरी बस्ने रहेछन् ! यस्तो मैले विद्यार्थीकालदेखि अनुभव गर्न पाएँ । कक्षा ८ मा एउटा यस्तै पढ्नुपर्ने पाठ थियो, नेपाली भाषा तथा साहित्य पाठ्य–पुस्तकमा । प्रकाशक थियो, पारसमणि एन्ड सन्स, दार्जिलिङ ।

शीर्षक थियो— त्रिरत्न । साठी वर्ष नाघिसक्ता पनि मेरो मस्तिष्कबाट त्यो मेटिएन । यो तत्कालीन नेपाली साहित्य आकाशमा तीन स्रष्टाको अभिनन्दन र वन्दन गर्नेतिर थिएन, बरु यिनका आभा, प्रतिभा र स्तरीयताको चर्चातिर थियो । स्रष्टा थिए— कवि शिरोमणि लेखनाथ, नाटककार सम र महाकवि देवकोटा । चर्चा पराइ थलोबाट थियो । स्पष्ट छ, त्यतिबेला त्यता राजनीतिक विषमता थियो । तथापि यो आफैँमा मनको धनी र शैलीमा सहज थियो । त्यसैले यसबाट झिक्ने र सिक्ने ज्ञान पनि थिए— कसैप्रति सम्मान के हो र सहृदय आभार कसरी प्रकट गरिन्छ ! त्रिरत्न, समकालीन स्रष्टा र सिर्जनाले आज झन्–झन् विश्वस्तर पाएको छ । हाम्रो राष्ट्रत्वमा पराइको यो अनुपम देन हो । यो अहिले अझ–अझ फैलिँदै र झाँगिँदै गएको छ । तसर्थ स्वर्गीय पारसमणिप्रति पनि सम्मान र गौरवले हेर्नु मनासिब छ ।

हामी काठमाडौँ बाहिर सप्तकोशी पूर्वका विद्यार्थीलाई यस्तै सुविचार पढ्न र गुन्न सिकाइयो । आज यस्तैमा मन बाँधिएको छ र यसैमा म मन खेलाउँदै र गुन्दै ‘आज’लाई पर्गेलिरहेको छु । यसमा म कालक्रमले हाम्रामा उदाएका र विकास भएका विज्ञान, राजनीति र यिनका पात्रहरूको चर्चा गरिरहेको छैन । त्यस्तै मैले उल्लेख गर्ने कोही पनि न मेरा आफन्त हुन्, न निकटस्थ । मैले बुझेकोमा यी पौरखी र पारखी हुन् । यिनले दिगो समृद्घिको अभिलाशा काँधमा भिरेका छन् । यिनको मन, वचन र कर्म जगजाहेर छ र घर–घरमा चर्चा छ । नि:संकोच यी राष्ट्रत्वमा मुछिएका छन्— स्थिर समाज, उद्योग र आर्थिक उकालीमा अनमोल छन् ।

हाम्रो भूमिले आजका दिनमा चार रत्न पाएको छ । क्रममा अघिपछि जो आए वा यीबारे शब्दमा घटीबढी जे भए पनि यी सबै पहिला हुन् । सबै विशिष्ट र सबैका उपाधिमा ‘डिस्टिङक्सन’ को शिरपोस छ ।

पहिला, विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ हुन् । सोझो शब्दमा यी ‘विद्युत्मान’ र ‘प्रकाशवान’ हुन् । यिनको नाम मात्रले पनि राष्ट्र उसै उज्यालिन्छ । अहिलेको चरमचुली आर्थिक भ्रष्टाचारले साँदिएको यो समाजमा यिनैका नि:स्वार्थ र स्वच्छ छवि, सेवा र व्यवस्थापनका आडमा हामी अन्धकारबाट प्रकाश युगमा आउन पाएका छौँ । यतिमात्र होइन, यिनले द्रव्यपिशाचहरूको ठगीधन्दामा हाकाहाकी मुखबुजो लाएका छन् । नत्र बीसौँ वर्षसम्म हाम्रा आँखालाई बाध्य गराएर ‘कि अँध्यारोमा बस ! कि हाम्रा ब्याट्री र इन्भर्टर किन !’ भनी भोरजुवाजस्तो ‘मार्रा !’ भन्दै ती पिशाचले विद्युत्ग्राहीसँग पैसा सोहर्दै आएका थिए । आज तीन वर्ष बढीको चिरिएको अँध्यारो र प्रकाशपुञ्जलाई खुलस्त आँखा र मनले हेर्न सक्नुपर्छ, राजनीतिक वा कर्के आँखाले होइन । ‘राष्ट्रज्योति’ निम्ति विद्युत् योजना, वितरण र विकासमा तल्लिन यस्ता प्रशासकलाई हेर्न जान्ने पारख चाहिन्छ ।

