कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

कता चुक्यौं स्वास्थ्यकर्मी ?

स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघबीच हालै ‘पूरक खाना’ लाई लिएर जुवारीजस्तो चल्यो । मन्त्रालयले अबदेखि डाक्टरले पूरक खानालाई औषधिका रूपमा लेख्न नपाउने भन्यो भने, संघले त्यस्तो लेख्न पाउनु डाक्टरको अधिकार भएको दाबी गर्‍यो । यसबारे तर्क–वितर्कलाई एक छिन थाती राखेर पहिले पूरक खानाबारे प्रस्ट होऔं ।

पूरक खाना यस्तो तत्त्व हो, जसले न खानामा पौष्टिक तत्त्व थप्छ, न कुनै रोगको रोकथाम या उपचार गर्न सक्छ । तर यो ‘पौष्टिक हुनुका साथै औषधि जस्तै छ’ भन्दै भ्रमपूर्ण दाबी गरिएको हुन्छ । त्यस्ता दाबी प्रामाणिक अध्ययनबाट पुष्टि भएको पाइन्न । ती सबैको पुष्टि गर्न यहाँ सम्भव छैन । केही ठूला चिकित्सक र संस्थाका धारणा चाहिँ बुझ्न सकिन्छ ।


अमेरिकी मधुमेह संघले भनेको छ, ‘अनुसन्धानमूलक अध्ययनले ओमेगा फ्याटी एसिडले मधुमेहमा फाइदा गर्छ भन्ने प्रमाणित गरेको छैन । त्यसैले यस्ता सप्लिमेन्ट मधुमेह रोगीलाई छुट्टै ट्याबलेटको रूपमा दिनुपर्दैन । अन्य भिटामिनले फाइदा गर्ने प्रमाण पनि छैन । भिटामिन दिँदा यदि बी १२ को मात्रा जाँच्दा कम पाइए उपचार गर्नुपर्छ, तर यसरी ट्याबलेट वा झोल दिएर होइन । एन्टी–अक्सिडेन्ट भनिने भिटामिन ई, सी आदि दिनुको औचित्य छैन । यिनले पनि लाभ गर्छन् भन्ने तथ्य प्रमाणित छैन । बरु सेवन गरिरहे कालान्तरमा हानि हुन सक्छ भन्ने अध्ययनले देखाउँछ ।’


चिकित्सा शास्त्रमा पोषण सम्बन्धी छलफल गर्दा वा पढाउँदा बिरामीलाई ‘न्युट्रिसेटिकल’ दिनुपर्छ भनेर पढाइँदैन । हुन त पोषण सम्बन्धी ज्ञान डाक्टर र नर्स पढ्नेहरूलाई धेरै कम दिइन्छ, तर जति दिइन्छ त्यसमा यसरी व्यापारिक तरिकाको भोजन दिनु भनेर कहिल्यै सिकाइँदैन ।


सरकारी अस्पतालमा प्राय: यस्ता ‘भोजन’ औषधिका रूपमा लेखिन्न । तर जब निजी संस्थाबाट यस्ता चीजको सिफारिस हुन्छ, अनि सर्वसाधारण भ्रममा पर्छन् । महँगो तर फाइदा नहुने औषधि लेखिँदा उपभोक्ताले ‘स्वास्थ्य राम्रो पार्न त यस्ता औषधि र चक्की पो खानुपर्छ’ भन्ने गलत कुरा बुझ्छन् । यस्ता औषधि लेख्ने स्वास्थ्यकर्मीलाई पनि थाहा हुन्छ वास्तवमा यसले फाइदा गर्दैन भनेर । तर कसैको व्यापार बढाउन उनीहरू पनि बिरामीको ढाड सेक्ने औषधि सिफारिस गर्छन् ।