दोस्रा, सीमाविद् बुद्घिनारायण श्रेष्ठ हुन् । यी राष्ट्रको समग्र भूगोल र राष्ट्ररेखाका दूत हुन् । सेवानिवृत्त भएर पनि यिनले पटक–पटक सरकार र सम्बन्धित पदाधिकारीहरूको सहयोगनिम्ति ढ्वाङ फुकिरहेका छन् । आफ्ना ज्ञान र अनुभवको उपयोगबाट यिनले कालापानी र सुस्ता लगायत अरु कति–कति मिचिएका राष्ट्ररेखा र बिलाएका सीमास्तम्भबारे हामीलाई सजग तुल्याउँदै आएका छन् । सामान्य अवकाश प्राप्तका आँखा र मन कि आफ्ना नातिनातिनामा, कि सात समुद्र नाघ्ने जेटविमानमा, कि चारधाम यात्रामा हुन्छ । तर यिनको एकलकाँटे सोख राष्ट्ररेखा अतिक्रमण विरुद्घ तेर्सिएको छ । यिनलाई मेचीदेखि महाकाली, दक्खिनमा समथर र उत्तरमा डाँडाकाँडा सबैको प्रत्यक्ष ज्ञान छ । क्षेत्रफलमा राष्ट्रको भौतिक आँकडा यिनको चासो हो । सन्धिसर्पनका साँधसिमानाले यिनका आँखा र मन बिझाइराखेका हुन्छन्, किनभने यी आफैँले फलामे टोप लाएर लमतन्न सयफिटे जञ्जिर दोर्क्याउँदै र हल्लाउँदै तिनलाई देखेका र नापेका छन् । यिनले तोकेका बिन्दुमा साँधका छेका र किला गाडेमात्र पनि राष्ट्ररेखा सोझिन्छ । यिनको परामर्श मान्दा राजनीतिक व्यक्ति र पदाधिकारीका लोकप्रियता र महिमाको ‘ग्राफ’ माथि उक्लिन्छ । लोकप्रियता र महिमा ! किन भने सात सालपछिको यो मात्र एक स्थिर र दीर्घकालिक सरकार हो ।

त्यसैले ‘राणाले छाडे, हामीले गद्दी पायौँ’ भनेर सोच्ने धेरै आए, गए । हो, साँच्ची नै राणाले (शासन) छाडे ! वरिपरि साँधसिमानाका ‘जङ्गे पिलर’ पनि त राणाले नै छाडे । मुलुक लगेनन् त ! अङ्ग्रेज गोराले भारत छोड्दाको नक्सामा नेपालको सीमाङ्कन ‘खोज’ ! यही त हो, कसैले यसमा निर्भीक कूटनीतिक आग्रह गर ! भन्ने । तेस्रा, नेत्रविशेषज्ञ डाक्टर सन्दुक रुइत हुन् । यी पूर्व–उत्तरको विकट पहाडी क्षेत्रबाट अति साधारण परिवेशमा उदाएका व्यक्ति हुन् । सामान्य डाक्टरी पेसा र तिलगङ्गा आँखा अस्पतालबाट माथि–माथि उक्लेर यिनले दृष्टिविहीन निम्ति मर्मभेदी कर्म गरे । यिनले दृष्टिविहीनलाई देखे ! दृष्टिविहीनले यिनलाई देखे, कुलमानका ज्योति देखे, संसारका झलमल देखे ! आजसम्ममा डाक्टर रुइतलाई विश्वका धेरैले देखे । उमेरले डाँडा काटिसके पनि यी अझै व्यस्त हुन अभ्यस्त छन् । यिनको ज्वलन्त योगदान हो— आँखाको नानी प्रत्यारोपण र निकासी । भौतिक संसार देखाउने एउटै ज्ञानेन्द्रिय हो, आँखा । यही कर्मबाट यिनले म्यागासेसे पुरस्कार पाए । विश्वमा कतिपय दृष्टिविहीन निम्ति आज यी आँखाको नानी बनेका छन् र अक्षरश: ‘राष्ट्रचक्षु’ हुन् ।

चौथा, त्रिवि शिक्षण अस्पतालबाट भर्खरै अवकाशप्राप्त वरिष्ठ डाक्टर गोविन्द के.सी. हुन् । यी प्राविधिक हुन्, तर योभन्दा अझ बढी सामाजिक, शैक्षिक अभियन्ता हुन् । हुन त यिनलाई एकभन्दा अनेक नजरले हेर्न थालिएको छ । अचेल यिनलाई ‘अनशन कलाकार’, ‘सत्याग्रही’ ‘हड्तालकर्मी’ समेतको बिल्ला भिराइएको छ । तथापि यिनका धेरै राम्रा पक्ष छन् । म यिनलाई चिकित्सा अध्ययनक्षेत्र र यसमार्फत समस्त शिक्षा प्रणालीको शुद्घीकरण र विकासनिम्ति भारतका ‘अन्ना हजारे’सरह देख्छु । चिकित्सा क्षेत्रमा गएका पच्चीस वर्षको एउटा असल पाटो छ— काठमाडौँ उपत्यका र उपत्यका बाहिर निजी लगानी र उद्यममा मेडिकल कलेज धमाधम खुल्नु । नत्र पहिले यत्तिका कलेज संख्या थिएनन् ।

चिकित्सकको माग धान्न वर्षेनि बाहिरबाट शिक्षा लिइन्थ्यो र लगानी बाहिरिन्थ्यो । अहिले निजी कलेजहरूले वर्षेनि हजारौँ चिकित्सक तयार गरिरहेका छन् । एक दृष्टिमा यो कल्याणकारी हो, तर अर्कोमा चिकित्सा शिक्षा चुनौतीमय र हाउगुजी बन्नथालेको छ । पहिलोमा यसका प्रयोगशाला, उपकरण र शिक्षक–प्राध्यापकको व्ययभार आदि थेगिनसक्नु छ । दोस्रोमा केही निजी स्वार्थमा चिकित्सा शिक्षा दुर्नाम भएको छ । यसरी हेर्दा निर्धन तर मेधावी छात्रछात्राका लागि चिकित्सा शिक्षा अब दु:साध्य देखियो ! निजी कलेजले सरकारी योजनाको भरथेग गर्ने हो । हुन ता यी निजी कलेजमा लगानी, सञ्चालन र व्यवस्थापनको तात्पर्य सदावर्त मात्र पनि होइन । यसैमा डाक्टर के.सी.को सरकारसँग आग्रह छ— १) निर्धन मेधावी विद्यार्थीले पढ्न पाउने अवसर होस् । २) सरकारले क्षेत्रीय स्तरमा मेडिकल कलेजको विस्तार गरोस् । यस्तो विस्तारले कलेजहरू एकै थलोमा धुइरिनु सट्टा देश वरिपरि फैलिन्छन् ।

के.सी.ले शिक्षा र स्वास्थ्य सरोकार बोकेका छन् । यही कुरा उनी सत्रौं पटकसम्म ज्यानको जोखिम मोल्दै भोको बसेर सरकारको नजरमा पार्न खोज्दैछन् । भन्न सजिलो छ, ‘यस्ता धेरै आए !’ बरु सट्टामा उनको एउटै कुरो बुझे पुग्छ— धनसम्पत्ति जोडजाममा जहान, बालबच्चा र तिनको भविष्य गाँसिन्छ । उनका न जहान, न बालबच्चा ! शेषपछि को छ त उनको, खोइ ?

राजनीति र अर्थनीतिमा स्वस्तिवाचन र वन्दना गरिनु स्वाभाविक हो । यस निम्ति भाटका ओठेभक्ति सदैव तत्पर रहन्छन् । यस्तैबाट ती नीतिमा मिथ्या, अहङ्कार र दम्भका ऐँजेरु पनि पलाउँछन् । उल्लिखित चार रत्नहरू सुयश, सेवा र सीपले राष्ट्रमय छन् । यिनमा को सानो र को ठूलो छुट्याउन खोज्नु मिस्री र महमा कुन बढी गुलियो (?) भनेर सोध्नु जस्तै हो ।

प्रकाशित : कार्तिक ३०, २०७६ ०९:४७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बर्लिनको पर्खाल ढलेपछि

रमेश के.सी.