यस्ता औषधिहरू साँच्ची नै महत्त्वपूर्ण हुँदा हुन् त सायद विश्व स्वास्थ्य संगठनको औषधिसूचीमा समाहित हुने थिए । न त यिनको उल्लेख हाम्रो स्वास्थ्य मन्त्रालयले दिने औषधिसूचीमै छ । केही विदेशी निजी औषधि कम्पनीको व्यापार औषधिको नाम गरेर थरीथरीका खाना उत्पादन नगरे चल्दैन । अनि उनीहरूको व्यापारिक स्वार्थमा हामी स्वास्थ्यकर्मीहरू पनि फस्छौँ र एक बट्टाको दुईतीन हजार रुपैयाँ पर्ने ‘औषधि’ लेखिदिन्छौँ । केही फाइदा नभए पनि बिरामीको अर्थ व्यवस्थामा घाटा हुन्छ, त्यो बनाउने कम्पनीचाहिँ नाफामा जान्छ । नेपाल चिकित्सक संघले यस्तो औषधिकै पक्षमा विज्ञप्ति निकाल्नु साह्रै दु:खको कुरा हो । नेपालमा धेरै बालबालिकाको ज्यान लिने गरेको मुटु र बाथरोगको उपचारमा अत्यावश्यक औषधि पेनिसिलिन सबै स्वास्थ्य चौकीमा सहजै उपलब्ध हुनुपर्छ वा नेपाली महिलालाई जटिल सुत्केरी अवस्थामा चाहिने औषधि र उपकरण सबै ठाउँमा पुग्नुपर्छ भनेर चाहिँ संघले कहिल्यै विज्ञप्ति निकाल्ने दु:ख गरेको छैन । संघले नेपालमा विभिन्न विषयमा दक्षतापूर्वक काम गरिरहेका डाक्टरहरूको सल्लाह लिएर नचाहिने ‘न्युट्रिसेटिकल’ को पक्षमा यो विज्ञप्ति निकालेको हो ? अवश्य होइन ।


हाम्रा एक डाक्टर मित्र छन्, जो ३८ वर्षदेखि नेपालमा कार्यरत छन् । अहिलेसम्म लगभग १ लाख बिरामीलाई परीक्षण गरेर औषधि दिएका उनले न कहिल्यै ‘न्युट्रिसेटिकल’ जस्ता महँगा औषधि सिफारिस गरेका छन् न त ट्याबलेट भिटामिन नै खान लगाएका छन् । भिटामिन बी १२ को कमी भएका शाकाहारी बिरामीहरूलाई उनले त्यसैको सुई लगाउने सल्लाह त दिन्छन्, तर यस्तो समस्या फेरि नहोओस् भनेर त्यही भिटामिन बढी पाइने खानेकुरा प्रशस्त खान सल्लाह दिन्छन् ।


नेपाल चिकित्सक संघका हामी पनि सदस्य हौँ । २०४६ को आन्दोलनमा संघले लोकतन्त्र ल्याउन खेलेको भूमिकाको धेरै प्रशंसा भएको थियो । त्यस्तो इतिहास बोकेको संघले अहिले आएर व्यापारिक वस्तुहरू लेख्न पाउनुपर्ने ‘अधिकार’ का लागि विज्ञप्ति निकाल्दा हामीले कसरी चित्त बुझाउनु ?


कृषि मन्त्रालयले नेपालभरि पाइने कुनकुन खाद्य पदार्थमा कति–कति भिटामिन, सूक्ष्म पोषक तत्त्व, खनिज तत्त्व पाइन्छ भन्ने अध्ययन गरेर पुस्तिकाहरू निकालेको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पाइने दाल, अन्न, तरकारी, धेरै प्रयोग नहुने भ्याकुर, गिट्ठा आदिमा पाइने पौष्टिक तत्त्वबारे स्वास्थ्यकर्मीले ती पुस्तिकाबाट जानकारी लिने र त्यही बमोजिम खान परामर्श दिने हो भने बिरामीहरूलाई सूक्ष्म पोषक तत्त्व पर्याप्त पुग्छ । के बिर्सिनु हुन्न भने, भिटामिन ‘डी’ चाहिने मानिसहरूलाई चक्की मात्र दिएर पुग्दैन, भिटामिन ‘डी’ पाइने भोजन के हुन्, घाममा कति बेर कसरी बस्ने भनेर पनि सिकाउनुपर्छ । अनि हाम्रा भान्सामा उपलब्ध हुने कुनुकुन खाद्य पदार्थमा क्याल्सियम पाइन्छ भनेर सिकाउने काम पनि स्वास्थ्यकर्मीकै हो ।


यस पालिको मदन पुरस्कार वितरण समारोहमा वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. रिता थापाले आफ्नो सम्बोधनका क्रममा भन्नुभएको थियो, ‘स्वास्थ्य बिरामी नहुनु मात्र होइन, बरु शारीरिक, मानसिक तथा सामाजिक रूपमा तन्दुरुस्त हुनु पनि हो ।’ सन् १९६८ ताका झाडापखाला लागेको एक बच्चालाई बचाउन पाँच गिलास पानीमा एक चिम्टी नुन र एक अञ्जुली चिनी हाली सर्बत बनाउन सिकाई खुवाउन लगाएको र बच्चाको ज्यान बचेको सुनाउँदै उहाँले भन्नुभएको थियो, ‘राम्रो व्यवहार परिवर्तनलाई पनि अचूक औषधि–उपचार मान्नुपर्छ ।’ के संघले सिफरिस गरेका ‘न्युट्रोसेटिकल’ ले हाम्रा बिरामीलाई तन्दुरुस्त राख्न सक्छन् ?


प्रकाशित : कार्तिक २९, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?