शीतयुद्धको जीवित इतिहास बर्लिनको पर्खाल ढलेको गत कात्तिक २३ गते अर्थात नोभेम्बर ९ मा ठिक तीस वर्ष पुग्यो । पुँजीवादी स्वतन्त्र विश्व र साम्यवादी विश्वबीच विभाजन र द्वन्द्वको विम्ब बनेको उक्त पर्खाल युरोपमा पूर्वी जर्मनी र पश्चिमी जर्मनीलाई विभाजन गर्न तत्कालीन साम्यवादी केन्द्र सोभियत संघले बनाएको थियो । पूर्वी जर्मनीमा स्टालिनवादी एकदलीय शासन प्रणाली थियो भने पश्चिमी जर्मनीमा उदार प्रजातन्त्रवादी शासन थियो । ४५ किलोमिटर लामो यो पर्खाल सन् १९६१ मा बनाइएको थियो ।

जसलाई पार गरेर भाग्न खोज्दा हजारौं मानिस गिरफ्तार भए भने कतिले मृत्युवरण गरे । साम्यवादी पूर्वीय जर्मनीमा स्वतन्त्रता थिएन, दमन थियो । त्यस दुश्चक्रबाट भाग्न खोज्नेहरूका लागि रोक्न बनाइएको यो पर्खाल शीतयुद्धको विम्बका रूपमा सन् १९८९ सम्म रहिरहयो ।

‘गोर्वाचोभ महोदय यो पर्खाल ढाल्नुस्’ भनेर अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन गर्जिएको केही समयपछि उक्त पर्खाल विना कुनै रक्तपात ढल्यो । लाखौं मानिसहरूबीच विभेदको रूपमा रहेको यो पर्खाल ढलेपछि स्वतन्त्र विश्व खुसी भयो । पूर्वी युरोपबाट विस्तारै साम्यवादी शासन प्रणालीहरू समाप्त भए । बाल्टिक राज्यहरू स्वतन्त्र भए । सन् १९९१ सम्म आइपुग्दा सोभियत साम्यवाद पतनमात्र भएन, उक्त राष्ट्र नै विघटन भयो । बीसौं शताब्दीकै मूलस्वर स्वतन्त्रता हो भन्ने इतिहास रचियो । हुन त सन् १९८५ मा सत्तामा आएपछि सोभियत नेता मिखाइल गोर्वाचोभले पुनर्निर्माण र खुलापनको कार्यक्रम ल्याएका थिए । सोभियत साम्राज्य आर्थिक संकटमा फँसेको थियो । उसको भूराजनीति विश्वबाट पछि हट्दै गएको केही समय भएको थियो । अमरिकीहरूले नेतृत्व गरेको स्वतन्त्र विश्वको विजय भयो, जुन शीतयुद्धको अन्त्य भनेर मानवजातिको इतिहासमा अंकित छ ।

करिब ४५ वर्ष लामो वैचारिक ध्रुवहरूको यो द्वन्द्व युरोपमा बढी केन्द्रित थियो । दोस्रो विश्वयुद्धपछि चर्किएको यो द्वन्द्वका क्रममा हंगेरी र चेकोस्लाभाकियाले सोभियत साम्यवादको हस्तक्षेपमा कम्युनिस्ट शासन अन्तर्गत रहनुपर्‍यो । पोल्यान्ड, रुमानिया, अल्वानिया आदि राष्ट्रहरू साम्यवादी भए । युगोस्लाभाकिया आफ्नै प्रकारले साम्यवादी बन्यो । पूर्वी युरोप साम्यवादी र पश्चिम युरोप पुँजीवादी बने । पूर्वी जर्मनीका जनता पश्चिमीजस्तै स्वतन्त्र र सम्पन्न बन्न चाहन्थे । तर त्यसलाई बर्लिनको पर्खालले रोक्यो । बर्लिनको पर्खाल ढलेपछि पूर्वी जर्मनीका अन्तिम शासक एरिक होनेकरले क्युबामा शरण लिए । वर्तमान रूसका राष्ट्रपति बर्लिन पर्खाल ढलेको बेला पूर्वी जर्मनीको ड्रेसडेन सहरमा केजीवी गुप्तचर संस्थाको अधिकारी थिए । शीतयुद्ध अन्त्यलाई बीसौं शताब्दीको ‘ठूलो भूराजनीतिक विध्वंस’ भन्ने पुटिन अहिले शीतयुद्धकालीन आफ्नो राष्ट्रको वैभव फर्काउन लागिपरेका छन् । शीतयुद्धको अन्त्यलाई प्रसिद्ध हार्वर्ड विश्वविद्यालयका प्राध्यापक स्यामुअल हन्टिङटनले प्रजातन्त्रको तेस्रो लहर भने । उनले ‘थर्ड वेब’ शीर्षकमा पुस्तक नै लेखे ।

अर्का राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाले यस घटनालाई ‘इतिहासको अन्त्य’ भनेर नामकरण गरे । प्रजातन्त्र र बजार अर्थप्रणालीलाई नै विश्वको अन्तिम शासन पद्धति भनी ठोकुवा गरे । तर त्यो सत्य सावित भएन । संसार अहिले एकाधिकारवादतर्फ फर्किरहेको छ । उदार प्रजातन्त्र संकटमा छ । मानवजाति प्रविधि सभ्यतामा प्रवेश गरिरहेको छ । इतिहासको अन्त्य भविष्यवाणीबाट फ्रान्सिस फुकुयामाले नाम र बदनाम दुवै कमाए । उक्त घटनापछि पूर्वी युरोप लगायत विश्वका कैयौं राष्ट्रहरूले खुला बजार र प्रजातान्त्रिक पद्धति अपनाए । जसलाई अर्थशास्त्रीहरूले नवउदारवाद भन्छन् । यसले आम जनताको जीवनस्तर उकास्न सकेन ।

केही सीमित मालिकहरूमा अपार सम्पत्ति थुप्रियो । प्रजातन्त्र चलाउनेहरू नै यसलाई बिगार्न उद्यत बने । पूर्वी युरोपभरि लोकप्रियतावाद हावी छ । युरोपियन युनियन मरिरहेको छ भने बेलायत युरोपबाट निस्कने सकसमा छ । अमेरिका डोनाल्ड ट्रम्पको जातिवादी, अनुदारवादी र लोकप्रियतावादी शासनको सिकार भएको छ । पश्चिमी विश्व व्यवस्थाको ‘प्रोजेक्ट’ धराशायी भएको छ । शीतयुद्धको अन्त्यपछि जुन आशा देखिएको थियो, त्यो अहिले निराशा, विभाजन र शासनको संकटको रूपमा देखापरेको छ । यो ३० वर्षमा एउटा पुस्ता हुर्किएको छ, जसलाई बर्लिनको पर्खाल ढलेको सम्झना छैन । सूचना र प्रविधि क्रान्तिले सकारात्मक कुराहरू ल्याएपछि यसले मानिसलाई एक्लो विभाजनकारी बनाएको छ । सामाजिक सञ्जालको दुरुपयोगले प्रजातन्त्रलाई संकटमा पारेको छ । यस्तो बेला बर्लिनको पर्खाल ढलेको तीस वर्षलाई कसरी लिने ? जर्मनीकी चान्सलर एन्जेला मार्केलले यस उपलक्ष्यमा बोल्दै पर्खालको पतनले जर्मनीको एकीकरण सम्भव भएको बताइन् । उनले प्रजातन्त्र मानव अधिकार र कानुनको शासनमा जोड दिँदै स्वतन्त्रताको मूल्य खेलाँची नभएको बताइन् ।

जर्मनीको पर्खाल ढलेको घटनाले नेपालमा पनि एउटा सपनाको जन्म गराएको थियो । यही क्रममा ३० वर्ष लामो एकदलीय पञ्चायती व्यवस्था समाप्त भई प्रजातन्त्रको स्थापना भयो । तर विरोधाभास यो छ कि विश्वका साम्यवादी पतन हुँदै गर्दा नेपालका साम्यवादी पञ्चायत ढाल्न सहायक बने । अहिले १० वर्ष ‘जनयुद्ध’ गरेको माओवादी घटक पनि प्रजातान्त्रीकरणसँगै सत्तामा छ । यहाँका साम्यवादी दलहरू विचारको राजनीति नगरेर प्रजातान्त्रिक संविधान अन्तर्गत छन् । पञ्चायत ढलेको ३० वर्षपछि पनि नेपाली जनताको जीवनस्तर भने उठ्नसकेको छैन । प्रजातन्त्र स्थापनापछि नेपालमा अपनाइएको आर्थिक नीति नवउदारवादले कल्याण गरेन । सीमित व्यक्तिहरू धनी बने । यस्तो परिस्थितिमा शासन गरिरहेका साम्यवादी भन्नेहरू उदार प्रजातन्त्र अन्तर्गत नै छन्, जसलाई हेगेलवादी चिन्तक स्लोभाज जिजेकले ‘फुकुयामावादी वामपन्थी’ भनेका छन् । यिनीहरू लोकप्रियतावादी, प्रेसप्रति अनुदार र एकाधिकारवादी मनोविज्ञानले ग्रस्त छन् ।

आज अमेरिका र मेक्सिको सिमानामा पर्खाल बनाउनेहरू सक्रिय हुनथालेका छन् । नयाँ शीतयुद्धको संकट देखिएको छ । यो नयाँ शीतयुद्ध चीन र अमेरिकाबीच चल्ने देखिन्छ । वर्तमान रूस पनि पश्चिमसँग द्वन्द्वरत छ । उत्तर कोरियाको आणविक कार्यक्रम र इरानको आणविक वम निर्माण गर्ने महत्त्वाकांक्षा नयाँ शीतयुद्धका प्रेरकहरू हुन् । साम्यवाद एउटा राजनीतिमात्र नभएर पुँजीवाद विरुद्धको नयाँ जीवन पद्धति निर्माण दाबी गरिएको दर्शन थियो । त्यो त अब रहेन, तर नयाँ आवरण र स्वार्थहरूले गर्दा विश्व फेरि नयाँ ध्रुवीकरणतर्फ जाँदैछ । शीतयुद्धको अन्त्यपछि अमेरिकी चिन्तक चार्ल्स क्राथिमिरले अमेरिकाको विजयलाई एकध्रुवीय क्षण भनेका थिए । तर ३० वर्षपछि विश्व बहुध्रुवीय मात्रै होइन, झन् धेरै समस्याहरूले घेरिँदै गएको छ । तर वर्तमानमा विश्व मालिक बनेको पुँजीवादी पश्चिमको विरुद्ध त्यस्तो वैकल्पिक विचारधाराले चुनौती दिएको छैन । तर राष्ट्र–राष्ट्र बीचको महाखेल र भूराजनीतिक प्रतिस्पर्धाले बर्लिनको पर्खाल फेरि कतै बन्ने त होइन भन्ने आशंका जन्माएको छ ।

बर्लिनको पर्खाल ढलेपछि युरोपको शक्ति सन्तुलनमा परिवर्तन आयो । पूर्वी युरोपका राष्ट्रहरू युरोपियन युनियन र नाटो सैन्य गठबन्धनमा आबद्ध हुनपुगे । झन् पूर्वतिर फर्किए । यो समकिरणले रूस झस्कियो । पश्चिमाहरू आफ्नो विजयले विश्वव्यापी रूपमा प्रजातन्त्र र खुलाबजार अर्थतन्त्रको वकालत गर्न थाले । उदार विश्वको विजय मानिएको यो घटनाको तीन दशकपछि आज उदार विश्व नै संकटमा परेको छ । सूचना प्रविधि क्रान्ति यसपछिको मुख्य घटना हो । अहिले सबै राष्ट्र प्रभावित रहेको यो क्रान्तिपश्चात संसार डिजिटल प्रजातन्त्र र डिजिटल एकाधिकारवादमा विभाजन हुनपुगेको छ । बेलायतका पूर्वप्रधानमन्त्री टोनी व्लेयर अबको द्वन्द्व खुला समाज र बन्द समाज चाहनेहरूबीच हुने बताउँछन् । बर्लिनको पर्खाल पनि यही द्वन्द्वमा आधारित थियो । यसर्थ समय बदलियो, चरित्र उस्तै छ ।

प्रकाशित : कार्तिक ३०, २०७६ ०९:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×